विचार

अन्यथा पश्‍चात्तापबाहेक विकल्प बाँकी रहने छैन

सन्तोष अधिकारी, यूराेप |
जेठ २९, २०७८ शनिबार ८:२३ बजे

ब्राजिल अहिले महामारीको चरम संकट सामना गर्न किन विवश छ ? नेतृत्वले के–कस्ता गलत रबैया अपनाए ? जसका कारण सर्वसाधारण महामारीको मारमा चेपिन बाध्य भए । उपचार अभावमा ज्यान गुमाउनु पर्‍यो । नेपाल आज ब्राजिलको बिर्सनलायक त्यही बाटोमा छ । अब तथ्यमा केन्द्रित भएर चर्चा गरौँ । 

तथ्य १
जतिबेला दैनिक तीन हजार हाराहारीमा सर्र्वसाधारणले उपचार नपाएर ज्यान गुमाइरहेका थिए । त्यति नै बेला ब्राजिलका राष्ट्रपति जयर बेल्सेनारोले विदेशमन्त्रीलाई बर्खास्त गरी नयाँ नियुक्त गरे । केही समयअघि मात्र स्वास्थ्य मन्त्रीले पनि राजीनामा दिइसकेका थिए । महामारीको चक्रवात् जोडले चलिरहेकै बेला देशका जलवायु सुरक्षा प्रमुख र बोल्सानारोबीचको टकराव उत्कर्षमा पुग्यो । परिणामतः सुरक्षा प्रमुखहरूले पनि राजीनामा दिए । एकतिर देश कोभिडले तहसनहस भइरहेको थियो । अर्कातर्फ राजनीतिक र आन्तरिक व्यवस्थापन भाँडभैलोमा परिणत हुँदै गइरहेको थियो । सर्वसाधारण सरकारले महामारी नियन्त्रणमा काम गर्न नसकेको भन्दै विरोधमा सडकमा उत्रिएका थिए । यी सारा भद्रगोलबीच करिब साढे चार लाख ब्राजिलियनको ज्यान लिइसकेको छ ।


कोभिड कहरको लहरमा राज्य सञ्चालकहरूको ध्यान भने राजनीतिक विवाद र खिचातानीमा केन्द्रित थियो । महामारीबाट जनतालाई जोगाउनभन्दा पनि आफ्नो सत्ता र शक्तिलाई मजबुत बनाउन सत्तापक्ष र प्रतिपक्ष दल र राज्यका निकायहरूले आपसी टकरावमै समय खेर फालेका थिए । जहाँ जनस्वास्थ्य र महामारी नियन्त्रण राज्यको आँखामा परिरहेको थिएन र छैन । राजनीतिक खिचातानी र अस्वस्थ प्रतिस्पर्धाको अगाडि निरीह जनताको स्वास्थ्य समस्या छायाँमा परिराख्यो । 
परिणामतः अहिले विश्वमा अमेरिकापछिको दोस्रो ठूलो महामारी प्रभावित देश बनेको छ, ब्राजिल । आम सर्र्वसाधारणको समस्या महामारीको माझ पनि शासकहरूको संघर्षका कारण ओझेलमा नै परिराखेको छ । महामारी नियन्त्रणको मूल विषयलाई डाइभर्ट गरेर देशका अभिभावकहरू आपसी खिचातानीमै केन्द्रित भइराखेका छन् । सर्र्वसाधारणको स्वास्थ्यको सवाल ओझेलमा पर्दै गयो । सञ्चारमाध्यमको ध्यान पनि कोभिड नियन्त्रणभन्दा राजनीतिक अव्यवस्थापनकै समाचार दिनमा बढी केन्द्रित भयो । 

आज महामारीको चरम संकटको सामना गरिराखेका हाम्रोे अवस्था मार्च अन्त्यतिरको ब्राजिलकै जस्तो छ । देशको स्वास्थ्य सामथ्र्य जीर्ण बनिसकेको छ । भएका अस्पतालले एकपछि अर्को गर्दै हात ठड्याइरहेका छन् । आवश्यक उपचारको अभावमा सर्र्वसाधारणले अकालमा ज्यान गुमाइराखेका छन् । अक्सिजन, आईसीयू र भेन्टिलेटरको चरम अभाव छ । सीमित भएका सेवामा पनि पहुँचवालाकै हालीमुलाली छ । डढेलाका रूपमा महामारी फैलिइरहेको छ । जारी लकडाउनले अर्थतन्त्र र जनताको गाँसबासको अवस्था बेहाल बनिसकेको छ । अझ भनौँ, चौतर्फी रूपमा राज्य जनताको समस्या सम्बोधन गर्न असफल भइसकेको छ । 

भ्याक्सिन, भिडभाड, मास्क, सामाजिक दूरी, कायम गर्ने जस्ता कुरा एकाएक गायब गराइयो । स्वास्थ्य विज्ञहरूको सल्लाहलाई मजाक ठानियो । 

तर, विडम्बना यही चरम संकटसामु देश फेरि अभूतपूर्व राजनीतिक अन्धकारतर्फ धकेलिन थालेको छ । सत्ताको लुछाचुँडी र छिनाझिम्टीका अगाडि निरीह जनताको समस्या झनै अन्धकारतर्फ धकेलिएका छन् । रछ्यानमा मिल्काइएका छन् । यो परिदृश्यले महामारीको अर्को ब्राजिल बन्ने दिशातर्फ नेपाल लम्किरहेको देखिन्छ । बालुवाटार, सिंहदरबार निदाइरहेको छ । प्रतिपक्षीहरू जनताको समस्या मुखरित गर्नुभन्दा कुर्सी प्राप्तिको हानथापमा समय खर्चिरहेका छन् । आम जनताको समस्या र विश्वले एकसाथ भोगिरहेको महामारीसँग लड्न एकाकार हुनुपर्ने बेला हो, यो । तर हाम्रोमा यी सबै कुरा छायाँमा पार्दै कोही सत्ता जोगाउनतर्फ त कोही सत्ता प्राप्त गर्नका लागि आपसी लडाइँमा व्यस्त छन् । शीतल निवासदेखि सर्वोेच्च पनि सत्ता र शक्तिकै झगडा छिनोफानो गर्न व्यस्त छ । यस्तोमा आम दुःखी पीडित जनताको समस्या बुझिदिने र आवाज ओकलिदिने कोही छैनन् । 

जसरी सत्ता र शक्ति संघर्षका सामु ब्राजिलमा कोरोना महामारी समस्या गौण बनेका थिए त्यही रूपमा नेपालका शासकले ब्राजिलको बिर्सनलायक अध्यायलाई अनुसरण गरिरहेका छन् । सत्तासामु जनताको समस्या ओझेल पर्दै गएका छन् । सर्वसाधारण उपचार नपाएर छटपटाइरहेका छन् । डढेलाले वन सखाप पारे जस्तै कोरोनाको लहर बस्ती छिरिसकेको छ । तर देश चलाउने जिम्मा लिएका नेता र जनप्रतिनिधि भने सत्ताको मालमोलाइमा समय खर्चिरहेका छन् । चाहे सत्तापक्ष होस् या प्रतिपक्ष सबैको ध्यान सत्ता र शक्ति प्राप्तिमा केन्द्रित छ । देशको मूल समस्यालाई नै विषयान्तर गरेर जीत हारको अति नै घृणित खेलमा रमिरहेका छन् । उनीहरूका निम्ति जनताको स्वास्थ्य समस्या र महामारीको लहर केवल रंगमञ्चको नाटक जस्तै बनिरहेको छ । अर्थात् चरम यो संकटलाई मस्तसँग हेरेर रमाइरहेका छन् । तर पनि हामी यिनीहरूलाई अझै अभिभावक मानिरहेका छौँ । मानिरहने गलत निर्णय गर्ने भुल पनि फरि गर्नेछौँ । यो नै हाम्रो विवशता र विडम्बना हो ।

तथ्य २
राष्ट्रपति बोल्सेनारोले कोरोनालाई सधैँ सामान्य फ्लुको संज्ञा दिइरहे । कोरोनाबारे विज्ञानविपरीत उल्टापाल्टा र अन्टसन्ट अभिव्यक्ति दिएर भ्रम छरिराखे । उनले छरेको भ्रमलाई ब्राजिलकै वैज्ञानिकहरूले समेत चर्को रूपमा खण्डन गरिराखेका छन् । मास्क लगाउन नपर्ने, भ्याक्सिन स्वास्थ्यका निम्ति खतरा भएको जस्ता उग्र अभिव्यक्ति दिएर जनताको ध्यान मोड्ने दुस्साहास गरे । परिणाम जनतामा अन्यौल पैदा भयो । नेतृत्वको यस्ता अभिव्यक्तिले सर्वसाधारणमा अन्यौल आउनु स्वाभाविक पनि थियो । नेतृत्वले महामारीबारे उल्टापाल्टा अभिव्यक्ति दिएपछि कोरोनाको समस्या त्यसै ओझेल पर्दै गयो । मृतक र संक्रमितको प्यारामिटर दिनानुदिन चढ्दै गयो । तर आफैँ कोरोना संक्रमित भएर अनुभव बटुलेका बोल्सानोरेले कोरोनाबारे विज्ञानविपरीत भ्रामक अभिव्यक्ति दिन भने छाडेनन् । परिणामतः ब्राजिलमा भुसको आगो जसरी कोरोना फैलिँदै गयो । 

ब्राजिलको यो यथार्थ झनै हाम्रोसँग मिल्दो छ । हाम्रोमा पनि देशका जिम्मेवार पात्राहरूले नै कोरोनाबारे भ्रमपूर्ण अभिव्यक्ति दिएको सत्यता छिपेको छैन । प्रधानमन्त्री स्वयंले कोरोना बेसार पानीले ठीक हुने त कहिले नेपाली को प्रतिरक्षात्मक प्रणाली बलियो भएको अभिव्यक्ति दिएर महामारीलाई नै बिषयान्तर गरिरहे । जुन अप्रमाणित र विज्ञान विरोधी अभिव्यक्ति थियो । जसका कारण ब्राजिलमा जस्तै एकखालको भ्रम आम रूपमा फैलन पुग्यो । विरोधाभाष पैदा गर्यो । 
त्यस्तै कैँयन् सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा पनि कोभिडको बारेमा दिग्भ्रमित गर्ने खालका समचारहरू आउन रोकिएन । कोभिडले छटपटिएर मान्छेले मृत्युवरण गरी राख्दा पनि यसलाई राजनीतिक स्टन्ट र मुद्दासँग जोडेर केही होइन भन्ने भ्रमहरू समेत फैलाउने काम भयो । बोल्सेनारोले वास्तवमा कोरोनाको बारेमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको छायाँ बनेर अभिव्यक्ति दिएको आरोप खेप्ने गरेका छन् । नेपालमा पनि पहिलो लहरको अन्त्यपछि कोरोना केही होइन भन्ने भ्रम पैदा भयो । कतिपय व्यक्तिले विज्ञान विरोधी अभिव्यक्ति दिएर भाइरल बन्ने काम समेत गरे । राज्य सञ्चलकहरूले सहजै कोरोना नियन्त्रण गरेको भन्दै दुष्प्रचार गरेर क्रेडिट लिने कामसमेत गरे । 

भ्याक्सिन, भिडभाड, मास्क, सामाजिक दूरी, कायम गर्नेजस्ता कुरा एकाएक गायब गराइयो । स्वास्थ्य विज्ञहरूको सल्लाहलाई मजाक ठानियो । राजनीतिक दलको आन्दोलन, विरोधका कार्यक्रम र सभाको नाममा गाउँ–गाउँबाट सहरहरूमा मान्छे उतार्न हानथाप भयो । परिणामतः भुसको आगो जसरी कोरोना फैलिन थाल्यो । जसले यतिबेला डढेलोको रूप लिइरहेको छ । यो नेतृत्वको अदूरदर्शिता, विज्ञानविपरीत कार्यशैलीको परिणाम थियो । जुन ब्राजिलले पनि भोगेको छ । हो यो यथार्थले पनि मूर्ख राजनीतिक नेतृत्व र देशको अभिभावकको लहडको परिणामले आज नेपाल पनि ब्राजिलकै बाटोमा पुगिरहेको पुष्टि हुँदै गएको छ । अझै नेतृत्व गैरजिम्मेवार बन्दै गएमा थप क्षति व्यहोर्नुपर्ने तीतो यथार्थलाई नकार्न सकिँदैन । तसर्थ महामारीलाई मजाक नठानौँ । विज्ञानसम्मत ढंगबाट यसको नियन्त्रणमा गम्भीर बनौँ । नत्र अन्टसन्ट अभिव्यक्तिले हामीलाई ब्राजिलकै बाटोमा डोर्याउनेछ । 

तथ्य ३ 
ब्राजिलमा धनी र गरिबबीच ठूलो खाडल छ । अर्थात् वर्गीय असमानताका कारण कम आयस्तर भएका नागरिकले धेरै समस्या झेल्दै आएका छन् । यो महामारीको चक्रवातमा पनि स्वास्थ्य बीमा गर्नबाट धेरै वञ्चित छन् । स्वास्थ्य बीमा नभएकाहरूलाई उपचार महँगो छ । महँगो परीक्षणका कारण गरिब ब्राजिलियनहरूले कन्टयाक्ट टे«सिड, भ्याक्सिन, जस्ता सेवाबाट वञ्चित हुन बाध्य भइरहेका छन् । परिणामतः गरिबहरूका निम्ति महामारी महँगो साबित भएर उभिएको छ । जसका कारण कमजोर आय स्तर भएका ब्राजिलियन महामारीको चपेटामा चेपिन बाध्य भएका छन् । अनि उपचार अभावमा अकालमा ज्यान गुमाउन विवश छन् । यो तथ्य पनि हामीसँग मिल्दो छ । हाम्रोमा पनि गरिब र कम आय स्तर भएका नेपालीले आवश्यक स्वास्थ्य सेवा पाउन धेरै कठिन छ । यो महामारीमा पनि गरिबका निम्ति आईसीयू, भेन्टिलेटर जस्ता महँगो सेवाको प्रयोग आकाशको फल जस्तै बनिरहेको छ । यसर्थ पैसा र पहुँच नभएकाहरूका लागि सहज उपचार असम्भव भएको यथार्थ छर्लंग छ । अक्सिजनको खोजीमा, भेन्टिलेटरको अभावमा ज्यान गुमाउनेको तथ्यांका बढ्दो छ । 

वास्तवमा यिनै यथार्थका कारण अमेरिकापछि कोरानाले ज्यान गुमाउनेको संंख्या ब्राजिलमा बढिरहेको छ । आज नेपालको अवस्था पनि यस्तै छ । राजनीतिक गञ्जागोल, नेतृत्वको गैरजिम्मेवारी, विज्ञानविपरीत अभिव्यक्ति अनि हुँदा खाने र हुने खानबीचको खाडल । हो यो भद्रगोल लम्बिँदै गयो भने नेपाल महामारीको चेपेटामा चेपिने अर्को ब्राजिल बन्ने निश्चित छ । तथ्य, तथ्यांक र यथार्थले यही नै भन्छ । यसर्थ समयमै सचेत बनाँै । नत्र पश्चात्तापबाहेक अर्को विकल्प बाँकी रहनेछैन ।


Author

सन्तोष अधिकारी, यूराेप

हाल यूरोपमा बस्‍ने अधिकारी समसामयिक/राजनीतिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x