सांसद रघुजी पन्तलाई खुलापत्र : कुनै नेपाली रहरले मर्न इजरायल गएका होइनन् !
म राम ढुंगाना । वैदेशिक रोजगार अन्तर्गत लामो समय इजरायलमा बसेर केही वर्ष अघि मात्र नेपाल फर्किएको हुँ। हाल हमास र इजरायली सेनाबीच लडाई भईरहेको छ। उक्त लडाईमा प्यालेस्टाइनको आतंककारी समूह हमासको आक्रमणमा परेर दश नेपालीको ज्यान गएको छ। थप घाईते र बेपत्ता भएका खबरहरु सार्वजनिक भएका छन्।
सन् २०१२-१३ मा पनि आतंककारी हमासद्धारा इजरायलमा ठूलै आक्रमण भएको थियो। आकाशबाट रकेट प्रहार भएर कतिबेला मरिन्छ भन्ने डर-त्रास मैले पनि भोगेको थिएँ । अहिले त्यस बेलाको भन्दा निकै ठूलो आक्रमण भईरहेको छ। त्यसकारण नेपालीहरु कति धेरै चिन्ता र डरमा होलान् जुन मेरो विगतको भोगाइको कारण पनि नजिकैबाट महसुस गर्न सक्छु।
इजरायलमा भईरहेको द्वन्द्व र त्यहाँ रहेका प्रभावित नेपाली कामदारबारे एक मिडियाले सोधेको प्रश्नको जवाफ दिँदै एमाले सांसद तथा पूर्व मन्त्री रघुजी पन्तले नेपालीहरु दुःख पाएर इजरायल गएको नभई रहर र खुसीले काम गर्न गएका कुरा बताए। उनीहरुलाई नेपाल सरकारले नपठाएको पनि दाबी पन्तको थियो। जबकि नेपाल सरकारले इजरायल सरकारसँग द्विपक्षीय श्रम-सम्झौता गरेर श्रम विभागले लिएको परिक्षामा उत्तीर्ण भएर कामदार भिषामा इजरायल गईरहेका छन्।
खाडीका अरब देशहरु भन्दा इजरायलमा केही राम्रो तलब-सुविधा भएका कारण नेपालीहरु त्यहाँ जान आकर्षित भएका पक्कै हुन्। तर,आकर्षक तलब भित्र लुकेको डर लाग्दो पाटो भने कमैले देख्छन् र बुझ्न अनि महसुस गर्न सक्छन्। इजरायलमा जानेहरु मध्ये नब्बे प्रतिशत केयरगिभर अर्थात ‘सुसारे’ कामको लागि हो। जुन काममा वृद्धवृद्धा,अशक्त र मानसिक अवस्था ठिक नभएका बिरामीको हेरविचार गर्नपर्छ।यो काममा चौबीसै घण्टा उनीहरुलाई समय दिन पर्छ।आफ्नो लागि कुनै निश्चित समय भन्ने नै हुँदैन। काममा हुँदा कयौं रात म आफैँ सुत्न पाएको थिइनँ।शारीरिक रुपमा अशक्त भएर हिँडडुल गर्न नसक्ने धेरै तौल भएका अशक्त उचाल्ने काम गर्दा धेरै नेपालीहरु थला परेका समेत छन्।चौबीसै घण्टा बिरामी कुरेर बस्न पर्दा मानसिक समस्या समेत निम्तिने गरेको हुन्छ।
देखे जस्तो इजरायलको केयर गिभरमा सबैको काम त्यति सजिलो भने छैन।
एक जिम्मेवार सांसद पूर्व मन्त्री भईसकेका व्यक्तिले सत्यतथ्य कुरा बोल्न पर्छ। हावादारी कुरा बोल्ने होइन। माननीय पन्तले के आधारमा बोले-नेपालीहरु रहरले इजरायल गएका हुन् भनेर ?
नेपालमा प्रशस्त हुनेखाने भएर कोही मानिस अर्काको देशमा ज्याला-मजदुरी गर्न जान्छ ? सबैकुरा पुगिसरी भए अर्काको काम गर्ने रहर कसैलाई हुन्छ ? अभाव, गरिबीको चपेटामा परेर अर्काको देशमा काम गर्न जाने हुन्। रघुजी पन्तले भने जस्तो १२ वर्ष इजरायल बस्दा कोही पनि दुई-तीनवटा घर भएर,टन्न धन-सम्पत्ति भएका नेपालीहरु मैले भेटिनँ। रघुजी पन्तले देखाइदिन पर्र्यो दुई-तीनवटा घर भएको कुन धनाढ्य इजरायल गएका छन् ?
म आफैँ पनि मध्यमबर्गीय परिवारको हुँ । मेरो दुई-तीनवटा घर थिएन र १२ वर्ष इजरायल बसेर कमाएर आउँदा पनि बल्लतल्ल एउटा सामान्य घर बनाउँन सकें। प्रशस्त सम्पत्ति भएर सम्पत्तिको मात लागेर म विदेशिएको थिइनँ। वृद्ध बाआमा र हुर्कँदै गरेका सन्तानलाई छोडेर मलाई विदेशिन कुनै रहर नै थिएन। एकबारको छोटो जुनीमा मलाई मेरो प्राण भन्दा प्यारा आफन्त घर-परिवार छोडेर एक दशक भन्दा धेरै विदेशी भूमिमा बस्न सजिलो कहिल्यै भएन। आफ्नो देश आफ्ना परिवार आफ्नोपन र सबैकुरा आफ्नो नै आफ्नो भएको देश छोडेर अर्काको देश,नौलो परिवेश न भाषा र धर्म अनि संस्कार नै मिल्छ त्यस्तो देशमा काम गर्दा बाहिरी मन खुशी भएप नि भित्री मन त कहिले पो खुसी हुन्थ्यो र ? विदेशमा काम गर्ने नेपालीहरु खुसी र रहरमा होइन भित्री पीडा र सम्झौतामा बाँचेका हुन्छन्।
यस्ता कुरा कहिल्यै नेपाल छोडेर विदेश नगएका र सधैं आफ्नो घर-परिवारसँग हाँसीखुसी रमाइलो गरेर बसिरहेका रघुजी पन्तले महसुस गर्न सक्ने कुरै भएन।
रघुजी पन्तले भने जस्तै दुई-तीनवटा घर भएका त के बस्ने बास नभएका अर्काको घरमा काम गरेका मानिससमेत इजरायल गएका मैले भेटेको छु । मेरो एकजना साथी भन्थे-‘रामजी मैले एकजोर गतिलो लुगा लगाएको इजरायल आएर मात्र हो। बुढा बाआमा,स-साना भाइबहिनी जग्गाजमिन छैन। बाआमाले निकै दुःख-कष्ट सहेर हामीलाई हुर्काएर यत्रो बनाइदिनु भयो। अब घरको सबै जिम्मेवारी मेरै काँधमा आइपरेको छ। भाइ-बहिनी पढाउनु छ। एक टुक्रा घडेरी किनेर त्यहाँ सानो घर बनाउँनु छ।’ ती साथी इजरायल बसाईको दुई दशक पुग्नै लाग्दा समेत सधैंलाई इजरायलबाट बिदाई गरेर नेपाल फर्किन सकेका छैनन्। उनको घर-व्यवहारको भित्री कुरा मलाई थाहा छ। यहाँ लेखेर सायदै सकिन्छ।
हो,इजरायलमा निकै वर्ष दुःख गरिसकेपछि केहीले घर-जग्गा जोड्न र अलिअलि बचत गर्न सफल भएका छन्। त्यसको लागि निकै लामो संघर्ष र आफ्ना थुप्रै रहरहरु सँग सम्झौंता गर्नपर्छ। यस्ता कुरा माननीय रघुजी पन्तसँग अनुभूति गर्न सक्ने मन भए पो ?
माननीय पन्त ज्यू-कसैलाई पनि आफ्नो ज्यान सस्तो हुँदैन। कोही पनि खुसी र रहरले मर्नकै लागी आफ्नो देश छोडेर विदेश जाँदैन। यति कुरा तपाईंलाई हेक्का हुन पर्ने हो नी ? तपाईं पूर्व श्रम तथा रोजगार मन्त्री भएर तपाईंको कार्यकालमा कति हजार रोजगारी सिर्जना गर्नु भयो ? तपाईंको कार्यकालको कुनै एउटा यस्तो काम बताइदिनुस् जुन सम्झनालायक होस् ? पटक-पटक सांसद मन्त्री र पूर्व प्रधानमन्त्रीको समेत सल्लाहकार भइसकेको तपाईं नेपाली राजनीतिमा बिर्सन लायक पात्र मध्ये एक हुनुहुन्छ।
आज होनाहार दश जना युवाहरु विदेशी भूमिमा आतंककारीको गोली खाएर मर्न पर्या। यो भन्दा दुःखद कुरा अरु के हुन सक्छ ? यस अवस्थामा देशको जिम्मेवार सांसद भएर तपाईंले पीडित परिवार अनि इजरायलमा रहेका नेपालीको साथैमा छौँ भनेर सान्त्वना दिन पर्ने कि उल्टो पीडितको बाध्यतालाई घोच्ने ?
तपाईंलाई याद छ ? तपाईंले सांसद भए बापत पाउने तलब-भत्तामा इजरायलमा बसेर काम गरेका नेपालीले पठाएको रेमिट्यान्सको पनि योगदान छ। इजरायलमा रहेका नेपालीले पठाउने पैसाले नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुगेको छ।कहिल्यै विचार गर्नुभएको छ ?
माननीय रघुजी पन्तज्यू, तपाईंको अभिव्यक्तिको कारण आज इजरायलमा कार्यरत र काम गरेर फर्किएका लाखौं नेपालीहरुको आत्मसम्मान र भावनामा चोट परेको छ। अनि इजरायलमा ज्यान गुमाएका पीडित परिवारमा तपाईंको अभिब्यक्तिले थप पीडा दिएको छ। तपाईंले आफ्नो सांसद पदको गरिमा कायम राख्न सक्नु भएन। तपाईंलाई लाग्दैन यस विषयमा तपाईंले माफी माग्न पर्छ ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया