विचार

गणतन्त्र दिवस

गणतन्त्रको मर्म आत्मसात् नगर्नेहरूबाट दिवसको औपचारिकता...

उमेशप्रसाद मैनाली |
जेठ १५, २०७८ शनिबार ९:३९ बजे

नेपालले राजतन्त्रको अन्त्य गरेर गणतान्त्रिक व्यवस्था अवलम्बन गरेको तेह्र वर्ष भइसकेछ । चौधौँ गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्र घोषणाको त्यो क्षण मेरो मस्तिष्कमा ‘फ्ल्यासब्याक’ हुन थाल्छ । 

पहिलो संविधान सभाको निर्वाचनपश्चात्को पहिलो संविधान सभाको बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (त्यस बेलाको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) मा भव्य र उल्लासमय वातावरणमा २०६५ जेठ १५ गते बस्दै थियो । सम्मेलन केन्द्र बेहुलीझैँ सिंगारिएको थियो । विदेशी कूटनीतिक पाहुनाहरू, नेपाली समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरू यो ऐतिहासिक समारोहमा आमन्त्रित थिए । 


छ सय एकजना संविधान सभाका निर्वाचित सदस्यहरू आ–आफ्ना सांस्कृतिक पहिरनमा उपस्थित हुँदा संविधान सभाको हलमा पूरै नेपाल उपस्थित छ जस्तो भान हुन्थ्यो । संविधान सभाको पहिलो बैठक यस अर्थमा ऐतिहासिक थियो कि यस बैठकले नै अढाई सय वर्ष पुरानो राजसंस्थाबारे निर्णय गर्दै थियो । दोस्रो जनआन्दोलनबाट पुनःस्थापित अन्तरिम व्यवस्थापिका संसद्को २०६३ जेठ ४ गतेको घोषणाले राजाको सम्पूर्ण शक्ति निलम्बन गरी संविधान सभाको पहिलो बैठकले राजसंस्थाको बारेमा निर्णय गर्ने सार्वजनिक गरेको थियो । त्यसैले यो बैठक नेपाली इतिहासमा नै अर्थपूर्ण थियो । फ्रेन्च क्रान्तिपछिको ‘नेसनल कन्वेन्सन’को बैठक जस्तै । फरक यत्ति हो कि फ्रान्समा रक्तपूर्ण क्रान्तिपछि राजा लुई सोह्रौँलाई जिलोटिनमा चढाई मारिएको थियो भने नेपालमा शान्तिपूर्ण राजतन्त्रको बहिर्गमन हुँदै थियो ।

जेठ ४ को संसद्को घोषणापछिका केही महत्वपूर्ण कामहरूको जिम्मा मैले गृह सचिवको हैसियतले लिनुपरेको थियो । श्री ५ को सरकारको सट्टा ‘नेपाल सरकार’को सरकारी छाप तुरुन्तै प्रचलनमा ल्याउनुपर्ने र पुरानो निशाना छापको सट्टा नयाँ निशाना छाप तयार पारी लागू गर्ने जिम्मा हाम्रो मन्त्रालयलाई दिइएको थियो । रातारात छाप परिवर्तन गर्ने सर्कुलर गर्नुपरेको थियो भने नेपालका ख्यातिप्राप्त कलाकारहरूबाट नयाँ निशाना छाप तयार गर्न लगाई मन्त्रिपरिषद्‍बाट स्वीकृत गराई केहीपछि प्रचलनमा ल्याइएको थियो ।

राजाको अधिकार निलम्बन भएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राज्य प्रमुखको कार्यभार सम्हालेका थिए । नेपालका लागि विदेशी मित्रराष्ट्रका राजदूतहरूको प्रमाणपत्र ग्रहण गर्ने समारोह सिंहदरबारको अग्रभागमा रहेको ‘स्टेट्हल’ हतारमा तयार गर्ने जिम्मा पनि गृह मन्त्रालयकै थियो । त्यस हलको एउटा गलैँचा धुन क्रेनले निकाल्नु परेको र माईशपले ७५ हजार रुपैयाँ लिएको कुराले अहिले पनि आश्चर्य लाग्दछ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सुरक्षाका लागि तारबार र सुरक्षा पोस्ट दुईतीन दिनमै नेपाल प्रहरीको सहयोगमा तयार गरिएको थियो । यी  ऐतिहासिक काममा सम्लग्न हुनुले अहिले ती क्षणहरूको स्मरणले ‘नोस्टाल्जिक’ हुन्छु ।

श्रध्दाविनाको उत्सव, दुःखविनाको शोक र हैसियतविनाको पदवीको के अर्थ ? व्यवहार सामन्ती शैलीको र उत्सव गणतन्त्रको कति सुहाउने कुरा हो ? 

बैठकको अध्यक्षता जेष्ठ सदस्यको हैसियतमा कुलबहादुर गुरुङले गर्नुभएको थियो । उनै कुलबहादुर गुरुङ जसले अप्ठेरो अवस्थामा समेत संवैधानिक राजतन्त्रको वकालत गर्न छाडेका थिएनन् । बैठक प्रारम्भ हुनासाथ राजतन्त्रसम्बन्धी प्रस्ताव पेस गरियो र ४ मतबाहेक अत्यधिक बहुमतले राजतन्त्रको अन्त्यको घोषणा गरियो । सभाहल तालीको गडगडाहटले गुन्जिएको थियो । उपस्थित सबैले बधाइ आदानप्रदान गरेको त्यो क्षण निकै आवेगात्मक देखिन्थ्यो । नेपाल नयाँ युगमा प्रवेश गर्‍यो, अब हामी नेपालीहरू रैती नभई सार्वभौमसत्ता सम्पन्न नागरिक बनेको, एउटा सामन्ती संस्थाबाट मुक्त भएको जस्ता भावावेशपूर्ण अभिव्यक्ति सुनिन्थ्यो । राजतन्त्रले पटक पटक प्रजातन्त्र खोसेको, मौका पाउनासाथ निरंकुश शासन गरेको, राष्ट्रियतालाई राजतन्त्रको गुणगान र श्रध्दासँग गाँसेको, देशको विविधतालाई एउटै भाषा र भेष तथा एउटा राजा एउटा देशको नाराले ठूलो संस्कृति (डोमिनेन्ट कल्चर) मा सम्मिलन गर्न खोजेको कारणले राजसंस्थाप्रतिको समर्थनमा ठूलो कमी आएको थियो । 

त्यसैले राजतन्त्रको अन्तपछिको सुन्दर नेपाल, नयाँ नेपाल, समावेशी लोकतन्त्रको नेपालको सपनाले नेपालीहरूलाई ‘युफेरिया’मा पुर्याएको थियो । संविधान लेखिन बाँकी नै थियो, तैपनि सहमतिका दस्तावेजका रूपमा आएको नेपालको अन्तरिम संविधान, २०६३ ले यसको भावी चित्र दिइसकेको थियो । लोकतान्त्रिक गणतन्त्र यस्तो आदर्श व्यवस्था जसमा कोही पनि अरूभन्दा तलको मानिँदैन । अब्राहम लिंकनले गणतन्त्रको बारेमा बोलेका थिए कि ‘राष्ट्रपतिको कुर्सी न त सिंहको परिवार न त चीलको जातिको पेवा हुन्छ ।’ यस्तो शासन व्यवस्थामा नेपाल प्रवेश गर्नु नेपालीहरूका लागि गौरवको विषय थियो र अहिले पनि छ ।

अहिले नेपालीहरूको त्यो सपना निराशामा परिणत हुँदै छ । कुनै पनि राजनीतिक व्यवस्था र शासकीय प्रणाली साध्य मात्र हुन् । यसले नागरिकहरूको सर्वतोमुखी हित गर्न सकेन भने औचित्य गुमाउँदै जान्छ । डुंगा खियाउनेहरूले जानेनन् भने त्यो डुब्छ वा डुंगालाई बचाउन पटक पटक खुट्टा पानीमा झार्नु पर्दछ । एक युगभन्दा बढी भइसक्दा हाम्रो गणतन्त्रले नेपाली समाजमा अझ राम्रोसँग जरा गाड्न सकेको छैन । यसका अहिलेका खेलाडीहरू क्रान्तिताका यसका कारिगढ थिए । उनीहरूकै सत्तालिप्सा र गलत संस्कारले गर्दा अहिले गणतन्त्र असफल हुने खतरा बढ्दै छ । नेपालमा मात्र होइन, विश्व इतिहास हेर्ने हो भने पनि क्रान्ति गर्नेहरूबाटै परिवर्तनमाथि धोखा भएको पाइन्छ । फ्रेन्च क्रान्तिका नेताहरूकै उत्ताउलो काम र तानाशाही प्रवृतिले त्यहाँ गणतन्त्र असफल भई पटक पटक राजतन्त्र फर्किन सकेको देखिन्छ । एकजना फ्रेन्च क्रान्तिकारी हेबर्टले ‘बुध्दिको उपासना (ओर्सिप अफ विज्डम)’ को धर्म नै चलाए । 

