मौलाउँदै गएको पठन संस्कृति टिकटक प्रतिबन्धसँगै ओइलाउँदै
नेपालमा पछिल्लो समयमा निकै लोकप्रिय हुँदै गरेको एप टिकटकलाई सरकारले एकाएक प्रतिबन्ध लगाएपछि यसको प्रयोग घटेको छ । तर वैध रूपमा बन्द भएतापनि भिपिएनलगायतका वैकल्पिक र अवैध माध्यमबाट भने प्रयोगकर्ताहरूले अझै पनि टिकटक चलाउँदै आएका छन् ।
टिकटकले समाजमा नराम्रो सन्देश प्रवाह गरेको, सामाजिक सद्भाव बिगारेकोलगायतका कारणहरू औंल्याई सरकारले यसलाई बन्द गराएको हो । तर यसले विभिन्न सकारात्मक कार्यहरू पनि गरेको कुरालाई भने नकार्न सकिन्न ।
प्रविधिको द्रूत विकास र सामाजिक सञ्जालको व्यापक प्रयोगले सबैभन्दा बढी पठन संस्कृतिलाई असर गरेको छ भन्ने भनाई यदाकदा सुन्न पाइन्छ । नेपाललगायत विश्वभर नै पुस्तकको बिक्रीमा कमी आएको गुनासो पछिल्लो समयमा पुस्तक बिक्रेताहरूले गर्ने गरेका छन् । के यसको पछाडिको कारण सामाजिक सञ्जालहरू नै हुन् त ? टिकटकलगायतका सामाजिक सञ्जालहरूले साहित्यिक पुस्तक किन्ने, पढ्ने र पुस्तकसँग सम्बन्धित गतिविधिहरूमा कस्तो प्रभाव पारेको छ त भनेर हामीले केही व्यक्तित्वहरूसँग सम्पर्क गरेका थियौँ ।
लामो समयदेखि सुनवर्षी बुकहाउसमार्फत् पुस्तकहरू बिक्री वितरण गर्दै आइरहेका तारानिधि रेग्मी सामाजिक सञ्जाल त्यसमा पनि टिकटकले व्यापार प्रवर्द्धन गरेको कुरा स्वीकार गर्छन् । नेपालमा टिकटक बन्द हुनु अगाडि आफ्नो टिकटक अकाउन्ट 'किताब किरो'मार्फत् रेग्मीले पठन संस्कृतिलाई प्रवर्द्धन गर्दै आइरहेका थिए । टिकटककै माध्यमबाट विभिन्न विधाका पुस्तकहरूको बारेमा जानकारी दिँदै ठूलो सङ्ख्याका पाठकसँग अन्तरक्रियासमेत गर्दै आइरहेका रेग्मीको आम्दानी समेत बढेको थियो । नयाँ नयाँ किताबहरूबारे जिज्ञासा राख्ने, कुन पुस्तक कसको लागि उपयुक्त हुन्छ, राम्रा पुस्तकहरू कसरी छनोट गर्ने आदि जिज्ञासा राखेर रेग्मीको टिकटक लाइभमा आउने दर्शकहरूको सङ्ख्या बढ्दो थियो ।
तर सरकारको अचानकको टिकटक प्रतिबन्धको निर्णयले उनलाई ठूलो प्रभाव पर्यो । लगभग शिथिल हुन लागेको पुस्तकको व्यापारले त्राण पाएको र नयाँ पाठकहरूसमेत आकर्षित हुने गरी प्रचारको माध्यम बन्दै थियो टिकटक । यस्तोमा एक्कासी टिकटक बन्द हुँदा निराश भएको उनी बताउँछन् । यस्तो हुनुमा उनी राज्यको अदुरदर्शिता देख्छन् । नियमन गरेर चल्न दिँदा कुनै पनि प्रविधिले राज्य र जनतालाई हानि नगर्ने रेग्मीको ठम्याई छ ।
यसबाहेक नियमित टिकटक प्रयोग गर्नेमा नामी लेखक, गजलकार तथा कविहरू पनि थिए । गजलकार प्रदिप रोदनले आफ्ना गजलका शेरहरू वाचन गरेका भिडियो मार्फत् ठूलो सङ्ख्याका फलोअरका साथै आफ्नो गजलको पुस्तक 'मफलर'को बिक्रीको आधार पनि बनाइसकेका थिए । यस बाहेक लेखकहरू अमर न्यौपाने, बुद्धिसागर, नवराज पराजुली, सुरेश बडाल, सुबिन भट्टराईहरू पनि टिकटकमा नियमित देखिने अनुहारहरू थिए । एक्कासि टिकटक बन्द हुँदा धेरै लेखकका खाता निष्क्रिय छन् भने केही अझै पनि वैकल्पिक माध्यमबाट चलाइरहेको बताउँछन् । तीमध्ये एक हुन् लेखक सुबिन भट्टराई ।
पछिल्लो समयको बेस्टसेलर कृति 'इजोरिया'का लेखक सुबिन भन्छन्, 'टिकटक बन्द छ तर पनि यो बन्द भएजस्तो चाहिँ लाग्दैन । म आफैँ पनि कहिलेकाहिँ भिपीएनको माध्यमबाट हेर्ने गर्छु । यसले पक्कै पनि सुरक्षित र सहज बनाएको छैन । कुनै पनि अवाञ्छित गतिविधि हुन नदिने शर्तमा सरकारले टिकटकलाई दर्ता गरी सुचारु गर्दा राम्रो देख्छु म ।'
टिकटकले तपाईंलाई के कति फाइदा वा बेफाइदा गरेको छ भन्ने प्रश्नमा भट्टराई भन्छन्, 'पछिल्लो समयमा करिब ७५,००० भन्दा बढी प्रति बिक्री भएको मेरो पुस्तक 'इजोरिया'को सहज र नि:शुल्क डिजिटल प्रवर्द्धनमा टिकटकले महत्वपूर्ण भूमिका खेलेको थियो ।' टिकटक बन्द नभएको भए यो बिक्रीको सङ्ख्या अझै दश हजारले बढ्ने भट्टराईको अनुमान छ ।
पछिल्लो समयमा टिकटकमा विभिन्न खाले बुक क्लब, रिडर्स क्लबहरू बन्दै गएका थिए । पुस्तक सम्बन्धी चर्चा, पुस्तकका पाठहरू, वाक्य र सन्दर्भहरू राखेर बनेका भिडियोहरू चर्चित बन्दै थिए । प्रकाशित कागजी पुस्तक मात्र नभएर त्यस प्लेटफर्ममा विभिन्न अडियो किताबहरूको समेत प्रवर्धन हुने गरेको थियो ।
अडियोमा कथा र उपन्यासहरूको वाचनबाट चर्चा कमाइरहेका स्टोरिटेलर साइग्रेस पोखरेल पनि टिकटकमा चर्चित अनुहार हुन् । कथा वाचनका माध्यमबाट विश्व भ्रमण गरी विभिन्न कार्यक्रममा व्यस्त साइग्रेस संसारका धेरै देशहरूमा निर्बाध चलिरहेको टिकटकलाई केही विशेष परिस्थिति भएका देशहरूमा बन्द भएकै आधारमा नेपालमा गरिएको बन्द जायज मान्न नहुने बताउँछन् । आफूले टिकटककै माध्यमबाट संसारभरका नेपाली स्रोता र दर्शकहरूसँग सम्पर्क बढाइरहेको साइग्रेस बताउँछन् ।
उनी भन्छन्, 'मेरो त अझै पनि भिडियोहरूले राम्रो रिच पाइरहेका छन् । लाखौँ दर्शक स्रोताहरूसम्म पुग्न पाएको छु । तर मेरो र दर्शक बीचको यो यात्रा सहज र वैध बनोस् भन्ने लाग्छ । नेपाल सरकारलाई यहि आग्रह छ कि नयाँ प्रविधि र युवाहरूको नयाँ अभिलाषाहरूसँग राज्य पनि जोडिन सकोस् । नेपालमा टिकटकले छिट्टै वैधानिक तवरले संचालन हुने अवसर पाओस् ।'
अरू वस्तु र उत्पादनहरू जस्तै पुस्तकहरू राखेर भिडियो बनाउने, किताब पढ्नकै लागि भनेर शान्त र मनोरम वातावरण भएका क्याफे, रेस्टुराँहरू खुल्ने क्रम बढ्दै छ । पुस्तक पनि आकर्षणको केन्द्र हुन सक्छ, कथा र कविता वाचन पनि पेशा बन सक्छ अनि पुस्तकहरूकै वरिपरी पनि एउटा बलियो उद्योग बन्न सक्छ भन्ने सम्भावना बढ्दै गएको अवस्थामा राज्यले यसलाई प्रोत्साहन गर्नु पर्नेमा बन्द नै गर्ने कार्य उचित देखिंदैन । सानो लगानी र बजार भएको यस क्षेत्रलाई सहज र सुलभ प्रवर्धन हुने टिकटक जस्ता प्लेटफर्म अति उपयुक्त पनि हुन सक्छ ।
साहित्य, अध्ययन र पठन संस्कृतिको विकास केवल बुद्धिविलास मात्र नभई जीवन निर्वाहको आधार सहितको आकर्षक उद्योगका रूपमा विकसित हुन सक्ने सम्भावनालाई मध्येनजर गरेर राज्यले अविलम्ब टिकटकजस्ता प्लेटफर्मलाई सुचारु गर्ने तर्फ ध्यान दिनु आवश्यक देखिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया