नेपाल टेलिकमको खस्कँदो अवस्था
राष्ट्रको सञ्चार कि सरकारको सञ्चार
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले देशभर सेवा पुर्याउँदै आएको छ । जसमा नेपाल सरकारको ९१ दशमलव ४१ प्रतिशत स्वामित्व रहेको छ भने करिब ८ दशमलव ५ प्रतिशत कर्मचारी र सर्वसाधारण जनताको सेयर छ । २०३२ साल असारमा स्थापना भएको यो कम्पनी २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीको रुपमा दर्ता भयो ।
टेलिकम देशभर सेवा दिने नेपालकै ठूलो दूरसञ्चार कम्पनी हो । तर, यसले दिने सेवा सबै नागरिकको पहुँचमा छैन । टेलिकमका सेवा शहर र बजार क्षेत्रमा भन्दा केही पर पुग्नासाथ हराउँछ । राजमार्गका धेरै स्थानमा नेटवर्कले काम गर्दैन । धेरै गाउँहरूमा नेटवर्कका लागि मोबाइल टाउको माथि घुमाउँदै हिड्नुपर्ने लाजमर्दो अवस्था छ । नेटवर्क खोज्दै रुखमा चढेका तस्विरहरू सामाजिक सञ्जालमा देख्न पाइन्छ ।
'राष्ट्रका लागि सञ्चार' भनेर जुन अवधारणासहित टेलिकमको स्थापना भयो यसले दिने सेवाका कारण यो अवधारणा नै गलत सावित भएको देखिन्छ । अहिले टेलिकमको सेवा र ग्राहक सन्तुष्टिमा ठूलो खाडल छ । दूर-दराजका सेवाग्राही मोबाइल नेटवर्क र वाइफाइ सेवा दुवैबाट आजित छन् । जसका कारण महंगोमा निजी कम्पनीका इन्टरनेट र मोबाइल सेवा लिन बाध्य छन् ।
धेरै टाढा पुग्नै पर्दैन राजधानीबाट २० किलोमिटर टाढा काभ्रेको आशापुरी भने स्थानमा नेपाल टेलिकमको नेटवर्क छैन । एनटिसी चलाउने सेवाग्राही त्यहाँ पुग्नासाथ सम्पर्कविहीन हुन्छन् । त्यहाँ स्मार्ट सिम मात्रै चल्छ ।
आज ‘एनसेल’ जुन स्थानमा प्रसिद्धिका साथ छ त्यो स्थान नेपाल टेलिकमकै कमजोरीले गर्दा भएको हो । टेलिकमले देशभर सेवा प्रदान गर्ने उद्देश्य राखेपनि सबै स्थानमा सेवा दिन सकेको छैन । सेवा पाएका ठाउँमा पनि ग्राहकहरूले विभिन्न समस्या झेल्दै आएका छन् । फोन नलाग्ने, लागे पनि कुरा नबुझिने, इन्टरनेट नचल्ने, 'फोरजी' भनिए पनि 'वानजी' बराबरको सेवासमेत नदिने जस्ता विविध समस्या नेपाली जनताले भोग्दै आएका छन् ।
टेलिकमले फोरजीलाई प्राथमिकता राखेर लगानी गरेको छ। यसका प्रयोगकर्ता पनि बढेका छन्। तर, गुणस्तरीय सेवा छैन। ग्राहकले महँगो शुल्क तिरेर चलाएको फोरजी काठमाडौँमा नै बेलाबेला शून्य ‘स्पिड’मा झर्ने गरेको छ। विकट ठाउँमा त फोरजी देखाउँछ, पैसा पनि काट्छ तर डाटाले काम गर्दैन ।
अहिले टेलिकमले टेलिफोनको तार फेरिरहेको छ । जुन कामले राज्यको निकै पैसा खर्च भएको छ । तामाको तारलाई फाइबर तारले प्रतिस्थापन गर्दा समय र पैसा दुबै खर्च भएको छ । तार परिवर्तन गर्दै गर्दा हप्तौँसम्म सेवाग्राही सेवाबाट वञ्चित भए । एसियाकै मुलुकहरूले ताररहित टेलिफोन सेवा प्रदान गर्दै आएका छन् तर नेपालले त्याे अभ्यास गर्न किन कन्जुस्याइँ गरिरहेको छ ? २१औं शताब्दीमा तारकै जमानामा फर्किनु पनि अचम्मै छ ।
नेपाल टेलिकमले २०७९ मंसिर ८ गतेदेखि देशभरका सम्पूर्ण दूरसञ्चार कार्यालयहरूबाट ई–सिम वितरण गर्न सुरु गर्यो । तर, २०८० पनि नसकिँदै नेपालमै ई-सिमको अभाव छ । अहिले टेलिकमका देशभरका काउण्टरमा ई-सिम पाउन सकिन्न । जसका कारण सेवाग्राही मारमा परेका छन् । प्रविधिको यो युगमा पनि सेवा दिन सुरु गरेको २ वर्षमै ई-सिम सकिनुले टेलिकमको दुरावस्था देखाउँछ ।
एनसेलको ई-सिम लिन काउण्टरसम्म पुग्नु पर्दैन । सेवाग्राहीले घर बसीबसी ई-सिम पाउन सक्छन् । एनसेलले नागरिकताको प्रमाणपत्रकाे नम्बर, इमेल आइडी १७१२५ मा म्यासेज गर्नासाथ ई-सिम उपलब्ध गराउँछ । त्यहीँ काम टेलिकमले किन गर्न सक्दैन ? टेलिकमलाई यो सेवा सहज रुपमा दिन के ले र कसले रोक्यो ? नेपालबाट नै एनसेल जान लागेको भन्ने खबर बाहिरिदा आगामी दिनमा टेलिकमको दुरसञ्चार क्षेत्रमा एकलौटी साम्राज्य हुन्छ । त्यस्तो अवस्थामा टेलिकमले कस्तो सेवा देला ? देशभर सेवा दिन सक्ला कि नसक्ला यावत् प्रश्नहरू छन् ।
प्रविधिको विकासले विश्वमा सञ्चारले छलाङ मारिरहेको छ । तर, नेपाल टेलिकमको स्थिति भने नाजुक हुँदै गएको छ । टेलिकमको यति धेरै ग्राहक हुँदा पनि कम्पनी घाटामा जानुले यो कुरा पुष्टि गरेको छ । टेलिकम सञ्चालन भएदेखि पहिलो पटक घाटामा गएको छ । कम्पनीको गत आर्थिक वर्ष २०७९/०८० को अन्तरिम वित्तीय प्रतिवेदनमा सञ्चालन आयभन्दा खर्च धेरै देखिएको छ ।
गत आर्थिक वर्षको टेलिकमको कूल सञ्चालन आय ३६ अर्ब ८० करोड ३९ लाख ३१ हजार रुपैयाँ रहेको थियो । सोही अवधिमा टेलिकमको कूल खर्च ३७ अर्ब ६ करोड ३७ लाख ४६ हजार रुपैयाँ थियो । यो तथ्यांकलाई हेर्दा कम्पनी २५ करोड ९८ लाख १५ हजार रूपैयाँले घाटामा गएको देखिन्छ । टेलिकमको ओरालो यात्रा सुरु भएको छ। जसरी दिन दहाडै ट्रली बसको लोप भयो कुनै दिन टेलिकमको पनि लोप नहोला भन्न सकिन ।
टेलिकमपछि स्थापना भएका थुप्रै कम्पनीहरूले सरल, सुलभ रुपमा नागरिकलाई सेवा दिइरहेका छन् । धेरै विशेषतासहित नयाँ-नयाँ सेवा प्रदान गर्दै मन जित्न सफल भएका छन् । दूर-दराजमा अन्य कम्पनीहरूले सेवा प्रदान गर्न सक्दा टेलिकमले किन गर्न सकेन ?
पहिले टेलिकमको जति चर्चा थियो अहिले त्यो पाइन्न । जनताले सरल र सहज रुपमा सञ्चार गर्न पाउने भनेर खोलिएको भए पनि नागरिकको हितमा काम गर्न सकेको छैन । १४९८ मा कल गरेर सम्पूर्ण समस्याको समाधान हुन्छ भनिन्छ । समस्या पनि सुनिन्छ तर सेवा सुधार हुँदैन ।
नेपाल टेलिकममा समस्याका चाङ छन् । देशभरका टेलिकम कार्यालयमा कर्मचारीको अभाव छ । देशकै राजधानीमा रहेका कार्यालयमा समेत जनताको समस्या तथा गुनासो सुनिदिने कर्मचारी छैनन् । टेलिकम केन्द्रीय कार्यालयका प्रवक्ता मिडियाकर्मीलाई समेत प्रतिक्रिया दिदैनन् । पटक-पटक कल गर्दा वेवास्ता गर्छन् । प्रविधिको विकाससँगै कर्मचारी, कार्यविधि र काम गर्ने सोच र शैलीमा पनि आधुनिकता ल्याउन जरुरी छ ।
२१औँ शताब्दीमा पुरानो कार्यशैली र नियम अनुरूप काम गर्न सेवाग्राही र कर्मचारी बाध्य छन् । घर बसी बसी हुने कामलाई पनि टेलिकममा लाइन बस्नुपर्छ । अझ ई-सिम लिन टेलिकम काउण्टर नै पुग्नुपर्छ भन्दा मान्छे हाँस्छन्/उडाउँछन् ।
पछिल्लो समयमा टेलिकमले सुरु गरेको वायरलेस वाइफाइ पनि खासै प्रभावकारी छैन । पैसा तिरे बापतको सेवा ग्राहकले नपाएकाे गुनासो छ । आफूले सब्सक्राइबर गरेको नेट भने अनुसार चल्दैन । टेलिकमले राम्रो इन्टरनेट सेवा प्रदान गर्न सके वर्ड लिंक, भायोनेट र क्लासिक नेट आदि जस्ता इन्टरनेट सेवा प्रदायकहरू निकै पछि पर्थे । नागरिकको सबै डाटा सरकारी स्वामित्वमा हुन्थ्यो भने सरकारलाई आर्थिक रुपमा समेत फाइदा हुन्थ्यो ।
अन्य इन्टरनेट सेवा प्रदायकहरू छोटो समयमा नामले भन्दा पनि कामले चिनिएका छन् । टेलिकमको लामो इतिहास हुँदाहुँदै पनि नयाँ संचार माध्यम भन्दा पछाडि पर्नु लज्जास्पद कुरा हो । "नेपाल टेलिकम राष्ट्रको गौरव, राष्ट्रको पहिचान " भने नारा रिङ्गटोनमा मात्रै सीमित छ । यो नारा सुन्दा जति उत्साह र खुशी मनमा हुन्छ टेलिकमको सेवा देख्दा दिक्क लाग्छ ।
दैनिक नयाँ नयाँ अफर मात्रै ल्याउनु भन्दा अहिले भएका सेवाहरूलाई सहज, सुलभ बनाउनेतर्फ ध्यान दिनुपर्दछ । विदेशी संचार कम्पनीले नेपालमा कब्जा जमाउनु र उनीहरूप्रति निर्भर हुनु दुखको कुरा हो । त्यसैले पनि टेलिकमले थुप्रै प्रतिस्पर्धी संचार कम्पनीलाई पछि पार्दै जनता र देशको हितमा काम गर्नु पर्छ । खस्किएको टेलिकमलाई सुधार गरि जनविश्वास फर्काउनुपर्छ ।
सम्बन्धित समाचार
देशभर नेपाल टेलिकमको ई–सिम अभाव
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया