विचार

नेपालीकरणको प्रक्रिया

डोरबहादुर विष्ट |
जेठ २२, २०७८ शनिबार १५:२० बजे

नेपालको सिंगो इतिहास नै अनेकन् संस्कृति, धर्म, भाषा र जनसमुदायको योग वा सम्मिलन हो । नेपालमा कुनै एउटा संस्कृति, धर्म, भाषा वा जनसमुदायले अर्का संस्कृति, धर्म, भाषा वा जनसमुदायमाथि प्रस्ट औपचारिक दमनको कुनै उदाहरण छैन । 

बेला–बेलामा कुनै एउटा सामाजिक–सांस्कृतिक संरचना र शैलीलाई संस्थागत गर्ने प्रयत्न भने हुने गरेको छ । जस्तो, जात व्यवस्था र जातीय समूहहरूको सोपान (हाइरार्की) को व्यवस्था । तर, नेपाली समाजको बनोट र प्रकृतिको कारण त्यस्ता सबै प्रयत्नलाई आंशिकरूपमा मात्र स्वीकारिएको छ । 


नेपालमा मानिसहरूले आयातीत प्रकारका संस्कृति र जीवनशैलीलाई पूर्णतः अङ्गीकार गर्नुको सट्टा शैली, संस्कृति र भाषाको मिलन (इन्टिग्रेसन) र योग (सिङ्क्रिटाइजेसन) को प्राकृतिक प्रक्रियालाई मात्र स्वीकारेका छन् ।

त्यसकारण, जापानी नृवंशशास्त्री (मानवशास्त्री) र भाषाशास्त्रीहरूको एउटा विद्वत् समूह ‘नेपालीकरण’ (नेपालाइजेसन) प्रक्रियाको चुरो पत्ता लगाउन निकै उत्सुक भएको यहाँ उल्लेख योग्य छ । उनीहरूको अध्ययनका लागि भूमिका लेख्ने जिम्मेवारी भने मेरो काँधमा आइलागेको छ । 

नेपालको विषयमा पछिल्लो पच्चिस वर्षमा धेरै अध्ययन भइसकेका छन् । नेपालको विषयमा आफ्ना कृति प्रकाशन गर्नेको क्रमावलीमा धेरै वरिष्ठ विद्वान् र स्नातकोत्तर तहका विद्यार्थीहरूको नाम थपिएको छ । नेपालको सम्बन्धमा भएका अधिकांश ती अध्ययनहरू नृवंशीय अध्ययन छन् । अधिकांश ती अध्ययन नेपालका कुनै साना क्षेत्र र साना समुदायमा केन्द्रित छन् ।

ती अध्ययनमध्ये केही विभिन्न समुदायबीचको सम्पर्क, द्वन्द्व र विभेदमा केन्द्रित छन् । भिन्न जाति, भाषा वा सांस्कृतिक पृष्ठभूमि भएका जनताबीच मिलन प्रक्रियाबारे अध्ययन गर्न चासो देखाउने नेपाली विद्वान्हरूको सङ्ख्या निकै कममात्र छन् । वास्तवमा नेपाललाई एकल सांस्कृतिक–भाषिक दृष्टिकोण (monocultural-linguistic perspective) बाट गरिएका अध्ययनहरूको सङ्ख्या धेरै छन् । यो कोणबाट अध्ययन गर्न सहज भएकोले नै त्यस्ता अध्ययनको सङ्ख्या बढी हुनुको एउटै सरल कारण हो । यो दृष्टिकोणले समाजमा खुलापन, सहिष्णुता, अनुकुलन र सामाजिक समझदारीको बाटोको खोजी गर्नुको सट्टा उपेक्षित समुदायहरूको बहिष्करणलाई जोड दिन उत्साहित गर्छ ।

केही विद्वान्हरूले यो कुरा अनुभव गर्न थालेका छन् । हालै मेस्सास्मेट (Messerschmidt) ले नेपालको एउटा समुदाय थकाली समुदायबारे अध्ययनमा परम्परागत दृष्टिकोणको प्रयोगबारे आफ्नो असन्तोष व्यक्त गरेका थिए । 

उनले भनेका छन्, ‘विद्वत् समुदायको रूपमा हामी हिमालयका अध्येताहरूले थकालीहरूका पछिल्लो र निकै अघिको सीमित जानकारीको आधारमा सो समुदायलाई अति प्राथमिकता वा आमरूपमा अति सरलीकरण गरेका छौँ । उनीहरूमा परिवर्तन र उनीहरूबीच अनुकुलनबारे हाम्रो दृष्टिकोण एकै शब्दमा भन्दा अल्पदृष्टिमा आधारित छ । हामीले पुग्दो ऐतिहासिक दृष्टिकोणबाट उनीहरूबारे अध्ययन गर्न सकेका छैनौ ।’ 

उनले थपे ‘समावेशी, समग्र दृष्टिकोण’ बनाउन उपलब्ध तथ्याङ्कको संश्लेषण गर्न हामीलाई बाटो देखाएका छन् । नेपालको राजनीतिक–सामाजिक–सांस्कृतिक इतिहासमा भेद र द्वन्द्वभन्दा मिलनको पक्ष बढी हावी छ । नेपालका अत्यन्त बहुमत जनतालाई एक तहमा आफूलाई कुनै एउटा वा अर्को सांस्कृतिक–भाषिक समूह वा जातीय समूहको आधारमा परिचित हुनु र अर्को तहमा समग्र नेपाली समाज त्यसरी नै चिनिनुमा कुनै ठूलो समस्या छैन । 

त्यो प्रक्रियालाई नै प्रायशः विविधतामा एकता भनी व्याख्या गरिएको पाउँछौँ । तर, अझै पनि यो विषयलाई बृहत् अर्थमा अध्ययन गर्ने जोखिम मोल्ने विद्वान्हरूको सङ्ख्या निकै कममात्र छन् । नेपाली समाजको कुनै एउटा हिस्साको छोटो समयको अवलोकनबाट यो विषयलाई न्याय गर्न नसकिने भएकाले कतिपय विद्वान्हरू आलोचनाको भय र ‘अवैज्ञानिकता’को धब्बा लाग्ने चिन्ताले पनि यो क्षेत्रमा हात हालिहाल्न चाहँदैनन् ।

हामीले सधैँ विज्ञानकै लागि अथवा कुनै कुरालाई सत्य प्रमाणित गर्न नै मात्र पनि अध्ययन गर्ने गर्दैनौँ । हामीले आफूलाई समाजका लागि जिम्मेवार बनाउनुपर्ने भएकाले हामीले समाजको त्यो अध्ययनलाई सधैँ उपेक्षा गर्न सक्दैनौँ । त्यसकारण, विद्वत् अध्ययनको अभाव रहेको अवस्थामा जिज्ञासा, परिकल्पना, संज्ञान र पूर्वानुमानको पोखरीमा डुबुल्की मार्दै म आफू आलोचनाको सामना गर्न तयार भएको छु ।

यो जोखिम उठाउँदाको खतरा थाहा भएर बेरम्यानले अनुभव गरेजस्तै मैले पनि हामी मानिसहरू र अध्ययनको अवस्थाप्रति उत्तरदायी, सहयोगी, संवदेनशील, सद्भावपूर्ण र जानकार प्रवक्ता तथा विश्लेषक हुनुपर्ने अनुभव गरेको छु । 

स्थानीय नृवंशशास्त्रीहरूप्रति सद्भाव पोख्दै बेरम्यानले भनेका छन्, ‘आफ्नै राष्ट्रभित्र काम गर्नु, हामी विदेशीको लागि भन्दा आफ्नै सरकारका लागि सेवा गर्नु सजिलो होइन, बढी गाह्रो काम हुनसक्छ । तर, सत्यको खोजी गर्नु र त्यो सत्यलाई सार्वजनिक गर्नेमा उनीहरू (स्थानीय नृवंशशास्त्रीहरू) मात्र कम जिम्मेवार हुने गर्दैनन् ।’ 

मेरा केही प्राज्ञिक मित्रहरूसँग क्षमा माग्दै म उनीहरूसमक्ष नेपाली समाजको गतिलो तस्बिर प्रस्तुत गर्नुपर्ने आग्रह गर्न चाहन्छु । नत्र नृवंशशास्त्रीहरू ६ जना दृष्टिविहिनहरूले हात्ती छामेर व्याख्या गरेजस्तो नेपाली समाजको व्याख्या गर्ने क्रम चालु रहनेछ । 

हाम्रो अध्ययन नेपालको लागि काम लाग्ने बनाउने हो भने हामीले यस्तो साँघुरो दृष्टिकोणमा आफूलाई सीमित राख्नु कदापि उचित होइन । त्यसकारण, हालसम्मका मेरो अनुभव, अवलोकन र अध्ययनका आधारमा केही संवादको थालनी गर्ने र टिप्पणीहरू गर्ने निधो गरेको छु । 

विशेषतः स्थानीय नृवंशशास्त्रीहरूलाई ध्यानमा राखेर मैले यस्तो निधो गरेको हुँ । नेपालका नृवंशशास्त्र र इतिहासका विद्यार्थीका लागि यो काम केही उपयोगी र चासोको बन्नेछ भन्ने म अपेक्षा गर्छु । यही कुरा मनमा राखेर मैले मेरो तर्क र बुझाइको सबभन्दा फराकिलो आयाम प्रस्तुत गर्नु उपयुक्त अनुभव गरेको छु ।

राष्ट्रिय हितमा चासो राख्ने विद्वान्हरूको लागि संस्कृति र जनसङ्ख्याको सम्मिश्रणको देश नेपालमा संस्कृति, भाषा र जनताबीच आपसी सम्मिलनको यो अध्ययन ताजा विषय हुनसक्छ । जाति र भाषाबीच सम्मिश्रणको कुरामात्र होइन, बरु नेपालको जीवनको तथ्यको रूपमा स्थापित विभिन्न धार्मिक समूहबीच सहिष्णुताको उत्कृष्ट अवस्था पनि चर्चा योग्य छ । सबै प्रमुख परम्परागत धर्ममा उल्लेखनीयरूपमा परिमार्जन आइसकेको र तिनले नेपाली स्थानीय रङ प्राप्त गरिसकेका छन् ।

एउटा चरणमा नेपाली समाजमा हिन्दू जात व्यवस्थाको थालनी भयो र जात विभाजनको स्वरुप ग्रहण ग¥यो । त्यसकारण विदेशी र स्वदेशी दुवै थरिका अधिकांश मानिसले नेपाली समाजलाई जात विभाजनको समग्रतामा विभाजित समाजको रूपमा हेरियो । तथापि, खासमा नेपाली जनताका विभिन्न समुदायलाई १८५४ मा मुलुकी ऐन लागू भएपश्चात् पनि केही तहमा स्वायत्तता दिइएको थियो । मुलुकी ऐनले देशमा जातको औपचारिक सोपानलाई संस्थागत गरेको थियो ।

संसारभर मानिसहरूको अर्को तरिकाबाट पनि वर्गीकरण गरिएको छ । पूर्वउपनिवेशवादी सरकारले गरेको त्यस्तो वर्गीकरण अझै पनि बाँकी छन् । तथापि, जात विभाजन र उपनिवेशवादी विरासतले जनताबीचको विभाजनमा धेरै ठूलो अन्तर छ । तर, आधारभूतरूपमा यी दुईबीच समानता पनि छन् । दुवैले संरचना र सोपानको विश्व दृष्टिकोण बोकेको छ । दुवै दृष्टिकोणले मानिसलाई उँच–नीच, शासक र शासित, सम्पन्न र विपन्नका साथै व्यक्तिगत प्रतिस्पर्धाको आधारमा भन्दा सांस्कृतिक र जातको आधारमा हेर्ने गर्छ ।

उत्तर भारतको जात संरचना र नेपालको जात संरचनाबीच धेरै बेमेल भएको कुरा थोरै मानिसले मात्र बुझेका छन् । ती दुईबीच समानता देख्नु एउटा सतही अनुमानमात्र हो । भारतमा जात व्यवस्था सांस्कृतिक र आर्थिक विशिष्टीकरणको प्रक्रियाको रूपमा विकास भएको थियो भने नेपालले भारतभन्दा निकै पछि नेपालीकरणको एउटा राजनीतिक प्रक्रियाको हिस्साको रूपमा जात व्यवस्थालाई व्यवहारमा ल्याएको हो । नेपालमा जात व्यवस्थाको मूल लक्ष्य भनेको विभिन्न समुदायलाई एउटा संगठित एकल संरचनामा मिलन गर्नु थियो । 

सबै तह र सबै कालखण्डमा नेपालीकरणको प्रक्रियाबारे परीक्षण गर्न हामीले दुवै समष्टि र व्यष्टि रूपमा अध्ययन गर्न जरुरी हुन्छ । यसको कारण नेपालजस्तै नेपालको जात व्यवस्था पनि निकै पुरानो र फैलिएको प्रक्रिया हो । 

ऐतिहासिकरूपमा भन्दा हामीले ‘नेपाल’ भन्ने शब्द प्रयोगमा आएको र त्यो नामको राज्य पहिलो पटक अस्तित्वमा आएको समयदेखिकै चर्चा गर्नुपर्ने हुन्छ । त्यही कारण मैले यो लेखलाई तीन पृथक समयावधिमा विभाजन गरी चर्चा गरेको छुः प्राचीन, मध्यकालीन र आधुनिक । यी तीन चरणमा (नेपालीकरण)को प्रक्रिया फरक–फरक भएकोले हुनाले यस्तो गर्न जरुरी भएको हो ।

प्राचीनकाल (९०० ईसापूर्वदेखि सन् ८८० सम्म) 

गाई पाल्ने गोपालहरूका राजाको वंशावली गोपाल राजवंशावलीका पुराना तथ्यअनुसार ईसा पूर्व ९ औँ वा दसौँ शताब्दी वरपर गोपाल राजाको नेतृत्वमा यो अधिराज्यको स्थापना भएको थियो । गोपाल राजाहरूकै पालामा पहिलो पटक ‘नेपाल’ नाम प्रयोगमा आएको देखिन्छ । त्यत्तिबेला गोपाल शासकहरूका साथै महिषपाल (भैँसी पाल्नेहरू), किरात, शाक्य, कोली र बज्जी समुदायका मानिसहरू बसोबास गर्थे । तर, देशको नाम भने गोपाल (गाई पाल्ने) आदिवासीको नामबाट रहन गयो ।

यही समयका धेरै प्राचीन भारतीय साहित्यमा नेपालको नाम बरोबर उल्लेख भएको पाइन्छ । वैदिककालको उत्तराद्र्धबाट उत्तरी भारतभरि नेपाल सर्वत्र जानिएको थियो । ईसापूर्वको आठौँ शताब्दी वरपरका वैदिककालका पछिल्ला साहित्यमा नेपाललाई कामरुपा, विदेह, उदाम्बरा, अभान्ती र कैकयजस्तै महत्वपूर्ण देश मानिएको छ ।

हिन्दू, बौद्ध र जैन धर्मको धेरै धार्मिक कृतिहरूमा नेपालको नाम उल्लेख पाइन्छ । ईसापूर्व चौथो शताब्दीको कौटिल्य अर्थशास्त्रमा नेपाललाई उच्च गुणस्तरका ऊनी राडीपाखीका लागि चर्चित भनी उल्लेख छ । त्यस्ता ऊनी वस्तुलाई भिन्गिसिस भनिन्थ्यो र त्यसमा पानी पस्दैनथ्यो । 

ती प्राचीन भारतीय कृतिहरूमा त्यत्ति आवश्यक नभए पनि नेपालको सन्दर्भमा खस र किरात समुदायको नाम भने पटक पटक नै उल्लेख भएका छन् । ईसापूर्व दोस्रो शताब्दीको मनुस्मृतिमा यी दुई समूहको नाम उल्लेख छन् ।

सुरुदेखि नै हिमालय क्षेत्रमा यी दुई समूहका मानिसहरूको प्रभावशाली र सङ्ख्यात्मक रूपमा बढी उपस्थिति भएको कुरा हामीलाई थाहा छ । गेराल्ड बेरम्यानको विश्वासमा खसहरू ईसापूर्व १५०० देखि १००० को बीचमा भारत पसेका थिए । उनले एफ डी पर्गिटरको भनाइ उद्धृत गर्दै एैलस (अथवा आर्यनहरू जसमा खसहरू पनि पर्छन्) मध्य हिमालय क्षेत्रबाट भारत प्रवेश गरेका थिए ।

पर्गिटरको भनाइमा उनीहरू तिब्बत हुँदै गढवालबाट भारत पसेका थिए । खसहरू त्यत्तिञ्जेलसम्म पशुपालक घुमन्ते समुदाय थिए । गाईवस्तु, भेडाबाख्रा नै उनीहरूको जीवनयापनको मूल स्रोत थियो । उनीहरूको हिमालयको पश्चिम खण्ड हुँदै भूमध्यसागरको पूर्वी तटसम्मका मानिसहरूसँग सम्बन्ध थियो ।

त्यस्तै किरातहरू पनि हिमालयको पूर्वी भाग हुँदै चीनसम्मका मानिसहरूसँग जोडिएका थिए । उनीहरू भैँसी पाल्थे र सम्भवतः जंगल फडानी गरेर खेतीपाती गर्थे । 

खस र किरात-यी दुई समूह हिमालयका दुई कुनाबाट उत्पत्ति भएका मात्र थिएनन्, बरु उनीहरूको जीवनशैली पनि नितान्त फरक–फरक थियो । उनीहरूको स्वरुप पनि फरक फरक थियो । अनि बोल्ने भाषा पनि नितान्त फरक-फरक थियो । खसहरू ककेसियालीहरू थिए र उनीहरू हिन्द–युरोपेली भाषाहरू बोल्थे ।

अनि अर्कोतिर किरातहरू मङ्गोलियालीहरू थिए र उनीहरू तिब्बतियाली-बर्मेली भाषा बोल्थे । अनि धेरै सम्भव उनीहरूको भेट नेपाल उपत्यकामा सुरुवाती समयमा भयो र सम्भवतः नेपाल उपत्यकाका सबभन्दा पहिलाका बासिन्दा उनीहरू नै थिए ।

नेपालको साझा भू–भागमा उनीहरूको भेट हुँदा र आपसमा नजिक भएर बस्न थाल्दा दुवै पक्षबीच भाषा र संस्कृतिका धेरै पक्षमा आदानप्रदान, सरसापत र तलमाथि भयो । प्राग ऐतिहासिक पुरातात्विक प्रमाण फेला नपर्दासम्म यी कुरालाई मूर्तरूपमा देखाउन भने सजिलो छैन । हामीसँग उपलब्ध तर सीमित ठोस प्रमाण, अवलोकन, अनुमान र परिकल्पनाको आधारमा हामीले अहिले केही सम्भावित निष्कर्ष निकाल्न सक्छौँ ।

गोपाल शासकहरू खस र महिषपाल शासकहरू किरात थिए । यो हाम्रो तर्कलाई पुष्टि गर्ने ठोस प्रमाण उपलब्ध नहुँदासम्म यसमाथि प्रश्न उठिरहनु स्वाभाविक हो । 

गोपालहरूको तुलनामा किरातहरूले नेपालमा लामो समय शासन गरे । त्यत्तिबेला किरात भाषा नै आधिकारिक भाषा बनेको थियो । यद्यपि किरात भाषामा प्रारम्भिक खस प्राकृत भाषाको पनि निकै बलियो प्रभाव थियो ।

लिच्छविकालीन शिलालेखमा फेलापरेका ४७ वटा नाम (उदाहरणका लागि मणिभ र तालव्य व्यञ्जन)हरू विशेषतः स्थान नामहरू  त्यत्तिबेलाका औपचारिक अक्षर (तिब्बतो-बर्मन) भन्दा फरक छन् । ती सबै नामहरू तिब्बतो-बर्मनभन्दा प्राकृत भाषासँग बढी नजिक छन् । यसले हामीलाई खसहरूका आरम्भिक शब्दबारे घोत्लिन उत्साहित बनाएको छ । ‘नेपाल’ शब्द नै पनि खस भाषाबाट आएको हुनसक्छ । यद्यपि, कमलप्रकाश मल्लले प्रस्ट रूपमा ‘नेपाल’ शब्द हिन्द–आर्यन शब्द नभएको बताएका छन् ।

त्यो नाम खस शब्दबाट आएको भए पनि वा नभए पनि मानिस–मानिसबीच, धार्मिक संस्कृति, भाषा र जीवनशैलीबीच मिलनबाट नेपालीकरणको प्रक्रियाको यो सबभन्दा पहिलेका जानिएको उदाहरण हो । यस्तो नेपालीकरणको प्रक्रिया काठमाडौँ उपत्यका (जसलाई नेपा भनेर पनि चिनिन्थ्यो) बाहिर भन्दा यहीँभित्र सघनरूपमा भएको थियो ।

काठमाडौँ उपत्यका मलिलो माटो र फाँटहरू भएको आकर्षक उपत्यका थियो । तिब्बती पठार र गंगा नदीको तटीय मैदानबीच व्यापार सम्बन्धका लागि पनि काठमाडौँ उपत्यका एउटा उपयुक्त ठाउँ थियो । किरात र खस दुवै नै मुख्यतः पशुपालक घुमन्तु मानव समूह थिए । उनीहरूले अर्ध–स्थायी कृषि तरिका जानेका थिए ।

नेपाल उपत्यकामा सुरूमा बसोबास गर्दा दुवै समूहले जंगल फडानी गरेर नै बस्ती बसालेको हुनुपर्छ । यद्यपि, खस अर्थतन्त्र भेडा, बाख्रा र गाईवस्तुको चरनमा बढी निर्भर थियो । त्यो नै उनीहरूको जीविकोपार्जनको मूल स्रोत थियो । उनीहरूको खेतीपाती धेरै सम्भव चरन क्षेत्र नजिकका सुख्खा र खुला जमिनमा थियो । उनीहरूको मुख्य खाना कोदो र मासु थियो । त्यस अतिरिक्त जंगलमा पाइने अरू वन्य उत्पादन पनि उनीहरूको खाना थियो ।

अर्कोतिर, किरातहरू भने जंगलमै बस्थे । पूर्वी हिमालय क्षेत्रको तुलनामा बढी चिसो क्षेत्रमा उनीहरूको बसोबास भयो । त्यही भएर उनीहरू बढी मात्रामा जंगलका फल र जंगली शिकारमा निर्भर थिए । उनीहरूले थोरैमात्र सुख्खा धानको खेती गर्थे । तर, नेपाल उपत्यकाका मलिलो फाँटमा बस्न थालेपछि यी दुवै समुदायको जीवनमा ठूलो परिवर्तन आयो । उत्पादनशील भूमिको कारण उनीहरू एकै ठाउँमा बस्न उत्साहित भए ।

हिमालयपारि राम्रो हावापानी, ममिलो माटो र व्यापारको कारण सबै दिशाबाट मानिसहरू नेपाल उपत्यकामा आउन थाले । फलतः नेपाल उपत्यकामा एउटा समृद्ध समाज हुर्किंदै गयो । विभिन्न भाषा, संस्कृति र जातीयताको पृष्ठभूमिका मानिसहरूले एउटै भाषा र संस्कृतिसहितको साझा जीवनशैली अपनाउन थाले । त्यही भएर सुरूको चरणमा भन्दा ‘नेपालीकरण’ को प्रक्रिया अझ तीव्र गतिमा अघि बढ्यो ।

गोपाल वंशले नेपाल अधिराज्यको स्थापनापछि र झन्डै दुई शताब्दी शासन गरिसके पछि महिषपालहरूले छोटो अवधिका लागि यहाँ शासन गरे । त्यसपछि महिषपालहरूमाथि किरात नाम गरेको समूहले शासन खोस्यो । किरातहरूले इसाई संवत्को पहिलो शताब्दी आसपास झन्डै आठ सय वर्ष शासन गरेका थिए । यसप्रकार समयान्तरमा केही फरक उत्पत्तिका मानिसहरू मिसिए पनि नेपाल उपत्यकाका सुरूका बासिन्दाहरू खस र किरातहरू नै भएको बुझिन्छ । खस र किरातहरूको प्रभुत्वका मूल कारण निम्नानुसार थिए :

क) यो क्षेत्रमा उनीहरू अरू समुदायको तुलनामा सङ्ख्यात्मक हिसाबमा बढी हुनु, 
ख) उनीहरू दुवै पशुपालन पनि गर्ने अनि लगातार घुमिरहने बानी पनि परेका समुदाय हुनु र 
ग) नेपाल उपत्यकाको हावापानी आधारभूतरूपमा उनीहरूको उत्पत्ति भएको हिमालय क्षेत्रसँग मिल्दोजुल्दो भएको र हिमालयबाट उत्तर वा दक्षिणबाट आएका मानिसहरूमा कुनै ठूलो रूपान्तरणको खाँचो नपरेको हुनाले । 

यद्यपि, खस र किरात दुवै भाषा र संस्कृति नेपाल उपत्यकामा आएका हरेक समूहका मानिसहरू, विशेषतः दक्षिणबाट आएका मानिसहरूबाट निकै प्रभावित थिए । गंगा नदीको किनाराको समथर भूभाग निकै मलिलो र विशाल थियो । सो क्षेत्र समृद्ध र प्रचुरता भएको क्षेत्र थियो । 

हिमालय क्षेत्रका पहाडी देशको तुलनामा त्यहाँको सभ्यता र संस्कृति त स्वभावतः आकर्षक नै थियो । त्यसकारण गंगा नदी किनाराका विशाल समथर भूभाग सधैँ नेपाली भाषा, संस्कृति र सभ्यताको प्रभावको केन्द्र रहिरह्यो । इसाई संवत्को सुरूवातपछिका कैयौँ शताब्दीपछि दक्षिणसँग जोडिएको भूभागबाट बसाइ सरेका लिच्छवि परिवारले नेपालमा शासन गरे ।

लिच्छविहरूले इस्वी संवत् १०० देखि ८८० सम्म नेपालमा शासन गरे । उनीहरूले नेपालको सभ्यतालाई अझ उचाइमा पु¥याउन सफल भए । उनीहरूले नेपालमा सांस्कृतिक चिन्तनधारा, शैली, धार्मिक आस्था र व्यवहार भित्र्याए । यसले नेपालका आधारभूत संस्कृति र भाषालाई विना कुनै चुनौती धनी बनाउन मद्दत ग¥यो । लिच्छवि राजाहरूमध्ये कसैले पनि आफ्नो नेपालबाहिरको मूल उत्पत्ति थलोलाई बढी जोड दिएनन् । बरू तत्कालीन नेपाली समाजमा आफै घुलमिल भएर नेपालीपनाको आफ्नै तरिका अवलम्बन गरे । 

नेपाली समाजको यस्तो बनोट विशेषताले प्राचीनकाल (९०० ईसापूर्वदेखि ८८० ईस्वी सम्बत्) मा उसको विस्तार र विकासमा ऊर्जा प्रदान ग¥यो । यो विकास र विस्तारको क्रम केही परिमार्जनसहित मध्यकालीन समय (सन् ८८० देखि सन् १७६८ सम्म) चालु रह्यो । 

नेपालको इतिहासमा नेपाल उपत्यकामा बसोबास गर्ने बासिन्दाहरूलाई विभिन्न समयमा विभिन्न नाम दिइयो । जस्तैः नेपाल, नेबा, नेवा वा नेवा(र) आदि । कमलप्रकाश मल्ल लेख्छन्ः ‘सुरूमा नेपाल–न्हेतपाले एउटा शिकारी समूहलाई जनाउँछ । समयान्तरमा नेपाल उपत्यकामा आएर बस्ने सबैलाई नेवार–नेवाल–नेबाल–नेपाल भनिन थाल्यो । लामो अन्तरालमा उपत्यकाका नेवारी भाषा बोल्ने सबै बासिन्दालाई नै नेवार भन्न थालियो ।’

मल्लले सम्पूर्ण अवस्थालाई अझ स्पष्टरूपमा व्याख्या गरेका छन् : ‘आधुनिक नेवारहरूले एक–अर्कालाई आफ्नो पुर्खा वा जातिबाट नभई साझा संस्कृति र भाषाबाट जोड्न थाले । उनीहरू एकआपसमा नेवार सामाजिक संरचनामा रहेका स्थान र विधिबाट जोडिन थाले । ईस्वी संवत्को पहिलो सहस्राब्दीको अन्त्यसम्ममा वस्तुभाउ पाल्ने प्राचीन गोठाला समुदाय, किरात, बज्जी, शाक्य, कोली, मल्ल, लिच्छविहरूको शासक परिवार, अभिरा गुप्ता र ठकुरी ब्राह्मणहरू सबै नेवार समुदाय बनाउने उपत्यकाका रैथानेहरूमा मिसिन पुगे ।’

मध्यकालीन अवधिसम्म आइपुग्दा नेवार समाज सोपानमा वर्गीकरण भइसकेको थियो । त्यसले त्यहाँ आउने नयाँ मानिसहरूलाई नेवार समुदायमा मिसिन असम्भव बनाइदियो । त्यो उँच–नीचको व्यवस्थाले नेवार समाजलाई कडा र बन्द प्रणालीमा ढाल्यो । बाहिरबाट आउने कोही पनि नवआगन्तुकहरूलाई नेवार समुदायमा मिसिन ढोका बन्द गरिदियो ।

मध्यकालीन समय (सन् ८८० देखि सन् १७६८) 

मध्यकालीन समयको सुरूका केही शताब्दीहरूबारे निकै थोरै कुरामात्र जानिएको छ । तर, बा¥हौँ शताब्दीको नजिकदेखि नेपालीकरण प्रक्रियाबारे हामीलाई बताउने केही महत्वपूर्ण सामग्री उपलब्ध छन् । त्यो समयमा आधुनिकीकरणका धेरै राजनीतिक प्रयास भएका मनग्य उदाहरण छन् । चौधौँ शताब्दीका राजा जयस्थिति मल्ल (ईस्वी संवत् १३८०–१३९५) त्यस्ता प्रयास गर्ने एक जना राजा थिए । उनले एउटा राष्ट्रिय नेपाली समाजको बृहत् धरातलभित्र मानिसहरूलाई आफ्नो अलग सामूहिक पहिचान कायम राख्न उत्साहित गरेका थिए । यस्ता खालको नयाँ जीवनशैली र मूल्य प्रणालीको राजनीतिक दिशा मानिसहरूको लागि कहिल्यै पनि बाध्यकारी र असहिष्णु थिएन । मानिसहरूलाई त्यस्ता राजनीतिक दिशा आफूलाई अनुकूल भए अवलम्बन गर्ने नभए नगर्ने छुट थियो ।

मल्ल राजाहरूले सबै खालका हिन्दू धार्मिक सम्प्रदायहरू जस्तै शैव, वैष्णव र बौद्ध धर्मप्रति समान सम्मान र मान्यता दिने गरेका धेरै उदाहरण छन् । त्यसका साथै खस, किरात र तत्कालीन नेपाली समाज बनोटका हिस्सा बनेका अन्य स–साना सम्प्रदायहरूले पछ्याएका परम्पराअनुसार धेरै स्थानीय ठाउँमा पूजाआजा गर्ने र त्यस्ता ठाउँलाई धार्मिक महत्व पनि दिइएको पाइन्छ ।

परम्परागत धार्मिक अभ्यासका अधिकांश विधिविधान सुरूमा दक्षिणबाट आएका थिए । तर, त्यस्ता विधिविधानमध्ये बिनाअपवाद सबै अभ्यासमा ठूलो रूपान्तरण आयो र तिनलाई पूर्णतः स्थानीय नेपाली प्रारूप दिइयो । 

नेपाल अधिराज्यले अंगीकार गरेका मानिसहरूका समूह विशाल र विविधतापूर्ण थियो । उनीहरूले धेरै थरी भाषा बोल्थे । धेरै धार्मिक संस्कृतिको अभ्यास गर्थे । समयान्तरमा प्रारम्भिक चरणमा जस्तै ‘सबै वस्तु पग्लिने भाँडो’ (मेल्टिङ पट) को अवधारणाबाट काम चलाउन गा¥हो हुँदै गयो ।

अनि सबैलाई नेवा भनेर मात्र पुग्ने अवस्था रहेन । त्यस्तै उपत्यकाका जनताको भाषा (नेवारी) मल्ल राजाहरूले आफ्नो शासनअन्तर्गत ल्याएका सबै जनताबीच सम्पर्क र संवाद गर्न पनि अपुग बन्दै गयो । तर, भिन्न–भिन्न मातृभाषाका जनताबीच साझा भाषाको रूपमा आजको नेपाली भाषाको प्रारम्भिक स्वरूपमा खस भाषाको प्रयोग सहज बन्दै गयो । 

यसप्रकार आजको राष्ट्र भाषा नेपाली भाषाको प्रारम्भिक रूप त्यत्तिबेला नै सबैबीच संवाद र सम्पर्कको भाषा बनेको थियो । अठारौँ शताब्दीको सुरुमा राजा पृथ्वीनारायण शाहले एकीकरण अभियान थाल्नु शताब्दियौँअघि नेपाली भाषाले विस्तारित नेपालको राष्ट्र भाषा बन्ने आधार विकास गरिसकेको थियो ।

मल्ल शासनको पछिल्लो कालखण्डमा सहरी क्षेत्रमा बस्ने नेपाली समाजले बाहिरी क्षेत्रमा बस्ने ग्रामीण समुदायलाई असमावेश र उपेक्षा गर्ने मनसाय विकास ग¥यो । यो मनसाय त्यसअघिका शताब्दीहरूको खुला र सहिष्णु शैलीभन्दा पक्कै पनि विपरीत थियो ।

विशेषतः लिच्छविकालीन शैलीभन्दा त्यो नितान्तविपरीत सोच थियो । मल्लकालले नेपालको भौतिक संस्कृतिमा मनग्य उपलब्धि हासिल गरे पनि नेपालमा जातीयताकेन्द्रित (इथ्नोसेन्ट्रिक) अवधारणाको विकास पनि त्यही समयमा भएको देखिन्छ ।

नेपालीकरणको प्रक्रियाको निम्ति जातीयताकेन्द्रित (इथ्नोसेन्ट्रिक) अवधारणा एउटा ठूलो भाँजो सिद्ध भयो । नेपाली जनता, संस्कृति र भाषालाई समान सहजताका साथ बाँच्न मद्दत गरेको सम्मिलनकारी व्यवस्थाको विकास भएको हजारौँ वर्षपछि मल्लकालमा यो अवधारणा त्यागिएको देखियो । राजा जयस्थिति मल्लले भारतबाट ब्राह्मण विद्वान्हरू ल्याएर जात र पेशाको आधारमा समाजको औपचारिक चिरा पार्ने सोपानको विकास गरे । यो नै खुला समाज र ‘सबै वस्तु पग्लिने भाँडो’ को अवधारणाको अन्त्यको सुरूवात थियो । 

राजाका ब्राह्मण सहयोगीहरूले उँच र नीचको अवधारणालाई जोड दिए । अनि परम्परागत हिन्दू मूल्यलाई मान्यता दिए । उनीहरूले यहाँको भाषाको संस्कृतीकरण गर्न पहल गरे । संस्कृतीकरण गरिएको भाषा जनताबाट झन् झन् टाढा हुँदै गयो । संस्कृत भाषा सम्भ्रान्तहरूको भाषा बन्यो । सामान्य जनताले बोल्ने रैथाने भाषालाई असभ्य, गँवार भाषा ठान्ने शिक्षितहरूले मात्र त्यो भाषाको प्रयोग गर्न थाले । वर्ग विभाजन अझ फराकिलो बन्दै गयो ।

समाजमा आर्थिकरूपमा ज्यादै महत्व बोकेका ज्यापु किसानहरूलाई व्यापारी समुदायभन्दा तल्लोस्तरको व्यवहार गरियो । तिब्बत र गंगा तटबीच बढ्दो व्यापारको कारण ज्यापु किसानहरूको तुलनामा व्यापारी समुदायको महत्व बढेको थियो । सामाजिक रीतिथिति र सम्बन्धको आधारमा तल्लो तहका नभए पनि श्रेष्ठहरूको तुलनामा ज्यापुहरूको सामाजिक तह तल हुनुको मूल कारण यही थियो । 

यस्तो विकासक्रमसँगै मल्ल राजाहरूले त्यो समाजलाई कमजोर बनाए । अनि बलियाको प्रभावको निम्ति त्यो समाज खुकुलो बन्दै गयो । खस भाषा र त्यो भाषा बोल्नेहरूको आक्रामक प्रभाव बढ्दै गयो ।

फलतः नेपालीकरणको प्रक्रियाको भूमिका निभाउने जिम्मेवारी बन्द र जातीयताकेन्द्रित एउटा नेपाली समूहबाट अर्को खुला शैलीको समूहको हातमा स्थानान्तरण हुँदै गयो । यही परिवर्तनले गोर्खाका शाह राजाहरूको हातमा आधुनिककाल (इस्वी संवत् १७६८ पछिको अवधि) को लागि ढोका खोलिदियो ।
  
आधुनिककाल (सन् १७६८ यता) 

नेपालीकरणको प्रक्रियामा केही परिमार्जन र अलिक विस्तारित रूपसहित आधुनिककालको थालनी भयो । इतिहासको अरू कुनै पनि कालखण्डको तुलनामा आधुनिक कालमा नेपाल भौगोलिकरूपमा केही बिस्तारित भइसकेको थियो र जनसङ्ख्या पनि बढिसकेको थियो । यस परिस्थितिमा हामीले माथि चर्चा गरिसकेजस्तै विविध र फराकिलो लोक संस्कृति र अत्यन्त मधुरो धार्मिक संरचनालाई मूलधारमा ल्याउन आवश्यक भयो र त्यस्तो पृष्ठभूमि पनि तयारी बन्दै गयो । 

आधुनिक नेपालका संस्थापक पृथ्वीनारायण शाहले सन् १७६८ मा आधुनिक कालको सुरुवात गरेको भन्न सकिन्छ । पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकालाई आफ्नो नेपाल अधिराज्यको केन्द्र मानेनन् । यस अर्थमा उनी मल्ल राजाहरूभन्दा फरक थिए । 

खासमा शाहले उपत्यकाका तीन सहरलाई चिसो र रमझमका लागि मात्र उपयुक्त ठाउँ मानेका थिए । उनले नेपाल उपत्यकालाई भगवानले बनाएको प्राकृतिक किल्ला भएकाले त्यसको सुरक्षा व्यवस्थालाई बलियो बनाउन दिब्योपदेशमा भनेका छन् ।

तसर्थ, उनी नेपाल उपत्यकालाई थप विस्तार र एकीकरणका लागि एकमात्र किल्ला बन्द ठाउँ मान्दथे । उनको चासो आफूले स्थापना गरेको बिस्तारित नेपाल, त्यहाँका जनता र विविध संस्कृतिको विस्तार र हेरचाह गर्नेमा थियो । उनको विचारमा यो काम किसान र सेनालाई चित्त बुझाएरमात्र गर्न सकिन्थ्यो । 

इतिहासकार लुडविग एफ स्टीलर, एस.जेले मूलभूतरूपमा कृषि समाजमा पृथ्वीनारायण शाहले किसानहरूको चिन्ता लिनु स्वाभाविक भएको बताएका छन्, ‘पृथ्वीनारायण शाहले एकीकरणका आधारभूत समस्याका व्यवहारिक पाटो बुझेका थिए । विशाल नेपालमा सबभन्दा अहम् विषय भनेको भूमि नै थियो किनभने सरलरूपमा भूमि नै जीवन थियो । त्यही भएर भूमिकै लागि किसानहरूको बफादारिता कायम राख्न सम्भव थियो । देशको कुनै पनि एकीकरणलाई यो वास्तविकताको आधारमा बुझ्न र पहिचान गर्न जरुरी छ । व्यवहारिकरूपमा किसानहरूको फसललाई आवश्यक सुरक्षा व्यवस्था कायम राख्न नसके राज्य टिक्न सक्ने अवस्था थिएन ।’ 

आधुनिक कालमा पृथ्वीनारायण शाहका उपदेशले दिशानिर्देश गरिदियो । आफ्नो छोटो शासनकाल र सन् १७७५ मा निधनपश्चात् एकीकरणको आधुनिक धारले दरिलो गति लियो ।

शाहको राज्य विस्तारसँगै हिमालय सीमाभरि सैनिक तथा प्रशासनिक चौकीहरू स्थापना भए । यस्ता चौकीहरूले व्यापारिक गतिविधि बढोत्तरी ग¥यो । साथै व्यापारप्रतिको आकर्षण पनि बढ्यो । फलतः व्यापारी र उद्योगीहरू काठमाडौँ उपत्यकाबाहिर पनि फैलिन थाले । आधुनिक कालअघि नै तिब्बत र गंगा मैदानले धेरै नेवार व्यापारीहरूलाई उपत्यकाको चौघेराभन्दा बाहिर आकर्षित गरिसकेको थियो । तर, पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरूको विस्तृत एकीकरणका लक्ष्यसँगै हिमालयपारिका क्षेत्रमा पनि प्रशासनिक केन्द्र र बजारहरू स्थापना गर्न नेवार र अन्य समुदायहरू उत्साहित भए । उनीहरूले त्यस्ता केन्द्रहरू विस्तार गरे ।

नयाँ अधिराज्यका प्रशासनिक र सैनिक उपस्थितिले व्यापार र वाणिज्य अझ फैलियो । अनि सम्पर्क भाषाको रूपमा नेपाली भाषाको प्रयोग पनि अझ फराकिलो बन्यो । यतिखेर जस्तै त्यत्तिबेला पनि नेपालका जनता जातीय, सांस्कृतिक, भाषिक र भौगोलिकरूपमा कैयौँ दर्जन समूहमा विभाजित थिए । ती भिन्न समूहहरूलाई समान हिसाबमा अल्पसङ्ख्यक समूहको रूपमा चर्चा वा व्यवहार गर्नु उचित हुन्छ । किनभने, नेपालका हरेक समूहलाई सिंगो नेपालसामु अल्पसङ्ख्यक मान्न सकिन्छ । नेपालमा सङ्ख्यात्मकरूपमा कुनै पनि जातीय समूह हाबी छैन । त्यही भएर आधुनिककालको सबभन्दा प्रभावशाली अल्पसङ्ख्यकको भाषा नेपाली भाषा क्रमशः बहुमत नेपाली जनताले अवलम्बन गर्न थाले । फलतः धेरै चाँडो नेपाली भाषा प्रभावशाली भाषा बन्यो । 

पछिल्ला वर्षहरूमा राष्ट्रिय पाठ्यक्रमभित्र आधुनिक शिक्षाको विस्तारले देशका विभिन्न र भिन्न–भिन्न अलग समुदायलाई नेपालीकरण गर्न अभूतपूर्व सफलता हासिल गर्न मद्दत गर्‍यो । आमरूपमा प्राथमिक विद्यालयका स्थानीय शिक्षकहरूले आफ्नै भाषामा पढाउने र व्याख्या गर्न थाले । विभिन्न भाषिक समूहका केटाकेटीलाई पढाउने शिलशिलामा ठूलो सङ्ख्यामा शिक्षकहरूले आफ्नै भाषाको सट्टा नेपाली भाषा प्रयोग गर्नुपर्‍यो ।

त्यसकारण शिक्षाका साथै प्रशासन र व्यापारको माध्यमको रूपमा नेपाली भाषा राष्ट्र भाषाको रूपमा विकास भयो । नेपाली भाषाले जतिको कुनै पनि भाषाले नेपालमा आफ्नो प्रभाव बिस्तार गर्न सकेन ।

पृथ्वीनारायण शाहले दिएको दिव्योपदेशले जग बसालेको खुलापन र सहिष्णुताका आशय पछाडि नै छोडियो । उदाहरणका लागि उनले नेपाललाई ठूलो दुःखले आर्जेको सबै जातका फूलबारी भनेका थिए । उनले सबै ठूला साना जातलाई यसैको हिस्साको रूपमा जीवनपायन गर्न सल्लाह दिएका थिए ।

‘जात’ शब्दलाई प्रायशः अङ्ग्रेजीमा ‘कास्ट’ को रूपमा अनुवाद गर्ने गरिएको छ । तर, मेरो विचारमा ‘कास्ट’ शब्दले व्यक्त गर्ने अलगपनाको तलमाथिको विभाजनलाई सही अर्थमा ‘जात’ शब्दले व्यक्त गरेको छैन । उदाहरणका लागि नेपालीमा हामीले कुकुर, महिला र काठ आदिलाई पनि जात भनेको सुन्छौँ । यसो भन्दै गर्दा नेपाली वक्ताहरूले पक्कै पनि उनीहरूको कुनै पनि हिसाबले ‘कास्ट’ को अर्थमा जात शब्दको प्रयोग भएको देखिँदैन । 

यद्यपि, सामाजिक सन्दर्भमा सामान्यतः जातको अर्थ हिन्दू जात व्यवस्थाको सोपानयुक्त, तलमाथि भएको प्रणालीलाई बुझिन्छ । नेपालको जात व्यवस्था चौधौँ शताब्दीताका मात्र मूर्त रूप लिएको हो । नेपालको त्यो जात व्यवस्थाले नेपालको विद्यमान थरी र प्रकार विभाजनमा आफूलाई अनुकूल बनाउनुपर्‍यो ।

त्यसकारण नेपालको सुरुवाती समय र आधुनिककालमा जात व्यवस्थाले तत्कालीन अवस्थामा धेरै उल्लेखनीय परिमार्जन र अनुकूलन हुनुप¥यो । अन्यत्रको हिन्दू सिद्धान्तको आधारमा विश्लेषण गर्दा यहाँको यो व्यवस्था अपरम्परागत र खुकुलो देखिन सक्छ । तर, नेपालको विविधताको सन्दर्भमा भन्दा यो लचकता नै नेपाली समाजको शक्ति हो । नेपाली समाजले आफ्ना आधारभूत मूल्य र अन्तरनिहीत सिद्धान्तमा कुनै आँच यो नयाँ विचार, नयाँ चरण र नयाँ शैलीलाई स्वीकार्न र अवलम्बन गर्न सकेको छ ।

तसर्थ, जात व्यवस्था कम्तीमा संरचनागतरूपमा भए पनि हरेक थरी र प्रकारका नेपालीलाई खुलारूपमा स्वीकारियो जबसम्म त्यसो गर्नु सान्दर्भिक थियो । यो व्यवस्थाको भूमिका र कार्य असान्दर्भिक भएपछि यसलाई कानुनीरूपमा हालै अवैध घोषणा गरियो ।

भाषामा जस्तै धार्मिक जीवनमा पनि नेपाली जनतालाई प्रभावशाली र अल्पसङ्ख्यक समूहमा विभाजन गर्न सकिन्छ । इतिहासका प्रारम्भिक कालदेखि आधुनिककालसम्म पनि यो कुरा सत्य हो । समकालीन नेपालीहरूको ठूलो बहुमत हिन्दूहरू छन् । अर्को समूह भनेको बौद्ध समुदाय अनि इस्लाम र इसाई अल्पसङ्ख्यक आउने गर्छ ।

सरकारी तथ्यांकमा सामान्यतः नआउने कुरा भनेको ठूलो सङ्ख्यामा रहेका अन्य कुनै पनि परम्परागत धर्म नमानी धामी झाँक्रीको धर्म (समानिज्म) र बोम्पो धर्म मान्ने मानिसहरू हुन् । यद्यपि, नेपाली हिन्दूहरूको ठूलो बहुमतले यो क्षेत्रका अन्य कुनै एक वा अर्को ठूलो धर्मबाट नआएकालाई स्वीकार्न सकेको छैन ।

अधिकांश जनगणकहरू हिन्दू समूहहरूबाट नै भएकाले जानकारी दिने व्यक्तिले स्पष्टतः अर्को समूहको नभनेसम्म ती मानिसहरूलाई हिन्दू धर्मभित्रै समावेश गर्ने गर्छन् । त्यसकारण नेपालमा हिन्दू धर्मावलम्बीहरूको सङ्ख्या कृत्रिमरूपमा बढेको छ र हुनुपर्नेभन्दा धेरै भएको छ ।

तर, खास कुरा के हो भने नेपाली जनता कुनै एउटा प्रभावशाली धर्मकै पछाडि अन्धो भएर सीमित बसेका छैनन् । बरु विविधतायुक्त धर्मबीच अधिकतम सहिष्णुता र सम्बन्ध एवम् उल्लेखनीय मिलन कायम छ ।

पृथ्वीनारायण शाहले यो खुलापन र सहिष्णुताको धारलाई प्रोत्साहित गरेका थिए । परिवर्तित समयसामु पनि आफ्ना धार्मिक मान्यतालाई कायम राख्न उनले उत्साहित गरेका छन् । कानुनमा पनि यही कुरा उल्लेख गरिएको छ ।

सन् १८५४ को मुलुकी ऐनको आफ्नो पछिल्लो र विस्तृत अध्ययनमा होफरले भनेजस्तै विवाह, अपुताली आदि कुरा नियमन गरिरहेका धार्मिक परम्परा र स्थानीय चालचलनलाई कानुनकै रूपमा स्वीकारिएको छ । अनि गाउँका जेठाबुढा र गन्यमान्य समावेश रहेको गाउँ सभाको क्षेत्राधिकारभित्र यी विषयलाई पारिएको छ । 

पृथ्वीनारायण शाहपछिका नेपाली समाज र तिनका शासकहरूले बाहिरका नयाँ र विविध विचार, शैली र मानिसहरूलाई सधैँ स्वीकारेको छ र स्वागत गरेको छ । यसप्रकार यति धेरै विविध समुदायका मानिसहरूको संस्कृति, भाषा र धार्मिक प्रारुपको योग भएर पनि नेपाल एउटा सिंगो अस्तित्वको रूपमा अघि बढ्न सफल भएको हो ।

आजको नेपालले धेरै थरी पृष्ठभूमि र उत्पत्तिका जनतालाई आश्रय दिएको छ । नेपालको भूबनोट र भूगोलले आफ्नो बनोटमा निकै विविध थरीका भिन्न सांस्कृतिक अभिव्यक्तिलाई समावेश गरेको छ । आजका नेपाली जनताको उत्पत्ति विविधतायुक्त छ र सम्भवतः नेपाल संसारमा त्यस्तो दुर्लभ देश हो जसको सानो क्षेत्रफलभित्र फराकिलो विविधता भएका जनताबीच यति घनिष्ठ मिलन कायम छ । 

एकीकरणको सबभन्दा पछिल्लो चरण आजसम्मको समय समावेश रहेको आधुनिककालले विविध जाति र भाषिक तत्वबीच मिलन गरेर एउटा निकै अघिको अभियानलाई पूर्णता दिएको छ । यो दिशाको सुरुको अभिव्यक्ति नेवार समुदाय थियो । आज नेवार समुदाय निकै फराकिलो एकीकृत नेपाली राष्ट्रिय प्रणालीको एउटा अंश बनेको छ । या राष्ट्रिय प्रणालीको एउटा ऐतिहासिक मिलन हो जसले समय, स्थान र परम्पराका विविध र फराकिलो तत्वलाई एकै ठाउँमा ल्याएको छ । यही प्रक्रियालाई मैले नेपालीकरणको प्रक्रिया भनेको छु ।

टिप्पणी

ऐतिहासिक सामग्री उपलब्ध गराएर निकै उपयोगी सहयोगका लागि म धनवज्र बज्राचार्य र मोहनप्रसाद खनालप्रति आभारी छु । त्यस्तै डोनाल्ड ए. मेस्सास्मेटले नृवंशशास्त्रीय सामग्री उपलब्ध गराउनुभयो । मेरो शैलीमा सुधार तथा पहिलो मस्यौदा सम्पादन गरेर सहयोग गर्नुभएकोमा आभारी छु । टंकनका लागि पञ्चनारायण महर्जनलाई पनि धन्यवाद । सबै चार जनालाई मेरो हार्दिक आभार छ ।

स्रोत : एन्थ्रोपोलोजी अफ नेपाल 
नेपाली अनुवाद : नीरज लवजू


Author

थप समाचार
x