विचार

संसदीय संवाददाता डायरी–१

प्रधानमन्त्री कोइरालालाई ‘पानीमा विष’ पिलाएको शंकापछि...

हरिबहादुर थापा |
असार ७, २०७८ सोमबार १६:५६ बजे

यो पंक्तिकार संसदीय बिटमा लामै समय संलग्‍न भयो । रिपोर्टिङका क्रममा देखे-सुने-भोगेका विषयलाई डायरीमा टिपोट गर्ने आदतअनुसार ती डायरीका पाना पल्टाउँदै जाँदा केही यस्ता विषय फेला परे, जुन समाचारको फ्रेमभन्दा फरक थिए । यहाँ यस शृंखलामा संसद्सँग जोडिएका केही रोचक प्रसंग, केही नेपथ्यका घटना प्रस्तुत गरिनेछ ।  

००० 


दिन थियो, २०५० फागुन २० । 

प्रतिनिधि सभा रोस्ट्रममा उभिँदै प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बोल्दै थिए, ‘जनताले चुनेका सरकारसँग असम्भव माग राखी हिंसा, तोडफोड, आगलागी गैरप्रजातान्त्रिक प्रक्रिया माध्यबाट पूरा गराउने...सभामुख महोदय...’

कोइराला आफूविरुद्ध प्रमुख विपक्षी एमालेले राखेको अविश्वास प्रस्तावबारे विपक्षी सांसदहरूका आरोप-अभियोगबारे प्रत्युत्तरमा बोल्दै थिए । त्यसरी रोस्ट्रममा बोलिरहँदा बीचैमा कोइरालाको एक्कासि वाक्य बन्द भयो ।

धेरैले सोचे कि लिखित भाषणमा केही गडबडी भएपछि रोकिएका हुन् । तर, उनको भाषण रोकाइबारे धेरैले स्पष्ट भेउ पाइसकेका थिएनन् । सिंहदरबारको त्यो ग्यालरी बैठक ठूला-ठूला पिल्लरका कारण सबैले सबैतिर देख्‍ने स्थिति पनि थिएन ।

‘रोस्ट्रममा के हुँदै छ र कोइराला के गर्दैछन् ?’ कसैले भेउ पाएका थिएनन् । केही क्षणपछि कोइराला एक्कासि रोस्ट्रममा लर्बरिन पुगे । तत्कालै मर्यादापालकको आड नपाएका भए, कोइराला भुइँमा बजारिन सक्थे । मर्यादापालककै सावधानीपूर्वकको रोकावटले त्यसरी भुइँमा बजारिन पाएनन् ।

अनि संसद्‍भित्र स्वाथ्य राज्यमन्त्री अर्थात् डा. रामवरण यादव थिए, अनि अर्का डाक्टर सांसद ध्रुव शर्मा थिए । तिनैले ‘आपत्कालीन’ उपचार गरे । त्यतिखेर संसद् परिसरमा एम्बुलेन्सको व्यवस्था थिएन । अनि प्रधानमन्त्रीकै गाडीमा शिक्षण अस्पताल लगियो ।

हुन पनि त्यो दिन प्रत्युत्तर लिखित भाषण निकै लामो थियो । त्यो भाषण २२ पृष्ठ लामो थियो । कोइराला १९ पृष्ठ पढ्दै गर्दा र अनि कम्युनिस्ट घटक एमालेविरुद्ध अलि आक्रामक शब्द पोख्दै गर्दा लर्बरिन पुगेका थिए । तर, एक्कासि कोइरालाको बोली अवरुद्ध हुन पुग्यो । १ घण्टा १३ मिनेट बोलिसकेपछि एक्कासि कोइरालाको वाक्य बसेको थियो ।

बोल्दै गर्दा कोइराला स्वयंले पानी माग्नु परेको थियो । त्यही पानी पिएको केही क्षणभित्रै कोइराला अचेत बन्‍न पुगेका थिए ।

त्यो दिन संसदीय इतिहासमा प्रधानमन्त्रीविरुद्ध पहिलो ‘अविश्वास प्रस्ताव’ परीक्षण हुँदै थियो । त्यो पहिलो मतदान हेर्न संसद्को ग्यालरी बैठक भरिभराउ हुने नै भयो । अनौठो चाहिँ रोस्ट्रममा पानीको व्यवस्था थिएन । बोल्दै गर्दा कोइराला स्वयंले पानी माग्नु परेको थियो । त्यही पानी पिएको केही क्षणभित्रै कोइराला अचेत बन्‍न पुगेका थिए ।

०००

कांग्रेसभित्र अन्तर्घात प्रकरण चर्किएको थियो । एमाले महासचिव मदन भण्डारीको मृत्युपछि रिक्त काठमाडौँ–१ को उपचुनावमा कांग्रेस सभापति कृष्णप्रसाद भट्टराई प्रतिस्पर्धामा थिए, जहाँ एमालेले भण्डारी पत्नी विद्या भण्डारी (हाल राष्ट्रपति) लाई नै चुनावी मैदानमा उतारेको थियो । भट्टराई जितेमा प्रधानमन्त्री हुन सक्ने आशंकासहित चुनावमा ‘अन्तर्घात’ भएपछि कांग्रेस गज्याङ्गुजुङ्मा थियो । भण्डारीसँग भट्टराई पराजित हुनुमा कोइराला खेमाबाट ‘अन्तर्घात’ गरिनु हो भन्‍ने मान्यताले कांग्रेसभित्र रामै्रसँग जरा गाडेको थियो ।

त्यो धमिलो कांग्रेसमा एमालेले खेल्ने योजना बनायो । उसले त्यही योजनाअनुरूप २०५० फागुन ४ मा विशेष अधिवेशनका निम्ति नारायणहिटी दरबारमा समावेदन चढायो, जसमा ५२ सांसदको हस्ताक्षर थियो । उनीहरूकै निवेदनका आधारमा फागुन १२ का निम्ति अधिवेशन आह्वान पनि भयो । त्यसपछि एमाले र जनमोर्चाका ५४ सांसदले ‘कोइरालाउपर प्रतिनिधि सभाको विश्वास छैन’ भन्‍ने प्रस्ताव दर्ता गराए । त्यही प्रस्तावमाथि तीन दिन बहस भएपछि जवाफ दिन उभिँदा त्यो घटना भएको थियो ।

अचेत भएको तीन दिनपछि फेरि कोइराला संसद्‍मा फर्किए । अर्थात्, २०५० फागुन २३ मा पहिलो अविश्वास प्रस्तावमा मतदान भयो । त्यो मतदानमा कोइरालाले ११३ मत पाए भने एमालेको पक्षमा ८१ मत खसेको थियो । अर्थात्, अन्तर्कलह-अन्तर्घातबीच पनि कांग्रेस एक ढिक्का रह्यो । अनि ‘फुटबाट फाइदा लिने’ एमाले रणनीतिले फेल खायो । 

०००

रोस्ट्रममा कोइराला त्यसरी ढलेपछि ‘शंका-षड्यन्त्र र सन्देह’को खेती मौलाउने नै भयो । त्यो संसद्‍भित्र मात्रै सीमित रहेन, राजनीतिक वृत्त, कांग्रेसीजनका निम्ति गफको मसला बन्‍ने नै भयो । 

हुन पनि सरकार र संसद्बीच पनि शंकाको चरम वातावरण थियो । अर्थात्, एकै पार्टीका प्रधानमन्त्री कोइराला र सभामुख दमननाथ ढुंगानाबीच ‘चिसो-सम्बन्ध’ थियो । यद्यपि सभामुख भएपछि ढुंगानाले निष्पक्षताका निम्ति कांग्रेसको सदस्यबाट राजीनामा दिएका थिए ।

रोस्ट्रममा पानी पिएपछि कोइराला ढलेको हुँदा ‘पानीमा विष’ मिलाएको शंकाले उग्र रूप लियो । कोइराला ढल्नुलाई एमालेले राजनीतिक नाटक हुनुपर्छ भन्‍ने शंका गर्‍यो । उता कांग्रेसका कोइराला समूहले ‘पानीमा विष मिसाएको’ हुनुपर्छ भन्‍ने शंकामा गयो । 

सरकारले ‘त्यो पानी’ परीक्षणका निम्ति लैजान खोज्यो । त्यसपछि अर्कातिर संसद् सचिवालयका पदाधिकारीहरू पनि सशंकित हुन पुगे । यदि पानी लगेपछि उनीहरूले ‘विष’ मिसाएर परीक्षणमा दिए भने के गर्ने ? तिनले त्यो पानीमा षड्यन्त्रको राजनीति देखे । किनभने हाम्रो षड्यन्त्रै-षड्यन्त्रले भरिएको भूमिकै पात्र संसद्का पदाधिकारीहरूले नबुझ्‍ने सवाल नै रहेन ।

रोस्ट्रममा पानी पिएपछि कोइराला ढलेको हुँदा ‘पानीमा विष’ मिलाएको शंकाले उग्र रूप लियो । कोइराला ढल्नुलाई एमालेले राजनीतिक नाटक हुनुपर्छ भन्‍ने शंका गर्‍यो । उता कांग्रेसका कोइराला समूहले ‘पानीमा विष मिसाएको’ हुनुपर्छ भन्‍ने शंकामा गयो । 

अर्थात्, संसद्का पदाधिकारीहरूले पनि ‘पानी’मा षड्यन्त्र मात्र देखेनन् कि सम्भावित संकट पनि देखे । त्यसैले उसले सहजै त्यो पानी परीक्षणका निम्ति सरकारलाई दिन चाहेन । दुवै पक्षबीच वार्ता भयो । 

निष्कर्षमा ‘त्यो पानी’ सरकार र संसद्बीच आधा-आधा गर्ने सहमति बन्यो । सरकारले पाएको आधा पानी परीक्षणमा लग्यो । आधा संसद् सचिवालय आफैँले ‘लाहा–छाप’ लगाएर दराजमा राख्यो । सरकारले परीक्षणका निम्ति लगेको पानीमा ‘ब्याक्टेरिया’ भेटियो । त्यो घटनासँगै संसद्‍भित्र ‘मिनरल वाटर’को प्रवेश भयो ।

यद्यपि नेपाल षड्यन्त्रकै भूमि हो । फेरि कुनै बेला त्यो पानीको प्रसंग आउन सक्ने र राजनीतिक दुर्घटना निम्तिन सक्ने आशंका यथावत् थियो । त्यही कारण प्रतिनिधिसभाका सचिव सूर्यकिरण गुरुङले ‘त्यो पानी’ फाल्न दिएनन् । उनको कार्यकक्षको दराजमा ‘त्यो पानी’ सजिइरह्यो ।

गुरुङ सचिवबाट महासचिव भए । राजनीतिमा अनेकन् पटक अविश्वास प्रस्तावको नाटक मञ्चन भइसकेकै थियो । त्यसरी अर्थहीन ढंगले पानी राख्नुको कुनै औचित्य नभएको जिकिरसहित सचिवालयका कर्मचारीहरू त्यो लाहा-छापावाला पानी फाल्न खोज्थे । तर कुनै बेला फेरि बखेडा उत्पन्‍न सक्ने तर्क दिँदै गुरुङले पानी फाल्न दिएनन् । 

गुरुङको कार्यकक्षमा पस्ने सांसद तथा संसदीय संवाददाताहरू जिस्काइरहन्थे, ‘त्यो पानी कहिले फाल्ने ?’ अनि सांसदहरूसँग गुरुङको ठट्यौलो जवाफ हुन्थ्यो, ‘तपाईं कहिले के गर्नुहुन्छ, कहिले के बोल्नुहुन्छ ? अब त्यो पानीलाई लिएर षड्यन्त्र हुँदैन भन्‍ने लागेपछि मात्रै फाल्छौँ ।’ त्यसरी पानी झण्डै नौ वर्षसम्म रह्यो । २०५९ जेठ ८ मा प्रतिनिधिसभा विघटन भएपछि मात्रै त्यो पानी विधिवत विसर्जन गरियो ।


Author

हरिबहादुर थापा

संसद्, शासन र राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x