काठमाडौँ बनाउने 'सबाल्टर्न'हरू, जो काठमाडौँबाटै खेदिँदैछन्
यो हप्ता फेरि काठमाडौँ महानगरपालिकाका नगर सिपाहीले काठमाडौँको बाँसबारीमा रहेको हस्पिटल अगाडि चिया चमेना र खत्र्याकखुत्रुक सामान बेची आफ्नो दैनिक टार्न बाटोमा बसेकालाई लछारपछार गर्यो । आम्दानी गर्ने सडक व्यापारीसँग परेको घम्साघम्सी, कुटपिट, झिनाझम्टीलाई लिएर सामाजिक सञ्जालमा ट्रोल भएको देखें । हुन त यो रोग नयाँ होइन । यसभन्दा पहिला पनि मैले महानगरले गरेको सडक व्यापारीप्रतिको धरपकडबारे लेखेको थिएँ। तर फेरि यस्तै काम निरन्तर भइरहेको देखेपछि लेखेको छु ।
हाम्रो शासकीय राजनीतिक प्रणालीको संघीय संरचनामा व्यवस्था भएअनुसार र स्थानीय शासन सञ्चालन ऐन २०७४ ले दिएको अधिकार स्थानीय सरकार र प्रशासनले आफ्नो स्थानीय क्षेत्रको स्थायीत्व र समृद्धिसँग जोडिएका काम गर्ने अधिकार र अप्ठेरा निवारण गर्ने स्वामित्व सुम्पिएको छ । जुन आवश्यक पनि छ । विकास र समृद्धि, स्थायित्व र सुशासनको लक्ष्यसहित ल्याइएको प्रणालीको उद्देश्य यही रहेको छ । शक्ति विन्यास गरी ल्याइएको प्रणालीले लक्षित गरेको वर्ग भनेको पनि विकास र पहुँचबाट पछाडि राखिएका वर्ग नै हुन् । विकास र आर्थिक पहुँचको पक्षबाट विश्लेषण गर्नेले देश राजनीतिक व्यवस्थाका कारण आर्थिक क्षेत्रको विकास र रोजगारी क्षेत्र सबल हुन नसकेको तर्क गर्दछन् ।
तर केही जनप्रतिनिधि र पदाधिकारीहरूले गरेको सकारात्मक काम हेर्दा राजनीति असफल भएको मान्न सकिन्न । किनभने गरिएका काम यसै राजनीतिक व्यवस्था अन्तर्गत भएको हो । जसमा यस महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले पनि गरिरहनु भएको छ । भने ती कामको नागरिकको तहबाट प्रशंसित भइरहेका पनि छन् यी निर्णय बाहेक । त्यसकारण नेपालको राजनीतिक व्यवस्था नेता र दलीय दृष्टिकोणबाट हेर्दाबाहेक व्यवस्था काम नलाग्ने भएको हो भनेर निष्कर्षमा पुग्ने गरी विश्लेषण गर्न हतार नै हुन्छ ।
त्यसो भए काठमाडौँ महानगरले अख्तियार गरेको शहर व्यवस्थापन नीतिले पारिरहेको प्रभाव हेर्दा, यो प्रणालीको उदेश्य यही हो त ? भनेर गुनासो गर्ने ठाउँ नागरिकलाई दिएको छ । अहिले महानगरको निशानामा परेका वर्ग भनेको पिँधमा रहेका, आर्थिक, अवसर र अभावले खेदिएका, शासक र मुख्य शहरले गाउँमाथि गर्दै आएको शहरी विभेदका कारण जीवन धान्नका लागि बाध्यात्मक बसाईसराईको चपेटामा परेका वर्ग हुन ।
ती सडक र सार्वजनिक स्थललाई आम्दानी र जीविकोपार्जनको थलो बनाउने वर्ग भनेको अझै पनि भुई वर्गका मानिसहरू नै हुन् । यसको लागि उनीहरूको दैनिकी र पहुँच हेर्दा पनि थाहा हुन्छ । यसरी जीवन चलाउन गरेको खुद्रामूद्रा पसलेमाथि महानगरको नजर किन परिरहेको छ ? पक्कै पनि यसले संस्थाबाट नागरिकले आस गरेको कुरामा दुखित बनाउने काम भइरहेको भन्ने देखाउँछ ।
हुन त फेरि तर्क आउन सक्छ, यो समस्या अहिलेको महानगर र प्रतिनिधित्व गर्ने नेतृत्वको कारण भएको हो र ? नेतृत्वले जिम्मेवारी लिने भनेर । यो लेखको आशय त्यो होइन । तर यो चाहिँ हो, त्यो के भने करिब साढे तीन दशकदेखि सत्तामा रहेका दलको अकर्मण्यताले बर्बाद देशलाई सही दिशा दिनको लागि नै स्थानीय तहको निर्वाचनमा नयाँ र स्वतन्त्र उठेका उम्मेदवारलाई नागरिकले मतदान गरी नेतृत्व सुम्पेका हुन् ।
फेरि प्रश्न जन्मिन सक्छ, के काठमाडौँको मेयर जिताएको ती गाउँका जनता र फुटपाथमा व्यवसाय गर्ने गाउँलेले हो त ? तर यदि यस मनसायबाट कित्ताकाट गरेरै यो नीति अख्तियार गरेको हो भने पनि भूल हुनसक्छ । शहरले गाउँप्रति जति विभेद र अन्याय गरेको भएपनि हिजोको, आजको सुन्दर, योग्य र धनी महानगर पालिका बनाउने तिनै गाउँले परिश्रमी हात र सिप, जाँगर अनि धैर्यता नै हो । काठमाडौँलाई महानगर बनाई राख्ने पनि त्यही गाउँले 'सबाल्टर्न'हरू नै हुन जसको भूमिका ठूलो छ र पनि उनीहरूलाई कहिले सुनिँदैन । आज काठमाडौँलाई काठमाडौँ बनाउने पनि तिनै तिनै हुन्, जसलाई शहरले जहिले पाखे देख्दै आयो ।
काठमाडौँले गाउँलाई सधैं पेरिफेरिको व्यवहार गर्यो भनेर भन्ने ठाउँ दिएको छ मतलब यो काठमाडौँले गाउँलाई जहिले शोषण गरिरह्यो भनेर गुनासो गर्ने ठाउँ दिएको छ । शहरले दिन त सकेन नै तर शहरमा थुप्रिएको र एकाङ्की बनेको अवसर र सुविधा अनि सम्भावनाका बीच आफू पनि हुर्कन्छु र शहरलाई पनि पाल्छु भनेर काम गरी खाने वर्गमाथि भइरहेको विभेद हेर्दा लाग्छ महानगर किन निर्दयी र असमावेशी बनिरहेको छ ? महानगरले यसबाट थप आर्थिक सम्भावना देखेको हुन सक्छ । तर औपचारिक रुपमा देखेको त्यस सम्भावनामा ती सडक व्यवसायी र पसले जोडिन नसकेको भए पनि अनौपचारिक रुपमा महानगरको प्राण बचाउन भने धेरै नै योगदान दिएको छ । ती वर्गलाई आवश्यक कानुनी प्रक्रिया र समयको व्यवस्थापन गरेर काम गर्ने वातावरण भने दिनैपर्छ ।
हुनत् सत्ता र प्राप्त शक्तिले मान्छेलाई मूर्ख बनाउँछ भन्ने गरिन्छ । यो महानगरको नेतृत्वको हकमा के हो भन्न सकिने कुरो रहेन । तर एउटै देश र कानुन, राजनीतिक अभ्यास र नागरिकले तिरेको साझा कोषबाट चल्ने महानगरले किन कलिलो दम्भ र हतारको काम देखाउँदै छ ? त्यो बुझ्न सकिएको छैन । यो चाहिँ भन्न सकिन्छ कि यसरी गर्ने धरपकड, निषेध र बहिष्करण प्रक्रियाले गरिबी बढ्ने र वर्ग निर्माणको गहिराई थपिने छ । यसको अल्पकालीन र दीर्घकालीन समस्या आइसकेको पनि छ ।
यसरी भुईं मान्छेलाई नमिठो व्यवहार गर्दै जाने हो भने भविष्यमा महानगर महानगर बनेर बसिरहन नसक्ने समय पनि आउन सक्छ । किन भने महानगर बनेको पनि विकास, आर्थिक गतिविधि, जनसंख्या, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको व्यवस्थाको आधारले गर्दा नै हो । आज यो महानगरले बोकेको शान सौकात र यसको आडमा हुने शासकीय अभ्यास सदाका लागि मेटिन पनि सक्छ । कुनै चुनौती दिने यो लेखको उद्देश्य होइन । तर सम्भावना त रहने नै भयो ।
त्यसैले यस्ता कुरामा लहड र आवेगमा आएर काम गर्नुभन्दा पनि आवश्यक समन्वय र सहकार्य, सह योजना निर्माण गरेर समस्याको समाधानका उपाय खोज्नमा महानगरले प्रतिबद्धता गर्नु पर्दछ । यसो भनेर यहाँ कुनै दल विशेषको कमजोरी वा अन्य कुरालाई विषयान्तर गर्न यो लेखले प्रसंग उठाएको पक्कै होइन । आज युवा र आम नागरिकमा वितृष्णा आएको छ । यसको कारण त विगत २०० वर्षभन्दा धेरै समयदेखि सत्ताले गाउँ र गाउँको कृषिप्रति अपनाएको नीतिको प्रतिफल हो ।
महानगर देशको ठूलो र मुख्य महानगर हो । यहाँ नेतृत्व गर्ने पनि ठूलो हुने नै भयो । यस महानगर अन्य महानगरको हैसियतभन्दा ठूलो र महत्वपूर्ण छ । विश्व समाजले महानगरले गर्ने कामलाई हेरेको हुन्छ र नै त केही समय अगाडि महानगर प्रमुखले अन्तराष्ट्रिय तहमा कामको मूल्यांकनअनुसार उचित स्थान पाएको थिए । महानगरले गर्ने काम, निर्देशन वा भूमिकाले नेपालभर मात्र नभई विश्वभर कुनै न कुनै तहबाट प्रभाव राख्दछ ।
अर्को पाटोबाट हेर्दा महानगर एउटा महानगर मात्रै होइन एउटा राजनीतिक व्यवस्थाभित्रको अंग र शासकीय अभ्यास हो । महानगरका प्रमुखले यो लहडमा गरे जस्तो देखिने काम तर यसरी गरेको कामको दीर्घकालीन नकारात्मक परिणाम निम्त्याएर भएको थप सम्भावनालाई लत्याई गरिवको वर्ग निर्माण थप गर्ने प्रयास गर्नुहुन्न । जनताले दिएको विश्वास र यसको मूल्यमा खेलबाड गर्न पक्कै पनि हुन्न ।
यसर्थ महानगरले सबाल्टर्नको समस्या,आवश्यकतालाई सम्भव भएसम्मको विकल्प प्रयोग गरेर निकास दिने पट्टी लाग्नुपर्छ । किन भने आज महानगरको हैसियत पाउनुमा र महानगरको कार्यकारीको भूमिकामा रही काम गर्ने अधिकार प्राप्त गर्न पनि महानगर प्रमुखलाई त्यही गाउँले जो शहर बनाउन सयौं वर्षदेखि यो काठमाडौँमा हड्डी घोटिरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया