शान्ति दिवसमा हाम्रो शान्ति
मानिस यस पृथ्वीको सबैभन्दा शक्तिशाली प्राणीको नाताले समस्त क्षेत्रहरूमा आफ्नो कब्जा जमाएर बसेको देख्न सकिन्छ । आज मानिस यति शक्त्तिशाली भएको छ कि उसले पृथ्वी लगायत अन्य ग्रहहरूमा समेत उसको सफलता र बहादुरीको वाहवाही देख्न र सुन्न पाएका छौँ । आफ्नो क्षणिक सुखको खातिर मानवजातिले हजारौं हजार वर्षको स्वभाभिक जीवनचक्रलाई खल्बल्याएर अशान्ति उत्पन्न गर्ने मानव जाति स्वयंले आफ्नो खुट्टामा आफैले बन्चरो चलाइरहेको हेक्का भने अझसम्म छैन ।
वर्तमान समाजमा देखिएको अशान्ति र वातावरणमा देखिएको असन्तुलन विश्वको एउटा ठूलो टाउको दुखाईको विषय बन्दै गएका छन् । आजको औद्योगीकरणको युगमा हरेक मानिस दिनरातको दौडधुप, गाडी र मेसिनको अनियन्त्रित आवाज, मानिसहरूको भीडभाड आदिले प्रत्येक व्यक्तिको मनलाई बेचैन बनाएको हुन्छ । जसले गर्दा काम गर्न मन लाग्दैन र नैराश्यता उत्पन्न गर्दछ र यही नैराश्यताले क्रोधलाई जन्माएर हामी माथि अशान्तिले राज गरेका छन् ।
त्यसो त शान्तिको बारेमा सबैका आ आफ्ना अनुभव र अवधारणाहरू छन् । कोही शान्ति तब पाउँछन् जब कोही व्यक्ति आफूलाई डर बिनाको सुरक्षित जीवन । कोही आफ्नो आन्तरिक सन्तुष्टिमा-हँदा शान्तिको अनुभूति गर्दछ्न भने कोही आफ्नो अनुकूल परिवेश या सौहार्द्रपूर्ण वातावरणमा बस्नुलाई शान्ति मान्दछौं । जब हामी विश्वस्तरमा शान्तिलाई नियाल्छौं तब मात्र हामी युद्ध कलह, वैमनस्यता, तनाव र हिंसा नहुनुलाई शान्ति ठान्छौं ।
यथार्थमा शान्तिको अर्थ समानता मित्रता र सदभावको एउटा यस्तो अवधारणा हो, जसमा कुनै शत्रुता र हिँसा हुँदैन त्यो साँचो शान्ति हो । अशान्ति प्रतिकूलता मानिने भएकोले व्यक्तिको व्यक्तित्वमा स्थिरताको भाव बढाएको हुन्छ । यसको वशीभूत व्यक्ति प्रायः गलत निर्णय लिन पनि पुग्छन् । त्यसै कारणले मानिसलाई भौतिक विकास र विला;ी वःत’ह?ले शारीरिक सुख दिए पनि मानसिक सन्तुष्टि या शान्तिको अभावमा व्यक्ति जताततै भौतारिएको देख्छौं । यसैकारण मानिस शान्तिपूर्ण वातावरण खोज्दै प्रकृतिबीच रम्ने, असल पुस्तक पढ्ने, मनपरेको संगीत सुन्ने र तीर्थयात्रामा निस्कने जस्ता कार्य आफैले आफैलाई भुलाउनु हो, शान्त र एकान्तको आनन्द प्राप्ति हो । शान्तिपूर्ण वातावरणमा त्यो शक्ति छ जसले व्यक्तिको रचनात्मकताको वृद्धि गर्दछ र कुनै पनि व्यक्तिको सर्वांगीण विकास या मुलुकको समृद्धि शान्तिको धरातलमा मात्र सम्भव छ ।
शान्तिको महत्त्व : समता समानता विश्व बन्धुत्वको भाईचारा तथा सम्मानको साथ बाँच र बाँच्न देउको सिद्धान्तलाई जीवनमा धारण गर्नु विश्व शान्तिको मूलमन्त्र हो । जीवनमा सकारात्मक मानसिक विचारहरूबाट शान्तिको वातावरण विकसित हुने हो । जबसम्म समाजमा शान्तिको वातावरण कायम रहन्छ तबसम्म हाम्रो जीवनसँग जोडिएका सम्पूर्ण गतिविधिहरू सुखद् एवं शान्तिमय ढंगले चलेका हुन्छन् । जब समाजमा अशान्तिले डेरा जमाउन थाल्छ तब त्यसले जीवनलाई असहज तथा नकारात्मक वातावरण सृजना गरेको विचारले हिंसालाई जन्माउँछ । जताततै संघर्ष र तनावग्रस्त जीवनमा हरेक व्यक्ति आफ्नो जीवन यस्तो वातावरणमा बाँच्न चाहन्छ जहाँ शान्ति नै शान्तिको स्वच्छ वातावरणमा विचरण गर्न या प्रकृतिको काखमा शान्तिपूर्वक सक्दो समय व्यतीत गर्न चाहन्छ । यस्तो शान्तिमा सन्ततिहरूको सुन्दर भविष्य अन्तर्निहित रहेको हुनाले शान्तिलाई समृद्धिको पहिलो खुड्किला पनि भनिएको हो ।
वस्तुतः शान्ति एउटा गतिविधि हो, जसले हाम्रो प्रत्येक अन्तर क्रियाहरूमा निर्भाव गरेको हुन्छ । जसरी प्रकृति र मानवलाई घामपानी, हावामा सबैको समान अधिकार छ त्यसरी नै शान्तिमा पनि सबैको समान हकदार हुन्छन् । यस जगतका सम्पूर्ण प्राणी र वनस्पतिको संरक्षण र अस्तित्वलाई जोगाउन शान्ति अनिवार्य तत्व मानिन्छन् । त्यसैले हामी मानवले आफ्नो स्वार्थको शान्ति गीत गाउन मिल्दैन । जसरी रुख बिरुवाले फालेको अक्सिजन मानिसलाई र मानिसले फालेको कार्बन अक्साइड रुख बिरुवाहरूबाट प्राप्त जीवन आदान–प्रदान बीच सृष्टि जगतसँग हाम्रो अस्तित्वको गहिरो नाता गाँसिएपछि शान्ति केवल मानव मात्रको पेवा बन्न सक्दैन । प्रकृति र मानवको स्वाभाविक प्रक्रियामा शान्तिले ऊर्जा प्रदान गर्दछ । कुनै पनि नागरिकको सुरक्षा र समृद्धि तबसम्म हुन सक्दैन जबसम्म मुलुकमा शान्तिपूर्ण वातावरण कायम गर्न सकिँदैन । त्यसैले शान्ति, सहज जीवनयापन र सम्पूर्ण ब्रह्माण्डलाई सन्तुलित बनाइ राख्न शान्ति अनिवार्य तत्व मानिन्छ । अतएव हामीले शान्तिलाई सदैव व्यापकताको रुपमा हेर्न सकेको खण्ड मात्र दीगो शान्ति र सबैको शान्ति बन्न सक्छ ।
धर्ममा शान्तिको प्रवेश ः हजारौं वर्षपूर्व लेखिएका हाम्रा धार्मिक ग्रन्थ वेद उपनिषद्हरूले पृथ्वीदेखि ब्रह्माण्डसम्म अर्थात समस्त जगतको दिनरात पुजा अर्चना गर्दै आउनुको पछाडि समस्त प्राणी जगतको सुख र शान्तिको वैज्ञानिकता आजपनि उत्तिकै सान्दर्भिक र जीवनोपयोगी रहेका छन् । शान्तिको आवश्यकता आज मात्र होइन, हिजो पनि थियो र भोलि अझ टड्कारो रुपमा खटकिने छन् ।
हाम्रो ‘वसुधैव कुटुम्बकम’ को सिद्धान्तले सम्पूर्ण पृथ्वीलाई आफ्नो परिवार मानेको छ । कमिलादेखि हात्तीसम्म सबैको पोषण र संरक्षणलाई ध्यानमा राखिएको हुँदा एकअर्काको सहअस्तित्वलाई स्वीकार गरेर अघि बढ्ने बुद्धको शान्ति र अहिंसाको सन्देश आज पनि उत्तिकै वैज्ञानिक र दूरदर्शी रहेका छन् । भारतमा अस्ति भएको जी २० देशहरूको शिखर सम्मेलनको मुख्य नारा ‘वसुधैव कुटुम्बकम’ ले जीवन, विकास र शान्तिलाई एकसाथ हाँक्नु, आजको जल्दाबल्दा बिषयहरूको उठान र समाधान खोज्न एक थलोमा भेला हुनु सहिष्णुताको सिद्धान्त हो ।
शान्तिका चुनौतीहरू: हाम्रो समाजमा कैयौं यस्ता कारणहरू हुन्छन् जसले देश र समाजको सौहार्दपूर्ण वातावरणलाई खल्बलाएर शान्ति भंग गरेका हुन्छन् । प्रायः समाजमा देखिने आतंकवादी गतिविधिहरू, जातीय तथा धार्मिक दंगाहरूको कारण व्यक्तिको मृत्यु, भौतिक संरचनाको नोक्सानी बेहोर्नुको साथै जनजीवन समेतलाई कष्टकर बनाएको हुन्छ । यसै किसिमले विश्वमा हुने ठुल्ठुला युद्धहरूले वर्षौंका विकास र प्रगतिहरू ध्वस्त मात्र बनाएका छैनन्, मानवीय क्षतिसँगै मूल्य र मान्यतासमेत खरानीको थुप्रोमा परिणत गर्ने निर्मम युद्धहरूले विश्व अर्थतन्त्र र विश्व शान्तिमाथि ठुलै धक्का पुर्याउँदै आएको छ ।
यसबाहेक राज्यको दूषित राजनीतिले उब्जाएका गरिबी, बेरोजगारी, महंगी, जनसंख्या वृद्धि, द्वन्द्व, मुद्रास्फीति, हिंसा आदि मुद्दाहरूले जनजनलाई रातदिन पिरोलिरहने अवस्थाले शान्तिलाई खल्बलाएको छ । अझ विकासको नाउँमा गरिएको प्राकृतिक बिनासका कारण उत्पन्न प्राकृतिक प्रकोपहरूले निम्त्याउने परिस्थितिको सामना गर्ने शक्ति आज कुनै पनि शक्तिशाली राष्ट्रहरूसँग छैन । यस्ता चुनौती केवल मानवजाति र विकाससम्म सिमित छैनन । त्योभन्दा धेरै माथि पृथ्वी, जलवायु, आकाशमा निर्भर रहने जीव वनस्पतिदेखि सम्पूर्ण ब्रह्माण्डमा समेत चुनौती थप्ने कार्यले मानव जातिको अस्तित्व र शान्तिमा गम्भीर प्रश्नहरू तेस्र्याएका छन् ।
संयुक्त राष्ट्र संघको भूमिका : विश्व शान्तिको अर्थ केवल हिंसा नहुनु मात्र होइन ,बरु यस्तो समाजहरूको निर्माण हो जहाँ सबैलाई यो अनुभव होस् कि ऊ अगाडl बढ्न सक्छ र फल्नफुल्न सक्छ । हामीलाई यस्तो संसारको रचना गर्नुछ जहाँ उसको जाति नश्ल धर्मको वास्ता नगरी समान व्यवहार गरियोस् । संयुक्त राष्ट्रसंघद्वारा घोषित यो दिन मानवताको लागि प्रतिबद्ध हुनु र शान्तिको संस्कृति निर्माणमा योगदान गर्ने २१ सेप्टेम्बरको दिन हो ।
यिनै उदेश्यको साथ संयुक्त राष्ट्रसंघ निरन्तर अघि बढेको छ । अन्तरास्ट्रिय शान्ति दिवसको स्थापना सन् १९८१ मा संयुक्त राष्ट्र महासभाद्वारा थालनी भए पनि सन् १९८२ को सेप्टेम्बर महिनाको तेश्रो मंगलबार पहिलो पटक शान्ति दिवस मनाउन आरम्भ गरिएको थियो । यो सिलसिला १९८१–२००१ सम्म चल्यो तर पछि संयुक्त राष्ट्रसंघले २१ सेप्टेम्बर २००२ मिति तय गरेर ‘विश्व शान्ति दिवस’ मनाउने निर्णय गरिएको हो । युनाइटेड नेशनल जनरल एसेम्बली राष्ट्रहरू र सर्वसाधारण मानिसबीच हिंसा र युद्ध विरामको सन्देश जनजनसम्म पु¥याउन सम्बन्धित राष्ट्रहरूले आ–आफ्नो किसिमले शान्ति दिवस मनाउँदै आएका छन् । यस दिन संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा फूलले बेरिएको घन्टी बजाएर शान्तिको कामना गर्ने र गराउने कार्यमा संयुक्त राष्ट्रसंघ प्रतिबद्ध रहेको छ ।
