पुटिनले आदेश जारी नगरेसम्म फर्कन सम्भव छैन
रुस अहिले लामो युद्धको तयारी र अभ्यासमा छ । चाह्यो भने विध्वंसात्मक आक्रमण गरेर पुरै युक्रेनलाई केही दिनभित्रै तहसनहस बनाउन सक्ने ल्याकत राख्छ तर त्यो चाहिरहेको छैन ।
यसअघि नियन्त्रणमा लिइसकिएको मुख्य रणनीतिक भुगोल र सीमा नाकाहरूको सशक्त रक्षा गर्ने, युक्रेनीहरू अघि बढ्न खोजे प्रतिरोध गर्ने/लखेट्ने,आ-आफ्नो क्षेत्रको अनुकुलता हेरेर सबै तिरबाट दैनिक १०० देखि १००० मिटरसम्म भुगोल च्याप्दै सुरक्षा पोष्ट/बंकर सार्दै जाने युक्रेनीहरूलाई दवावमा राख्ने, १०/१५ मिनेटको अन्तरालमा हवाई /जमिनि फायरिङ गरेर जिस्काउने, गोला बारुद खर्च गराइदिने, उर्जा उत्पादन तथा सप्लाई केन्द्र ध्वस्त बनाइदिने, लाईफलाईन रुट ब्लक गरि तड्पाउने र बंकर छोडी ब्याक हुन बाध्य पार्ने र विस्तारै बंकर सार्दै अघि बढ्ने, रसिया अहिले यस्तो अभ्यासमा छ ।
पश्चिमा/अमेरिकी गठबन्धनको योजनामा युक्रेनले ठूलो आक्रमणको प्रयास गरेपछि मात्रै विध्वंसात्मक आक्रमणको अन्तिम विकल्प प्रयोग गरेर युद्धलाई निर्णायक मोडमा पुर्याउने रुसको रणनीति छ । भोलि नाटो गठबन्धनसँग लामो लडाईं लड्ने रणनीतिक योजनासहित अहिले युद्धकै बीचमा डिफेन्स/अफेन्स फिल्ड पोजिसनहरू निर्माण हुँदैछ ।
रुस दिर्घकालिन युद्धमा छ, युद्ध सकिएसी रमाउने भन्ने कुरा असान्दर्भिक भएर नै होला युद्धलाई भयंकर डरलाग्दो विषयको रुपमा होइन सामान्य नियमित ड्युटीको रुपमा बुझ्न र युद्धकै बीचमा रमाउन प्रशिक्षित गरिँदैछ । फ्रन्टलाइनको फस्ट पोजिसन बारमा जाने ५ देखि ७ दिन लडाईंमा र एक हप्ता रेष्टमा, फ्रन्टलाइनको सेकेण्ड पोजिसन बंकर ड्युटीमा जाने १० दिन ड्युटीमा र ५ दिन रेष्टमा, फ्रन्टलाइनको थर्ड पोजिसन बंकर/सुरुङ निर्माण, क्याजुल्टी रेस्क्यु/हतियार तथा युद्ध सामग्री सप्लाई/खाना, लजिष्टिक सप्लाई १५ दिन ड्युटीमा ५ दिन रेष्ट यसरी रुटिनमा चल्छ ।
रेडजोनमा फस्ट पोष्ट ड्युटी, सपोर्ट पोष्ट ड्युटी, सुरक्षा पोष्ट तथा बंकर/सुरुङ निर्माण कार्यमा ड्युटी रहेकाहरूको पनि रोटेसनमा काम र आरामको समय निर्धारण गरिएको हुन्छ । कहिलेकाहीँ लडाईं लम्बिएको अवस्थामा बाहेक अन्यथा नियमित रुटिनमै कार्य सञ्चालन हुन्छ ।
भर्तिपछिको ६ महिना अवधि पुगेकालाई घरविदा/आराम/भेटघाट/रिफ्रेसमेन्टको व्यवस्था छ । अपवादको रुपमा केही प्रतिकुलताका कारण कतै समयमै खाद्यान्न आपूर्ति हुन नसक्दा खानपनमा समस्या देखिनु अलग कुरा तर फ्रन्टलाइनको फस्ट पोजिसनमा ५/७ दिन रेगुलर लडाईंमा रहँदाको फारोतिनो खानपानबाहेक त्यस पछाडिको पोजिसनमा खानपान/लजिष्टिक व्यवस्थापनमा कमेन्ट गर्नुपर्ने ठाउँ देखिन्न ।
अघिल्लो पोजिसनबाट रेष्टमा फर्केपछि नुहाउने/धुने, बजार जाने स्केलमा आउने बाहेक आफुले इच्छाएको कुरा किनेर आफ्नै स्वादको परिकार बनाएर खान सक्ने सुविधा छ । चुरोट स्केलमै आउँछ, मदिरा निषेध छ, कसैले खाएको रिपोर्टिङ भयो भने तुरुन्तै एक्सन हुन्छ । यहाँ जात, धर्म, वर्ण, लिङ्ग देशको आधारमा कसैमाथि विभेद गर्न पाइँदैन ।
कुनै पनि कमाण्डर वा सदस्यले कसैलाई विभेद, कुटपिट या दुर्व्यवहार गर्यो भने सम्बन्धित इकाईमा उजुरी पुग्नुपर्छ तुरुन्तै कारबाही हुन्छ । क्युवा, अफ्रिकन र नेपालीमाथि भएको दुर्व्यवहार, कुटपिट तथा अवैध आर्थिक संकलन सम्बन्धी ३ वटा घटनाको म आफैले अगुवाइ गरेर उजुरीपछि केश फाइनल भएको छ यसबारे विस्तारमा पछि लेख्नेछु ।
युद्धमा सबै चिज नापेतौले जस्तो हुँदैन, युद्धमा खटेको सिपाही वा कमाण्डर त्यसैपनि एग्रेसिभ हुन्छ, रसियनहरू अलिक छिटो रिसाउने स्वभावका हुन्छन्, अराजक, अल्छि र अटेरीहरूलाई रुचाउँदैनन्, कतिपय ठाउँ/अवस्थामा खराब कमाण्डरको निसानामा परेर एकाधले कष्ट झेल्नुपरेको हुनसक्छ तर समग्रमा कडा फौजी अनुशासनमा बस्नेहरूलाई अनावश्यक कष्ट झेल्नुपरेको अवस्था देखिन्न । लडाईंमा हुने कठिनाईसँग जुध्न नसक्नु, घाइते हुने वा मर्ने डरले भागेर मिडिया/सञ्जालमा फुलबुट्टा भरेर बिलौना गर्नु भनेको आफैलाई लज्जित बनाउनु/गिज्याउनु हो ।
यहाँ लडाईं चरलिराछ भन्ने थाहा थियो । लडाईंमा दु:ख हुन्छ, घाइते हुन सकिन्छ, मर्न सकिन्छ भन्ने पनि थाहा थियो, मस्को आएर आवेदन दिइसकेपछि सबै विषय बुझ्न, परामर्श लिए। एग्रिमेन्ट पेपरमा हस्ताक्षर गर्ने वा नगर्ने ? स्वतन्त्र निर्णय लिन २ हप्ताको समय दिइएकै थियो त्यतिबेला आँखा चिम्लेर बस्ने जब सम्झौता गरेर लडाईंमा पठाउछ तब भागडौड, रोईकराई र अनावश्यक बिलौना गर्ने ? यस्तो लज्जास्पद हर्कतलाई कसरी उपयुक्त मान्न सकिन्छ ?
यहाँ युद्धका घाइतेको उपचार र क्षतिपूर्ति तत्काल सुरु हुन्छ । मृतकको सनाखत र कागजी प्रक्रिया मिलाउँदा समय लाग्ने हुँदा क्षतिपूर्तिको प्रक्रियामा अलिक ढिलाइ भएको भन्ने छ । हराएको भनिएकाहरूबारे खोजबिन र अपडेट भइराख्छ । यी सबै प्रक्रिया जिटुजी सिस्टमा चलिरहेको छ तर केही अभियन्ता नामका युरो/डलरवादी एजेन्टहरू काठमाडौँको रुसी दूतावास अघि धर्ना जुलुसको नाममा घिनलाग्दो हर्कत देखाउनुको रहस्य के रहेछ खै ? डलरे अभियन्ताहरूलाई भन्नैपर्ने कुरा युक्रेनी सेनामा समेत केही नेपाली भर्ति भएका छन् तिनिहरूबारे किन नबोलेको ? रुसी सेनामा भर्ति भई अहिले युक्रेनमा बन्दी बनेका ६ जना नेपालीको यथाशीघ्र रिहाईबारे किन नबोलेको ? उद्दार गर्नुपर्ने भनेको द्वन्द्व चलिरहेको देशमा द्वन्द्वमा फसेका सिभिलियनहरूलाई हो, रुसी सेनामा भर्ति भएको सिपाही जो आफै एके-१२ बोकेर युद्ध मैदानमा युक्रेन/नाटो गठबन्धनविरुद्ध लडिरहेको छ, रसियाको उद्दारमा डटिरहेको छ, युद्धको सिपाही जो आफैँ उद्दारकर्ता हो उसैलाई उद्दार गर्नुपर्छ भनेर युरो/डलरको चारो हसुरेको भरमा अभियन्ताको खोल ओढेर धर्ना/जुलुस गर्नु कत्तिको सान्दर्भिक होला ?
नेपालबाट जति आएका छौँ सबै राज्यले पठाएरै आएको हो । प्रमाण आवश्यक छ भने 'हामी स्वच्छाले रुसी सेनामा भर्ति हुन जाँदैछौँ' भन्ने व्यहोराको स्वघोषणासहित ३ पुस्ते विवरण भरेर हस्ताक्षर गरेको कागज TIA को अध्यागमन विभागमा सुरक्षित छ खोज्दा हुन्छ । कुरा यत्ति हो 'मेरो देशसँग आफ्ना नागरिकलाई देशभित्रै राख्न सक्ने ल्याकत थिएन हामी आयौं अब कार्यकाल पूरा नभई वा पुटिनले नयाँ आदेश जारी नगरेसम्म सिंगै विश्व लागे पनि फर्कन सम्भव छैन ।'
अन्त्यमा
म दश वर्षे जनयुद्धमा सहभागी एक सिपाही-क्रान्ति, युद्ध, देश, दुनियाँ, राजनीति, कुटनीतिक, मनोविज्ञान, आत्मसम्मान, आत्म स्वाभिमान के हो भन्ने धेरथोर थाहा छ । देशमै भएको भए राजनीतिक नैतिकता जोगाएरै पनि जीवन गुजारा चलाउन सकिन्थ्यो । नैतिकता लिलाम गर्न चाहेको भए गरेरै पनि गतिलै जीवनयापन गर्न सक्ने वातावरण बनाउन सम्भव थियो, तर मनले मानेन ।
घर्कंदो दिन/उमेर, खस्कदो आर्थिक अवस्था, छोटो समयमा अलिक बढी मेहनत गरेर सम्माजनक जीवनयापन गर्ने अवस्था बनाउनुपर्छ भन्ने हुटहुटी यसर्थ अजङ्गको पहाडसँग जुध्ने हिम्मत गरेर नै यहाँ आएको हो । कमेन्टमा आएर युद्ध, क्रान्ति, स्वभिमान, देशभक्तिको लेक्चर दिने र म्यासेन्जरमा आएर भर्ति कहिले खुल्छ सर ? त्यहाँ कसरी आउन सकिन्छ ? च्यानल मिलाईदिनुपर्यो भन्ने खालको लज्जास्पद हर्कत नगर्नु होला । तपाईंहरूका अन्य सकारात्मक सुझाव, सल्लाह, चिन्ता, चासो, सुभेक्षालाई भने सधैं मनन् गर्ने नै छु । एक हप्ता वारपछिको एक हप्ता रेष्ट अवधिमा यति नै लेख्ने समय जुर्यो अरु लेख्दै गरौंला ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया