विचार

नेपाली राजनीतिक चरित्रको भुमरीमा सामाजिक संरचना

रूजित काफ्ले |
कात्तिक १०, २०८० शुक्रबार १७:३५ बजे

सामाजिक संरचना भनेको सामाजिक संस्थाहरूको संगठित स्वरूप र संस्थागत सम्बन्धहरूको ढाँचा हो, जुन समाज परिवर्तन भएसंगै रचना भइरहन्छ । सामाजिक संरचना सामाजिक अन्तरक्रियाहरूको उत्पादन हो, जसले समाजमा मानवीय अनुभवका सम्पूर्ण आयामहरूलाई असर गर्छ । सामाजिक संरचनालाई संक्षेपमा बुझ्दा यो एक समाजमा विद्यमान रहेका विभिन्न एकाईहरूको सञ्जाल हो, जुन कुनै खास उद्देश्यको लागि बनाइन्छ वा कुनै उद्देश्यको लागि एकसाथ राख्ने गरिन्छ । समाजलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि समाजद्वारा बनाइएको विविध एकाईहरूको एकअर्कामा अन्तर्निहित हुने समिष्टिगत स्वरूपलाई नै वास्तवमा सामाजिक संरचना भनिन्छ । यसले समाजलाई व्यवस्थित र संयमित बनाउने काम गर्दछ ।

समाजशास्त्रमा समाजशास्त्री हर्बर्ट स्पेन्सरले सामाजिक संरचनाको अवधारणा पहिलो पटक सन् १८७३ मा सार्वजनिक गरेका थिए । उहाँले, सामान्यतया समाजलाई शरीरसँग तुलना गरेका थिए । उहाँको अनुसार जसरी एउटा शरीर तन्तुहरू, मासी, रक्तकोष, कोषहरू , हाड लगायत विभिन्न तत्वहरू मिलेर बनेको हुन्छ, त्यसरी नै एउटा समाज सामाजिक संरचनाहरूको विविध एकाइहरू मिलेर बनेको हुन्छ ।


सामाजिक संरचनामा वर्तमान नेपाली राजनीतिको नकारात्मक प्रभावलाई देहाय बमोजिमको तीन बुँदामा वर्गीकरण गरिएको छ:

1. समाजको चेतनास्तर र शिक्षामा नकारात्मक राजनीतिक प्रभावले गर्दा सामाजिक संरचनामा उल्लेख्य परिवर्तन हुन सकेन ।  

शिक्षा मात्र एक यस्तो हतियार हो जसले मानवीय चेतनास्तर मजबुद बनाउन मद्दत गर्दछ । विगतको समयमा नेपालको शिक्षा प्रणाली उल्लेख्य विकास हुन नसकेको कारण समाजमा चली आएका विभिन्न चलन, धर्म तथा प्रथाहरूलाई आधार मानी सामाजिक गतिविधि हुने र सोही बमोजिमको मानवीय चेतनास्तर हुने गरेको पाइन्थ्यो ।

त्यति बेलाको मानवीय चेतनास्तर कमजोर भएका कारणले जातको नाउँमा एक अर्कालाई विभेद गर्ने प्रचलन तीव्र थियो । मान्छेले मान्छेलाई पशुको जस्तो व्यवहार गरिन्थ्यो तर पनि सहजै स्वीकार हुने प्रचलन थियो । शिक्षा र चेतना थिएन, अलि बोल्न सक्ने र दुई चार पैसा भएका मान्छेहरू गाउँको साहुजी वा मुखिया बन्ने चलन थियो । मुखियाकै इसारामा गाउँ चल्नुपर्ने बाध्यता, सर्वसाधारण र तल्लो जात ठानिएका मान्छेहरूलाई श्रम शोषण तथा  आर्थिक शोषण गर्ने प्रचलन थियो । साहुको घरमा हली बस्ने, कुटो कोदालो बनाउनेदेखि लिएर कपडा सिलाउने सम्म आ-आफ्नै बालीघरे भन्ने राख्ने गरेको पाइन्थ्यो । मानवीय चेतनास्तर कमजोर भएकै कारणले समाजमा चर्को विभेद थियो । शिक्षा एक चेतना, बुद्धि, ज्ञान, सीप र क्षमता प्राप्ति तथा अभिवृद्धि गर्ने औजार हो भने सिकाई तिनै चेतना, बुद्धि, ज्ञान, सीप र क्षमता प्राप्ति र अभिवृद्धि गर्ने प्रक्रिया हो । शिक्षा मात्र एउटा यस्तो तत्व हो, जसले मानवीय स्वभाव परिवर्तन गर्न सम्भव बनाउँछ । यसले सोचाईको दायरा फराकिलो बनाउँछ, जीवन जिउने कला र सीप सिकाउँछ, सामाजिक बनाउँछ, मानव बनाउँछ । सामाजिक संरचना आफै बलियो जब हुन्छ तब मानवीय चेतनास्तर बलियो हुन्छ । तर हाल नेपालमा साक्षरता दर र शिक्षित जमात बढे पनि मानवीय चेतना स्तरमा भने केही प्रतिशत बाहेक खासै परिवर्तन आएको देखिँदैन । त्यसै कारणले गर्दा आज नेपाली समाजको सामाजिक संरचना धरापमा पर्दै गएको देखिन्छ । नेपालको शिक्षा प्रणाली यति कमजोर भयो कि मानिसको चेतनास्तर बलियो बनाउनुपर्ने ठाउँमा झन्झन् कमजोर बनाउँदै लागेको अनुभूति हुन जान्छ ।

यसको मूल कारण हाम्रो देशको विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका शैक्षिक संस्थाहरू निहित राजनीतिक स्वार्थको निम्ति प्रयोग भएका छन् । आफ्नो राजनीतिक स्वार्थ  पुरा गर्न र  राजनीतिक मानप्रतिष्ठाका लागि विद्यालय तथा विश्वविद्यालय स्थापना भएका छन् । शिक्षकहरूको योग्यता बढ्दै जाने क्रममा उपल्लो तहको शिक्षक बन्न वा सुविधाको खोजी गर्ने उद्देश्यले विद्यालयको तह क्रमिक रुपमा थप्दै जाने र क्याम्पस खोल्ने प्रवृत्ति विद्यमान छ । विद्यालयमा पनि आवश्यक पर्ने भौतिक संरचना तथा मानवीय जनशक्ति नै नजुटाई तह वृद्धि गरी विद्यार्थी सिकाइलाई अवमूल्यन गरिरहेका छौं । शिक्षाले समाज परिवर्तन गर्छ, मन्त्र पढेर वा जादु गरेर होइन । शिक्षाले मानिसमा चेतना सिर्जना गर्छ । मानिसलाई मानवीय मूल्य र मान्यता प्रति जागृत गर्छ । अन्धविश्वासलाई पखाल्छ । तर किन नेपाली शिक्षाले यी लक्ष्य प्राप्त गर्न सकेन र आज एउटा अराजक संस्कृति र देशका विरुद्ध सत्ता र पैसाका लागि देशको अस्मिता नै लुट्ने नागरिक तयार पार्यो भन्ने प्रश्नले सबैको मगजमा सोच्न बाध्य पारेको छ । राजनीतिले शिक्षा नीति बनाउने भएकोले देशलाई विश्व सामु एक सफल राष्ट्र बनाउन राजनीतिकर्मीको अहम् भूमिका रहन्छ ।

आजको शिक्षा प्रणालीमा निरंकुश र फोहोरी राजनीतिकको चरम प्रभावको कारण शैक्षिक जनशक्ति बेरोजगारी,अल्पज्ञानी र अराजक बन्न पुगेको छ । शिक्षामा विद्यालयस्तरीय होस् वा उच्च शिक्षा राजनीतिले ग्रस्त छ । राजनीतिको फाेहोरी खेलको अभ्यास गर्ने स्थानको रुपमा शिक्षण संस्था परिचित हुन थालिसकेका छन् । राजनीतिक दलको नेताहरूको चाकडीवाजको भूलैयामा अधिकांश विद्यार्थीले आफ्नो लक्षित गुणस्तरीय शिक्षा हासिल गर्नु भन्दा विद्यार्थी र जनताको हकहितको नाममा गरिने विभिन्न रुपका आन्दोलनमा संलग्न हुने गरेका छन् । कतिपयलाई आन्दोलनको मर्म र धर्मका बारेमा छेउ पुच्छर थाहा हुँदैन । आन्दोलनको दूरगामी असर समेत उनीहरूलाई जानकारी हुँदैन । अराजक, अभद्र र मर्यादित ज्ञान शिक्षा क्षेत्रमा देखापरेको छ । आज नेपालका राजनीतिक दलहरू शिक्षा क्षेत्र ध्वस्त पार्न तत्पर भएका छन् किनकि उनीहरूलाई सत्ता र कुर्सी बाहेक केही मतलब छैन । जनताले गतिलो आलोचनात्मक चेतसहितको शिक्षा पाएको खण्डमा भोलिको दिनमा आफ्नो र आफ्नो दलको अस्तित्व संकटमा पर्न सक्छ भन्ने डरले उनीहरू शिक्षा क्षेत्र कमजोर पार्न तत्पर छन् । शिक्षा क्षेत्रमा राजनीतिक प्रभाव चरम उत्कर्षमा पुगेकै कारण देशमा माटो सुहाउँदो र मौलिक शिक्षा प्रणालीको विकास हुन सकेन । उत्पादन, देशभक्ति र नैतिकता केन्द्रित शिक्षा प्रणाली नभएकै कारण समाजमा व्याप्त विकृति, अपराध र विसङ्गतिहरू बढ्दै छन्, जसका कारण सामाजिक संरचनाहरू झन् धरापमा पर्ने अवस्थामा पुगेको छ । समाज र देशलाई कसरी शैक्षिक चेतनशील वर्गले बनाउँछ भनेर सिकाउनु त परै जाओस्, व्यक्तिवादी बन्नुपर्छ, अरूको भलाइ हेर्नुहुँदैन, आफ्नो मात्र भलाइलाई प्राथमिकता राख्नुपर्छ, विलासी जीवन बिताउनुपर्छ, मोज मनोरञ्जन गरेर जीवन बिताउनुपर्छ भन्ने भास्यहरू आज नेपाली समाजमा तीव्र गतिमा बढ्दै गएको देखिन्छ किनकि यस्ता भास्यहरूलाई आजको शिक्षा प्रणालीले बुझेर सरकार र राजनीतिक दलहरूले समस्याको रूपमा बुझेर शैक्षिक नीतिमा परिवर्तन गर्न खोजेनन् जसका कारण आज समाजमा व्यक्तिवादी दृष्टिकोण बढ्दै गयो र मानवीय चेतनास्तर कमजोर भयो र सामाजिक संरचनाको परिवर्तन र बलियोपनको निर्माणमा यिनै सूचकहरू खतराको पाइलाहरू बन्न पुग्यो ।

२. राजनीतिक रूपमा हुने गरेको भ्रष्टाचारको लिएको चरम रूपले सामाजिक संस्थाहरूको संरचनामा नकारात्मक प्रभाव पारेको छ ।  

भ्रष्ट र आचार शब्द मिलेर भ्रष्टाचार बनेको हुन्छ, अर्थात सामान्य रुपमा भन्दा भ्रष्टाचार भन्नाले खराब आचरण भन्ने बुझिन्छ । राजनीतिक परिवेशबाट विश्लेषण गर्दा, सार्वजनिक अहोदामा रहेका व्यक्तिहरूले व्यक्तिगत स्वार्थको लागि सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने प्रक्रियालाई भ्रष्टाचार भनिन्छ । जसरी ढल मिसिएको पानीले सर्वत्र नकारात्मक असर मात्र गर्दछ, त्यसैगरी भ्रष्टाचारले सामाजिक संरचनाको सबै अंगमा विषाक्त असर पार्दछ । भ्रष्टाचारले गर्दा राजनीतिमा अपराधीले आश्रय पाउने, देश विकासको लागि चाहिने बजेटको दुरुपयोग हुने, राजस्व चुहावट बढ्ने र सत्ताको दुरुपयोग हुने प्रवृत्ति बढ्दछ । समाजमा धनी र गरिबबीच खाडल फराकिलो हुने, विकासको गति सुस्त हुने, शिक्षाको गुणस्तर खस्कने, बेरोजगारी समस्या चुलिने, सरकारको उपस्थिति कमजोर हुने र आर्थिक असमानता बढेर सामाजिक तनाव विस्तार हुने प्रवृत्ति पनि भ्रष्टाचारका नतिजा हुन् । यतिमात्र नभएर भ्रष्टाचारले सामाजिक अपराध श्रृजना भएको पाइन्छ जस्तैः हिजोआज मानव तस्कर, चेलीबेटी बेचबिखन, देहव्यापार, गैह्र कानुनी हतियारको बिगबिगी र बैकिङ्ग क्षेत्रमा ठूलाठूला फ्रड (किर्ते एवं जालसाजी) भएका छन् । यी पनि भ्रष्टाचारकै प्रभाव हुन् । बढ्दो भ्रष्टाचारले कानुनहिनता र दण्डहिनता मौलाएर मुलुकमा नैतिक, सामाजिक, मानसिक, सांस्कृतिक, राजनीतिक, प्रशासनिक, आर्थिक, आत्मीय र भावनात्मक पक्षहरूको विछन्न भई मुलुक असफल राष्ट्र हुन्छ ।  

समाजशास्त्री ब्रोक्सले सन् १९०३ मा गरेको एक अध्ययनले जुन समाजमा सम्पत्तिलाई सबैभन्दा बढी महत्व दिइन्छ, त्यहाँ भ्रष्टाचारजन्य गतिविधिहरू जन्मिने र फैलने अनुकूल वातावरण पाउने तथ्य भेटेका थिए ।

World economic forum को एउटा प्रतिवेदनले प्रतिवर्ष विश्व अर्थतन्त्रले ३.६ ट्रीलियन अमेरिकन डलरभन्दा बढी अर्थात् विश्वको वार्षिक कुल ग्राहस्थ उत्पादकको ४% हाराहारीको रकम भ्रष्टाचारका रूपमा गुमाइरहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

लेखक माइकल जोन्स्टोन र स्कट ए. फ्रिजेनको संयुक्त लेखनीको अनुसन्धान मूलक किताब “द कोनुन्ड्रम अफ करप्सन” ले सामाजिक न्यायको मूल्य प्रणाली र डिजिटल लोकतन्त्रको आधारभूत चरित्र नै भ्रष्टाचारको कारण खतरामा परेको कुरा उल्लेख गरेका छन् ।

सामाजिक न्यायको प्रमुख खतरा नै भ्रष्टाचार रहेको छ, जसले सामाजिक संरचनालाई दिन प्रतिदिन ध्वस्त बनाउँदै लगिरहेको छ । सुशासनको खम्बाहरू : पारदर्शिता, जवाफदेहिता र सामाजिक उत्तरदायित्वको दरार भ्रष्टाचार हुन् । करप्सन परसेप्सन इन्डिकेटर २०२२ मा दर्ज कुल १८० राष्ट्रमध्ये ११० औं स्थानमा नेपाल रहेको देखिन्छ ।

रोमानियाली राजनीति विषयका प्राध्यापक अलिना मुङ्गयुपी.पी.डी ले आफ्नो किताब The quest for good governance मा सार्वजनिक मामिला व्यवस्थापन र साधनको विनियोजनमा देखिने राज्य संयन्त्रको अक्षमताले पनि भ्रष्टाचार बढाएको दाबी गरेकी छिन् ।

Asian drama: An enquiry into the poverty of nation( Swish Economist Gunnar Mirdal)ले दक्षिण एसियाको देशहरूको सुशासनको आयामको बारेमा गरेको अनुसन्धान अनुसार,समाजशास्त्री वेबरले भनेझै कर्मचारी तंत्र नै सुशासन प्रवर्द्धनको बाधक रहेको छ । राज्यको संयंत्रहरूमा राजनीतिक नियुक्ति हुने र अन्य राज्यको अंगहरूमा पनि व्याप्त रुपमा राजनीतिक चलखेल हुने हुनाले भ्रष्टाचार मौलाएको पाइन्छ ।

समाजशास्त्री ट्याल्कोट पार्सन्सले सामाजिक संरचनालाई विशेषत सामाजिक मूल्य मान्यतालाई आधार मानी निर्माण भएको हुन्छ भनी दाबी गर्छन् । भ्रष्टाचार यस्तो तत्व हो जुन मूल्य मान्यताको ठीक विपरीतको कार्य हो । जुन राजनीतिक आडमा टिकेको हुन्छ ।

समाजशास्त्रमा सामाजिक संरचना कुनै पनि मानव समाजमा अवस्थित सामाजिक सम्बन्धहरूको विशिष्ट, स्थिर प्रणाली हो । सामाजिक संरचना भनेको संस्थागत ढाँचा हो जसले मानिसहरू बीचको दोहोरिने, लयबद्ध (चाहे दैनिक, साप्ताहिक वा वार्षिक) अन्तरक्रियामा क्रमबद्ध हुन्छ । सामाजिक संस्थाहरूले सामाजिक संरचनालाई सम्भव बनाउन आवश्यक व्यवस्था प्रदान गर्दछ । भ्रष्टाचार यस्तो तत्व हो जसले सामाजिक संस्थाहरूको गतिविधिहरूलाई क्षतविक्षत बनाउँछ, जसले सामाजिक संस्थाहरूको क्रियाशीलतालाई हटाई झन्झन् ती संस्थाहरूलाई कमजोर बनाइदिन्छ र सामाजिक संरचना ध्वस्त बनाउँछ । संगठन, परिवार, नातागोता जस्ता सामाजिक संरचनाको तत्वलाई मरे तुल्य बनाउँछ । जहाँ निरंकुश राजनीतिक शक्तिको हावी हुन्छ त्यहाँ यो सबै लक्षणहरू देखिन्छ । आज नेपालको राजनीतिक शक्ति यस्तै बाटोतर्फ मोडिएको हुनाले सामाजिक संरचनाहरूमा दिन प्रतिदिन नकारात्मक असर पर्दै गएको देखिन्छ ।

३) जवाफदेहिता र पारदर्शिताबिनाको राजनीतिक प्रणालीले सामाजिक संरचनालाई ध्वस्त बनाउँछ ।

जवाफदेहिता र पारदर्शिता सुशासनको प्रमुख खम्बा हुन् । राजनीतिक नेताहरूले नागरिकलाई आधारभूत सेवा उपलब्ध गराउन असफल भएकाले नेपालको राजनीतिमा खराब शासन प्रमुख चिन्ताको विषय हो । सरकारमा जवाफदेहिता र पारदर्शिताको अभाव छ, जसले गर्दा सार्वजनिक स्रोतको व्यवस्थापन कमजोर भएको छ । गरिबी, बेरोजगारी, कमजोर पूर्वाधारजस्ता मुलुकले सामना गरिरहेका प्रमुख समस्यालाई पनि राजनीतिक नेताहरूले सम्बोधन गर्न सकेका छैनन् । प्रभावकारी नेतृत्व र सुशासनको अभावले पनि व्यापक सामाजिक अशान्ति र अस्थिरता निम्त्याएको छ र देशको विकास र प्रगतिमा थप बाधा पुगेको छ ।  
नेपाली राजनीतिज्ञहरूले आफ्नो व्यक्तिगत स्वार्थलाई राष्ट्रभन्दा अगाडि राखेको लामो इतिहास छ । उदाहरणका लागि, सडक, पुल, विमानस्थल जस्ता अतिआवश्यक विकास आयोजनाहरू राजनीतिक द्वन्द्वका कारण वर्षौंदेखि ढिलाइ भएका छन् । नेताहरू देश र जनताको हितमा काम गर्नुभन्दा पनि आफ्नो पद सुरक्षित गर्ने र आफूलाई समृद्ध बनाउनेतर्फ बढी चिन्तित भएका छन् । राजनीतिक प्रणालीमा जवाफदेहिता र पारदर्शिताको अभावले नागरिकमा विश्वासको कमी हुनुका सामाजिक संरचनाहरूमा दरार सिर्जना हुन पुगेको छ ।

समाजमा संगठित संरचनाहरूको स्वरूप अराजकता तर्फ धकेलिएको छ , यसको प्रमुख कारण जनउत्तरदायी राजनीतिक प्रणाली नहुनु हो । राजनीति मात्र समाजको यस्तो हतियार हो जसले सामाजिक संरचनालाई बलियो बनाई सामाजिक स्थायित्व कायम राख्न सक्छ तर नेपालको राजनीतिक प्रणालीको भू सतहदेखि नै कमजोर छ किनकि नेपालको राजनीतिक प्रणालीको संरचना मौलिक नभई आयातित हो, जसले सामाजिक संरचनाहरूलाई दखल पुर्याएको छ । यी विषयहरूप्रति गम्भीरता र प्रतिबद्धताको कमी नै देशले प्रगति गर्न र आफ्ना नागरिकहरूको जीवनस्तरमा सुधार गर्न असफल हुनुको प्रमुख कारण हो । जबसम्म राजनीतिज्ञहरूले राष्ट्रको हितलाई प्राथमिकतामा राख्दैनन्, तबसम्म देश आर्थिक र सामाजिक समस्यासँग र सामाजिक संरचना बदल्न सङ्घर्ष गरिरहनेछ । पछिल्लो समयमा आफूलाई समाजको अपेक्षाअनुरूप समय सापेक्ष परिमार्जन गर्न नसक्नु, आ–आफ्नो राजनीतिक दलमा सहि स्कुलिङ स्थापना गर्न नसक्नु, लोभ–लाप र विलापभन्दा माथि उठ्न नसक्नु, बेइमान मस्तिष्कहरूको साँघुरो घेराभन्दा बाहिर समाजको वास्तविक चित्र हेर्न नसक्नु वा भनौँ समाजको पिंधसँग जोडिन नसक्नुजस्ता विकृतिले गर्दा सामाजिक संरचनाको परिवर्तनको गतिमा आम मानिसहरूको दिन प्रतिदिन आत्मविश्वास गुम्दै गएको अवस्थालाई नकार्न सकिन्न ।

समाजको सामाजिक संरचना महत्त्वपूर्ण तत्त्व सामाजिक संस्था हो । यो समुदाय लागि स्थिरता प्रदान गर्न व्यक्तिहरूको संयुक्त गतिविधिहरूको आधारमा निर्मित संगठनको हो । यी सम्पूर्ण संस्थाहरूमा राजनीतिक घटकले प्रमुख भूमिका खेलेको हुन्छ । जब राजनीतिक प्रणाली उत्तरदायी र जवाफदेही हुँदैन तब यी संस्थाहरूको जग पनि कमजोर हुँदै जान्छ । यसले गर्दा सामाजिक संरचनामा थप क्षति पुर्याउँछ । उदाहरणको लागि नेपालको राजनीतिक प्रणालीको जवाफदेहिता र पारदर्शिताको कमीले गर्दा आज समाजमा रहेका विभिन्न सामाजिक संस्थाहरू जस्तै शिक्षा, अर्थतन्त्र, नीति , परिवार लगायतका अन्य संस्थाहरू समेत धरापमा परेका छन् । यसले गर्दा सामाजिक संरचनाहरूमा नकारात्मक प्रभाव परेको छ ।

(लेखक : रूजित काफ्ले ​काठमाडौं स्कुल अफ लका विद्यार्थी हुन् ।)


Author

थप समाचार
x