विद्यालयमा खाजा र यसको प्रभाव
आजको व्यस्त समाजका बाबुआमाले आफ्ना नानीहरूका लागि विद्यालय पठाउँदा खाजाको रुपमा प्लास्टिकको प्याकभित्र महिनौंदेखि बन्द भएका चाउचाउ, लेज, कुर्मुरे-कुरकुरे, चिजबल, गोलमोल, फ्रुटी-रियोलगायत नाम भएका अन्य अनेकौं पदार्थहरू बजारबाट किनेर बढो प्रेमपूर्वक खुसी तुल्याउँदै भोलि त्यस्तै किसिमको अर्को किनेर दिने बाचासहित विद्यालय पठाउनुहुन्छ ।
कतिपय अभिभावकहरू यस्ता खाद्यवस्तुहरू हानिकारक छन् भन्ने जान्दा जान्दै पनि दिएर पठाउनुहुन्छ भने कतिपयलाई भने महँगो छ त्यसैले राम्रो होला बच्चाहरूले रुचाएर खान्छन् भन्ने पनि ला ग्छ। यस्ता वस्तुले के कति हानि गर्छ भन्ने नापतौल गर्ने साधन र यन्त्र न त घरमा अभिभावकसँग छ न विद्यालयसँग तर पनि यी हानिकारक छन् भन्ने ठहर चाहिँ चिकित्सकको पनि र विद्यालयको पनि रहेको छ ।
यस्ता खानाले अखाद्य पदार्थहरूले शरीरका विभिन्न प्रणालीमा असर गरिरहेको हुन्छ । खास गरी उत्सर्जन र प्राचन प्रणालीमा यस्ता महिनौं वर्षौँदेखि प्याक भएका जसले मानव जीवनमा प्रत्यक्ष रूपमा नराम्रो असर गर्छ त्यस्ता खानालाई जंकफुड भनेर एक अमेरिकी खाद्य विशेषज्ञले सन् १९७२ मा अंग्रेजी नाम दिएका थिए । यस्ता खाद्यवस्तुले शरीरमा के कति र कसरी असर गरिरहेको छ भन्ने कुरा न त हेरेर थाहा हुन्छ न डाक्टरी जाँचबाटै सबै कुरा पत्ता लाग्छ । सबै कुरा मन्द विषको रूपमा शरीरमा काम गरिरहेको हुन्छ ।
क्रमिक रुपमा यसले शरीरको आन्तरिक गतिविधिलगायत विभिन्न प्रणालीमा पनि असर पुर्याइरहेको हुन्छ । आज-भोलि भने स्वास्थ्य सम्बन्धीको जनचेतनाको कारणले विद्यालयले यस्ता खाद्यवस्तुलाई विद्यालय हाताभित्र बन्देज लगाएकाले चेतनशील अभिभावकहरू यस विषयप्रति चिन्तित देखिन थालेको पाइन्छ ।
तीन चार दशकअघिसम्म जहाँ निजी विद्यालयहरू त्यति धेरै थिएनन् र सरकारी विद्यालयमा खाजा खाने प्रचलन नै थिएन । हाल आएर जब निजी विद्यालयहरू प्रशस्त भए ,आमाबाबु व्यस्त भए , अभिभावक कामकाजी भए र आफ्ना नानीहरूलाई सानै उमेरमा विद्यालय पठाउन थालियो र नानीहरू विद्यालय जान नमान्ने रुने कराउने गर्न थालेकाले आफ्ना नानीहरूलाई मनपर्ने मिठाई खाजा आदि किनेर वा बनाएर पठाउन थालेपछि खाजाको लोभले बच्चा विद्यालयमा बस्न थाले र खाजाको प्रचलन पनि यसरी स्थापित हुन पुगेको हो र अहिले यो एउटा नियमित रुटिनभित्र पर्न गयो ।
निजी विद्यालयको सुरुवाती दिनहरूमा खाजामा आमा दिदी दाजु बाबुहरूले पुरी रोटी चना चिउरा भुटीभात सेल रोटी मकै भटमास पठाउने गरेको पाइन्थ्यो र त्यतिबेला बजारमा बन्द खानाको त्यति व्यापकता पनि थिएन, भने अहिले बजारमा तयारी खाजाको रुपमा खाद्य-अखाद्य पदार्थको व्यापकताले आमाहरूमा अल्छिपना विकास भएर खाना बनाउने नयाँ सीप र जागरमा समेत अवरोध आइरहेको छ । घरमै निर्मित खानाहरूमा घरका अभिभावक आमाबुबा दाइ दिदीको मेहनत परिश्रम सीप र सिर्जना लाग्ने भएकाले खाजाको माध्यमबाट एकआपसमा माया प्रेम सद्भाव गाढा हुने हुन्छ भने बजारबाट लिएको खाजामा त्यो प्रेम पाइँदैन ।
खानाले मानव जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ । साधा सात्विक खानाले मानवलाई गुणी शान्त स्वभाव विचारशील विवेकी बनाउँछ भने तामसी खानाहरू जस्तो माछा, मासु, चिल्लो-पिरो मरमसला भएको तारेको खानाहरू जाँड रक्सी आदिले मस्तिष्कलाई उत्तेजित तुल्याउने र मानवलाई हिंस्रक झगडालु रिसाहा क्रोधी अनियन्त्रित बनाउने गर्दछ ।
त्यसैले आजभोलि समाजमा विभिन्न खालका अमर्यादित असामाजिक क्रियाकलाप हुने गरेको पाइन्छ । यस्ता खानाले मानव जीवनको विभिन्न आचरण बानी व्यवहारलाई प्रत्यक्ष-अप्रत्यक्ष असर गरिरहेको हुन्छ यति मात्र नभई बजारमा पाइने यस्ता तयारी खाना हरूमा मिश्रित विभिन्न रसायनले इन्टेस्टाइनल क्यान्सर अपच हड्डी कमजोर गराउने जस्ता विकारहरू हुनसक्छ र बालबालिका को आचरणमा बानी व्यवहारमा नै परिवर्तन भई घरमा आमाबुबा दाजुभाई दिदीबहिनी सँग विद्यालयमा शिक्षकसँग झनक्क रिसाउने झर्कने गरेको पनि देख्न थालेको पाइन्छ।
तयारी रूपमा पाइने यस्ता खाले खाद्य पदार्थको प्रयोगले वातावरणलाई पनि त्यत्तिकै रूपमा फोहोर र दुर्गन्धित बनाइरहेको हुन्छ । जुनसुकै चोक गल्ली सडकको छेउछाउ घर टोल बस्तीको छेउछाउ हेर्यो तिनै तयारी खानाको पोको पार्ने प्लास्टिकका खोलहरू भेटिन्छन्, जुन न त कुहिएर माटोमा मिल्छ न त पुन: प्रयोग गर्नेतर्फ कसैको ध्यान पुगेको छ ।
सरकारी निकायहरू जसले यस्ता फोहरहरू डिस्पोज गर्छन् ती संस्थाहरूलाई पनि धेरै समस्या परेको देख्न सुन्न पाइन्छ । जहाँ ती प्लास्टिक र्यापरहरू कुहिन हजारौं वर्ष लाग्छ त्यही खेतबारी कान्लापाखा माटोमुनि पुरिन गई सूर्यको ताप सोहोरेर माटोको तापक्रममा समेत वृद्धि गरी बालीको उत्पादनमा समेत ह्रास आउनुको साथै माटोको माइक्रो ओर्गानिजम पनि मारिरहेको छ । यसरी यस्ता खाद्यवस्तुले मानव स्वास्थ्यसँग विभिन्न दृष्टिकोणबाट असर गरिरहेको छ । त्यसैले यसतर्फ सबैको ध्यान जरुरी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया