विचार

आर्काइभ

बीपीलाई जित्‍ने ‘स्‍त्रीरत्‍न’

विमल आचार्य |
मंसिर ८, २०७७ सोमबार १३:२२ बजे

काठमाडौँ विश्वविद्यालय शिक्षण अस्पताल अर्थात् धुलिखेल अस्पतालमा कार्यरत चिकित्सक प्राध्यापक सुमनराज ताम्राकार स्वास्थ्यदेखि साहित्यसम्मका अनेक विषयमा के-के के-के लेखिरहन्छन् । पठाइरहन्छन् । कोभिड महामारीको डाक्टरी व्यस्तताबीच पनि उनी अतिरिक्त क्रियाकलापमा जुटि नै रहे । महामारीको माहोलले सामाजिक दूरी भएर मात्र होइन, उनीसित अहिलेसम्म मेरो भौतिक दूरी नै छ । कहिल्यै भेट जुरेको छैन । उसो त डाक्टरसित भेट्न नपरेकै पनि बेस ! हालै उनको प्रधान सम्पादकत्वमा एउटा किताब निस्केछ, ‘प्रतिनिधि काभ्रेली कथा संग्रह' । यो उनले इकागजका लागि इप्रेषण गरिदिए ।

संग्रहमा आधुनिक नेपाली कथाका स्तम्भ गुरूप्रसाद मैनाली छुट्ने कुरै भएन । रमाइलो त के भने, नेपाल म्यागेजिनमा काम गर्दा सम्पादक प्रशान्त अर्यालको विषय निर्देशनमा यो पंक्तिकारले अनुरोध गरेको हरिवंश आचार्यको ‘एउटा खसीको आत्मकथा’ पनि यसमा परेको रहेछ ।


किरण खरेल, कृष्णप्रसाद पराजुली, हरि अधिकारी, ध्रुव सापकोटा, गीताकृष्ण खरेल, दीपक सापकोटा, फूलमान बल, तुयुकाजी ताम्राकार, ध्रुवकृष्ण ताम्राकार, टंकनाथ शास्त्री, कन्हैया नासननी, विश्व सिग्देल, विजय सापकोटा, दिनमान गुर्मछान, डा. सुमनराज ताम्राकार, अनन्तप्रसाद वाग्ले, अनामिका सजल, अम्बुभवानी कार्की, ओतबहादुर खड्का, अशोक व्याञ्जु, केशव थापा, पुरुषोत्तम ताम्राकार, भारती श्रेष्ठ, मोहन दुवाल, रमा कर्णजीत (ताम्राकार), रमेश अधिकारी, डा. राजेन्द्र कोजू, रामसुन्दर देउजा, विजयराम कर्माचार्य, सुभद्रा दाहाल, सूर्य देउजा, सूर्यप्रसाद लाकोजू, सूर्यभक्त कर्माचार्य, हरिप्रसाद चौलागाईं, हिरामाया घिसिङ, ज्ञानकाजी मानन्धरसम्मका ३९ वटा कथा यसमा अटाएका छन् ।

संग्रहको समीक्षा पछिलाई छोड्दै अहिले एउटा मात्र कुरा गर्न मन लाग्यो । जुन कुरामा मेरो ध्यानाकृष्ट भयो, त्यसैबारे एउटा टुक्रो कुरो टक्र्याउनतिर लागेँ है ।

पुस्तकमा प्रधान सम्पादक ताम्राकार लेख्छन्, ‘काभ्रेको कानपुर घर भएका गुरूप्रसाद मैनाली नेपाली आधुनिक कथाका अगुवा हुन् । उहाँको कथा ‘नासो’ वि.सं. १९९२ मा शारदा पत्रिका (अंक ४) मा प्रकाशित भएको थियो । आधुनिक नेपाली कथाको सुरुवाती बिन्दु मानिन्छ । त्यसैगरी काभ्रेकै चेली तुषारमल्लिका नेपाली साहित्य इतिहासमा पहिलो नारी कथाकारका रूपमा दर्जिएकी छिन् । उनको ‘स्त्रीरत्न’ शीर्षकको कथा पनि त्यही शारदा पत्रिका (अंक ५) मै प्रकाशित भएको थियो ।’

पहिलो नारी कथाकार तुषारमल्लिकाको प्रसंग र त्यो ऐतिहासिक कथा ‘स्त्रीरत्न’ यसमा पढ्न पाएपछि मलाई खसखस भयो । मैले सम्पादक ताम्राकारलाई यसबारे थप केही जानकारी छ कि भनेर सोधेँ । उनले काभ्रेकै लेखक विजय सापकोटाको कुनै लेखनमा तुषारमल्लिकाबारे चार-पाँच लाइन पढेका रहेछन् । विजयले तुषारमल्लिका देवीप्रसाद सापकोटाकी छोरी हुन् भनेर लेखेको बताए । सम्पादक सुमनले पछि मदन पुरस्कार पुस्तकालयका दीपक अर्यालसँग सम्पर्क गरेर स्त्रीरत्न कथाको कपी मगाए । अनि यसमा छापे ।

‘पहिलो नारी कथाकार कुमारी तुषारमल्लिका’को ८५ वर्षअघि छापिएको कथा ‘स्‍त्रीरत्‍न’ ।

साहित्यिक अन्वेषक शिव रेग्मीले तुषारमल्लिकाबारे केही लेखेको मलाई सम्झना भयो । २०७३ चैत ४ गते ‘खोजीमेलीमा सत्य-तथ्यको खोजी’ शीर्षकमा नेपाल म्यागेजिनमा समीक्षा छापिएको रहेछ । त्यति बेला जाँगर चलाएको रहेछु, र पो अहिले तुषार देख्दाबित्तिकै तु सम्झिएछु ।

भूपी शेरचन, शंकर लामिछाने, भैरव अर्यालजस्ता धेरै लेखकका छरिएका रचना खाजेर प्रकाशमा ल्याउने शिव रेग्मी । आफ्नो पुस्तक ‘अतीतका पाना’मा बिर्सिइएका थुप्रै पत्रपत्रिकाबारे यथार्थ तथ्य बाहिर ल्याउने शिव रेग्मी । शारदाका सम्पादकीय, महाकविका भूमिका संग्रह गरेर छाप्ने शिव रेग्मी । आफू जलेर अरुलाई उज्यालो दिने दुर्लभ दियो थिए, रेग्मी ।

अब रत्न पुस्तक भण्डारबाट छापिएको ‘खोजीमेली’को कुरा । यो किताबमा रेग्मीले विभिन्न समयमा लेखेका ४३ वटा निबन्ध छन् । यी निबन्धको विशेषता के छ भने सबै खोजमूलक छन् । अनेक पत्रपत्रिकाको धुलो टक्टक्याउँदै, अनेक व्यक्तिलाई सोधेर, पटकपटक क्रस चेक गरी गरी उनले तयार पारेका लेख मूलत: तथ्य खोज्ने र शुध्द्याउनेतिरै केन्द्रित छन् ।

‘खोजीमेली’मा एउटा शीर्षक छ, ‘पहिलो नारी कथाकार कुमारी तुषारमल्लिका’ । अब आयो, काभ्रेली संग्रहमा पुन:प्रकाशन गरिएको ‘स्त्रीरत्न’को प्रसंग । कुमारी तुषारमल्लिका को हुन् ? पत्ता लगाउन शिवले गरेको मेहनत र धैर्य प्रेरणादायी छ । रेग्मी अनुसन्धानमा कतिसम्म लागिपर्थे त ? विसं. १९९२ को ‘शारदा’ पत्रिकामा ‘स्त्रीरत्न’ कथामा लेखकका रूपमा कुमारी तुषारमल्लिकाको नाम देखे, उनले । गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला सँगसँगै कथाकारका रूपमा महिला । अनि यिनको चर्चा कतै नभएको अवस्था । आजभन्दा ८५ वर्ष पहिले महिला लेखक, यो आस्चर्जेकै कुरो पनि भयो ।

तुषारमल्लिकाबारे केही थप कुरो बाहिर आई पो हाल्छ कि भन्न आसले रेग्मीले २०४९ मा एउटा लेख लेखे । ‘शारदाकी स्त्रीरत्न’ शीर्षकमा, ‘उन्नयन’का लागि । जसलाई थाहा हुन सक्छ भन्ने ठानेर उनले लेख लेखे, विडम्बना त्यो लेख नछापिँदै ती लेखकको निधन भयो । ती लेखक थिए, सिध्दिचरण श्रेष्ठ ।

रेग्मी लेख्छन्, ‘लेख छापिएपछि कुनै प्रकारको प्रतिक्रिया वा जानकारी प्राप्त हुन सकेन । हुन त अचेल यस्ता लेख-निबन्ध पढेर आफूलाई लागेको प्रतिक्रिया लेख्ने वा थाहा पाएको कुरा जानकारी दिने प्रवृत्ति कम हुँदै गएको छ ।’‘थाहा पाएको कुरा’ थाहा दिनेभन्दा लुकाउने अनि अनर्थ व्याख्या गर्ने चलन नयाँ हैन र यो पुरानो भई पनि सकेको छैन- शिव यसै भन्छन् ।

आफूले लेख लेखेको तीन वर्ष हुँदासम्म तुषारमल्लिकाबारे कोही कसैबाट खोजीमेली भएको, सोधपुछ गरेको उनले अनुभव गरेनन् । उनलाई लाग्थ्यो- नेपालीहरू भावुकता र काल्पनिकतामा जति रमाउँछन्, अनुसन्धान र आर्काइभिङमा भने उत्तिकै उदासीन । 
यस्तैमा रेग्मीका आँखा २०५२ साल वैशाख ९ गतेको ‘गोरखापत्र’मा छापिएको एउटा ‘श्रद्धाञ्जलि’मा पुगेर अडिन्छन् । श्रध्दाञ्जलि पढेर मान्छेहरू अक्सर च्व च्व गर्छन् तर रेग्मीले भने हा हा पो गरे । उनी मुस्कुराए ।

रेग्मीले गोरखापत्र संस्थानमा सम्पर्क गरे । श्रध्दाञ्जलि कुन विज्ञापन एजेन्सीमार्फत गोरखापत्रलाई प्राप्त भएको हो- सोधे । अन्नत: परिवारको सम्पर्क नम्बर भेटे, उनले । रेग्मीले तुषारमल्लिकाबारे धेरै लामो चर्चा गरेका छैनन् । थप सोध्नलाई अब शिव हामीमाझ छैनन् । गोरखापत्रको त्यस दिनको अंक कतै पाइयो भने उनीबारे केही पत्तो पाइएला पनि ! अथवा यसबारे अरु लिट्रेचर हुन पनि सक्छ । थाहा छैन मलाई ।

शिव रेग्मीका अनुसार ‘शारदा’ले कथा प्रतियोगिता आह्वान गरेको रहेछ । आजभन्दा ठीक सय वर्षअघि अर्थात् विसं. १९७७ मा जन्मेकी मल्लिकाले १५ वर्षकै उमेरमा कथा लेखेकी रहिछन् । पछिका चर्चित लेखक तथा राजनीतिज्ञ विश्वेश्वरप्रसाद कोइरालाका कथासँगै प्रतिस्पर्धा गरी पुरस्कार जितेर शारदामै कोइरालासँगै छापिएकी रहिछन् ।

साँझको पाँच बजेको थियो, छिमेकीका लोग्‍नेमान्छेहरू पनि खेत गएका वा पर्मा तिर्न अथवा ज्याला गर्न गएका फर्की आएका थिएनन् ।

शारदा पत्रिकाले तुषारमल्लिकाको कथासँगै लेखेको नोट यस्तो छ : गतांकको सूचना बमोजिम पुरस्कार योग्य लेख यही ठहर्‍यो । एउटी लेखिकालाई पुरस्कार दिन पाउँदा वास्तवमा हामीलाई हर्ष लागेको छ । सम्पादक (शारदा पत्रिका) । १९९२ सालको शारदाको अंक ४ मा काभ्रेली गुरुप्रसाद मैनालीको ‘नासो’, अंक ५ मा काभ्रेकै तुषारमल्लिकाको ‘स्त्रीरत्न’ । र, उही अंकमा विश्वेश्वरप्रसाद कोइरालाको ‘चन्द्रवदन’ पनि छापिएको रहेछ ।

शारदामा छापिएको सम्पादकीय नोट र शिव रेग्मीले लेखेअनुसार ‘स्त्रीरत्न’ पुरस्कृत रहेछ । विश्वेश्वरप्रसादलाई जितेको भनेर शिव रेग्मीले लेखेका छन् । साहित्यमा विश्वेश्वर, राजनीतिमा बीपी र परिवारजनमा सान्दाजु भन्ने हेक्का भईभई पनि यहाँ साहित्यका सन्दर्भमा शीर्षकमा बीपी नै लेखिएको छ ।

प्रस्तुत छ, त्यही ‘स्त्रीरत्न’ कथा ‘प्रतिनिधि काभ्रेली कथा संग्रह’बाट :


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x