विचार

आँखालाई जति दुःख अहिले कुन अंगलाई होला र ?

डा. आकांक्षा राना |
जेठ २३, २०७८ आइतवार ११:१० बजे

कोभिड-१९ को दोस्रो लहरबाट संक्रमण दर वृद्धि र मृत्यु हुने संख्या बढे यता विभिन्न ठाउँमा लकडाउन सुरु गरियो । लकडाउन भए यता हाम्रो दैनिकीमा पनि फेरबदल भएर आएको छ, जस्तै : स्कुल, कलेज जाने विद्यार्थी अब अनलाइन कक्षा लिन थाले, विभिन्न कर्मचारीलाई ‘वर्क फ्रम होम’ अर्थात् घरबाटै काम गर्ने भन्ने अवधारणामा चल्न पर्यो भने आफ्ना साथी-भाइ, ईष्टमित्र, नातागोताका मान्छेहरूसँग इन्टरनेटका माध्यमबाट सामाजिकीकरण हुन पर्यो । 

चाडपर्वमा टीका र आशिष दिनेदेखि पूजा पाठलगायतका धार्मिक अनुष्ठानमा ‘भिडियो च्याट’बाट मन्त्र पाठ गरिनु सामान्य जस्तै भयो । जसका कारण हाम्रो डिजिटल स्क्रिन टाइम अर्थात् हामीले कम्प्युटर, मोबाइल फोन, ट्याब्लेट जस्ता उपकरणहरूमा बिताउने समय ह्वात्तै बढेर आयो र त्यसले निम्त्याउने आँखासम्बन्धी समस्या पनि दिनानुदिन बढ्न थाले । 


के-कस्ता समस्या देखा पर्न सक्छ ?
(१)
लामो समयसम्म नजिकबाट कुनै पनि विद्युतीय उपकरण जस्तै ल्यापटप, मोबाइल, ट्याबलेट चलाउँदा आँखामा ‘कम्प्युटर भिजन सिन्ड्रम’ भन्ने समस्या निम्त्याउन सक्छ । यसका लक्षण टाउको दुख्ने, आँखा धमिलो देख्ने, आँखा थकित हुने, सुख्खापन हुने आदि हुन् । घण्टौँसम्म कम्प्युटर अगाडि पढ्दा, अफिसको असाइनमेन्ट गर्दा होस् यी समस्या देखापर्नु स्वाभाविकै हो । तर हामीले उचित उपाय अपनाय यी समस्याबाट बच्न या यिनलाई कम गर्न सकिन्छ ।

के छन् त समाधानका उपाय ?
विद्युतीय उपकरणको प्रयोग गर्दा पटक–पटक आँखालाई झिम्काइ राख्नुपर्छ । अध्ययनहरूका अनुसार साधारणतया हामीले १ मिनेटमा १५ देखि २० पटक आँखा झिम्काउँछौँ भने हामीले कम्प्युटर चलाउँदा केवल ५–७ पटक मात्रै झिम्काउने गर्छाैँ ।
‘२०–२०–२० नियमको प्रयोग गर्ने : कम्प्युटर चलाउँदा प्रत्येक २० मिनटमा आँखाले २० फिट पर कुनै वस्तु २० सेकेन्डसम्म हेर्ने । 
कम्प्युटर राख्ने स्थान : कम्प्युटर प्रयोग गर्दा २५ इन्च (आफ्नो एक हात) जति दुरीमा राख्ने र आफू बसेका स्थानको तहमा वा माथि नराखी थोरै तल राख्ने । 
कम्प्युटरको ‘ब्राइटनेस’ आफ्नो वरपरको उज्यालोसँग मिल्न पर्छ र ‘क्रन्ट्रास्ट’ चाहिँ बढाउनु पर्छ ।
धेरै बेरसम्म कम्प्युटर प्रयोग गर्नुपर्यो भने विशेष किसिमको कम्प्युटर चश्मा लाउन पनि सकिन्छ जसले आँखालाई सजिलै केन्द्रित गर्न मद्दत गर्छ र आँखामा तनाव हुन दिँदैन । 
आँखा सुख्खा भएमा आँखामा ‘लुब्रिकेटिङ आइ ड्रप’को प्रयोग गर्ने ।  

(२) कोरोनाको कहर र त्रासले मानिस आफूलगायत आफ्ना बालबालिकालाई घरको कोठामै सीमित राखे जसको फलस्वरूप २०२० को लकडाउन खुलेलगत्तै चीनमा गरिएको अध्ययनअनुसार मायोपिया–एक किसिमको दृष्टिदोष धेरै बढेको पाइयो जसलाई ‘क्वारेन्टिन मायोपिया’को संज्ञा दिइयो र २०२० लाई ‘इयर अफ क्वारेन्टाइन मायोपिया’ भनियो ।

विभिन्न अरु देशको अध्ययनमा पनि बालबालिकाहरूमा ‘मायोपिक सिफ्ट’ देखियो र यसको कारण अध्ययन गर्दा कम्प्युटर, मोबाइल फोनजस्ता विद्युतीय साधनको बढ्दो प्रयोग र बाहिरी प्राकृतिक वातावरणमा कम घुलमिल हुनु भनेर भनिएको छ । मायोपिया बढदै गएमा त्यसले आँखामा विभिन्न किसिमका समस्या जसमा सामान्य दृष्टिमा कमजोरीदेखि आँखाको पर्दा च्यातिने जस्ता जटिल समस्या  निम्त्याउन सक्छ र अन्ततः आँखामा अन्धोपन आउन सक्दछ  । त्यसैले बालबालिकामा यस्ता समस्या आउन नदिन अभिभावक र शिक्षक–शिक्षिकाहरूको ठूलो भुमिका हुन्छ ।

कसरी बच्ने ? 
→ नजिकका वस्तु धेरै बेरसम्म नहेर्ने, पटक–पटक स्क्रिन बे्रक लिने अनि टाढाको वस्तु हेर्ने अभ्यास गर्ने । 
→सम्भव भएसम्म घर वा कार्यालयभन्दा बाहिरको प्राकृतिक वातावरणमा बढी समय व्यतीत गर्ने । दिनको प्रकाशले मायोपियाको जोखिम घट्न सक्छ ।

कसरी थाहा पाउने तपाईंको बालबालिकालाई लकडाउनको बेला मायोपिया भयो भनेर ?

-   टिभी नजिकबाट हेर्न खोज्नु
-   आँखा छिटै थकित हुनु 
-   स्कुलको काम गर्नमा कठिनाइ हुनु
-   टाउको दुख्नु 
-   लगाइरहेको चश्माले पनि धमिलो देख्नु इत्यादि
-  यी समस्या देखापरेमा नजिकको आँखा अस्पतालमा समयमै परार्मश लिनुपर्छ । 

(३) साँझको समयमा अत्यधिक स्मार्ट फोनको प्रयोगले निद्रा नलाग्ने समस्या निम्त्याउन सक्छ । मोबाइलको स्क्रिनमा ‘ब्लु लाइट’ अर्थात् निलो प्रकाशको मात्रा धेरै हुन्छ जसले मेलाटोनिन भन्ने निद्रा लाग्ने हर्मोनको उत्पादन कम गर्दछ । 

समाधान के छ त ?
राति मोबाइल चलाउँदा मोबाइलमा भएको नाइट मोड अन गरेर चलाउने । नाइट मोडले मोबाइल फोनको स्क्रिनमा भएको ब्ल्यु लाइट अर्थात् निलो प्रकाश कम गर्दछ । 
सुत्नु भन्दा २ घन्टा अगाडिबाट मोबाइल नहेर्ने/नचलाउने ।

कम्प्युटर, मोबाइल फोन, ट्याब्लेट जस्ता विद्युतीय उपकरणहरू हाम्रो व्यावसायिक र व्यक्तिगत जीवनका अभिन्न हिस्सा बनिसकेका छन् । काम गर्न, अध्ययन गर्न र मनोरञ्जनका लागि विद्युतीय उपकरणको प्रयोग हाम्रो जीवनमा अनिवार्य जस्तै भइसक्यो । अझ आजभोलि खास गरी सहरी क्षेत्रका बालबालिकाहरू अधिकांश समय भिडियो गेम र कार्टुनमा भुलिरहका भेटिन्छन् । 

लकडाउनले गर्दा घरबाहिर निस्कन बन्द भएको अवस्थामा त झन् यो दर निकै बढेको छ । देश नै कोभिडसँग जुझिरहेका बेला आँखामा समस्या आइहालेमा आँखा अस्पताल जानु र उपचार गर्नु पहिलेजस्तो सहज पक्कै हुँदैन ।

यसकारण पनि आँखाको ख्याल राख्नु र कुनै किसिमको समस्या आउन नदिन निरोधात्मक उपायहरू अपनाउनु नै बुद्धिमानी हुनेछ । जटिल समस्या देखापरेमा नजिकको आँखा अस्पतालमा परार्मश लिने र अस्पताल नै जानुपरेमा सबै सुरक्षाका मापदण्डहरू पालना गर्नुपर्दछ ।

(डा. राना नेत्र रोग विशेषज्ञ हुन् । उनी प्रदेश अस्पताल, सुर्खेतमा कार्यरत छिन् ।)

 


Author

थप समाचार
x