विचार

प्रमुख कार्यकारी पदमा तपाईंको नियुक्ति किन भएको होला ?

लक्ष्मणप्रसाद शर्मा |
असार ७, २०७८ सोमबार ८:५ बजे

श्री बालानन्द शर्माज्यू
प्रमुख कार्यकारी प्रमुख, सीसीएमसी, काठमाडौँ । 

सर्वप्रथम त सीसीएमसीको प्रमुख कार्यकारी अधिकृतजस्तो महत्वपूर्ण पदमा नियुक्त हुनुभएकामा ढिलै भए पनि हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु । शर्माज्यू, तपार्इंले लामो समय नेपाली सेना, संयुक्त राष्ट्रसंघ तथा माओवादी सेना समायोजन तथा पुनःस्थापना समितिमा खेलेको सकारात्मक भूमिकाका कारण नै पछिल्लो पद प्राप्त भएको हुनुपर्छ ।


सर्वसाधारण नागरिकको हैसियतमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको प्रमुख कार्यकारी अधिकृतलाई केही जिज्ञासा, अपेक्षा, चिन्ता र पीडा यही लिखित पत्रमार्फत व्यक्त गर्न गइरहेको छु । अत्यन्त कठिन समयमा नेतृत्व सम्हालिरहनु भएकाले धेरै व्यस्त हुँदाहुँदै पनि यहाँ उठान गरिएका सार्वजनिक सरोकारका विषयको वस्तुगत, यथार्थ र व्यवस्थित जवाफ दिई आम नेपाली नागरिकको छियाछिया भएको मनमा केही हदसम्म मलम लगाउनु हुनेछ भन्‍ने विश्वास लिएको छु । 

कोभिड-१९ मा नेपालको प्रवेशसँगै गठन भई एक वर्षभन्दा बढी समय कयौँ विवादको घेरामा सीमित रहेको उपप्रधानमन्त्री संयोजक रहेको सीसीएमसी पुनर्गठन हुन गयो । पछिल्लो समय प्रधानमन्त्री अध्यक्ष रहेको कोभिड-१९ संकट व्यवस्थापन निर्देशक समिति र नेपाल सरकारद्वारा नियुक्त प्रमुख कार्यकारी अधिकृत प्रमुख रहने गरी तयार भएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रमा यहाँलाई कार्यकारी प्रमुखका रूपमा देख्‍न पाउँदा केही आशाका किरण नदेखिएका होइनन् । विगतमा लामो समय विवादको शृंखलाबाट शिखर चुम्न सफल सीसीएमसीमा तपाईंको नेतृत्वले सकारात्मक परिणाम दिन सक्छ/सक्दैन भविष्यले बताउला । 

शर्माज्यू, हुन त सीसीएमसीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भइसकेपछि नेपाल मात्रै नभएर अन्य देशहरूमा कोभिड-१९ को प्रभाव, त्यसको न्यूनीकरणका लागि चालिएका कदम, जनताको सहभागिता र क्रियाशीलता, सरकारी प्रयासबाट प्राप्त भएको परिणामबारे पक्कै पनि तपाईं जानकार नै हुनुहुन्छ र सोहीबमोजिम नीति तथा कार्यक्रम तय गरी लागू गर्न थाल्नुभएको छ होला भन्‍ने आम नेपालीले अपेक्षा गर्नु अस्वाभाविक होइन । देशमा विद्यमान समस्या यहाँसामु राख्‍नुभन्दा पहिले नेपाल र कोभिड-१९ सँग सम्बन्धित केही तथ्यहरूलाई एकसरो ढंगले प्रस्तुत गर्ने अनुमति चाहन्छु । जसले यहाँलाई थप सहज बनाउने अपेक्षा गरिएको छ । 

सन् २०१९ को अन्तिममा चीनमा देखिएको कोरोना नेपालमा प्रवेश गर्न एक महिना पनि लागेन । नेपालमा २०२० जनवरी २३ अर्थात् २०७६ माघ ९ मा पहिलो संक्रमण फेला परेको देखिन्छ । जस बेला कोरोना न्यूनीकरणका लागि चीनले आक्रामक ढंगले काम गरिरहेको थियो भने नेपालसहित बाँकी विश्वले कोरोनालाई सजिलै परास्त गर्ने हावादारी कुरा गर्दै जनतामा भ्रम छरिरहेका थिए ।

पहिलो संक्रमण देखिएको पूरा दुई महिनासम्म नेपाल सरकारले कोरोनाको प्रभावकारी रोकथाम, न्यूनीकरण र व्यवस्थापनमा खास प्रयास त गरेन नै बरु उल्टै नेपाललाई कोरोनामुक्त घोषणा गर्ने दुस्साहससमेत गर्न पछाडि परेन । बिनायोजना, रणनीति, कार्यनीति सरकार निरन्तर आदेश जारी गर्न थाल्यो निरीह नेपाली जनता पालना गर्न थाले सरकार भने कानमा तेल हालेर मस्त निद्रामा कोरोना नियन्त्रण भएको सपना देख्‍न थाल्यो । जब नेपालमा दोस्रो संक्रमण पुष्टि भयो सरकारले हठात २०७६ चैत ११ गतेदेखि लागू हुने गरी देशव्यापी रूपमा बन्दाबन्दी घोषणा गर्यो र सोच्यो कि सबै काम पूरा भयो ।

बन्दाबन्दी पछाडि अधिकतम नागरिकलाई कसरी परीक्षणको दायरामा ल्याउने, विभिन्‍न देशमा रोकिएका नागरिकलाई कसरी व्यवस्थापन गर्ने, खुला सिमानाका कारण भारतबाट घर फर्किने नेपालीको कसरी व्यवस्थापन गर्ने, एउटा जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने नागरिकलाई कसरी व्यवस्थापन गर्ने, दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरूका लागि कस्तो रणनीति लागू गर्ने जस्ता विषयमा कुनै पनि सार्थक पहल भएन जहाँसम्म कि संक्रमितको उपचार कहाँ गर्ने, संक्रमणबाट निधन भएकाहरूको सब कसरी र कहाँ व्यवस्थापन गर्ने कुनै योजना नै थिएन ।

निमुखा नागरिक ज्यानको परवाह नगरी महाकाली नदी पार गरेर तथा रातारात  सयौँ किलोमिटर हिँडेर घर फर्कन थाले । सरकार भने उच्च पदस्थ कर्मचारी, राजनीतिक दलका नेता कार्यकर्ता र व्यापारीलाई पास बाँड्न थाल्यो । कहाँसम्म भने सरकारी पास प्रयोग गरेर जुवा खेलिरहेको स्थानबाट प्रहरीले पक्राउसमेत गर्‍यो । 

पहिलो चरणको देशव्यापी लकडाउनको बीचैमा २०२० मे १४ मा सिन्धुपाल्चोककी एक महिलाले कोरोना संक्रमणबाट ज्यान गुमाउनुपर्यो जुन घटना नेपाल र नेपालीका लागि अत्यन्त नमीठो साबित भयो । आम जनताको अभिभावक सरकार भने आप्mनै लयमा अगाडि बढिरहेको थियो । जम्मा १२० दिन लामो देशव्यापी बन्दाबन्दीलाई सरकारले २१ जुलाई २०२० देखि अन्त गरेको घोषणा गरे पनि सम्पूर्ण निकाय लयमा फर्कन भने धेरै कठिन थियो ।

साँच्चिकै कोरोना संक्रमणको न्यूनीकरणमा सार्थक पहल गर्न वा यहाँको असफलता देखाएर विगतका कमजोरीलाई ठीक र उचित साबित गर्न ? 

पहिलो चरणको लकडाउन अन्त हुँदा नेपालमा कुल संक्रमण १७ हजार ९९४ जनामा र ४० जनाको मृत्यु भएको थियो । लकडाउनको अन्त्य पछाडि जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेमध्येमा सबैभन्दा अगाडि सरकार, राजनीतिक दलका नेता, कार्यकर्ता र तिनका झोले उभिए । बागमतीमा धेरै पानी बगिरहेको थियोे, सरकार तथा राजनीतिक दलका क्रियाकलापहरू देख्दा लाग्थ्यो कि नेपालबाट कोरोना पूर्ण रूपमा निराकरण नै भइसक्यो । 

करिब ७ महिनाको अवधिमा सरकार र राजनीतिक दल यति धेरै नाङ्गो नाचे कि सायद यस्तो नाच अहिलेसम्म कहिल्यै नाचिएको थिएन् । तत्कालीन समयमा सरकार र नेताका लागि कोरोना पहिले नै अन्त भइसकेको थियो । 
नयाँ वर्ष २०७८ को सुरुवातसँगै सरकारका गतिविधि नियन्त्रित प्रकृतिका देखिन थाले । सरकार तथा राजनैतिक गतिविधिले भिन्‍न गतिविधिको संकेत गरिरकेको थियो । यसपटक भने सरकारले लकडाउनको जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दियो ।

सहरी क्षेत्रमा ५०० र पहाडमा २०० सक्रिय संक्रमित भएका जिल्लामा निषेधाज्ञा लगाउन सक्ने सीसीएमसीको निर्णयबमोजिम २०७८ वैशाख ७ गते बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिकाका ३ वटा वडाबाट सुरुवात भएको निषेधाज्ञा छोटो समयमा नै देशैभरि फैलियो । हालसम्म पनि मुलुकका धेरै जिल्लामा निषेधाज्ञा कायमै छ भने लुजडाउन र स्मार्ट लकडाउनका विकल्पसमेत चर्चामा रहेका छन् । मुलुकमा दोस्रो चरणको लकडाउन सुरुवात हुँदा कोरोनाबाट कुल संक्रमितको संख्या २ लाख ८५ हजार ९०० र जम्मा मृतकको संख्या ३०९१ थियो । शर्माज्यू यहाँलाई यो पत्र लेखिरहँदा मुलुकमा कुल संक्रमितको संख्या ६ हजार १७ हजार ९४७, मृतकको संख्या ८ हजार ६४१ र सक्रिय संक्रमितको संख्या ५९ हजार ६२४ रहेको छ । 

शर्माज्यू, यहाँ प्रस्तुत गरिएको चित्रले पक्कै यहाँलाई थप सहज हुनेछ । माथि उल्लेख गरिएको एक सरो व्याख्या, मुलुकमा विकसित परिस्थिति, कोरोना कहरमा आम जनताले भोग्दै आएका पीडा, सरकार तथा सीसीएमसीको भूमिकाको विषयलाई लिएर केही जनसरोकारका विषयहरू यहाँसमक्ष राख्‍न गइरहेको छु । आशा छ, पक्कै पनि यहाँले सकारात्मक रूपमा ग्रहण गरी उपयुक्त र वस्तुगत जवाफ दिनुहुनेछ :

- नेपालमा कोरोना संक्रमितको संख्या अनपेक्षित रूपमा वृद्धि हुनुमा सरकार वा सीसीएमसी र जनता कसको भूमिका जिम्मेवार देख्‍नुहुन्छ ? 
- पहिलो लकडाउनको अन्त र दोस्रो लकडाउनको सुरुवातबीचको करिब ७ महिनाको समयावधिमा सरकारका गतिविधिलाई यहाँले कसरी मूल्यांकन गर्नुहुन्छ ? 
- नेपाल सरकार तथा सीसीएमसीलाई कोरोना न्यूनीकरणको प्रयासका लागि पर्याप्त समय थियो वा थिएन ? उपलब्ध समयको उचित प्रयोग भयो वा भएन ?
- लकडाउन निरपेक्ष अन्तिम विकल्प हो वा अल्पकालीन सहयोगी साधन ? 
- आम नागरिकले बुझेको र अन्तर्राष्ट्रिय अभ्यासले पनि देखाएको कुरा के हो भने आक्रामक तरिकाले तयारी गरी महामारीसँग मुकाबिला गर्नका लागि लकडाउन गरिन्छ, के नेपालको सन्दर्भमा त्यो अवस्था देखियो ? यदि देखिएन भने त्यसमा कसको कमजोरी देख्‍नुहुन्छ ? 
- नेपाल सरकारले भन्‍ने गर्छ, जनताको जीवनभन्दा अर्थतन्त्र ठूलो होइन, जुन कुरा सत्य हो । जनता रोगभन्दा भोक, संक्रमणभन्दा पैसा, कोरोनाभन्दा डिप्रेसनले बढी मर्नुलाई सरकारको शक्तिशाली निकायको प्रमुखले कसरी हेर्नुभएको छ ? यो अवस्थालाई हटाउन यहाँले कस्तो योजना बनाउँदै हुनुहुन्छ ? 
- महामारीको समयमा राज्य आम जनताको अभिभावक बन्‍नुपर्ने हो वा निरपेक्ष शासक ?
- अन्तमा, तपाईंको प्रमुख कार्यकारी पदमा नियुक्ति किन भएको होला ? साँच्चिकै कोरोना संक्रमणको न्यूनीकरणमा सार्थक पहल गर्न वा यहाँको असफलता देखाएर विगतका कमजोरीलाई ठीक र उचित साबित गर्न ?

शर्माज्यू, यहाँको व्यस्ततालाई ख्याल नै नगरी यी जिज्ञासा राख्‍ने प्रयास गरेकामा माफी चाहन्छु । बाँकी सवाल र जिज्ञासालाई अर्को पत्रमा लेख्‍ने नै छु, अहिलेलाई यिनै सबालको प्रतीक्षा । 

उही तपाईंको शुभचिन्तक
नेपाली नागरिक

लक्ष्मणप्रसाद शर्मा
पोखरा


Author

थप समाचार
x