विचार

त्यो सनद, यो समय !

अर्जुन अपवाद |
असोज २३, २०८० मंगलबार १७:४९ बजे

चाडबाडको समय । यो सँगसँगै सुरु भयो धान भित्र्याउने मौसम । मौसमले साथ दिएको छैन । अनुमानभन्दा बाहिरको मनसुनले अघिल्ला वर्षमा किसानले काटेको धान बोटमै उम्रियो । यो वर्ष पनि सरकारले किसानलाई धान नकाट्न एसएमएस नै पठाउनु पर्यो ।

असारको १५ । नेपाली संस्कृतिमा सबैभन्दा व्यस्त दिन । अत्यधिक प्रयोगमा आउने खाद्यान्न धान रोप्ने दिन । प्रकृतिले आफ्नो नियम नछाडे सबै किसान खेतमा हुने दिन । असारको १८ मा नै विश्व तापमानमा नयाँ रेकर्ड कायम भयो । यो दिन अहिलेसम्मकै सबैभन्दा तातो दिन भएको भनेर वैज्ञानिकहरूले घोषणा गरे ।


यो वर्ष पनि धेरैतिर पर्नुपर्ने जति पानी नपरेपछि धान रोप्न नसकिएको समाचारहरू आए । वर्षा नै नहुने मुस्ताङमा बाढीले वितण्डा मच्चायो ।

असारमा तापमान वृद्धिका नयाँ रेकर्ड बनेका समाचार पनि आए । हामीलाई थाहै छ, अमेरिका लगायतका उच्च विकसित भनिएका देशमा पनि उच्च तापक्रम र डढेलोको समस्या भयावह छ । सबै स्रोत र साधन भएर पनि उनीहरू यस्तो अवस्थामा के गर्ने के नगर्ने भन्नेमा अन्यौलग्रस्त छन् ।

अल्पवृष्टि, अनावृष्टि र अतिवृष्टिले गर्मी र विपद बढिरहेकै छन् । पानी पर्ने तरिका फेरिएको छ । मानिसले आफ्ना फाइदाका लागि गरेका कामले प्रकृतिले आफ्नो लयमा काम पाइरहेको छैन । जलवायु परिवर्तन बारे हाम्रा चिया गफमा धेरथोर कुराकानी हुन थालेको छ ।

हाम्रोमा वन भनेकै वातावरण हो । वनको संरक्षण नै वातावरण संरक्षण हो । हाम्रोमा जलवायु परिवर्तनमा भूमिका खेल्ने कार्बनको उत्सर्जन एकदमै न्यून छ । विश्वमा उत्सर्जन हुने कार्बनको तुलनामा । छिमेकी देशहरू भारत र चीन भने कार्बन उत्सर्जन गर्ने प्रमुख राष्ट्रहरूकै सूचीमा पर्छन् । यसैले पनि हामीले आफूले गल्ती नगरे किन डराउनु भन्ने अवस्था छैन नै । राजनीतिमा मात्रै हैन वातावरणका विषयमा पनि बेइजिङ र दिल्लीमा पानी पर्दा नेपालमा छाता ओड्नैपर्ने अवस्था छ ।

यो आलेख वन संरक्षणका बारेमा राणाकालमा गरिएको व्यवस्था र अहिलेको हाम्रो कृयाकलापमा केन्द्रित छ । २ वर्ष अगाडि लेखेर थन्क्याइएको यो लेखमा अहिलेका केही सन्दर्भ थपथाप गरेर यसलाई अन्तिम रूप दिइएको छ ।

...
लेख्नपर्ने विषय थियो सामुदायिक वनले पारेको सकारात्मक प्रभाव । दोलखाको एक स्थानीय तहमा रहेका वनहरूले के गरिरहेका छन् ? त्यसबाट स्थानीय अझ विपन्नहरूले कस्तो सुविधा पाएका छन् ? यस्ता कामहरू कसरी गरिएका छन् ? फाइदा पाएकाहरूको भनाई के छ ?

यस्तै यस्तै प्रश्नहरूको उत्तरका आधारमा सामग्री तयार गर्ने योजना थियो । योजना अनुसार सन्दर्भ सामग्रीका लागि खोतलखातल गर्न लागियो । कम्प्युटरमा, डायरीहरूमा अनि पुस्तक पत्रपत्रिकाहरूमा । खोज्दै जाँदा भेटियो १ सय १५ वर्ष अघिको सनद । शताब्दी पुरानो कुरा बुझ्न सजिलो थिएन । अक्षर पनि, लिपी पनि ! बुझ्नलाई झनै कठिन त्यो समयको परिवेश ! अझ भाषा बुझ्न त अलिक समय लाग्ने नै भयो ।

सनद अलिक खुट्याएपछि यो लेख सुरु गरियो । तुलना गरियो त्यो समय अनि अहिलेको हालचाल । त्यसपछि लेखियो शताब्दीअघिको समाज र अहिलेको समाजका बारे केही शब्दहरू । वन तथा वातावरण जोगाउने त्यो अन्धकार समयको चेत अनि अहिलेको उत्तर आधुनिक समयको चेतना !

१९६५ साल असारमा लेखिएको सनद भेटिएपछि त्यसैमा अलिकति विश्लेषण गरियो । त्यसले देखायो तत्कालीन शासकको मनसाय । वर्तमान त देखिएकै छ । यो लेख त्यसबेलाको समय र अहिलेको समयको बारेमा तुलना गर्न केन्द्रित छ ।

१९६५ साल आषाड गते २७ रोज २ मा पूर्व २ नम्बर मेलुं इलाका सीम्रास बीर्ता गाउँका जनतालाई तत्कालीन सरकारले वन कसरी जोगाउने भनेर कागज गरिदिएको थियो । उक्त ठाउँ अहिले दोलखा जिल्लाको मेलुङ गाउँपालिकाको ७ नं वडामा पर्छ । यसै विषयमा अलिकति चर्चा अबको क्रममा ।

नेपालमा सरकारको नाममा रहेको वनमा स्थानीयले अपनत्व गर्न सकेन भनेर हामी सामुदायिक वनको अवधारणामा गएका छौं । यो कार्यक्रम लोकप्रिय पनि छ । तर, यसमा पनि सोच्नुपर्ने समय आइपुगेको छ कि ? 

वन तत्कालीन अवस्थामा मानिसको जीवनको अभिन्न अंग थियो । वन जोगाए वातावरण जोगिन्छ भन्ने थिएन तर वन चाहिन्छ भन्ने त यसै सनदमा उल्लेखित सवालहरूबाट पनि देखिन्छ । अहिले वन वातावरणसँग जोडिन्छ । रुखलाई कार्बन व्यापारको रूपमा उल्लेख हुन लागिसकेको अवस्था छ । त्यसबेला वनको उपयोग कसरी गर्ने भन्नेमा शासकले स्पष्ट शब्दमा उल्लेख गरिएको छ ।

सनदमा उल्लेख गरिएको छ ..कसैलाई काचा रुष काटन डडेलो लगाउन भस्मे तोहसे षोरिया फाडन लीसोपासो दावली थापन सीकार षेलन नदीनु दारुवानी भीत्र सुकेको रषर घरकटेरा मानीपौवा फट्केसागु बनाउनलाई काचा रुष काट्नुपर्यो भन्या तालुकदारलाई चाहिएमा रैतीसग र रैतीलाई चाहियेमा तालुकदारसँग सहभाग गरी पायासम्म हागावीगा बुडाषाडा हुँदा गनपाया अंन्नासंमर पारी जंगल नवीग्रनेगरी चाहियेसम्म काटी लीनेदीने गर्नु सर्कारीया काम परिआयामा भै आयाका सनद पुर्जी बमोजीं गर्नु सो वनजंगलमा अडा मीची लेषियाका वीमा दुवीदुव पर्नेमा म हरू नजुपक्री .....जिल्ला जंगीपरेठमाल अदालत नजिक अडा माल लगी बुझाइ ऐनबमोजीम सजाये गरिदिनु नेभियाबमोजीम नगरी सदरबाट वंजाच गर्न दौडाहा आउदा बेहिसाबसँग वंकाटी काडी जन्नब गरेको ठहर्यो भन्या ऐनबमोजिम सजाये हुन्याछ सो जानी वंमानी गुलजार गर्ने काम गर..(कसैलाई काचा रुख काट्न, डढेलो लगाउन, भस्मे तोहसे खोरिया फाड्न, लीसोपासो दावली थाप्न, शिकार खेल्न नदिनु । दारुवानी भीत्र सुकेको रूख र घरकटेरा मानीपौवा फट्के साँगु बनाउनलाई काचा रुख काट्नुपर्यो भने तालुकदारलाई चाहिएमा रैतीसँग र रैतीलाई चाहियेमा तालुकदारसँग सहभाग गरी पाएसम्म हागावीगा बुढाखाडा हुँदा गनपाया अंन्नासंमर पारी जंगल नवीग्रने गरी चाहियेसम्म काटी लीनेदीने गर्नु । सरकारको काम परिआएमा भै आयाका सनद पुर्जी बमोजीम गर्नु सो वनजंगलमा अडा मीची लेखियाका वीमा दुवीदुव पर्नेमा म हरू नजुपक्री .....जिल्ला जंगीपरेठमाल अदालत नजीक अडा माल लगी बुझाइ ऐनबमोजीम सजाये गरिदिनु भनिए बमोजीम नगरी सदरबाट वन जाच गर्न दौडाहा आउदा बेहिसाबसँग वन काटी काडी जन्नब गरेको ठहर्यो भन्या ऐनबमोजिम सजाये हुन्याछ सो जानी वन मानी गुलजार गर्ने काम गर)

राणाशासन अँध्यारो युग । अशिक्षित जनता । तर, चेतना ! सनदभित्र परेका आदेशले हामीलाई धेरै कुरा सिकाउँछन् । वन संरक्षणमा गर्नुपर्ने काम के के हुन् ? त्यो देखिन्छ । रुखमात्रै नभइ वन्यजन्तु पनि जोगाउनु पर्छ भन्ने देखिन्छ । सिकार खेल्न, पासो थाप्न प्रतिबन्ध छ । र सबैभन्दा महत्वपूर्ण कुरा रुख काट्दा जंगलको स्वरूप नबिग्रने गरी काट्नुपर्छ ।