नेपालमा शान्तिका पाइलाहरू : शान्तिदूत गौतम बुद्धको शान्ति सन्देशले संसारमा शान्ति, अहिंसा, सहअस्तित्व, सद्भाव, दया र विश्वबन्धुत्वको सन्देशहरूलाई यदि हामीले जीवनमा उतार्न सकेको खण्डमा जीवन सुखमय तथा शान्तिमय बनाउने उत्तम विधि भए पनि हामीले आध्यात्मिक सुख शान्तिको महत्व बुझ्न नसकेर भौतिक सुख सुबिधाको पछि दौडिनु दुःखको कारण हुन । दुनियाँलाई शान्ति र अहिंसाको सन्देश बाँड्ने नेपाल र नेपालीहरू आफ्नै आन्तरिक राजनीतिक अस्थिरता अनि रोग भोक र अशान्तिको भुमरीमा रुमलिनु अत्यन्तै लज्जा र चिन्ताका विषय हुन । यही चिन्ता र अशान्तिको न्यूनीकरण गर्न २०६५ सालदेखि नेपालले शान्ति दिवस मनाउँदै आएको छ । शान्ति स्थापनाको नाउँमा नेपाल सरकारले द्वन्द्वग्रस्त मुलुकमा शान्ति सेना पठाउने, विकास मानवीय सहयोग र शान्ति स्थापनाका कार्यक्रम सञ्चालन गर्ने तथा द्वन्द्व व्यवस्थापनसम्बन्धी सरकारी गैरसरकारी तथा अन्तराष्ट्रिय समन्वय कार्यालयहरूले विकास र शान्तिको क्षेत्रमा बामे सरेका छ्न् ।
अन्य राजनीति दलहरू, सरकारी गैरसरकारी संघ संस्थाहरू, धार्मिक संस्था, शान्ति विकास समाज जस्ता कतिपय संस्थाहरू छ्न् जो शान्ति स्थापना र सद्भाव कायम गर्न निरन्तर लागिपरेका छ्न्। केही संघ संस्थाहरू यस्ता पनि छन् जो वर्षमा एक दिन २१ सेप्टेम्बर पर्खेर ठुल्ठुला होटलहरूमा सेमिनार गोष्ठी अनि भत्ता र जलपान कार्यक्रम गरेर शान्ति दिवसको औपचारिकता पेपर वर्कमा खुम्चिन पुगेका छ्न् । शान्ति स्थापनाको उद्देश्य सही भए पनि बजेट र अनुगमनको अभावमा शान्ति स्थापनाको प्रगति बालुवामा पानी खनाए सरह हुँदा नेपालमा शान्ति स्थापना गम्भीर समीक्षाको विषय बन्न पुगेको छ । विश्वमा बढ्दो अशान्तिको कारण ईश्वरीय या दैविक शक्तिद्वारा सिर्जित समस्या होइनन् बरु मानवीय गतिविधिहरूका कारण उत्पन्न परिस्थिति हुन् ।
हामीले भोगिरहेको तनाव, अशान्ति र असुरक्षाको दोषी राज्य सरकार र तिनका गैरजिम्मेवार नीतिहरू मानिन्छन् । फेरि पनि मुलुकमा शान्ति र सद्भाव कायमगर्ने कामको बिंडो उठाउने कार्य चुनौतीपूर्ण रहेको हुनाले केवल सरकार कानुन या संयुक्त राष्ट्रसंघको मुख ताकेर बस्न मिल्दैन । यो कार्य प्रत्येक नागरिकको दायित्वभित्र पर्ने भएकोले देशमा दीगो शान्ति र सद्भाव बनाई राख्न हरेक नागरिकमा जागरुकता तथा परिपक्वता जरुरी हुन्छ भने सोही अनुरुप धर्म राजनीति जाति सम्प्रदायबाट हामीले बाहिर निस्कन पनि उतिकै जरुरी हुन्छ ।
अतः २१ सेप्टेम्बरको शान्ति दिवसका दिन शंख फुक्न, घण्टी बजाउन र परेवा उडाएर शान्तिको कामना त गर्न सकिन्छ तर त्यसको कारकतत्व अशान्तिको न्यूनीकरण गर्न व्यापक एकता, जागरुकता र प्रतिबद्धता अनिवार्य शर्त हुन् । तसर्थ सन्तुलित जीवनचक्र र दिगो विकासको लागि राज्य सरकारको इच्छाशक्ति र जनसाधारणको सक्रियतामा शान्ति संभव छ, त्यो पनि आफ्नै पालामा ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया