सिन्धुपाल्चोक एमालेको दशौं अधिवेशनः के चाहन्छन् एमालेजन ?
हुन त यतिबेला सिन्धुपाल्चोकमा उधुम गर्मी हुनुपर्ने हो । तर चैतको मध्यमापनि जाडो छ । आकाश खुल्न सकेको छैन र घामपनि राम्ररी लाग्न सकेको छैन । जिल्ला नेतृत्व आ–आफ्नो पोल्टामा पार्ने होडले एमाले पार्टी पङ्क्ति तातेपनि भूगोल अझै तात्न सकेको छैन । नेतृत्वमा जुनखालको राप र ताप देखिएको छ, त्यो तापक्रम भूगोलमा नदेखिनु हिजो विषम परिस्थितिमा पनि पार्टी काममा क्रियाशील निष्ठावान, अनुशासित र प्रतिबद्ध सदस्यहरूबाट नेताहरु टाढिँदै जानुको परिणाम पनि हो ।
जो नेताको वरिपरि घुमिरहन सक्छ, उही होनहार पार्टी क्याडरमा दरिदैं जाने परिपाटी हावी भएकै कारण जनता र पार्टी जोड्ने सेतुको भूमिकामा रहेकाहरू वेवास्तामा परेका छन् । यो दशौं अधिवेशनले पार्टी काममा निरन्तर खटिरहने इमान्दार र समर्पित सदस्यहरू माथि सम्बोधन गर्न सक्नुपर्ने हो । तर संकेत त्यस्तो देखिंदैन । किनभने जिल्ला प्रतिनिधि छनौट गर्ने क्रममा धरातलबाट उठेका, पार्टी संकटमा पर्दा सतीसाल झैं ठिङ्ग उभिएका र पार्टीको अस्तित्व रक्षाका लागि सबै प्रकारका जोखिम उठाउँदै आएकाहरूलाई गौण मान्दै नेताका खल्तीका मान्छेहरू प्राथमिकतामा पर्नुले यही कुरालाई प्रष्ट्याउँछ ।
त्यसो त अहिले अनुपातिक हिसाबले पार्टीमा लाग्ने र सोही अनुरूप चरित्र देखाउने राजनीतिक प्रवृत्ति अचाक्ली देखिन्छ । एउटै व्यक्ति बीस प्रतिशत काँग्रेस, बीस प्रतिशत माओवादी र साठी प्रतिशत एमाले हुन पाउने छुट छ । त्यही छुटको अवसर प्रयोग गर्दै “एमालेको फलानो भए ठीक छ, नभए कि माओवादीको ढिस्कानोलाई सपोर्ट गरिन्छ, कि काँग्रेसको ढिस्कानोलाई” भन्ने चरित्र र व्यवहार जताततै छ्याल्लब्याल्ल देख्न पाइन्छ ।
पार्टीको सिद्धान्त, विचार, नीति तथा कार्यक्रमको विषयमा चासो नभएकाहरूको “जी, हजुर” को गुलामी चाहने नेताहरूकै कमजोरीकै कारण यसो भएको हो । यस्ता अनुपातिक सदस्यहरूबाट पार्टीले बेलाबखत “देखाई दिन्छु” भन्ने धम्कीको पनि सामना गर्नुपर्छ । नेता विशेषको कृपा र आशिषबाट नाफा निकाल्न माहिर यस्ता बिचौलियाहरूबाट पार्टी जोगाउनु पनि यो अधिवेशनको मुख्य कार्यभार हो । तर अहिलेका नेताहरु नसच्चिने हो भने यो विषयमाथि दशौं अधिवेशनले सम्बोधन गर्न सक्दैन । यसर्थ यो कार्यभार पूरा गर्ने हो भने शुद्धीकरण माथिबाटै हुनुपर्छ भन्ने कुरालाई यो अधिवेशनले जोडदार माग गर्नसक्नु पर्दछ ।
समयको लामो कालखण्ड सम्म नेकपा (एमाले) जनतामा आधारित पार्टी थियो । जन धरातलमा उभिएको पार्टी थियो । अहिले पार्टीको त्यो जग नराम्ररी हल्लिएको छ । तर बिचौलियाहरुको घेराबन्दीको कारण पार्टी भित्रका जिम्मेवार तह र नेतृत्वलाई त्यसको आभाष हुन दिएको छैन । वास्तवमा यो राजनीतिक बिचौलियाहरुको ठूलो सफलतापनि हो । यसले गर्दा जनस्तरमा यिनै बिचौलियाहरुले नै पार्टी ठगिरहेका छन् भन्ने विश्वासको भ्रममा छन् नेतृत्व ।
यो अधिवेशनले नेतृत्वमा विद्यमान यस भ्रमलाई चिर्न सक्छ कि सक्दैन ? यो पनि गम्भीर सवाल हो । भूगोलमा रहेर संगठनको काममा पसिना बगाउने, अन्य पार्टीको आक्रमण र प्रहारको प्रतिवाद गर्दै पार्टी रक्षा गर्ने, स्थानीय समुदायको आड र भरोसा बन्दै आएका वास्तविक संगठक र सदस्यहरूलाई वेवास्ता गर्ने हो भने यो अधिवेशनले पनि खासै परिणाम दिन सक्दैन ।
पार्टी निर्माणमा ऐतिहासिक भूमिका खेल्नेहरूको वेवास्ता मात्र हैन, उनीहरुको योगदानलाई भुल्ने परम्पराको निरन्तरताले सुखद परिणाम ल्याउँदैन । जसले पार्टी निर्माण गरे, नयाँ नेतृत्व विकास गर्दै नयाँ पिंढीलाई पार्टीको जन संगठनको गुणात्मक विकास र विस्तारको जिम्मेवारी सुम्पे, उनीहरुले गरेको हिजोको योगदान र भूमिकाको उच्च मूल्यांकन गर्नु, उनीहरुको मिहिनेत र पसिनाको अवमूल्यन हुन नदिनु पनि यो अधिवेशनको अर्को कार्यभार हो । तर पार्टी कामको निर्मम समीक्षालाई हैन, नेतृत्वमा को कसलाई ल्याउने र को कसलाई रोक्ने भन्ने खेलमा खटिरहेका जिल्ला नेतृत्व र जिल्लाबाट केन्द्रीय तहसम्म पुगेका नेताहरूको पारा देख्दा यो विषयपनि ओझेलमा पर्ने देखिन्छ ।
पार्टी भित्र व्यक्तिगत स्वार्थ नमिलेमा वा व्यक्तिगत टकराव भएमा त्यसलाई व्यवस्थापन गर्नुको सट्टा बिचार समूहको नाम दिई नेतृत्वको बीचको दरारलाई थप गहिराइमा पुर्याउने र कार्यकर्ता पक्तिलाई पनि सोही अनुरूप पक्ष/विपक्षमा लाइन लगाउने प्रवृत्तिको पनि अन्त्य गर्न सक्नुपर्दछ यो अधिवेशनले । सबैखाले गुटको अन्त्य, पार्टी सदस्यहरूलाई आग्रह–पूर्वाग्रहको आँखाले हेर्ने दृष्टिकोण लगायत सबै खाले रोगहरूको निदान पनि गर्नसक्नु पर्दछ । रोगी र जीर्ण संगठनले विपक्षीसँग लड्न सक्दैन र लडिहाले पनि जित्न सक्दैन भन्ने कुरामा पनि यो अधिवेशनले हेक्का राख्नुपर्दछ ।
कुनै बेला सिन्धुपाल्चोकलाई एमालेको “लाल किल्ला” भन्ने गरिन्थ्यो । पार्टी भित्र अन्य पार्टीको घुसपैठ नभएको, कुनै व्यक्ति स्वार्थ र लोभ लालचमा नलागेको, अध्ययनशील, सीर्जनशील, अनुशासित र संगठनको काममा लगनशील सदस्यहरूको बाहुल्यता भएको पार्टी एमालेको एकल वर्चश्व भएकै कारण जिल्लालाई सगौरब लालकिल्ला भनिएको थियो ।
गुमेको त्यो विरासत फर्काउने हो भने एमालेभित्र रहेका स्वार्थी, नाफाखोरी र अनुपातिक समर्थन बोकेका विचौलियाहरूबाट पार्टीलाई जोगाउन सक्नुपर्दछ । वैज्ञानिक ढङ्गले पार्टी भित्र रहेको मिश्रणलाई छुट्याउन सक्नुपर्दछ । जिल्ला तहको कोर टीममा के निर्णय भयो भन्ने कुराको माइन्युट नहुँदै सूचना चुहिने र विपक्षीहरूले थाहा पाउने मात्र होइन, जिल्ला तहको आधिकारिक बैठक र पार्टीले नेतृत्व गरेका कतिपय संरचना, संघसंस्था तथा स्थानीय तहको निर्णयमा अन्य पार्टीका नेताको एजेण्डाले प्रवेश पाउने र त्यसलाई महत्वकासाथ आत्मसात गर्ने जुन प्रवृत्ति विगतमा देखियो, त्यसको निर्मूल नगर्ने हो भने नेकपा (एमाले) विभिन्न स्वार्थ समूहहरूको मोर्चा त बन्ला, तर गतिशील, जुझारु, सामूहिक स्वार्थले ओतप्रोत र नीति, सिद्धान्त, बिचार, कार्यक्रम प्रति प्रतिबद्ध क्रान्तिकारी पार्टी पंक्ति बन्न सक्दैन ।
जिल्ला तहको नीति र नेतृत्व चयनको सर्वोच्च निकाय यस दशौं जिल्ला अधिवेशनले उल्लिखित विषयहरूमा सार्थक र अर्थपूर्ण सम्बोधन गर्न सकेन भने यो अधिवेशन पनि “बिरालो बाँधेर श्राद्ध गर्ने” कर्मकाण्ड भन्दा खास मानेमा फरक हुने छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया