नेपाली कांग्रेस कसका लागि शिखण्डी बन्दै छ ?
बहुदलीय व्यवस्थाको पुनःस्थापनापश्चात् भाग्यमानी छ जना कम्युनिस्ट नेताहरू मनमोहन अधिकारी, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र खड्गप्रसाद ओलीलाई प्रधानमन्त्री हुने सौभाग्य मिल्यो ।
छोटो समयका लागि भए पनि विश्व कम्युनिस्ट आन्दोलनमा यति धेरै कम्युनिस्ट नेताहरूले सरकारको नेतृत्व गरेको विरलै इतिहास होला । तर केही अपवाद छाडेर सबैको प्रधानमन्त्रीकाल लगभग ‘असफल’ रह्यो भन्दा अनुपयुक्त नहोला ।
मनमोहन अधिकारीको देहावसान भइसकेको छ भने बाबुराम भट्टराई हाल गैरकम्युनिस्ट नेता बन्नुभएको छ । अनि बाँकी चार जनामध्ये खड्गप्रसाद ओली दुई तिहाइउन्मुख सरकारको प्रधानमन्त्री हँुदै हाल अल्पमतको सरकारको नेतृत्व गर्दै हुनुहुन्छ ।
उता पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल गैरकम्युनिस्ट पार्टी नेपाली कांग्रेसका असफल भूपू प्रधानमन्त्री शेरबहादुर देउवालाई पुनः प्रधानमन्त्री बनाई ओलीलाई पदबाट विस्थापन गर्ने आन्दोलनमा सहभागी भएका छन् ।
के महन्थ ठाकुर नेतृत्व जनता समाजवादी पार्टी समर्थित ओली नेतृत्व सरकारविरुद्ध पाँच प्रधानमन्त्रीहरू देउवा-दाहाल-खनाल-नेपाल-भट्टराईको गठबन्धनको सहयात्राबाट नेपाली कांग्रेसले समग्रमा राजनीतिक लाभ प्राप्त गर्न सक्नेछ ? यसै प्रसंगको वरिपरि रहेर यो लेखमा केही सवाल उठाउने प्रयास गरिएको छ ।
भूपू माले/मसाले गठबन्धनमा कांग्रेस
विगतमा जब नेपाली कांग्रेसको आन्तरिक झगडा सुरु हुन्थ्यो संसद्को विशेष अधिवेशनको माग गरेर नेपाली कांग्रेस नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी नेपाल नेतृत्व एमाले कांग्रेसको कमजोरीमा खेल्ने प्रयास गर्थ्यो ।
तर जति पार्टीभित्र किचलो भए पनि कांग्रेस बाह्य शत्रुविरुद्ध एक भएर अविश्वास प्रस्ताव फेल गराएको इतिहास छ । ओलीतन्त्र ठीक-बेठीक होला । अनि पक्ष-विपक्षीहरूले कुरा उठाउनु स्वाभाविक छ, तर एउटै पार्टीभित्र रहेर आफ्नै पार्टीविरुद्ध प्रदेश सरकारमा आफ्ना समर्थकलाई ‘फ्लोर क्रस’ गर्न लगाउनु र केन्द्रमा नेपाली कांग्रेसको समर्थनमा २३ विभीषणहरू जन्माउनु एमालेका खनाल-नेपाल समूहले संसदीय मूल्य र मान्यता विपरीत गरेको ठहरिन्छ ।
यस्ता असंसदीय गतिविधिले कांग्रेसलाई क्षणिक फाइदा हुने नै छ, तर कांग्रेस आफ्नो कमजोर सैद्धान्तिक धरातलका कारण यी पूर्व माले÷मसालेको खेलमा शिखण्डी बन्दै गएको केही मत पाइन्छ ।
इतिहासलाई केलाउँदा पञ्चायतकालमा समेत हमेसा कांग्रेसविरुद्ध लड्ने विगतमा माले (नेतृत्वकर्ताहरू : सीपी मैनाली, झलनाथ खनाल, मदन भण्डारी र माधवकुमार नेपाल आदि) र मसाल (नेतृत्वकर्ताहरू : मोहनविक्रम सिंह, निर्मल लामा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, चित्रबहादुर केसी, मोहन वैद्य आदि) हरूले आफ्ना कार्यकर्ताहरूलाई २०३६ को जनमत संग्रहमा बहुदलीय व्यवस्थाको समर्थनमा नेपाली कांग्रेसलगायत अन्य पार्टीहरूले सञ्चालन गरेको आमसभा बिथोल्ने र बहुदलवादी नेताहरूलाई पिट्ने र लपेट्ने निर्देशन दिई निर्दलीय पञ्चायती व्यवस्था जिताउन अप्रत्यक्ष सहयोग गरेको इतिहास पढ्न पाइन्छ ।
पूर्व माले/मसालको गलत राजनीतिक अभ्यासले २०३६ सालको जनमत संग्रहमा पराजित बहुदलीय व्यवस्थाको पुनःस्थापना निम्ति, त्यो पनि भारतको सहयोगमा अर्को १० वर्ष कुर्नुपर्यो । २०४६ को पहिलो जनआन्दोलनबाट प्राप्त बहुदलीय व्यवस्थाविरुद्ध पूर्वमसालका धेरै नेताहरूले माओवादी पार्टीको नाममा भारतको सहयोगमा हतियार उठाएको कारण नेपाललाई राजनीतिक रूपमा धेरै समय अस्थिर बनाएको लगभग प्रमाणित भइसकेको छ ।
संसद्मा ससाना कुरामा पनि संसद् चल्न नदिने र लामो समयसम्म संसद्लाई बन्धक बनाउने नेपाल नेतृत्व एमाले नै थियो ।
२०६२/६३ को संयुक्त दोस्रो जनआन्दोलनमार्फत स्थापित सबै माओवादीमा विश्वास गर्ने कम्युनिस्ट पार्टीहरूको दस्तावेजमा जातीय राज्यमा आधारित जनगणतन्त्र स्थापना गर्ने प्रमुख उद्देश्य उल्लेख छ । यही मान्यतालाई संस्थागत गर्न दाहालले केही दिनअघि पार्टीको जनवर्गीय संगठनलाई सम्बोधन गर्दा संविधान सभाबाट नेपालको संविधान २०७२ बनाउने दौरानमा ‘नोट अफ डिसेन्ट’को राजनीतिक सवाललाई फेरि उठाउने भनेका थिए ।
अब नेपाली कांग्रेसको नेतृत्वले प्रचण्डको यस्तो विचारलाई कसरी आत्मसात् गर्छ, किनकि २००७ देखिका हरेक प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा नेतृत्व गर्ने कांग्रेस दुई तिहाइबाट सामान्य बहुमत हुँदै कमजोर प्रतिपक्षमा खुम्चिएर प्रचण्ड-खनाल/नेपाल-यादव त्रिखण्डीले बनाएको खेलमा अल्झिँदै विगतको आफ्नो अस्तित्व प्राप्त कायम गर्न खोज्नु दिवास्वप्न हुनेछ ।
संसद् विघटन/पुनःस्थापना र कांग्रेसी महाधिवेशनसँगको साइनो
२०७७ पुसमा घोषणा गरिएको मध्यावधि चुनाव सम्पन्न भएको भए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा मिलिजुली सरकार बन्ने पक्का थियो । तर सर्वोच्चले संसद् पुनःस्थापना गराइदियो । यसका अतिरिक्त देउवाको नेतृत्वमा सरकार बन्ने प्रबल सम्भावना नभएको होइन । तर कोइराला क्याम्पको आन्तरिक विरोधका कारण डबल नेकपाका ओली विरोधीहरूले दर्ता गरेको अविश्वासको प्रस्तावलाई त्यसै निष्क्रिय बनाइएको थियो ।
पार्टीको आउँदो महाधिवेशनमा कोइराला क्याम्पले नेतृत्व लिन बुनेको जालोमा देउवा पर्दैछन्, जसका कारण देउवा न पार्टीको अध्यक्ष हुनेवाला छन्, न प्रधानमन्त्री । किनकि जब जब समय घर्किंदै छ, देउवा नेतृत्वमा सरकार बन्ने सम्भावना कमजोर हुँदै जानेछ ।
यदि सर्वोच्चले दोस्रो पटक संसद् पुनःस्थापना गरिदिएमा पनि संसद्मा भएको गणितीय खेलका साथै कोइराला क्याम्पले पनि देउवालाई महाधिवेशनमा हराउने रणनीतिमा नेपाली कांग्रेसको महाधिवेशनअघि नयाँ सरकार गठन गर्न ढिलाइ गराउन अप्रत्यक्ष भूमिका खेल्नेछ । किनकि केपी ओली बाहिर जति देउवा नजिक देखिन्छन्, भित्री रूपमा कोइराला गुटसँग सामीप्य भएको सानो उदाहरण दिन सकिन्छ ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाको एमालेमा प्रियपात्र केपी ओली भएको कोइराला परिवार गुटका सबैलाई थाहा छ । हाल खनाल-नेपाल समूहले एमालेका २३ सांसदहरू देउवाको समर्थनमा उभ्याएर नेपाली कांग्रेसको संस्थापन पक्षलाई ओली विरोधी क्याम्पमा ल्याउन सफल भए तापनि कोइराला परिवारले देउवाविरुद्ध केपी ओलीको कार्ड प्रयोग गरी कांग्रेसको आउँदो महाधिवेशनमा आफ्नो पकड जमाउने खेल हुने सक्ने साजिस सिद्धान्तले शंका उत्पन्न गरिदिएको छ ।
प्रचण्ड-नेपाल-यादवको कांग्रेस कमजोर बनाउने खेल
प्रचण्ड त्यस्ता माओवादी नेता हुन्, जसले तत्कालीन माओवादीले सञ्चालन गरेको जनसंघर्षमा कुल १७ हजारको ज्यान गएकामा त्यीमध्ये ५ पाँच मारेको जिम्मा लिएका छन् । दाहालको दाबीलाई आधार बनाउँदा पनि माओवादी र सरकारको द्वन्द्वमा १२ हजार मारिए तापनि ५ हजारमध्ये माओवादीबाट मारिएका नेपाली कांग्रेसका धेरै कार्यकर्ता थिए, किनकि पहिलो चरणमा कांग्रेस मार्दा तत्कालीन समयमा नेकपा एमाले खुसी नै भएको थियो ।
असंसदीय गतिविधिले कांग्रेसलाई क्षणिक फाइदा हुने नै छ, तर कांग्रेस आफ्नो कमजोर सैद्धान्तिक धरातलका कारण यी पूर्व माले/मसालेको खेलमा शिखण्डी बन्दै गएको केही मत पाइन्छ ।
जब एमालेका कार्यकर्ताहरू मारिँदा माधवकुमार नेपालले हामी पनि कांग्रेस विरोधी हौँ, किन मारेको भनी माओवादी नेतृत्वसँग गुनासो गरेको त्यतिबेला चर्चाको विषय बनेको थियो । त्यस्तै संसद्मा ससाना कुरामा पनि संसद् चल्न नदिने र लामो समयसम्म संसद्लाई बन्धक बनाउने नेपाल नेतृत्व एमाले नै थियो ।
ओली-प्रचण्ड-नेपालको व्यक्तिगत महत्वाकांक्षाका कारण डबल नेकपाको विसर्जन हुँदै भिन्न हुन पुगेका दुई नेपाली कम्युनिस्ट पार्टीहरूको झगडामा कांग्रेसलाई राजनीतिक फाइदा दिलाउन खोजिँदै छ । पछिल्लो खेलमा कांग्रेसले गण्डकी प्रदेशमा मुख्यमन्त्री हात पार्न सफल भएको छ ।
त्यस्तै ओलीविरुद्ध लडेका दाहाल नेतृत्व माओवादी र एमालेका खनाल नेपालको गुटको कारण कर्णाली प्रदेशमा र जनता समाजवादी पार्टीको विभाजनका कारण प्रदेश-२ मा कांग्रेसलाई सरकारमा सहभागी हुने अवसर मिलेको छ ।
केही दिन पहिले एमालेका खनाल-नेपालको समूहबाट समर्थन प्राप्त गरी माओवादी नेतृत्व सुदूरपश्चिमको प्रदेश सरकारमा नेपाली कांग्रेसलाई फकाउन प्रचण्ड र खनाल-नेपालले सत्ता साझदारीको प्रस्ताव गरेको सुन्न धेरै दिन पर्खनु नपर्ने देखिन्छ र कांग्रेस यसैमा फाइदा लिँदै छ ।
अन्त्यमा, राजतन्त्रको अवसानपछि कांग्रेस कमजोर बन्दै गएको अवस्थामा हालको ओली विरोधी गठबन्धनमा कांग्रेसले जित्ने भन्दा पनि माओवादी नेता पुष्पकमल दाहाल, एमालेले कारबाही गरेको झलनाथ खनाल/माधवकुमार नेपाल र जनता समाजवादीका उपेन्द्र यादव-बाबुराम भट्टराईको नाटकमा शिखण्डी बन्दै छ ।
यी गैरकांग्रेसी व्यक्तित्वहरू विगतमा नेपाली कांग्रेसलाई प्रमुख शत्रु मान्थे । गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिको सपना देखाएर ‘पछि धोका’ दिने तत्कालीन माओवादी नेतृत्व दाहाल–भट्टराई र देउवाको नेतृत्वमा रहेको सरकारबाट नबाहिरिएर एमालेसँग चुनावी तालमेल गर्ने दाहालको द्वैध चरित्रलाई कांग्रेसले ओली सरकारविरुद्ध आन्दोलनलाई कसरी व्यवस्थापन गर्छ, हेर्न बाँकी छ ।
तर समग्रमा इन्डो–प्यासिफिक राजनीतिबाट प्रभावित ओली नेतृत्व एमालेभन्दा सैद्धान्तिक रूपमा व्यक्ति हत्यामा विश्वास गर्ने प्रचण्ड र उनका नयाँ सहयोगी एमालेका खनाल÷नेपालको गुटको नेतृत्वमा गठन हुने सम्भावित मोर्चामा मोहन वैद्य तथा विप्लव लगायत जनगणतान्त्रिक शक्तिहरू समेटिँदा भविष्यमा कांग्रेसका लागि पेचिलो चुनौती बन्न सक्छ ।
(प्राध्यापन ग्रामीण विकास केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया