राज गर्ने नीति बनाउने कि राज्यको नीति ?
राजनीति भन्ने शब्दको परिभाषा एकै वाक्यमा दिन असम्भव नभएपनि कठिन छ । यद्यपि राजनीति भन्ने शब्द सुन्ने बित्तिकै दिमागमा झट्ट आउने कुरा राजनीतिक दल वा कुनै नेताको हुन्छ । राजनीतिक दल भनेको के हो भन्ने प्रश्नको उत्तर: एकै सिद्धान्तमा विश्वास गर्ने व्यक्तिहरूको समूह भनी सुन्ने गरिन्छ ।
नेपाली राजनीतिको कुरा गर्नुपर्दा राजनीतिक दल भनिरहँदा कुनै पुरानो, कुनै नयाँ नाम चलिरहेको संसद्मा देखिन सक्ने समूह वा चुनाव चिन्हको कुरा गरिन्छ । कुनै दलको नाम लिँदा सो दलभित्रको कुनै शीर्ष नेताको नाम सुनिन्छ । यो व्यक्तिपरक राजनीतिको एक उदाहरण हो ।
यद्यपि राजनीति व्यक्तिपरक भइरहँदा धेरै समस्या आउन सक्ने सम्भावना हुन्छ । अब देश बनाउन 'इन्द्रेको बाउ चन्द्रे' आउनुपर्छ भन्ने जस्तो उखान प्रख्यात छ । राजनीतिको जरा नै विचार हो- सो विचार व्यवहारमा लागु गर्दै जाने हो भने त्यो सिद्धान्त बन्छ । राजनीति व्यक्तिपरक भयो भने 'राज गर्ने नीति' बन्छ- राज्यको नीति बन्न सक्दैन । त्यसैले राजनीति कुनै व्यक्तिपरक हुन सक्दैन ।
व्यक्ति जन्मिएर मर्छ तर उसको विचार उसले प्रतिपादित गरेको सिद्धान्त अरु व्यक्तिले प्रेरणादायी रुपमा लिन सक्छन् । कार्ल मार्क्सको मृत्यु हुँदैमा मार्क्सवादी चिन्तन मरेन । आज मार्क्सको विचार धेरै देशको राजनीतिक विचारधारा हो । संसारको कुनै पनि दर्शन कुनै व्यक्तिको हैन विचारको उपज हो । तसर्थ राजनीतिमा विचार र दर्शन निकै महत्त्वपूर्ण हुन्छ ।
राजनीति रुख रोप्ने काम जस्तै हो- कसैले साथ दिएर जान्छन्, कसैले के गरेको यस्तो भनेर जान्छन् , यद्यपि दुवै वर्गले फेर्ने सास स्वच्छ हावामा होस् भन्ने लक्ष्य हो । यसरी एक राम्रो कामको थालनी गर्नु नैतिकता हो । यद्यपि कुन रुख कुन ठाउँमा रोप्ने, कसरी रोप्ने, कति मलजल गर्ने, के गर्ने भन्ने पत्ता लगाउन आवश्यक छ ।
हरेक रुख हरेक ठाउँमा फल्दैन । कुनै रुखलाई उम्रन धेरै पानी चाहिन्छ । यसरी फलेको रुखले धेरै पानी सोस्यो भने त्यो ठाउँ मरूभूमि पनि बन्न सक्छ । यसैगरी राजनीति गरिने ठाउँ देश हो । गलत विचार रोपिएमा, देशमा बन्ने कानुन, ती कानुनको कार्यान्वयन गर्न बन्ने विकासका परियोजनाहरू देशलाई मरूभूमि बनाउन सक्ने पनि हुन्छन् ।
रुख रोप्न जाने व्यक्तिले यो ठाउँ मरूभूमि बनाउँछु भनेर गएको नहुन सक्छ । यद्यपि, गलत ठाउँमा गलत रुख रोप्दा त्यो ठाउँ मरूभूमि बन्न पुग्यो भने धेरै समस्या आउन सक्छ । तसर्थ राजनीतिमा एक सही विचार निकै महत्त्वपूर्ण हुन्छ ।
समय हरेक क्षण गइरहेको हुन्छ र त्यससँगै समाज र देश चलिरहन्छ, विचार नहुन्जेल समय र समाजले पर्खिरहँदैन । त्यो गतिशील समाजलाई हाम्रो कार्यले कता लिएर जाने भन्ने निर्देशन विचारले दिन्छ । राजनीति समाजको लागि आवश्यक छ र समाज पनि राजनीतिको लागि आवश्यक छ । समाजको अध्ययन गरेर पत्ता लगाइएको विचार नभएसम्म राजनीतिक कार्यदिशा पत्ता लगाउन सकिँदैन साथै कस्तो कानुन बन्नाले देशमा भइरहेको वा हुन सक्ने समस्याको समाधान हुन सक्छ भनी पत्ता लगाउन सकिँदैन । एउटा अध्याँरो ठाउँमा उज्ज्यालो व्यक्तिले होइन, बत्तीले दिन सक्छ । तसर्थ, विचार दियो हो- जसको उज्ज्यालोले देशमा भइरहेको समस्याको अध्यारोलाई चिर्न सक्दछ ।
यसो भन्दै गर्दा नेपाल जस्तो बहु भाषिक, बहु सांस्कृतिक, भूगोलको आधारमा पनि हरेक ठाउँ भिन्न हुने देशमा कुनै एक विचारले विकास गर्न सक्छ त भन्ने प्रश्न उब्जिन सक्छ । एक नैतिक विचारले मार्ग देखाउँछ । यद्यपि कार्यक्रमहरू समय सान्दर्भिक हुन्छन् । त्यो विचार सम्पन्न गराउन गर्ने कार्यक्रम भिन्न भिन्न हुन सक्छ । कुन ठाउँमा कस्तो कार्यक्रम गर्नाले न्याय गर्न सकिन्छ, देशलाई समृद्धितर्फ दोहोर्याउन सकिन्छ भन्ने कुरा नीतिमा भर पर्छ । यही नीति अवलम्बित गर्ने बेला व्यक्तिको नैतिकताको महत्त्व बुझ्न सकिन्छ ।
यहाँ उसको नैतिकताले उसको इमान्दारिता देखाउँछ र सो कार्यक्रम राम्रो तरिकाले सम्पन्न गर्छ । यसरी उसले बोकेको विचार समाजको लागि राम्रो रहेछ कि रहेनछ भन्ने परिक्षण हुन्छ । उसको विचारधारा वा उसको सिद्धान्तप्रति ऊ कत्ति निष्ठ छ भनी पत्ता लगाउन सकिन्छ ।
अब यी कुरा भए के व्यक्ति महत्त्वपूर्ण छैन व्यक्ति बिना नै राजनीति हुन सक्छ त भन्ने जिज्ञासा हुनु स्वाभाविक हो । कस्तो विचार चाहिन्छ भनी समाजको अध्ययन गर्न व्यक्ति चाहिन्छ, त्यो विचारलाई नैतिक रुपमा इमान्दार भएर व्यवहारमा उतारेर मुलुकलाई समृद्ध बनाउन व्यक्ति चाहिन्छ, त्यो विचारमा कमि भए आलोचना गरेर त्यो विचारले भएन, अब विचार यस्तो हुनुपर्छ भनी परिवर्तनको बीउ रोप्न व्यक्ति चाहिन्छ ।
देश बनाउने विचारमा अल्पसंख्यक वा अपवाद भन्ने हुँदैन, सबैको विचारको कदर गर्ने विचार हुनु पर्दछ । त्यो सोचलाई अघि ल्याउन व्यक्ति चाहिन्छ । देशको माया गरी राष्ट्रप्रेम र देशभक्तिको बीउ रोपेर समाजको अध्ययन गरेको विचार नै राजनीतिक विचार हो । माटो सुहाउँदो विचारलाई नैतिक भएर काम गर्दा बल्ल त्यो मनुले भनेको राजधर्म झैँ हुन्छ, रामराज्य झैँ राज्य बनाउन सक्ने काम बल्ल सम्भव हुन्छ । त्यस्तो विचार लिएर नैतिक रुपमा काम गर्न व्यक्ति चाहिन्छ ।
तसर्थ विचार र नैतिकताको संगम भएर गरेको राजनीति नै देशको धरातल हो । नेपाल स्वर्ग जस्तो देश हो, यसको राज्य विकास गर्दा कसरी समृद्ध बनाउने भनी सोच्दा राजनीतिक विचारधारा र नैतिक व्यक्तिको संगम हुन आवश्यक छ । नैतिकता बिनाको कानुन, कानुन हैन भने कानुन बनाउन एक महत्त्वपूर्ण भूमिका खेल्ने निकाय अनैतिक हुन सक्दैन । तसर्थ राजनीति कस्तो हुनुपर्छ भनिरहँदा राजनीतिक विचारधारा कस्तो हुनुपर्छ भनी सोच्नुपर्छ ।
हरेक व्यक्ति कुनै न कुनै रुपमा राजनीतिसँग सम्बन्धित हुन्छ । ऊ प्रत्यक्ष राजनीति गर्ने हुन सक्छ वा ऊ कमसेकम राजनीतिज्ञ चुन्ने व्यक्ति हुन्छ वा त्यो पनि नभए ऊ राजनीतिक रुपमा बन्ने कानुनले बाधिने व्यक्ति हुन्छ । तसर्थ, राजनीति गर्ने व्यक्ति, राजनीतिज्ञलाई आफ्नो वारेस नियुक्त गर्ने व्यक्ति र राजनीतिसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिँदा पनि ऊ नैतिक हुन आवश्यक छ । हुन त, 'राजनीतिमा नैतिकता नि हुन्छ र' भन्ने सबैको साझा प्रश्न हुने नै गर्दछ । नैतिकता बिना कानुन, राजनीति, मानवता केही जीवित रहन सक्दैन । तसर्थ, नैतिकता सबैलाई आवश्यक हुन्छ ।
जसरी पुरुष बिना प्रकृति र प्रकृति बिना पुरुष हुन सक्दैन दिनबिना रात र रातबिना दिन पनि हुन सक्दैन, त्यसरी विचार र नैतिकताको संगम नभएको राजनीति, राजनीति हुन सक्दैन । विचार र नैतिकताको सद्भाव मिलेर गरे राजनीतिलाई फोहोरी खेल भनिँदैन, यसले देशभक्त जनताको आशा मार्दैन, यसले कानुनलाई जे गरे पनि पाइन्छ भन्ने अर्थ दिँदैन बरु न्यायलाई लक्ष्य मानी काम गर्न थाल्छ । तसर्थ देश बनाउने मर्म बोकेर राजनीति गर्ने हो भने राजनीतिमा एक सही विचार र नैतिकताको संगम चाहिन्छ । राजनीति के हो भन्ने प्रश्नको उत्तर दिन कठिन भएपनि राजनीति कस्तो हुनुपर्छ भन्ने प्रश्नको उत्तर विचार र नैतिकताको संगम हुनुपर्छ भनी भन्न भने सकिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया