Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

विचार

परदेशीको कथा, दुई छाकको व्यथा

सृजना उप्रेती |
साउन ८, २०८१ मंगलबार २०:२२ बजे

उदास एक जोडी अनुहार काखमा सानो दूधे बालक च्यापेर मेनपावरको दैलोमा अनेकन सपना बोकेर उडान भर्न आएको दृश्यले मेरा आँखा खै किन हो किन अनायासै रसाए । थाहा छैन उनीहरूको हुन्, कहाँबाट आएका हुन् जसलाई म पहिलोपटक देख्दैछु र यो पनि थाहा छैन खै किन हो किन यो दृश्यले मलाई यति विचलित बनाइरहेछ किन यति दुखाइरहेछ, बस मलाई यति चाहिँ थाहा छ त्यो दूधे बालक र मेरी सानी छोरीमा कत्ति पनि भिन्नता छैन । 

मलाई १०-५ अफिस गर्दा मात्रै पनि मेरो बच्चासँगको त्यो मिठो साथ एकैछिनको लागि छुट्दा त कताकता के नभए जस्तो के नपुगेजस्तो हुन्छ त्यो नानीको बाबा अब वर्षौंवर्षको लागि आफ्नो रगत र पसिनासँग रियल र रिङ्गेट साट्न जाँदैछु भन्दा कति मन भाचिएको होला । कति याद आउला त्यो तोतेबोलीको त्यो बालापनको अनि उस्तै बच्चाले झन् उसको हर सुख दुःखमा के बाबा मिस नगर्ला ?


टाठाबाठा अली हुनेखानेहरू अली राम्रै देश जान्छन्, पढ्छ्न् कमाउँछन् रमाउँछन् कहिले फिर्ता आउँदैनन् । यो देश यस्तो उस्तो भविष्य छैन त्यसैले यता आयौ अब यतैको बानी परिसक्यो बिस्तारै आफ्नालाई नि तान्ने सोचीरहेका छौं एकखालको टिप्पणी हुन्छ ।

एक खालका हुन्छ्न् पढेलेखेका जो थोरै लगानीमा धेरै कमाउने सोच बनाएर खाडीतिरै पनि आफ्नो क्षमता, बुद्धि विवेक र परिश्रम गरे राम्रै कमाउन सकिने सोचका हुन्छन् । उनीहरूलाई अरूबाट ठगिनुपर्ला कि भन्ने खासै चिन्ता हुँदैन । कमाउने न कि पैसा, त्योभन्दा धेरै सीप क्षमता र अनुभव बटुल्ने र आफ्नै देशमा फर्किने र केही गर्ने । उनीहरूलाई कुनै पिआर या ग्रीन काडको लोभ हुँदैन ।

प्रकृतिले कदापि ठगेको छैन, हामीलाई ठगेको छ त मान्छेले । चाहे त्यो सडकमा होस् या सदनमा । सडकले गरिबलाई, सोझासाझालाई ठग्छ, सदनले देशलाई ।

अनि अर्काखालका जो हुन्छ परिस्थिति र मनस्थिति दुवै कमजोर भएकाहरू जसलाई केबल परिवार पाल्नकै लागि पनि विदेशिनु पर्ने बाध्यता हुन्छ र धाउँछ्न् मेनपावरको ढोकाढोका र अन्तत्तोगत्वा भासिन्छन् खाडी जसको भाग्य दलालको हातमा हुन्छ । राम्रो कम्पनी परे दुई/चार वर्षमा राम्रै कमाई हुन्छ र परिवारको मुहार फेर्छ तर कहीँ कतै यस्तो पनि हुन्छ जो घरखेत सबै बन्दकी राखेर मेनपावरमा पैसा बुझाएर सपना किन्न उडान भर्छन् तर भनेको जस्तो कम्पनी हुन्न सोचेको जस्तो कमाई हुन्न पशुलाई जस्तो व्यवहार हुन्छ, मान्छेले मान्छेलाई मान्छे गन्दैन, समयमा खाना हुँदैन, बिरामी पर्दा उपचार हुँदैन अनि परिवारको यादले सताउँछ होम सिक हुन्छ र रित्तो फर्कन्छन् ऋणमाथि ऋणमा पर्छन् अझै कोही त फर्कन पनि सक्दैनन् ् र उतै बिलिन भएका कयौं घटना छन् ।

मैले कति सुनेकी छु यो देशमा खानै नपाएर चाहिँ कोही मर्दैनन् तर मरेतुल्य चाहिँ हुने रहेछन् त्यसैले त दालभातकै लागि पनि खाडी भासिन्छन् । मेरो ख्यालमा मलाई लाग्छ रुकुम/रोल्पा त आधा रित्तिसक्यो जो दालभातकै लागि पनि सयौंको संख्यामा दैनिक दलालका साथमा हिँडिरहेका दृश्य हामी काठमाडौँको गल्लीगल्लीमा देख्न सक्छौं । उता जाजरकोट, बाग्लुङ, प्युठान, उदयपुर, ताप्लेजुङ, पाँचथरबाट उत्तिकै घुइँचो हुन्छ विदेशिनेको ।

मनमा 'हरी' नभएकाहरू यदि कोही हुन्छन् भने ती हुन् दलाल । एक हिसाबले मानव तस्करी नै हो जो अनेकन सपना देखाएर जुकाले रगत चुसेजसरी गरिब चुस्छन् । उनीहरूमा दयाको भाव रित्तिसकेको हुन्छ पैसाको स्वाद बसिसकेको हुन्छ । पाइला-पाइलामा कमिसन चल्छ । यो कमिसनको चक्कर यति घातक हुन्छ कि जसको पीडा केवल पीडितले बुझ्छ ।

कतिपयलाई त यो शहर एकादेशको कथा नै हुन्छ जो पहिलोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगको लागि काठमाडौँ आउँछन् । काठमाडौँ छेउछाउका पहाडी भेगका तुलनामा सुदूरपश्चिमकाहरू अलि सोझासाझा नै हुन्छन् जसले काठमाडौँ त्यति राम्रो बुझेका हुँदैनन् । यहाँ त खान बस्न त के खाएको कुरा फाल्नसमेत पैसा तिर्नुपर्ने कुराले उनीहरूलाई आश्चर्यचकित नै बनाउँछ । उनीहरूले आफ्नो गाउँको जस्तो सदाचार, सहयोग भाव, नम्रता, आत्मीयता अनि थोरै मानवता पनि कति ठाउँमा महसुस नै गर्न पाउँदैनन् । बहुत दु:खको कुरा नैतिक शिक्षा हराएको जस्तो महसुस हुन्छ बेलाबखत यो सहरमा ।

यो समस्या ती विवश पात्रका मात्र नभएर देशको समस्या हो । सरकार भन्छ मेनपावर बन्द गर्नुपर्छ किन गएका त पैसा तिरेर ? भन्नजति सजिलो छैन नि व्यवहार टार्न ! मर्नभन्दा बौलाउनु निको भनेजस्तो  भएको छ नेपाली जनतालाई । एक जनाले दु:ख गरे परिवारले सास फेर्ला, बालबच्चाले पढ्लान् भन्ने आशले कयौं परदेशीएका छन् र भित्र्याएका छन् रेमिटेन्स । एक हिसाबले बुझ्दा यो देशलाई धान्न रेमिटेन्सको बलियो साथ छ । त्यसैले सरकारले पनि आँखामा छारो हालेजस्तो रेमिटेन्स भित्रिएको स्वाद मान्ने एकातिर र अर्कोतिर वैदेशिक रोजगारलाई दोष लगाउनुभन्दा कि वैदेशिक रोजगारमा क्राइटेरिया राखिदिने, उमेरको हद, तलबको हद, लगानीको हद, समयको हद तोकिदिने र यसलाई फर्मालिटी मात्र नभई पूर्णरूपमा कार्यान्वयन गराउने होइन भने यो देशका नागरिकलाई यही टिकाउन यही बचाउन यही कमाउन यही सिकाउन र यहाँ जन्मिएकोमा गर्व महसुस गर्ने यात्रामा जुट्नुपर्छ ।

प्राकृतिक दृष्टिले भौगोलिक दृष्टिले यो देश यो सिङ्गो धर्तीकै अनुपम उपहारभन्दा अतियुक्त नहोला । यहाँ के छैन विश्वभरीमै भएका १४ ठूला हिमालमध्ये आधाभन्दा बढी अर्थात् ८ हिमालको काखमा छौं हामी । जलश्रोतको दोश्रो धनी देश भनेर हामी चिनिन्छौं । हरियो बन नेपालको धन भनेर पढेर र देखेर हुर्किएका हामी । खेतीयोग्य जमिन, नदीनाला, हिमशृङ्खला, मठमन्दिर, गुम्बा, रीतिरिवाज, धर्म परम्परा, संस्कार, संस्कृति यो देशमा भन्दा बढी सायदै होलान् धनाढ्य मुलुकमा ।

प्रकृतिले कदापि ठगेको छैन, हामीलाई ठगेको छ त मान्छेले । चाहे त्यो सडकमा होस् या सदनमा । सडकले गरिबलाई, सोझासाझालाई ठग्छ, सदनले देशलाई ।

प्राकृतिक सम्पदासमेत बेच्न पछि नपर्नु भनेको लाजले पनि लाजको घुम्टो ओढ्नुपर्ने अवस्था हो, यो कुराले नेपाली मुटु पक्कै पनि दुख्छ र दुख्नुपर्छ । यो हदसम्म ठग्नु देशलाई घातक हो कमसेकम यति चाहिँ हेक्का होस सदनमा बस्नेलाई पनि ।

राजनीतिलाई लाजनीतिमा परिणत गर्नुको विकल्प देश परिवर्तनको मुल आधार राजनीति मानेर हरेक दिन राम्रोको प्रयास गरे देश बन्न कत्तिबेर लाग्दैन । जनता त्यति धेरै महत्वाकांक्षी पनि छैनन् । बस शिक्षा स्वास्थ्यमा व्यापार नचलोस् । दूरदराजमा एक पोका नुन किन्न ५ दिन माया मार्नु नपरोस्, बाटोको विकास होस् । दिनदहाडै छोरीचेली बलात्कृत हुँदै मारिनु नपरोस् कथमकदाचित एकादुई यस्ता घटना घटे दोषीलाई कडा भन्दा कडा कारबाही होस् । पाप नलुकाइयोस्, अन्यायमा पर्दा न्याय पाइयोस्, गरिबलाई ऐन धनीलाई चैन नहोस् । बालेन साह, हर्क साम्पाङ जस्ता नेताहरू इलाकामा चुनिऊन् । 

भ्रष्टाचार, बेइज्जती, अत्याचार, लुटतन्त्रले पराकाष्ठाको पनि पराकाष्ठा हुन्  । 'पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, आँधी आए तराईमा पहाडले छेक्नुपर्छ' को भाव जागृत होस् । हजुरबुबा पुस्ताले रिटायर्ड लाइफ इन्जोय गरिदिनुस्, नातिनातिना पुस्ताले देशभक्ति छातीमा राखेर देश हाँकून्, यति गर्न सके यो देश धर्तीकै स्वर्ग हुने थियो ।

कमसेकम गौतम बुद्धको देशमा छु भन्ने महसुस होस्, सगरमाथाको शिरलाई लजाउनु नपरोस् कि म यस्तो देशमा छु भनेर ।

हामी आशावादी छौँ । हामी अझै यही देशमै छौँ ।  आफ्नो तर्फबाट हरेक दिन राम्रो गर्ने प्रयासमा छौँ । हामी बिग्रिएका छैनौं,आफ्नो धरातल बिर्सिएका छैनौँ । अनुशासन र इमान्दारिता हराएको छैन । केही राम्रै होला भन्ने अझै आशमा छौँ । बिन्ती सरकार हामीलाई पनि बिदेसिन बाध्य नबनाइदिनुस् । जति ठगिए दु:खको कुरा यो ठग्ने ठगिने यात्राले पूर्णविराम पाओस् । गौतम बुद्धको ज्ञान जोगाइदिनुस् सगरमाथाको शिर बचाइदिनुस् नेपाल आमाको काख सबैलाई दिलाइदिनुस ताकी २ छाकको लागि बिदेशिनु नपरोस् ।

सृजना उप्रेती
मनमैजु, काठमाडौँ


Author

थप समाचार
x