विचार

विचार

राम्रो काम गर्न विवाद गर्ने होइन, खालि खान मात्र

सोमबहादुर थापा |
मंसिर ९, २०७७ मंगलबार ८:१७ बजे

सत्तासीन पार्टीभित्रको आन्तरिक झगडा र शक्ति संघर्षले नेपालको राजनीतिमा अर्कै मोड लिन सक्ने संकेत देखिएको छ । विकासोन्मुख देशमा राजनीतिमा इमानदारी, नैतिकता, सकारात्मक सोच र व्यवहार तथा जवाफदेहिता सुदृढ नहुँदा राजनीतिक अस्थिरता र खिचातानी बढ्दै गएको हो, यसमा नेपाल पनि भिन्न देखिन्न । राजनीतिक अस्थिरता र आन्तरिक द्वन्द्वले देशमा दिगो विकासका कार्य र शान्ति सुव्यवस्था, मेलमिलाप र प्रजातान्त्रिक प्रक्रियालाई नराम्ररी प्रभावित गर्छन् भन्ने कुरा नेपालकै २०५१ देखि हालसम्मको थिति हेरे पुग्छ ।

राजनीतिक इतिहास पल्टाउने हो भने नेपालमा भीमसेन थापा, जंगबहादुर राणा, चन्द्र शमशेरबाहेक अरू कार्यकारी प्रमुखले लामो समय र निर्धक्कसँग शासन गर्न पाएको देखिँदैन । राजनीतिको मूल उद्देश्य देशको भलो, हित र उन्नति तथा सुरक्षा गर्नु हो । यसका लागि राजनीतिलाई असल, स्वच्छ, समाजसेवा भावले ओतप्रोतयुक्त, पवित्र र जवाफदेही बनाउनुपर्छ भन्ने मान्यता र सिध्दान्त हो । राजनीतिमा नीति, सिध्दान्त, असल व्यवस्थापन तथा इमानदारी र नैतिकता आवश्यक छ भन्ने सिध्दान्त पूर्वीय र पश्चिमी राजनीतिक चिन्तन र दर्शनको सार पनि हो ।


हिजो पनि विश्वका अनेक देशको राजनीतिमा यी सिध्दान्तहरूको केहीले राम्ररी पालना गरेका थिए भने केहीले खासै पालना गरेको पाइँदैन । त्यसैले सिध्दान्त, नीति, इमानदारी र जवाफदेहीपनविनाको राजनीति, राजनीति होइन भन्ने पनि गरिन्छ । राजनीतिमा विचलन र विशृंखलता आएकाले अझै पनि कतिपय देशको राजनीतिमा सिध्दान्त, नीति, इमानदारी र जवाफदेहिताले महत्व पाएको देखिँदैन ।

अमेरिकी लोकतान्त्रिक चरित्र, सिध्दान्त र व्यवहारमा पनि यसपालि विचलन आयो । संयुक्त राज्य अमेरिकामा २०२० को नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपति पदको निर्वाचनमा डेमोक्रयाटिक पार्टीका उम्मेदवार जो बाइडनले २३२ इलेक्ट्रोल मत ल्याएर चुनाव जितेको घोषणा सार्वजनिक भइसकेपछि पनि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्‍नो हार स्वीकार गरिरहेका छैनन् । अमेरिकी इतिहासमा यो पहिलो घटना हुन गएको छ । यसले अमेरिकी लोकतन्त्रलाई गलत बाटोतिर लाँदै छ भन्ने विश्लेषण हुँदै छ । आवधिक निर्वाचन, शान्तिपूर्ण सत्ता हस्तान्तरण, जवाफदेही शैली, इमानदारी, स्वच्छता र प्रेस स्वतन्त्रता अमेरिकी लोकतन्त्रका मुख्य विशेषता हुन् ।

त्यति मात्रै नभएर यो घटनाले विश्वको लोकतान्त्रिक आन्दोलन र माहौललाई पनि निकै ठूलो धक्का दियो । अर्को कुरा, यो घटनाले विश्वमा असल र आदर्श राजनीति तथा असल र सभ्य लोकतान्त्रिक शासन व्यवस्थाको प्रवर्धनमा नराम्रो प्रभाव पार्ने अड्कल गर्न थालिएको छ ।

नेपालको राजनीतिका तीनवटा घुम्तीहरूको तुलनात्मक अध्ययन गर्ने हो भने २०१७ सालमा दुई तिहाइ बहुमतको जननिर्वाचित बीपी कोइराला नेतृत्वको, नेपाली कांग्रेसको सरकारलाई आन्तरिक कलह र झगडा तथा राजा महेन्द्रको वास्तविक शासक बन्ने महत्वाकांक्षाले अपदस्त मात्रै गरेन, नेपालमा संसदीय प्रजातन्त्रिक प्रक्रियालाई विघटन गरियो । राजा महेन्द्रको यो कदमले देशमा बहुदलीय शासन व्यवस्थालाई  धेरै पछाडि पुर्‍याइदियो । नेपालका राजनीतिक पार्टीहरू पनि बहुदलीय व्यवस्थाको पुनःस्थापनाका लागि तीस वर्षभन्दा बढी समय लड्दैमा बित्यो ।

२०४६ सालको सफल जनान्दोलनपछि २०४८ को निर्वाचनमा नेपाली कांग्रेसले बहुमतको सरकार गठन गर्ने अवसर पायो । जनताले सरकारबाट धेरै आशा र अपेक्षा पनि गरेका थिए । शासन सञ्चालन गरेको तीन वर्ष पुग्दा नपुग्दै सरकार र पार्टीका नेताहरूबीच आन्तरिक कलह र झगडा चर्किएर गयो । नेपाली कांग्रेसका वरिष्ठ सदस्यहरू धन्यवाद प्रस्तावमा अनुपस्थित हुँदै सरकारलाई नैतिक संकटमा पुर्‍याइदिए ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरी मध्यावधि चुनावको घोषणा गरिदिए । मध्यावधि चुनावमा पार्टीले पहिलेभन्दा कम सिट प्राप्त गर्न पुग्यो । अर्कोतिर त्यो घटनाले कांग्रेसका नेताहरूबीचको द्वन्द्व र झगडा झन् बढाइदियो । अन्ततः पार्टी विभाजन नै हुन पुग्यो । यो मोडका कारण प्रजातान्त्रिक पार्टीमा फुट मात्रै आएन, देशको लोकतान्त्रिक अभियान उठ्नै नसक्ने गरी थला पर्‍यो । २०५१ पछि नेपालको राजनीतिमा विचलन, किनबेच, धोखाधडी, जालझेलका अनेकन् प्रपञ्च भए । पछि पनि यस्ता अनैतिक र अराजनीतिक गतिविधि कुनै न कुनै रूपमा भइरहेको देखिन्छ ।

कांग्रेस र नेकपाको आन्तरिक संघर्ष र झगडाको मूल कारण शक्ति र पद बाँडफाँड तथा आफ्‍ना मान्छेको नियुक्तिकै खातिर हो ।

२०७४ सालको निर्वाचनमा नेकपाले दुई तिहाइको नजिकको बहुमत पाए, सरकार बनाए । सँगै देशमा शान्ति, सुव्यवस्था, राजनीतिक स्थिरता र बलियो सरकार र दिगो, सन्तुलित तथा समावेशी विकास एवं नीतिगत भ्रष्टाचार लगायत सबै प्रकारका अनियमितता र भ्रष्टाचारको अन्त्य हुनेछ भन्ने आशा र अपेक्षा थियो । लामो राजनीतिक द्वन्द्व र संघर्ष तथा संक्रमणबाट गुज्रिएको नेपालमा जनताले नेकपाको सरकारसँग उपर्युक्त अपेक्षा र आशा राख्नु अस्वाभाविक पनि थिएन ।

सत्ता सम्हालेको दुई वर्ष पार नहुँदै नेकपा नेताहरूबीच पनि आन्तरिक कलह र शक्ति संघर्ष चर्कियो, अब उत्कर्षतिर लाग्दै छ । कतिपयले पार्टी फुट्न सक्ने अनुमान पनि गरेका छन् । कुनै पनि पार्टी फुट्नुलाई लोकतान्त्रिक शासन व्यवस्थानमा राम्रो मानिँदैन ।

तर सधैँ झगडा र कलह गरेर बस्नुभन्दा पार्टी फुट्नु पनि राम्रो हो भन्ने पनि गरिन्छ । फ्रान्सका वर्तमान राष्ट्रपति म्याक्रोनले तन्कालीन राष्ट्रपति एलेन्डोसँग विचार र नीति नमिलेपछि अलग्गै पार्टी खोलेर चुनावमा गए र बहुमत ल्याए । हाल राष्ट्रपतिको जिम्मेवारीमा छन् । नीति र विचार नमिल्ने हो भने पार्टी फुट्नु पनि नराम्रो होइन भन्ने सन्देश त्यसले दियो ।

२०५१ मा कांग्रेसको सरकार सत्तामा हुँदा र यतिखेर नेकपाको सरकार सत्तामा हुँदाको झगडा र आन्तरिक शक्ति संघर्षको कारण एकै देखिन्छ, ‘सरकार पार्टीले भनेअनुरूप चल्नुपर्छ ।’ लोकतान्त्रिक देशहरूको संविधानको अध्ययन गर्ने हो भने सरकारलाई पार्टीले नियन्त्रण गर्न उसको कार्य स्वायत्ततामा बाधा गर्न पाइन्न ।

अर्को महत्वपूर्ण कुरा के हो भने सरकारले देशको संविधान र कानुनको पालना गरी शासन सञ्चालन गर्नुपर्छ । प्रधानमन्त्री आफ्‍नो कामका लागि संसद्प्रति जवाफदेही हुनुपर्छ भन्ने संवैधानिक व्यवस्था छ । यसतर्फ हामीले ध्यान दिन जरुरी देखिन्छ । यस विषयमा पार्टीभित्र स्पष्ट र बृहद् रूपमा छलफल भई एउटा स्पष्ट निष्कर्ष ननिकालेसम्म देशमा जो प्रधानमन्त्री भए पनि प्रधानमन्त्रीले हालकै अवस्था व्यहोर्नुपर्ने देखिन्छ ।

नेकपाका नेताहरूको शक्ति संघर्षलाई अध्ययन र विश्लेषण गर्दा नीतिगत र सिध्दान्तगत झगडा र विमति भएको देखिँदैन । राजनीतिमा नीति, सिध्दान्त र विचारका कुरा धेरै महत्वपूर्ण हुन्छन् भन्ने मान्यता छ । कुनै पनि पार्टीमा जब नीति, सिध्दान्त र विचारको छलफल र बहस हुँदैन, त्यो पार्टी, पार्टीका रूपमा गणना हुँदैन । कांग्रेस र नेकपाको आन्तरिक संघर्ष र झगडाको मूल कारण शक्ति र पद बाँडफाँड तथा आफ्‍ना मान्छेको नियुक्तिकै खातिर हो ।

नेकपाको झगडा र शक्ति संघर्षको कारण नेपाली राजनीतिमा तत्काल दुईवटा परिदृश्य देखापर्ने स्थिति छ । पहिलो, पार्टी फुटेर प्रधानमन्त्री केपी शर्मा ओलीले एक्लै शासन सञ्चालन गर्ने वा अरूसँग मिलेर सरकार सञ्चालन गर्ने हुन सक्छ । दोस्रो मध्यावधि चुनाव घोषणा गरी अगाडि बढ्ने हुन सक्छ । यी दुई विकल्पमध्ये जुन विकल्प अपनाए पनि नेपालको वर्तमान राजनीतिले अर्को खतरनाक मोड लिन सक्ने खतरा बढेर गएको छ । त्यसपछि नेपालको राजनीतिले फेरि २०५१ देखि २०७० सम्मकै नियति भोग्न पर्ने स्थिति नआउला भन्न सकिँदैन ।

अर्को कुरा नेपालको वर्तमान राजनीतिमा राष्ट्रिय एकताको अभाव खड्किएको छ । राष्ट्रिय स्वार्थमा सबै पार्टी एक हुन नसक्नु नेपाली राजनीतिको सबैभन्दा खराब पक्ष हो । राष्ट्रियता र सार्वभौमिकताबबारे कुनै पनि देशमा विभाजन र विमति हुँदैन । तर नेपालमा परराष्ट्र नीति, राष्ट्रिय स्वार्थ र सार्वभौमिकताको विषयमा राष्ट्रिय एकता भएको पाइँदैन । नेपाली नेताहरूको यो सबैभन्दा ठूलो कमजोरी हो ।

नेपाली नेताहरूको यही कमजोरीका कारण नेपाली राजनीतिमा विदेशी हस्तक्षेप र चलखेल धेरै सक्रिय भएको पाइन्छ । विदेशी चलखेलले पनि नेपाली राजनीतिलाई अस्थिर, सिध्दान्तहीन र नैतिकहीन बनाउन मलजल गरेको छ । यतिबेला देशमा दह्रो र सशक्त राजनीतिक नेतृत्वको अभाव खट्किएको छ । यही रफ्तारमा विदेशी चलखेल बढ्दै गयो भने भोलि नेपालले अफगानिस्तान र सुडानको हालतमा नपुग्ला भन्न सकिन्न । नेताहरूले आफ्ना कमी कमजोरी हटाई नेपालको शासन-पध्दति स्थिर, जवाफदेही, इमानदार र लोकतान्त्रिक बनाउन सक्रिय भूमिका खेलून्, यही शुभकामना छ । [email protected] 


Author

सोमबहादुर थापा

लेखक थापा संसद् सचिवालयका पूर्वसचिव हुन् ।


थप समाचार
x