गिर्जाघरहरूको शिखर भत्काइयो र त्यहाँ बुध्दिको प्रतीक राखियो । उनीपछिका रोब्सपियरले ‘सर्वशक्तिमानको उपासना (ओरसिप अफ सुप्रिम् विइङ)’ को प्रचलन ल्याए । अन्ततः यी दुवै क्रान्तिकारीहरूको हत्या गरियो ।  परिवर्तनका लागि लड्नेहरू आफू सत्तामा पुगेपछि जनआकांक्षालाई चटक्कै बिर्सेर आफैँ निरंकुश हुन खोज्छन् । उनीहरूको यस्तो आचरणबाट राजनीतिक व्यवस्था (रिजिम) प्रति नै बिस्तारै जनतामा असन्तोष बढ्न जान्छ । नेपालको गणतन्त्र परिपक्व भइसकेको छैन । यसका संस्थाहरू स्थापित भए पनि जरा गाडिसकेका छैनन् । यस्तोमा अहिले नेतृत्वमा रहनेहरूले राम्रो ‘डेलिभरी’ दिन सकेनन् भने गणतन्त्र विरोधीहरूले धमिलो पानीमा माछा मार्ने प्रयास गर्नेछन् । विगत केही अवधिदेखि यस्ता खेलहरू हुन थालेका छन् । प्रसिध्द लेखक हन्टिंटनले भनेका छन्, ‘रिभोल्युसन अफ राइजिङ् एक्सपेक्टेसन’ क्रान्तिको बेला हुन्छ र यसमा धोखा भयो भने ‘रिभोल्युसन अफ राइजिङ फ्रस्ट्रेसन’ हुन्छ । यसले सबैलाई बगाएर लान सक्छ । नेपालीहरूमा दोस्रो जनआन्दोलनको उर्लंदो आकांक्षामाथि धोखा भएको महसुस हुन थालेको छ । हाम्रो आशामाथि धोखा नहोस्, जनताको यो चेतावनीलाई समयमै नेतृत्वमा रहनेहरूले बुझ्न सक्नुपर्दछ ।

अमेरिकी संविधानका मस्यौदाकारमध्येका एक अलेक्जेन्डर ह्यामिल्टनले गणतन्त्रको सुरक्षाका लागि ‘जनताप्रतिको सही निर्भरता र सही जिम्मेवारी (ड्यू डेपेन्डेन्सी अन दि पिपुल एन्ड ड्यू रेस्पोनसिबिलिटी)’ आवश्यक हुन्छ भनेका छन् । गणतन्त्र समाजको बृहत्तर अंग अर्थात् लोकप्रिय मतबाट चल्छ । त्यसैले जनताले सरकार र राज्य चलाउने जिम्मेवारी लिनेहरूलाई उत्ताउलो काम गर्ने कम शक्ति दिएको हुन्छ र त्यो कम शक्ति पनि कम समयावधि मै फिर्ता लिने अधिकार सुरक्षित राखेको हुन्छ । हाम्रो गणतन्त्र यिनै कसीमा खरो उत्रिनुपर्नेमा गैरजिम्मेवार ढंगले काम गरिरहेको तथ्यहरू उजागर भइरहेका छन् । 

राष्ट्रपतिजस्तो सम्मानित पदले सरकार प्रमुखको सिफारिसलाई सदर गर्न मध्यरातपछि कुरेर बस्न सुहाउँछ ? 
 

