विचार

संसदीय संवाददाता डायरी- २

सकुशल उपसभामुख महन्थ ठाकुरलाई ‘स्‍लाइन पानी’ दिएपछि...

हरिबहादुर थापा |
असार १४, २०७८ सोमबार ७:३२ बजे

यो पंक्तिकार संसदीय बिटमा लामै समय संलग्‍न भयो । रिपोर्टिङका क्रममा देखे(सुने-भोगेका विषयलाई डायरीमा टिपोट गर्ने आदतअनुसार ती डायरीका पाना पल्टाउँदै जाँदा केही यस्ता विषय फेला परे, जुन समाचारको फ्रेमभन्दा फरक थिए । यहाँ यस शृंखलामा संसद्सँग जोडिएका केही रोचक प्रसंग, केही नेपथ्यका घटना प्रस्तुत गरिनेछ ।  

०००
प्रतिनिधि सभामा विधेयक पारित गर्दाका बखत एउटा अचम्मको घटना देखियो, २०५० चैत ११ मा । त्यो दिन ‘खानी तथा खनिज पदार्थ (पहिलो संशोधन) विधेयक-२०५०’ पारित गर्ने क्रममा संसद्भित्र पहिलो घटना निम्तियो । 


त्यो दिन सभामुख दमननाथ ढुंगाना आफ्नै ‘च्याम्बर’मा थिए भने सभामुखको आसनमा चाहिँ उपसभामुख महन्थ ठाकुर ।

सदनमा सत्तारूढ कुर्सी पातलो थियो । त्यसरी कुर्सी खाली हुनुमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाविरोधी कांग्रेस सांसदहरूले ‘असहयोग’ रणनीति थियो । त्यही रणनीतिअनुरूप सत्तापक्षतिर सांसदकै उपस्थिति निकै कम ।

उद्योग तथा श्रम राज्यमन्त्री रामकृष्ण ताम्राकारले खानी-खनिज पदार्थ विधेयक प्रस्तुत गरे । अनि विधेयकमाथि छलफल चल्यो, तर एक मात्र एमाले सांसदले बोले । सत्तातिर थोरै सांसद देखेपछि उनीहरू तत्काल त्यो निर्णयार्थ प्रस्तुत गराउन चाहन्थे । एक सांसद बोले, ताम्राकारले पनि जवाफ दिए ।

एमालेले सत्तातिर कम सांसदको उपस्थितिको ‘अवसर’ छोप्ने रणनीति अपनायो । उसले त्यो विधेयकमाथि मतदानकै माग गर्‍यो । नत्र विधेयकमा ‘हुन्छ’ र ‘हुन्‍न’कै ध्वनि मतले पारित हुन्थ्यो । विधेयकलाई मतदान प्रक्रियामा विरलै लगिन्थ्यो ।

यद्यपि त्यो विधेयक संसदीय समितिबाट ‘सर्वसम्मत’ रूपमै पारित हुँदै आएको थियो । संसदीय समितिमा छलफल हुँदा विपक्षीबाट कुनै ‘असहमति’ पनि जाहेर भएको थिएन । उसले सत्तातिर कुर्सी खाली देखेपछि ‘फेल’ गराउँदै कोइरालालाई राजनीतिक र नैतिक संकटमा पार्न चाहे, विपक्षीहरूले ।

उनीहरूकै मागअनुरूप विधेयक मतदान प्रक्रियामा गयो । प्रक्रिया चाहिँ ‘हुन्छ’ र ‘हुन्‍न’ भन्‍ने पक्षमा नाम बोलाउँदै सांसद संख्या गनिँदै थियो । त्यसरी मतदान चलिरहँदा बीचमा कांग्रेस सांसद प्रकाश कोइराला प्रवेश गरे । तर वर्णानुक्रममा नाम बोलाइँदा तिनको नाम छुटिसकेको थियो । 

तर सभामुखको कुर्सीबाट ठाकुरले ‘पछि’ उनको पनि नाम लिए । त्यसले विपक्षी सांसदहरूबाट हो-हल्ला निम्तिनु स्वाभाविकै थियो । त्यसरी दोहोर्‍याएर नाम लिएपछि विपक्षी सांसदहरू आक्रोशित हुन पुगे । एमालेले त्यसरी मतदान सकिएपछि थपिएकालाई मतदान गर्न दिइनुहुन्‍न भन्‍ने अडान लियो ।

त्यो विधेयक असफल भएको खण्डमा सरकार ‘अल्पमत’मा परेको देखाउनु पनि विपक्षी रणनीति थियो । त्यसो त, संसद्‌भित्र सत्तालाई अप्ठ्यारो पार्नु विपक्षी ‘धर्म’ थियो, तिनले त्यही धर्म पूरा गरेका थिए । हुन पनि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद्मा ११३ मत देखाएको तीन साताभित्रै त्यो घटना भएको थियो ।

अनौठो चाहिँ सभामुख दमननाथ ढुंगाना सदनमा नबसी आफ्‍नै च्याम्बरमा बसेका थिए । त्यो दिन ढुंगानालाई संसद्भित्र ‘दुर्घटना’ हुन्छ भन्‍ने थाहा थियो । ढुंगाना प्रधानमन्त्री कोइरालाविरुद्धमै थिए भने ठाकुर चाहिँ गिरिजाप्रसाद कोइरालाका खाँटी बफादार पात्र थिए । उनले कोइरालालाई अप्ठ्यारो नपार्न योजनासहितको रवैया प्रदर्शन गरेका थिए ।

अनि त्यो दिन सत्तापक्षतिर बहुमत नभएको ‘ठम्याइ’मा ठाकुर पुगिसकेका थिए । उनले मत परिणाम घोषणा गर्नासाथ विधेयकमा बहुमत नपुग्ने स्पष्ट थियो । अनि ठाकुरले त्यसरी सरकारलाई अप्ठ्यारोमा पार्ने काम गर्न चाहेनन् । उनी सरकारलाई संकटमा नपार्ने दाउमा थिए ।

एमाले सांसद विष्णुबहादुर राउतले नियमापत्ति गरे । त्यसमा ठाकुरले ‘ओठे’ जवाफ लगाए । राउतको नियमापत्तिसँगै सभामुखको कुर्सीबाट ठाकुरले भने, ‘ल, मैले पनि जानेको छु ।’ ठाकुरले अलि रुखो स्वरमा सांसदहरूका हल्लाबीच ‘तपाईंहरूसँग संसदीय मर्यादा र नैतिकता...’ टिप्पणी आयो । हो-हल्लाका कारण उनका पूरै वाक्य सुन्‍न सकिएन । उनको बोलीसँगै पनि विपक्षीलाई तताउँदै थियो ।

चार दिनपछिको बैठकमा एमाले सांसद विद्यादेवी भण्डारी (हाल राष्ट्रपति)ले जिज्ञासा राखिन्, ‘माननीयज्यूको गालाको घाउ खोई ? घाउ कता सर्‍यो ?’ श्रेष्ठलाई जिस्काउने क्रम पनि चल्यो ।

सदनमा हो-हल्ला चलिरहेकै थियो । उनले परिणाम नसुनाएपछि विपक्षीको पारो तात्दै थियो । एक्कासि ठाकुरले संसद्को बैठक २०५० चैत १५ गतेसम्मका निम्ति स्थगित गरेसँगै सदन रण-मैदान परिणत हुन पुग्यो । विपक्षी सांसदहरू सभामुख अघिल्तिर आक्रमण गर्न गएपछि कांग्रेस सांसदहरू र सचिव सूर्यकिरण गुरुङ छेक्न पुगे ।

ठाकुरमाथि विपक्षीहरूले पेपरवेट, कागज, फाइलले प्रहार गरे । उनीहरूको प्रहारलाई तत्कालै सत्तारुढ सांसद तारिणीप्रसाद चटौत, सचेतक चीनकाजी श्रेष्ठ, शंकरप्रसाद पाण्डे र प्रतिनिधिसभाका सचिव सूर्यकिरण गुरुङले छेके । त्यसरी छेक्दा सांसद पाण्डे र सचिव गुरुङको ढाडमा ‘पेपरवेट’ लाग्यो । त्यो टाउकामा लागेको भए, उनी घाइते हुने थिए । तर, ढाडमा लागेका कारण बचे ।

बैठक स्थगनसँगै विपक्षी सांसदहरू दक्षिणी ढोकातिर झुम्मिए । उनीहरूको योजना चाहिँ ठाकुर बाहिरिँदै गर्दा आक्रमण गर्ने थियो । किनभने बैठक स्थगनसँगै मर्यादापालकले राजदण्ड बोक्दै अघि लाग्ने र त्यसको पछि सभामुख बाहिरिने चलन थियो । प्रतिनिधि सभाको ग्यालरी बैठकमा सभामुख राजदण्डसहित प्रवेश र बाहिरिन दक्षिणी गेटमा प्रयोग गर्ने प्रचलन थियो ।

तर दक्षिणी ढोका एमाले सांसद सांसदहरूको कब्जामा रहेपछि उत्तरी ढोकाबाट राजदण्ड र ठाकुरलाई निकालिँदै थियो । सदनभित्र भद्रगोल दृश्य मञ्चन हुँदै थियो । त्यहाँ कुन सांसदले के गर्ने हुन् ? अलि आक्रामक स्थिति बनेको थियो ।

एक्कासि संयुक्त जनमोर्चाका सांसद लीलामणि पोखरेलले दौड्दै ठाकुर निक्लँदै गरेको ठाउँमा पुगे । उनले एकैचोटि ठाकुरको कठालो समाते । अरू विपक्षी सांसदहरू चाहिँ दक्षिणी ढोकातिर अल्मलिँदै थिए । त्यसपछि सचिव गुरुङ, कांग्रेसका प्रमुख सचेतक तारिणीदत्त चटौत र कांग्रेस सांसद शंकर पाण्डेले पोखरेलबाट ठाकुरको कठालो फुत्काउँदै सकुशल उपसभामुखको च्याम्बरमा पुर्‍याए ।

विपक्षी सांसदहरू च्याम्बर घेर्न खोज्दै थिए । मर्यादापालक घेरा लगाउँदै उनलाई सुरक्षित पारियो । त्यसपछि कांग्रेस सांसदहरूको हुल ठाकुरको कार्यकक्षमा प्रवेश गर्‍यो, जहाँ त्यो घटनाको समीक्षा हुँदै थियो । त्यसपछि सचिव गुरुङलगायत सचिवालयका कर्मचारीहरू आफ्नो कार्यकक्षतिर लाग्दै थिए । सचिव गुरुङले मर्यादापालकहरूलाई आदेश दिँदै भने, ‘कार्यकक्ष र उपसभामुखको राम्रोसँग सुरक्षा दिनू ।’

त्यो दिन ठाकुरलाई केही पनि भएको थिएन, उनको कठालो समातिनुबाहेक । ठाकुरलाई कतैबाट एक मुक्का पनि प्रहार भएको थिएन, चोट लाग्ने सम्भावना पनि थिएन । बरु कांग्रेस सांसद पाण्डे र सचिव गुरुङमाथि चाहिँ राम्रै पेपरवेट र फाइल राम्रैसँग लागेको थियो । 

०००
घटना त्यही थियो, त्यो दिन । अनौठो चाहिँ संसद् सचिवालयका कर्मचारीहरू रेडियो नेपाल र नेपाल टेलिभिजनको साँझको समाचार सुनेपछि र हेरेपछि आश्चर्यमा पुगे । सकुशल ठाकुरलाई घाइते बनाउँदै टिचिङ अस्पतालमा ‘स्‍लाइन पानी’ चढाएको समाचार देखेपछि ।

त्यसरी स्‍लाइन पानी चढाएको देखेपछि अचम्म मात्र होइन, दोधारमा चाहिँ सचिव गुरुङ र सचिवालयका अरू कर्मचारीहरू आश्चर्यमा परे । उनीहरू उपसभामुख हेर्न अस्पताल जाने कि नजाने ? अन्यौलमा परे ।

हुन पनि सचिव गुरुङले संसदीय व्यवस्थापछि पहिलोचोटि सदनमा त्यस किसिमको उग्र झगडा देखेका थिए । र, राजनीतिभित्र हुने राजनीति दाउपेच बुझे । बेलाबखत त्यो दिनको घटना ठट्यौलो र रोचक पारामा सम्झँदै भन्थे, ‘नेपालमा अनौठो राजनीति हुँदो रहेछ । कुनै चोटपटक नलागे पनि स्‍लाइन पानी चढाउँदै भ्रममा पारिँदो रहेछ । अनि त्यसरी बढाइँँ-चढाइँ समाचार आएपछि छक्क परियो नै ।’

‘अनि तपाई चाहिँ ठाकुरलाई हेर्न अस्पताल जानुभयो ?’ त्यो घटनाको प्रसंग आउँदा यो पंक्तिकारले उनै गुरुङसँग जिज्ञासा राखेको थियो । रमाइलो हाँसोमा गुरुङको जवाफ हुन्थ्यो, ‘कहाँ जानु ? आफैँले सकुशल ‘च्याम्बर’ पुर्‍याएको थिएँ । बेलुकी समाचार सुनेपछि आफैँ एक्लै हाँस्‍न पुगेछु ।’ 

संसद् सचिवालयका कर्मचारीहरूले पनि बुझे कि विपक्षीहरूको आक्रामक मुहार उतार्न स्‍लाइन पानीको राजनीति हुँदो रहेछ । कहीँ कतैबाट पनि स्‍लाइन पानी चढाउनुपर्ने अवस्था थिएन । किनभने कुनै मारपिट भएको थिएन ।

रमाइलो हाँसोमा गुरुङको जवाफ हुन्थ्यो, ‘कहाँ जानु ? आफैँले सकुशल ‘च्याम्बर’ पुर्‍याएको थिएँ । बेलुकी समाचार सुनेपछि आफैँ एक्लै हाँस्‍न पुगेछु ।’ 

अर्थात् ठाकुरमाथि हातपात भएको बढाइँ-चढाइँको समाचारबाट नागरिकलाई ‘दिग्भ्रमित’ पार्न खोजिएको थियो । त्यो घटना देख्ने त सीमित थिए । त्यसमा पनि सदनमा भीडभाड भएपछि कठालो समात्न गएको देखेपछि कतै चोट लाग्यो कि भन्‍ने त त्यहीभित्र हुनेलाई पनि लागेको थियो । त्यो समाचारका कारण बाहिरका मानिस ‘भ्रमित’ कुनै अनौठो भएन ।

त्यतिमात्र होइन, कांग्रेसका चीनकाजी श्रेष्ठको गालामा चोट लागेको समाचार प्रसारण भएको थियो । चार दिनपछिको बैठकमा एमाले सांसद विद्यादेवी भण्डारी (हाल राष्ट्रपति)ले जिज्ञासा राखिन्, ‘माननीयज्यूको गालाको घाउ खोई ? घाउ कता सर्‍यो ?’ श्रेष्ठलाई जिस्काउने क्रम पनि चल्यो ।

०००
अर्थात्, एमालेले त्यो झगडामा केही हदसम्म ‘जित’ हासिल गर्‍यो । त्यो झगडापछि त्यो विधेयक फेरि नियमावली निलम्बन गर्दै समितिमै फर्काइयो । २०५० चैत १५ मा ‘खानी तथा खनिज पदार्थ (पहिलो संशोधन) विधेयक, २०५० का सम्बन्धमा विकास तथा सञ्चार समितिको प्रतिवेदनमा उल्लिखित संशोधनहरू सभाद्वारा अस्वीकृत हुनाको कारणसहित सिंहावलोकन गरी प्रतिवेदन पेस गर्न उक्त विधेयकलाई पुनः विचारार्थ निर्देशनसहित सम्बन्धित समितिमा फिर्ता पठाउने ।’ सँगै त्यो विधेयकको झगडा-राजनीति त्यही सकियो ।

सुविधाजनक बहुमतको सत्तारूढ दल कांग्रेसभित्रको त्यो किचलोको परिणति थियो, २०५० चैत ११ को घटना । तिनै घटनाबीच कांग्रेसमा विग्रहको गर्भभित्र छत्तीसे-चौहत्तरेको भु्रण प्रवेश भएको हो । हुन पनि त्यतिखेर विपक्षीभन्दा र कांग्रेसकै विद्रोही सांसदहरूकै आवाज आक्रामक हुन्थ्यो, विपक्षीको काम चाहिँ तिनको आवाजमा ताली लगाउनु हुन्थ्यो । प्रतिनिधि सभाको त्यो दिनको बैठक स्थगनको घोषणापछि भीडन्त भएको हुँदा संसदीय रेकर्डमा पनि रहेन ।

हरिबहादुर थापाको संसदीय संवाददाता डायरी- १ : प्रधानमन्त्री कोइरालालाई ‘पानीमा विष’ पिलाएको शंकापछि...


Author

हरिबहादुर थापा

संसद्, शासन र राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x