विचार

विचार

अमेरिकी राष्ट्रपति निर्वाचन : प्रक्रिया र परिणाम

डा. मीनेन्द्र रिजाल |
मंसिर १०, २०७७ बुधबार ११:१६ बजे

अमेरिकाको नयाँ राष्ट्रपतिमा डेमोक्रयाटिक पार्टीका उम्मेदवार जोसेफ बाइडन निर्वाचित  भएपछि दुनियाँभर एउटा खालको उत्साह आएको छ । मूल रूपमा अमेरिकी राष्ट्रपति निर्वाचन टुंगिए पनि यसको औपचारिक प्रक्रिया अझै बाँकी छ । आगामी २०२१ जनवरी ६ मा अमेरिकी संघीय कांग्रेसको संयुक्त बैठकमा औपचारिक रूपमा राज्यहरूबाट प्राप्त इलेक्टोरल कलेजको मत गणना र परिणाम घोषणा हुन्छ ।

हरेक राज्यले आफूले संघीय कांग्रेसको माथिल्लो सदन सिनेट र तल्लो सदन प्रतिनिधिसभामा निर्वाचित गरी पठाउने जनप्रतिनिधि बराबरको संख्यामा इलेक्टर निर्वाचित गर्छन् । हरेक राज्यबाट सिनेटमा दुई जना सदस्य निर्वाचित हुन्छन् । क्यालिफोर्निया राज्यबाट प्रतिनिधिसभामा ५३ सदस्य निर्वाचित हुन्छन् भने अलास्का, डेलावेएर, मान्टेना, नर्थ डकोटा, साउथ डकोटा, भर्मान्ट र वायोमिङ्ग गरी ७ राज्यबाट एक/एक जनामात्र प्रतिनिधिसभा सदस्य निर्वाचित हुन्छन् । अर्थात् सबैभन्दा धेरै अमेरिकी संघीय संसद्‍मा सदस्य निर्वाचित हुने राज्य क्यालिफोर्नियाबाट ५५ र सबैभन्दा कममाथि उल्लेखित ७ राजयबाट ३/३ जना एलेक्टर निर्वाचित हुन्छन् । सबैगरी जम्मा निर्वाचित ५३८ इलेक्टरको बहुमत २७० मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुन्छ । कसैको पनि बहुमत नभएको खण्डमा प्रतिनिधिसभाले राष्ट्रपति र सिनेटले उपराष्ट्रपति निर्वाचित गर्छ । सामान्य रूपमा निर्वाचनको मिति भनिएको दिन २०२० नोभेम्बर ३ देखि २०२१ जनवरी ६ सम्म पनि थप औपचारिक प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ ।


हरेक राज्यले डिसेम्बर महिनाको दोस्रो बुधबारपछिको सोमबार अर्थात् यसपटक डिसेम्बर १४ भित्र आ-आफ्नो राज्यबाट निर्वाचित इलेक्टरको बैठकबाट राष्ट्रपति र उपराष्ट्रपति पदका लागि मतदान सम्पन्न गरी त्यसको परिणाम आफ्नो राज्यका केही तोकिएका पदाधिकारी र अभिलेख अधिकारीसँगै मुख्यत: संघीय उपराष्ट्रपति जसले संघीय कांग्रेसको संयुक्त बैठकको अध्यक्षता गर्छन्, समक्ष पठाउनुपर्छ । यो काम तोकिएको दिन सम्पन्न गर्न कुनै विघ्नबाधा नहोस् भनी सो भन्दा ६ दिन अघि अर्थात् यसपटक डिसेम्बर ८ सम्ममा हरेक राज्यले आफ्नो इलेक्टर मत परिणामसम्बन्धी सबै विवाद टुंग्याइ सक्नुपर्छ । यो ६ दिनको अवधिलाई सुरक्षित अवतरण गर्न छुट्टयाइएको समयावधि भन्ने गरिन्छ ।

यसपटकको निर्वाचनको प्रक्रिया बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प, जो रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति थिए । उनले निर्वाचनमा पराजय अझसम्म स्वीकार नगरी विभिन्न कानुनी जटिलता सिर्जना गरेर बाइडनको विजयलाई चुनौती दिएका कारण पनि अहिलेसम्म टुंगिएको छैन । ट्रम्पको यो कार्य दुर्भाग्यपूर्ण छ । यसले अमेरिकी लोकतान्त्रिक चलनको उपहास गरेका कारण दुनियाँभरका अधिनायकवादी शासकहरूले अमेरिकालाई होच्याउने मात्र होइन, आफ्नो अधिनायकवादी शासनलाई पक्षपोषण गर्ने अवसर प्राप्त भएको छ । थप दुनियाँका कतिपय मुलुक जहाँ निर्वाचित सत्तावादी शासक, जसले निर्वाचन जितेकै आधारमा विधिको शासन, लोकतान्त्रिक उत्तरदायित्व, स्वतन्त्र निष्पक्ष न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकार र मौलिक अधिकारको रक्षाजस्ता लोकतान्त्रिक मूल्य र मान्यताको धज्जी उडाउँदै निर्वाचित अधिनायकवादी शासन स्थापित गर्ने दुष्प्रयत्न गर्दैछन्, तिनलाई बलियो आड र भरोसा पुगेको छ ।

ट्रम्पले सत्तामा छँदा दुनियाँभरका अनुदारवादी शासकलाई शिर ठाडो बनाउने अवसर दिए, बिदा हुँदा पनि सबै मुलुकमा लोकतन्त्रमाथि एउटा जोखिमको सन्त्रासको वातावरण छाडेर जाने भए । 

ट्रम्पले सत्तामा छँदा दुनियाँभरका अनुदारवादी शासकलाई शिर ठाडो बनाउने अवसर दिए, बिदा हुँदा पनि सबै मुलुकमा लोकतन्त्रमाथि एउटा जोखिमको सन्त्रासको वातावरण छाडेर जाने भए । यी सबै दुर्भाग्यपूर्ण परिस्थितिका बाबजुद अमेरिकाको संविधान र कानुनले तोके बमोजिमको प्रक्रियाबाट औपचारिक रूपमा २०२१ जनावरी ६ मा बस्ने संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता बहालवाला उपराष्ट्रपति माइक पेन्स जो आफैँ कमला ह्यारिससँग उपराष्ट्रपति पदमा पराजित हुँदैछन्, बाइडन राष्ट्रपति र ह्यारिस उपराष्ट्रपति भएको घोषणा गर्नेछन् । अन्तत: ट्रम्पजस्ता जब्बरले पनि विधिको शासन र लोकतान्त्रिक पध्दतिबाट सहज निकास दिनुपर्छ भन्ने कुरा स्थापित हुनेछ । विक्रम संवत् २०४४ सालमा अमेरिका गएदेखि नौं वटा राष्टपति निर्वाचनलाई नियालेको छु । त्यतिबेला रिपब्लिकन पार्टीबाट जर्ज एज डब्ल्यू बुस र डेमोक्र्याटिक पार्टीबाट माइकल डुकाकस प्रतिस्पर्धामा थिए । त्यसबेलामा मैले अध्ययन गर्ने कलेजको पत्रिकाले अन्तर्वार्ता लिँदा हामीकहाँ यति कम मानिसले मतदान गर्छन्, तिमीहरू कहाँ के हुन्छ भनी सोधेको थियो । त्यसबेला उनीहरू कहाँ भन्दा हाम्रोमा धेरै मानिसले मतदान गर्ने चलन थियो । त्यहाँ अत्यन्तै कम मानिसले मतदान गर्थे । र जसले निर्वाचन जिते पनि आम नागरिकको जीवनमा खासै फरक पर्दैन भन्ने मान्यताका कारण पनि निर्वाचनमा उत्साह कम हुने गर्थ्यो ।

रिपब्लिकन पार्टीले जित्यो भने अन्तर्राष्ट्रिय सम्बन्धतिर बढी चासो हुने, डेमोक्रयाटिकले जित्यो भने गृह नीतितिर बढी चासो हुन्छ भन्थे । त्यस बेलादेखि परिवर्तन हुँदाहुँदा रिपब्लिकन पार्टी यस्तो परिस्थितिमा पुग्यो कि घरभित्रका मानिसलाई मात्र हेर्ने, अमेरिकालाई दुनियाँको सबैभन्दा ठूलो र महान् देश बनाऊ भन्ने नारामा ट्रम्पले अघिल्लो निर्वाचन जिते । यसकारण निर्वाचन जिते कि सामान्यतया मतदानमा मतलब नगर्ने नागरिक जो आफ्नो कमाएर खान्थे, उनीहरूले डेमोक्र्याटिक पार्टीलाई मत हाल्थे । तर अघिल्लो पटक रिपब्लिकन पार्टीका ट्रम्पलाई मत हाले । ट्रम्पले आफ्नो चुनावी नारामा मध्यम वर्गमा मानिसहरूलाई मेक्सिकोसँग सीमामा पर्खाल लगाउँछु । बाहिर कम्पनी राखेर अमेरिकामा सामान ल्याउन दिन्नँ । विदेशमा उत्पादन भएका सस्ता सामानहरूमा महंगो भन्सार महसुल लगाएर अमेरिकी उद्योग जोगाउँछु भन्नेजस्ता अन्तर्मुखी राजनीतिक नारा ल्याएर मध्यम वर्ग र विशेषत: श्वेत मतदाताको समर्थन पाएर निर्वाचन जिते । यी सबै कुरा परम्परागत रूपमा रिपब्लिकन पार्टीको धारणा र नीतिभन्दा फरक थिए ।

उनको यो नीतिले युरोपियन मुलुकहरूसँगको सम्बन्ध चिसियो । अमेरिकासँग अत्यन्त नजिक रहेको बेलायतसँगको सम्बन्ध पनि त्यत्तिकै राम्रो रहन सकेन । बेलायतका प्रधानमन्त्री, फ्रान्सका राष्ट्रपति जर्मनीका चान्सलर पुरातनवादी अर्थात् बोलीचालीको भाषामा दक्षिणपन्थी पार्टीका नेताहरू रिपब्लिकन पार्टीसँग स्वाभाविक रूपले नजिक हुन्थे । तर, ट्रम्पको कार्यकालमा यी सबै रिपब्लिकन पार्टीसँग र अमेरिकासँगै टाढिए । अमेरिकाले दुनियाँको नेतृत्व नलिई आफ्नो मुलुकलाई मात्रै कसरी ठूलो बनाउने भन्नेतिर लाग्यो भन्ने उनीहरूको बुझाइ रह्यो ।

यसैले पनि विश्वभरिका सबै खालका मानिस पुरातनवादी, उदारवादी वा वामपन्थी जे भए पनि उनीहरूको बाइडनप्रति सद्भावपूर्ण दृष्टिकोण रहेको छ । बाइडन ३१ वर्षको उमेरमा सिनेटर भएका थिए । जुन आजभन्दा ४६ वर्ष अगाडिको कुरा हो । ४६ वर्षदेखि निरन्तर रूपमा राजनीति गरिरहेका छन् । एउटा घतलाग्दो कुरा एरिजोना राज्यमा डेमोक्र्याटिक पार्टीले अचेल प्राय: जित्दैन तर अहिले जित्यो । एरिजोनामा पूर्वसिनेटर २००८ मा रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार स्वर्गीय जन मकेनकी श्रीमती र उनकी छोरीले बाइडनको अत्यन्तै सकारात्मक प्रचार गरिदिएकाले उनले जिते ।

सैन्य बल र सामरिक तागतमा चीन र रुस अमेरिकासँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् ।

केही लब्ध प्रतिष्ठित रिपब्लिकनहरू पनि ट्रम्पमाथि भरोसा नभएर बाइडनतिर आए । मकेन भनेका ओबामासँग निर्वाचन लडेका प्रतिष्ठित रिपब्लिकन नेता र भियतनाम युद्धका कारण हातमा गम्भीर अपांगता भएका मानिस थिए । देशभित्र पनि रिपब्लिकनलाई पनि मिलाउन सक्ने र बाहिर पनि अमेरिकाको पक्षमा परिस्थिति निर्माण गर्न सक्छन् भनेर बाइडनप्रति ठूलो आशा छ । त्यो आशा पूरा गर्न सक्छन् कि सक्दैनन्, थाहा छैन ।

तेस्रो वातावरण परिवर्तनबारे क्योटो प्रोटोकलमा ओबामाको कार्यकालमा हस्ताक्षर भएको थियो । बाइडन ओबामा कार्यकालमा उपराष्ट्रपति थिए । वातावरणलाई जोगाउनुपर्छ भनी बनाएका कानुन कार्यान्वयन गर्नु असाध्यै ठूलो अन्तर्राष्ट्रिय एजेन्डा भएको छ । युवाहरूबीच बाइडनले वातावरण जोगाउने बाटोमा लिएर जान्छन् भन्ने विश्वास देखिन्छ ।

दुनियाँमा विशेषत: पश्चिमा मुलुकहरूसँग अमेरिकाले फेरि सहकार्यको सम्बन्ध निर्माण गर्ला भन्ने आशा जाग्रित भएको छ । युरोपसँग अमेरिकाको सम्बन्ध, पुराना मित्रराष्ट्रहरूसँगको सम्बन्ध पुन: पहिलेझैँ सानिध्यपूर्ण ढंगले विकास हुन्छ भन्नेछ । यी त भए सकारात्मक विषय । एउटा नकारात्मक विषय, यसबीचमा चीन र अमेरिकाको सम्बन्ध तिक्ततापूर्ण भएको छ । त्यो सम्बन्ध सजिलै फेरिन्छ भन्ने होइन । त्यो सम्बन्ध व्यक्तिका कारणले आएको दरार नभई दुई मुलुकबीचमा आर्थिक रूपमा देखिएको प्रतिस्पर्धाले आएको दरार पनि हो । व्यापार र अर्थतन्त्रको प्रतिस्पर्धाका कारण चीन र ट्रम्पकाबीच दरार आयो । बाइडनसँग मानवअधिकारका विषयमा पनि चीनको दरार आउन सक्छ । तसर्थ चीनसँगको अमेरिकाको सम्बन्धमा खासै सुधार हुने सम्भावना कम नै छ ।

अर्कोतर्फ रुससँग चीनको निकटता बढेर गएको छ, भारतसँग अमेरिकाको सम्बन्ध नजिक हुँदै गएको छ । ट्रम्पको निर्वाचनकै बेलामा अमेरिकी विदेश मन्त्री माइक पम्पियो र रक्षा मन्त्री मार्क एस्पेन भारत भ्रमणमा आए । यो अमेरिकाका लागि भारतको महत्व बढेर गएको प्रमाण हो । आर्थिक रूपमा चीन केही वर्षमै विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक बन्छ । साथै आर्थिक रूपमा विश्व दुई ध्रुवमा विभाजित हुँदैछ । सैन्य बल र सामरिक तागतमा चीन र रुस अमेरिकासँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् । चीन अमेरिका भन्दा सैन्य बल र सामरिक युध्दको तागतमा १५/२० वर्षपछि छ । कोभिड-१९ का कारण अर्थतन्त्रमा चीनलाई अगाडि जान सहज भएको देखिँदै छ । त्यसैले चीन र रुससँगको अमेरिकी सम्बन्धमा खासै ठूलो परिवर्तन नआउला । बाँकी युरोप र अमेरिकाको सम्बन्धमा, भारतसँगको सम्बन्धमा तथा दक्षिण अमेरिका र बेलायतसँगको सम्बन्धमा परिवर्तन आउँछ भन्ने आसा गर्ने वलियो आधार छ ।

सामान्यतया अमेरिकामा राष्ट्रपति निर्वाचनमा उपराष्ट्रपति उम्मेदवारबारे विशेष चर्चा हुँदैन । तर यो पटक अमेरिकी इतिहासमा पहिलो महिला त्यो पनि अश्वेत यति माथिको पदमा निर्वाचित भएकाले ह्यारिस उपराष्ट्रपति हुने भएको कुरालाई पनि महत्वका साथ हेरिएको छ । १९८४ मा डेमोक्र्याटिक पार्टीका तर्फबाट पहिलो पटक वाल्टर मान्डेल राष्ट्रपतिको उम्मेदवार हुँदा उपराष्ट्रपतिको उम्मेदवार श्वेत महिला जेराल्डिन फराडो भएकी थिइन् । तर, मान्डेलसँगै उनी पनि पराजित भइन् ।

२००८ मा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेदवार बन्न अत्यन्त कडा प्रतिस्पर्धामा श्वेत महिला हिलरी क्लिन्टन प्राइमरी निर्वाचनमा अश्वेत पुरुष बाराक ओबामासँग पराजित भएकी थिइन् । २०१६ मा हिलरी क्लिन्टन नै डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेदवार बन्न त सफल भइन् तर रिपब्लिकन डोनाल्ड ट्रम्पसँग पराजित भइन् ।

झन् यसपाला केही समय अघि मात्रै श्वेत प्रहरीले क्रुरतापूर्वक अत्यधिक बल प्रयोग गरी काबुमा लिई गिरफ्तार गर्ने क्रममा अश्वेत पुरुष जोर्ज फ्लोयडको मृत्यु भयो । त्यसपछि ‘कालाको जीवनको महत्व छ’ भन्ने नाराका साथ अमेरिकाभरि नै सबै जातका नागरिकले गरेको प्रदर्शन अहिले पनि थुप्रै मतदाताका मानसमा ताजै रहेको कुराका आलोकमा पनि ह्यारिसको विजयले महत्व पाएको हो । ह्यारिसको विजयले अब पनि अमेरिकामा रंगभेद रहन सक्दैन भन्ने सकारात्मक सन्देश प्रवाहित भएको छ । सबैभन्दा पाको उमेर ७७ वर्षमा राष्ट्रपति पदमा बाइडन विजयी भएकाले पनि अश्वेत महिला ह्यारिसको राजनीतिक भविष्य सबैको चाखको विषय बन्न पुगेको छ । थप आप्रवासी आमा बाबुकी सन्तान पनि हुन्, ह्यारिस ।

नेपाल भ्रमण गर्ने अमेरिकाको उपराष्ट्रपतिलाई कालो सर्प किन भनेको होला भनेर बुझ्दै जाँदा त कम्युनिस्टहरूले त्यो पोस्टर बनाएका रहेछन् । 

अमेरिका-भारत एकातर्फ र चीन-रुस अर्कोतर्फ हुँदै विश्व राजनीतिक मञ्चमा विकसित प्रतिस्पर्धामा नेपालले कुनै ध्रुवतर्फ पनि नलागी आफ्नो विकासका लागि भारत, चीन, अमेरिका र पश्चिमा राष्ट्रहरूबाट आर्थिक सहयोग जुटाउन सक्नु बुध्दिमता हुनेछ । तर त्यसका लागि नेपालका सत्तासीन कम्युनिस्ट पार्टीका वर्तमान नेताहरूमा राजनीतिक जीवनको पूर्वाध्ददेखि गहिरो रूपमा रहेको मानसिकता बाधक बन्न सक्छ ।

यस विषयमा नेपालमा सत्तासिन कम्युनिस्ट पार्टीको अमेरिका र भारतजस्ता लोकतान्त्रिक शासन व्यवस्था भएका मुलुकहरूलाई हेर्ने पुरानो दृष्टिकोणबारे एउटा उदाहरणसहित संक्षिप्त चर्चा गर्छु । म केटाकेटी नै थिए । २०२६ सालको पुस/माघजस्तो लाग्छ । विराटनगरमा माध्यमिक विद्यालयमा पढ्थे । बिहान चोकमा घुम्न निस्कन्थे । एक दिन चोकमा रहेको खम्बामा एउटा पोस्टर देखेँ, ‘एगन्यु कालो सर्प हो’ भन्ने लेखेको थियो । मलाई अचम्म लाग्यो । हामी त तराईको मान्छे, कालो सर्प भन्ने गोमन सर्प जस्तै हो कि भन्ने लागेर एक छिनपछि घर फर्किएँ । बुवालाई पूजापाठ गरुञ्जेल पर्खिएर त्यो विषयमा सोधेँ । अनि थाहा पाए, एगन्यु त अमेरिकाको उपराष्ट्रपतिको नाम पो रहेछ । उनले नेपाल भ्रमण गर्दै रहेछन् ।

नेपाल भ्रमण गर्ने अमेरिकाको उपराष्ट्रपतिलाई कालो सर्प किन भनेको होला भनेर बुझ्दै जाँदा त कम्युनिस्टहरूले त्यो पोस्टर बनाएका रहेछन् । त्यसबेला नेपालको कम्युनिस्टले अमेरिकालाई साम्राज्यवादी, भारतलाई विस्तारवादी शक्तिका रूपमा र आफूलाई कम्युनिस्ट अन्तर्राष्ट्रियवादीका रूपमा प्रस्तुत गर्थे । अमेरिकाको उपराष्ट्रपति नेपाल आउँदा कालो सर्प नेपाल आएको प्रचार गर्ने कम्युनिस्ट राजनीति थियो त्यो बेला । त्यो बेलादेखि अहिलेसम्म परिवर्तन त आएको छ । तर, अझ पनि केही आयाममा कम्युनिस्टहरूमा परिवर्तन आउन सकेको छैन ।

केही समयदेखि एकनास तवरले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले नेपालको विकासमा अमेरिकाको सहयोग आवश्यक छैन, भारतसँग हामी सदैव सशंकित छौँ भन्ने सन्देश दिएको छ । ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’बाट चीनले नेपाललाई उदात्त भावले सहयोग गर्नेछ, र अरु सबै वैदेशिक सम्बन्धलाई नेपालले उपेक्षा गर्न सक्छ भन्ने दृष्टिकोण कम्युनिस्ट पार्टीमा रहेको देखिन्छ ।  सरकारका परराष्ट्रमन्त्रीले त नेपालको विदेश सम्बन्धमा लामो समयदेखि रहेका असन्तुलन अब हामीले समाप्त पार्‍यौँ भन्ने अभिव्यक्ति दिनुभयो । यसकारणले पनि मेरो मनमा नेपाली कम्युनिष्टहरुको यो मानसिकताले बाइडनको विजयले नेपालका लागि खोलेको थप अवसरको माग अवरुध्द हुन सक्छ भन्ने चिन्ता छ । 

(पूर्वमन्त्री डा. रिजाल कांग्रेस केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्य हुन् ।)


Author

डा. मीनेन्द्र रिजाल

पूर्वमन्त्री रिजाल कांग्रेस केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्य हुन् ।


थप समाचार
x