अहिले ढुंगामाटो पनि बेच्नपर्छ भनेर सोचिन्छ । यो नयाँ युगमा । यो शिक्षित बेलामा । १ सय १५ वर्षअगाडि भनिन्छ सकेसम्म हाँगाविगा र बुढाखाडा रुखबाट काम चलाउ । काँचा रुख सकेसम्म नकाट । काट्नपरे रैती र तालुकदार सल्लाह समन्वय गर ।

१ सय १५ वर्षमा देशमा हाम्रो समाज कति अगाडि बढ्यो वा त्यही ठाउँमा छ ? यसका लागि घोत्लिनु पर्ने बेला आइसकेको छ । नेपालमा सरकारको नाममा रहेको वनमा स्थानीयले अपनत्व गर्न सकेन भनेर हामी सामुदायिक वनको अवधारणामा गएका छौं । यो कार्यक्रम लोकप्रिय पनि छ । तर, यसमा पनि सोच्नुपर्ने समय आइपुगेको छ कि ? जुन अवधारणाका साथ यो कार्यक्रम सुरु भएको थियो । त्यही अनुसार अहिले यो सञ्चालनमा छ ? या हामीले यसमा पनि नयाँ खालको असमानता जन्माइरहेका छौं ?

सरकार अहिले वनको क्षेत्रफल बढेको भनेर तथ्यांक प्रस्तुत गरिरहेको छ । समुदायले संरक्षण गर्ने सामुदायिक वन, कवुलियती बनहरू र सरकार आफैंले संरक्षण गर्ने भनेका संरक्षित क्षेत्र, आरक्ष र निकुञ्जहरूको संख्या बढिरहेको देखिन्छ । स्थानीय समुदायले संरक्षण गरिरहेका वनहरू स्थानीय समुदायका दैनिक जीवनका अभिन्न अंग बनेका छन् । यिनले स्थानीयहरूका विभिन्न आवश्यकता पुरा गरेका छन् । सामुदायिक वनले गरेका कामहरूका धेरै विवरण तयार गर्न सकिन्छ नै । त्यस्ता कामले पनि विपन्न समुदायको जीवनस्तर सुधारका लागि के काम गरे यो अर्को खोजी हुनुपर्ने तथा चासो राखिनुपर्ने कुरा हो ।

हामी समयका क्रममा धेरै अगाडि आइसकेपछि पनि उही १ सय १५ वर्ष अगाडिको समयभन्दा धेरै अगाडि आइसकेको छैनौं जस्तो देखिन्छ । अहिले पनि वन जोगाउने र परम्परागत रूपमा उपयोग गर्नेभन्दा धेरै अगाडि बढिसकेको छैन कि । यसमा विमर्श गर्नुपर्ने देखिन्छ ।

अहिले वन भनेको एउटा समुदायको मात्रै विषय रहेन । यो विश्वव्यापी एजेण्डा भैसकेको छ । यस ठाउँमा संरक्षण गरिएको वनबाट विश्वले नै फाइदा लिने कुरा प्रमाणित भैसक्यो । हामीले कार्बन सञ्चय गरेर पैसा लिइसक्यौं । यसमा पनि वनमात्रै जोगिने र वनकै कारणबाट त्यसको छेउछाउमा बस्नेले दु:खमात्रै पाउने अवस्था भयो भने यो संरक्षण दीर्घकालीन हुन सक्दैन ।

वनलाई मानिसको जीवन तथा जीविकोपार्जनसँगै जोडेर लाने काम सुरु गर्न ढिला नै भइसकेको छ । स्थानीय जनजीविकासँग वन जोडिन सकेन भने त्यो फेरि पनि कुलीन वर्गकै हातमा पुग्नेछ । जसका लागि काम गरेको हो उनीहरू साक्षी किनारा मात्र हुनेछन् । लक्षित वर्गलाई बढी भन्दा बढी सेवा उपभोग गर्ने वातावरण बनाउनका लागि सबै घोत्लिनुपर्ने समय आइसकेको छ ।

अन्तमा, नेपालमा जंगलको क्षेत्रफल बढिरहने तर काठ आयात भैरहने हाम्रो गज्जबको स्थिति रहेको छ । सरकारका नियमलाई अक्षरश पालना गर्ने हो भने काष्ठजन्य उद्योग सञ्चालन नै हुन नसक्ने अवस्था छ । हाम्रा जंगलमा बर्सेनि काठ कुहिएर सड्ने र आयात बढिरहने हो भने त्यो हाम्रो हितमा हुँदैन । जंगल जोगाउँदै जनताको जीवनस्तर बढाउन हामीले तत्कालै काम नगर्दा जंगल ‘छुनलाई होइन हेर्न चाँहि पाइन्छ..’ भन्ने गीतजस्तै बन्नेछन् । समयमै घोत्लिन र सो अनुसार कदम चाल्न सके फाइदा सबैलाई हुनेछ ।


Author

थप समाचार
x