नेपाली नागरिकहरूप्रति उत्तरदायी हुनुपर्ने सरकार आफ्नो दलभित्रको पनि गुटको संरक्षण गर्न र सत्ता जोगाउने फोहोरी खेलमा लागेको स्पष्ट देखिन्छ । जनता महामारीको त्रासदीबाट आक्रान्त भइरहेको छ, समयमा उपचार नपाएर दिनदिनै दर्जनौँ मानिसहरूको अकालमा ज्यान गएको छ । प्राणवायु अक्सिजन नपाएर कैँयन् मानिसहरू प्राण त्यागिरहेको समाचार दिनहुँ सुनिन्छ । मानवीय संवेदनाका यी दर्दनाक स्थितिबाट मुक्त गराउन अहिले राज्यका सम्पूर्ण स्रोत, साधन र ऊर्जा परिचालित गर्नुपर्नेमा सरकार आफ्नो ‘इगो’को तुष्टिका लागि संसद्को विघटन गरेर निर्वाचनको तयारीमा लागेको छ । महामारीबाट परिवार गुमाएका, कोरोनाको संक्रमणसँग लडिरहेका नेपाली जनताले सरकारको यस्ता गलत कदमको प्रतीक या कुन रूपमा दिने हुन् भविष्यमा देखिने नै छ । गैरजिम्मेवार सरकार अब अध्यादेशमार्फत लालापापा बाँड्ने (डिस्ट्रिब्युटिङ गुडिज) बजेट ल्याएर मतदातालाई झुक्याउन खोज्दै छ । सरकारले अहिले ‘फायर फाइटिङ’ शैलीमा महामारीविरुध्द लड्ने काम गरेको भए जनताले आगामी निर्वाचनमा जनादेशको नवीकरण गरिदिने निश्चित थियो । तर, यसले भयावह रूप नलिएसम्म प्रधानमन्त्रीले ठट्टाको विषय बनाए । बेसार पानी र अम्बाको पातको बेतुकको गफमा सीमित भइदिए । अब महामारी नियन्त्रणबाहिर गएको अवस्थामा यसको उत्तरदायित्व सरकार प्रमुखले लिनुपर्छ कि पर्दैन ? पीडाको बेला ‘नो मोर जोक’ प्रधानमन्त्रीलाई जनताको चेतावनी छ ।

मन्टेस्क्यूले भनेका थिए कि ‘गणतन्त्र विलासिताले अन्त हुन्छ भने राजतन्त्र गरिबीले (रिपब्लिक इन्डस् थ्रु लक्जरी; मनार्की थ्रु पोभर्टी)’ । जनताको सात दशक लामो बलिदानी संघर्षबाट ल्याएको ‘गणतन्त्र’ यसका चालकहरू अनाडी भइदिँदा रक्षात्मक स्थितिमा पुगेको छ । सरकारप्रमुख र राज्यप्रमुखमा अस्वाभाविक रूपमा प्रतिष्ठा र मर्यादाको चिन्ता हुन थालेको छ । विवेक र व्यक्तिगत प्रतिष्ठाको अर्थमा कोही पनि निम्न स्तरका हुँदैन भन्ने गणतन्त्रको मूल मन्त्र विपरीत उनीहरूमा जनताभन्दा धेरै माथिको सोच्ने मानसिकता नै यो राजनीतिक प्रणालीको लागि घातक हुन सक्छ । प्रधानमन्त्री समाजका ख्यातीप्राप्त व्यक्तित्वहरू र राज्यका महत्वपूर्ण जिम्मेवारीमा रहेकाहरूलाई तीन घण्टा नकुराई भेट दिँदैनन् । यो कुनै पूर्वाग्रह राखेर भनिएको होइन, आफ्नै अनुभव र अन्य नेताहरूको बेलाबेलाका अभिव्यक्तिबाट स्पष्ट हुन्छ । राष्ट्रपति पदको गरिमा जनताको श्रध्दामा निर्भर हुन्छ, तर अहिले हाम्रो राष्ट्रपतिको कार्यालयको तामझाम हेर्नुहोस्, राजाहरूको भन्दा के कम छ ? सवारीको तामझाम र औपचारिकता गणतन्त्रका लागि नसुहाउने हुँदै छ । कोटको टाँक लगाउनेदेखि बसाइको तरिका त्यहाँका सुरक्षाकर्मीहरू सिकाउँदछन् । पूर्वराजाहरूको पालामा बरु ‘दर्शनभेट’को समय निश्चित भएपछि कुर्नु भने पर्दैनथ्यो । राष्ट्रपति जस्तो सम्मानित पदले सरकार प्रमुखको सिफारिसलाई सदर गर्न मध्यरातपछि कुरेर बस्न सुहाउँछ ? प्रदेश प्रमुखहरूका विगत केही दिनदेखिको भूमिका सामान्य जागिरेको भन्दा माथिको देखिएको छैन । लुम्बिनी प्रदेशका प्रदेशप्रमुख मुख्यमन्त्रीकै कार्यालयमा शपथ गराउन पुग्छन्, गण्डकी प्रदेशका प्रदेश प्रमुख प्रदेश सभाका सभामुखलाई कारबाही गर्नुपर्छ भन्ने अभिव्यक्ति दिन्छन् । पदको सामान्य गरिमा समेत नराख्ने यस्ता पदाधिकारीहरूको कारण जनताको विश्वास सार्वजनिक संस्था र पदमाथि हुन छाडेको छ ।

राष्ट्रपतिको कार्यालयको तामझाम गणतन्त्रका लागि नसुहाउने हुँदै छ ।

यी सन्दर्भहरू किन उल्लेख गर्न आवश्यक छ भने हामी गणतन्त्र दिवस मनाउँदै छौँ । गणतन्त्रको मर्मलाई आत्मसात् नगर्नेहरूले यो दिवस मनाउनु औपचारिकताको निर्वाह मात्र हो । भनाइ छ कि श्रध्दाविनाको उत्सव, दुःखविनाको शोक र हैसियतविनाको पदवीको के अर्थ ? व्यवहार सामन्ती शैलीको र उत्सव गणतन्त्रको कति सुहाउने कुरा हो ? प्रसिध्द ग्रिक दार्शनिक सोक्रटिसले पाँच प्रकारका राजनीतिक व्यवस्थाको चर्चा गर्दै त्यस अनुकूल पाँचै प्रकारका आचरणका सन्दर्भको व्याख्या गरेका छन् । राज्य नागरिकहरूको व्यक्तिगत आचरणको समष्टि हो त्यसैले यो राज्यमा पनि यसको प्रतिविम्ब देखिन्छ भनेका छन् । सम्मानको तीव्र इच्छाले ‘टाइमोक्रेसी’ ल्याउँछ र यसमा फेरि धनको लोभ थपिएपछि ‘ओलिगार्की’ आउँछ भन्ने उनको तर्क छ । यसबाट बचाएर ‘लोकतान्त्रिक गणतन्त्र’लाई सुदृढ पार्न जनताको सचेत निगरानी आवश्यक हुन्छ । अब्राह्म लिंकनले गणतन्त्र भनेको जनताले आफैँलाई शासन गर्ने क्षमता हो भनेका छन् । जुनसुकै शैलीको तानाशाहीलाई ठीक गर्न सक्ने नागरिक चेत भएमा शासकहरू आफैँ ठीक हुन्छन् । नागरिकहरू निष्क्रिय रहे भने लोकतन्त्रको आवरणमा तानाशाहहरू जन्मिन्छन् । सुहार्तो, मार्कोस् जस्ता ‘क्लेप्टोक्रेट’हरू गणतन्त्रकै उपज थिए । फ्रेन्च क्रान्तिपछि गणतन्त्रको नेतृत्व राम्रो नहुँदा नेपोलियन बोनापार्ट सम्राट् बनेका थिए । उनीपछिका उनैका नाति लुई नेपोलियन गणतन्त्रको गलत प्रयोग गरेर सम्राट् बनेका थिए । जनतामा निगरानी गर्ने गुण छ भने छोटो अवधिमा शासकको मूर्खता र खराब कामले व्यवस्थालाई ठूलो क्षति पुर्याउन सक्दैन ।

थोमस जेफर्सनले संयुक्त राज्य अमेरिकाको संविधानको मस्यौदा गर्दा दिएको तर्क मनन योग्य लाग्छ । उनको तर्क थियो, ‘जनताको भावना र आचरण नै हो जसले गणतन्त्रलाई बलियोसँग संरक्षण गर्न सक्छ, यसप्रतिको उदासीनताले घुनकीरा जन्माउँछ जसले संविधान र कानुनको आत्मा नै खाइदिन्छ ।’ 

गणतन्त्र नेपालीहरूको लामो संघर्षले ल्याएको हो, यसैले यसको रक्षा गर्ने हाम्रो कर्तव्य हो । लोकतान्त्रिक गणतन्त्र अहिलेसम्म प्रयोगमा ल्याइएका राजनीतिक व्यवस्थामा सबभन्दा राम्रो मानिन्छ । यसका सञ्चालकहरू खराब भए भन्दैमा व्यवस्था नै खराब हुँदैन । मोटर कार बिग्रियो भन्दैमा बयलगाडामा यात्रा गर्दछु भन्नु मूर्खता हो । गणतन्त्र दिवसमा यसलाई बचाउने प्रण गर्नु नागरिकहरूको अहिलेको जिम्मेवारी हो ।   


Author

उमेशप्रसाद मैनाली

मैनाली लोक सेवा आयोगका पूर्वअध्यक्ष हुन् ।


थप समाचार
x