विचार

परिवेश, आवेश अनि बंगलादेश

अर्जुन अपवाद |
भदौ २६, २०८१ बुधबार १३:१९ बजे

हातमा मोबाइल छ । मोबाइलमा सारा संसार छ । गाउँको परिवार, विदेश भएको भाई । बैंकमा भएको बचत/ऋण । सुरु गरेको लेखको मस्यौदा । मानिसहरूका सिर्जना । उनीहरूका आक्रोश, सबका सब यतै । सबै यतै भएसी म किन उता हुन सक्थें ! औंलाले स्कृन तलमाथि गर्दै यसो सोच्छु, मोबाइलमा छैन चाँहि के ? फेरि सोच्छु, मैले मोबाइल चलाइरहेको छु कि मोबाइलले मलाई ?

गाउँ गाउँमै सिंहदरबार टोलटोलैमा राजा
यिनै राजा पाल्दापाल्दै देशै रित्तियो आज
यिनले भन्या लोकतन्त्र त भन्ने मात्रै हो
बोलम भने आफैं छुच्चो बन्ने मात्रै हो ।


फेसबुक रिलमा गीतको टुक्रा छ । मनै कुँडिने दृश्य छ । दौडिरहेको स्कृन टक्क रोकिन्छ । ध्यान तान्छ । ४ लाइन गीत सुनेपछि पुरै गीत युट्युबमा खोज्छु । युट्युबको कृष्ण शताब्दी युजरबाट दुई महिनाअगाडि अपलोड भएको गीत २ लाख ३२ हजार पटक हेरिसकिएको रैछ । गीतमा यथार्थ छ । यथार्थभन्दा धेरै त निराशा छ । आक्रोश छ ।

‘साँइलो नरमाइलो’ शीर्षकमा रहेको ८ मिनेट ४ सेकेण्डको यो गीतमा कमेन्ट गर्ने सबैले यथार्थ चित्रण भनेर तारिफ गरेका छन् । सोच्छु १० वर्षअघि गाउँगाउँमा सिंहदरबारको चर्को वकालत गर्नेहरू आज गीतको प्रतिरोध गर्ने अवस्थामा किन छैनन् ? साँच्चै देशमा भएको लोकतन्त्र भन्नका लागि मात्रै छ ? बोलेको कसैले सुन्दैन, वा बोले असुरक्षित भइन्छ ? हाम्रोमा असल तथा राम्रा काम भएका छैनन् ? देशमा बसेर केहि गर्न नसकिने भैसकेकै हो त ? त्यत्रो बलिदानीले प्राप्त भएको यो उपलब्धी बेकामे भैसक्यो त ?

मानिसमा आक्रोश बढ्दै गएको गठ्ठाघर घटनाले देखाएको छ । गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दियो । सुरुमा धेरैले ट्राफिक प्रहरीले चेकजाँचका लागि रोक्दा घटना भएको भने । मृतक मानिसहरूको विवरण नै फरक परेर आयो । मृतक भनिएका मानिसहरू खेतबारीमा काम गर्दै गरेका भेटिए । कसैले आफैं प्रहरीलाई फोन गरेर म ज्युँदै छु भने ।

पछि सार्वजनिक भएको सिसिटिभी दृश्यमा देखियो । दुर्घटना हुनुमा ट्राफिक प्रहरीको कुनै सम्बन्ध छैन । ट्रकले धकेल्दै लगेर स्कुटर किचेको देखिन्छ । स्कुटर सबैभन्दा तीब्र गतिमा गाडी हुँइकिने लेनमा छ, दायाँतिरको अन्तिममा । यसै कुरालाई लिएर ट्राफिक प्रहरीहरू कुटपिटमा परेका छन् । धेरैले ट्राफिक प्रहरीले चेकजाँच नै गर्नुहुन्न भनेर लेख्न लागे । सर्वसाधारणभन्दा पनि मिडियाले नै ट्राफिक प्रहरीले गल्ती गरेको भन्ने कोण(एंगल)बाट समाचार प्रस्तुत गरे ।

निमेशभरमै घटनास्थलमा मानिसहरूको भिड जम्मा भयो । घटनास्थलको सुरक्षा गर्ने र मृतकको पहिचान गर्ने भन्दा प्रहरीलाई आफ्नै ज्यान जोगाउन हम्मेहम्मे भयो । धन्न लोत्से घटना दोहोरिन पाएन । 

घटनाले सामान्य क्षतिमै हामीलाई ठूलो पाठ सिकाएको छ । समाजमा रहेको आक्रोश, आवेग तथा रिसले आफ्नो बाटो खोजिरहेको छ । विश्वव्यापी आर्थिक मन्दी तथा अन्य विभिन्न कारणले त्यो आक्रोशको मात्रा बढ्दै गइरहेको छ । समयमै हामीले ध्यान दिन नसके त्यो बंगलादेशकै रुपमा विष्फोट हुन सक्छ ।

राजनीतिमा विषय (एजेण्डा) आवश्यक छ । त्यो सँगै सिद्धान्त । तर नेपालको सन्दर्भमा भन्दा राजनीतिमा शत्रु आवश्यक छ । विशेष गरेर कम्युनिस्ट दलहरूमा । दलहरूका महाधिवेशनमा प्रस्तुत कागजात अध्ययन गर्ने हो भने उनीहरूले कहिले आफ्नै देशभित्रका शक्तिलाई शत्रु घोषणा गर्छन्, कहिले छिमेकी देशलाई । पछिल्ला दिनहरूमा भने भाषामा सुधार भएको छ । अहिले शत्रु शब्दलाई प्रतिष्पर्धी भन्ने शब्दले प्रतिस्थापन गरेको छ । शत्रुको किटानीले पार्टीहरूका आफ्ना कमजोरी वर्षायाममा कुहिरोले पहाड ढाकेझैं ढाकिदिन्थ्यो, ढाकिदिएकै छ । आफूले गर्नैपर्ने काम पनि शत्रुले गर्न दिएन भनेर कार्यकर्तालाई भनिदिएपछि आफूले जिम्मेवारी लिनु परेन । वास्तवमै सजिलो उपाय थियो राजनीतिमा शत्रु घोषणा ।

नेपालका राजनीतिक दलहरूको शत्रु घोषणा गर्ने रोग अहिले मिडियामा सरेको छ । २०७७ पौष ५ पछि उनीहरूले केपी शर्मा ओलीलाई शत्रु घोषणा गरेर अगाडि बढे । अझ त्यसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि जोडेपछि गज्जबको मसला प्राप्त भइहाल्यो । दुइ जना नभए त यो देश फ्याट्ट बन्ने थियो, यिनै दुईका कारण बनेन भनेर लामा-लामा सामाग्री प्रसारण गरिए । ओली तह लाग्ने मामलामा अरु सबै नाजायज गतिविधि पनि जायज देखियो/देखाइयो ।

अहिले मानिसमा बढिरहेको आक्रोशमा मिडियाको मात्रै भूमिका नहोला । सानो ठूलो हिस्सा पक्कै छ । गठ्ठाघरकै घटनामा पनि एकखाले मानिसले प्रहरीको कमजोरी अझ भनौं लापरबाही देखिरहेको छ । कुनै पनि मिडियाले प्रहरीमाथिको आक्रमणको निन्दा गरेन । आफूले गलत सूचना फैलाएकोमा माफी मागेन । भिडतन्त्र बढेका दिन उसले पनि आफ्नो काम गर्न सक्नेछैन । त्यो उसले ख्याल गरेन वा गर्न चाहेन ।

विकास हुँदैमा आक्रोशहरूले काम गर्दैनन् भन्ने बहाना मात्रै हो । बंगलादेशमा विकास भइरहेको थियो । गरिबी घटिरहेको थियो । सरकार जनताको मतबाट चुनिएको थियो । आरक्षणको आन्दोलनबाट सुरु भएको विद्रोहले सरकार प्रमुखले देश छाड्नुपर्ने अवस्था सिर्जना गर्‍यो । विदेशमा बसिरहेका व्यक्तिलाई झिकाएर उनकै नेतृत्वमा अन्तरिम सरकार बनाउन पर्‍यो । प्रहरी स्वयंले सुरक्षाको खोजी गर्नुपर्ने परिस्थिति सिर्जना भयो ।

नेपालको परिस्थिति बंगलादेश हुन सक्छ भनेर चिन्ता भइरहेको छ । विश्वव्यापी आर्थिक मन्दि, छिटोछिटो भइरहेका सरकार परिवर्तन, स्थानीय तहसम्म फैलिँदै गरेको कमिसनलगायतका विषयले जनतामा राज्यप्रतिको भरोसा टुटाइरहेको छ । यसले नेतृत्वप्रति अविश्वास बढाएको छ, आक्रोश जन्माएको छ ।

गौरापर्वका अवसरमा टुँडिखेलमा भएको अराजकता यस्तै आक्रोशहरूको चुहावट हो । यसमा सबै दलहरूले गम्भिर भएर चिन्तनमनन गर्नु जरुरी छ । अर्कोलाई भएको हो मलाई त केहि हुन्न भन्नु गम्भिर भुल हुनेछ । आगोले लक्षित गरेकालाई मात्रै खरानी बनाउँदैन ।  जसले सल्काएको हो उसैलाई पनि खरानी बनाइदिन्छ ।

फेसबुक र युट्युब छाडेर एकछिन जनकपुर । जनकपुर, मधेस आन्दोलनको केन्द्र । त्यसै आन्दोलनको जगमा स्थापित भएको संघीय शासन प्रणाली । त्यसै अन्तर्गत बनेको मधेस प्रदेश । मधेस प्रदेशको राजधानी ।

केन्द्रीकृत शासनले जनतालाई सेवा दिन सकेन । संघीयताले नागरिकको अपेक्षा समेट्छ भन्नुपर्ने मधेसले । प्रदेशको औचित्य देखाउनपर्ने मधेसले । यहाँ नै शासन व्यवस्थामा आमजनको भरोसा छैन । जनकपुरमा केहि दिनअघि एक सार्वजनिक कार्यक्रममा एक अवकाश प्राप्त प्रहरी भन्दै थिए यहाँका कार्यालयले ६५ प्रतिशत कमिसन माग्छन् । पत्याउन सकिन, एक जना साथीलाई सोधें । ५० प्रतिशतसम्म कमिसन दिनुपर्ने उनले बिना संकोच बताएका थिए । केहि समय अगाडि कोसी प्रदेशमा पालिकाका कर्मचारीले कार्यलयमै भनेको सम्झें । वडाध्यक्षले कमिसनका लोभमा अनावश्यक कार्यक्रमहरू राखेका छन् । आधाभन्दा धेरै कमिसन लिन्छन् । नामै नसुनिएका संस्थालाई काम दिन्छन् ।

फेसबुकमा पत्रकार चन्द्र किशोरको पोष्ट देखेपछि पत्याउन करै लाग्यो । उनले लेखेका छन् । 
#यो_लघुकथा_होइन

मेघ गर्जन भयो । फेरि एक छिनमा झमाझम पानी पर्न थाल्यो ।
'दाई एउटा कुरा भनौँ' चिया टेबुलमा आई सकेको थियो । उसले भने-अब पिसी (percentage)लाई कानूनी मान्यता दि हाल्नुपर्छ । १० प्रतिशतसम्म त स्वाभाविक नै मानिए ।
 मैले चियाको चुस्की लिँदै सोधे- अनि !
 हातमा उठाएको कप फेरि टेबुलमा राख्दै बताए- 'प्रदेशमा तीस त हाकाहाकी नै चल्छ । पालिकाहरूमा फिफ्टी-फिफ्टी जायज जस्तै भो ।'
'यो अख्तियार, यो महालेखाहरू त त्यत्रो सक्रिय छ नि' मैले आश्चर्य मिश्रित जिज्ञासा राखे ।
'यो सबै मेघ गर्जनपछि झमाझम पानी परे जस्तै हो । सबै छ फेरि पनि पिसी ओपन सेक्रेट जस्तै भयो । खुल्लम खुल्ला प्यार है दाई'
'ए  सबैले राज्य दोहनलाई आफ्नो विशेषाधिकारभित्र पर्ने सहुलियतका रूपमा लिए जस्ता देखिए पो' मेरो कपको चिया चिसिँदै रहे ।

चन्द्रकिशोरको फेसबुक स्टाटस नजरअन्दाज गर्न मिल्ने होइन/छैन । भ्रष्टाचारले समाज थिलथिलो पार्दै लगेकै छ । जे होस जसो होस पैसा भएपछि सबै गज्जब हुने भएकै छ । भ्रष्टाचारका बारेमा नियमित निगरानी गरिरहेको संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले नेपाल अझै भ्रष्टचार उच्च हुने मुलुकमा पर्ने गरेको देखाउँछ । अघिल्लो वर्ष सन् २०२३ मा १८० देशमध्ये नेपाल १०८ औं स्थानमा छ । ५० अंकभन्दा कम प्राप्त गर्ने देशलाई प्रतिवेदनले बढि भ्रष्टचार हुने देशहरूको सूचीमा राख्ने गरेको छ । यो वर्ष नेपालले ३५ अंक प्राप्त गरेको थियो । सन्‌ २०२२ मा नेपाल अझै पछाडि ११० औं स्थानमा रहेको रहेको थियो । 
 
फेरि फेसबुक !
‘द गोट लाइफ’ चलचित्रको चर्चा अलिक कम कम हुँदै गर्दा हेर्ने कथाको ‘हराएका वर्षहरू’ आयो । गोरखादेखि झापा हुँदै भोजपुर पुगेर हेर्ने कथा टिमले बनाएको यो सामाग्रीले हामीलाई देशकै ऐना देखाइदिएको छ । त्यसका मुख्य पात्र प्रकाश कामका लागि फर्किएर चुमभ्यालीमै जानुपर्ने परिस्थितीमा यो देशका को-को जिम्मेवार होलान् ? खोजेर पत्ता लगाउनुपर्ने सवाल यहि हो । जन्म दिने बाउ आमा जिउँदै छन् । उनीहरू नेपाली नागरिक हुन् । परिवारका अरु सदस्य पनि छन् । तैपनि कर्मचारीलाई जन्मदर्ता चाहिन्छ । लोकसेवा उतिर्ण भएपछि आफूलाई अब्बल दर्जाको ठान्ने अधिकांश कर्मचारीले अरु सबैलाई चाहार देख्छन् । यो घटनामा प्रधानमन्त्रीले नै चासो दिएका थिए  । यसैले प्रकाशले कम सास्तीमै नागरिकता पाए भन्ने भाष्य निमार्ण गरे । तर एउटा नेपाली नागरिकको बाबुआमा दुवै जना भएको अवस्थामा नागरिकता बनाउन भने जस्तो गाह्रो विषय भने होइन् । तर प्रधानमन्त्रीले गृहसचिवलाई मध्यराति बोलाएर प्रकाशलाई नागरिकता बनाउन सहजिकरण गरिदिनु भन्दै जस लिन खोजे ।

लामो समय उच्च पदस्थ कर्मचारी भएर लोकसेवा आयोगको अध्यक्षसमेत भइसकेका उमेश मैनालीले एक अन्तर्वार्तामा भनेका थिए ‘नेता बिग्रेर मात्र कर्मचारीतन्त्र जोगिएको छ । नेता सुध्रिने बित्तिकै सबै आक्रोश कर्मचारीमा आउँछ आउँछ ।’ अन्तर्वार्तामा उनी अगाडि थप्छन् ‘सरकारी कार्यालयमा पाइला टेक्न नपरे हुन्थ्यो जस्तो लाग्‍न थालिसक्यो भन्‍ने सही हो । हाम्रो रुखो व्यवहार, रकमी भाषा छ । स्पष्ट जवाफ नदिने चलन छ । आँखा र टाउको हल्लाउने भाषा छ । जनताको करबाट तलब खाएका छौँ, जनताको सेवा गर्नुपर्छ भन्‍ने सेवाभावभन्दा हाकिमी प्रवृत्ति छ । म सर्वसाधारणभन्दा माथि ठूलो हुँ, विशेष वर्ग हुँ भन्‍ने भाव छ । राजनीतिक क्रान्ति भयो, प्रशासनमा सुधारसम्म हुन सकेन ।’

नेतृत्वले कति गर्न सक्यो सकेन त्यो बहसको विषय हो । कामै नगरी सुतेर भने पक्कै बसेको छैन । राजनीतिमा अर्कोलाई खराब नभनी आफू असल बनिन्न भन्ने भाष्यले भएका कामको पनि प्रचार नभएकै हो । सबै दलहरूले एकले अर्कोलाई आँखा चिम्लेर खराब भन्ने बानीले पनि हामीलाई केहि भएन भन्ने लागेको हो । नत्र धेरै पर्दैन १० वर्ष यताका परिवर्तनहरू हेर्ने हो भने पनि समाज अगाडि बढिरहेकै छ । केहि न केहि त भइरहेकै छ ।

भर्खरै हामीले स्वदेशी पुँजीबाट माथिल्लो तामाकोसी जलविद्युत्‌ आयोजना निर्माण सम्पन्न गर्‍यौं । विजुली आफूलाई पुर्‍याएर विदेशमा बेच्ने अवस्था सिर्जना भएको छ । नेपालका लगभग सबैतिर राष्ट्रिय प्रसारणको विजुली पुगेको छ । केही वर्षअगाडिसम्म यो अवस्था हाम्रो कल्पनामा पनि थिएन । द्रूतमार्गको काम द्रूत गतिमा भइरहेको छ । धरै गाउँहरूमा सडक सञ्जाल विस्तार भएको छ । विपद्‌का अवस्थामा छिटै र व्यवस्थित राहत तथा पुननिर्माणको काम सम्पन्न भयो । विदेशबाट फर्किएर आएकाहरूले कृषि तथा पशुपालनका क्षेत्रमा व्यवसायिकरण गरिरहेका छन् । गाउँगाउँमा अब उत्पादनका कार्यक्रम अगाडि बढाउन सडक सञ्जालका कारण सहज हुनेछ । समाजमा सांस्कृतिक अन्तरघुलन कसिलो छ । राज्यका निकायहरूले आफ्नो भूमिका निभाइरहेका छन् । मुलुकका हितका खातिरमा सबै दलहरू एकै ठाउँमा उभिएका छन्/उभिनेछन् ।

कर्मचारीतन्त्र र अन्य विभिन्न क्षेत्रमा समावेशी अनुहारहरू देखिन थालेका छन् । भुँइमान्छेहरू ठाउँमा पुगेपछि पक्कै पनि उनिहरूले प्रदान गर्ने सेवामा फरकपन आउनेछ । सूचना र प्रविधिको प्रयोग सेवा प्रवाहमा व्यापक हुँदै गएको छ । नागरिकहरूमा चेतना बढेको छ । गलतमा किन भन्न सक्ने संख्या वर्षेनी बढिरहेको छ ।

अन्तमा, भनिन्छ कालो बादलमा चाँदिको घेरा हुन्छ । समस्याहरू समाधान पक्कै हुनेछन्  । एकैपटक हैन क्रमश । तर त्यसभन्दा अगाडि हामीले अलिकति सकरात्मक भने हुनैपर्नेछ । अविश्वासलाई विश्वास र निराशालाई आशामा बदल्नैपर्छ । भनेजति सोचेजति भएन होला तर केहि त भएकै छ । त्यसैले सबै मिलेर आशा जोगाउँ । आशा जोगिए मात्रै सम्भव छ विकास र समृद्धि, अनि प्रगति र उन्नति! लहलहैमा आगो लगाएपछि हात पर्ने त खरानी मात्रै हो !
[email protected]


Author

थप समाचार
x