विचार

हरेकले सोचौँ- महामारीमा म कसैको मल्हम बनेँ कि नुनचुक ?

तुल खड्का |
असार १४, २०७८ सोमबार १०:३५ बजे

मुलुक कोरोना महामारीको राप र तापमा जलिरहेको छ । संकटको चरमबिन्दुमा छ । कोरोनाले चर्किएका घाउहरू चरक्क चर्चिएका छन् । जनसंख्या विना राज्यको कोरा कल्पना स्वर्गमा मात्र गरिन्छ, होला ।  राज्य माटो, मुलुक, नागरिक र सरकारसहितको वैधानिक संस्था हो । मुलुकको माटो र जनताको व्यवस्थापनको प्रमुख अभिभारा सरकारको नाममा र सहायक अभिभारा स्वयम नागरिकमा नै हुन्छ । 

संकट तथा महामारी कुनै एउटा पात्र, संस्था र संगठनले उप्काउन सक्ने विषय होइन । यसका लागि साझा संकलन, प्रयत्न र सहकार्य नै व्यस्थापनको बुटी बन्‍न सक्छ । त्यसका लागि पात्र, संस्था र निकायको सक्रियता चाहिन्छ नै । महामारी व्यवस्थापन गर्न सरकार, समुदाय, व्यक्ति र नागरिक सबैको भूमिका उत्तिकै महत्वपूर्ण छ । सार्वजनिक दायित्व र जिम्मेवारीको हिसाबले मात्रात्मक रूपमा कम र बढीको मात्र प्रश्न हो । सबैको भूमिका र दायित्व पालना र पूरा भयो भने मात्र महामारीको व्यवस्थापनमा सहजता प्रदान हुने हो । 


भूमण्डलीकरणको युगमा विश्वको कुनै एक कुनाको दुःख, दर्द र पीडा सबैको साझा बन्‍न पुगेको छ । वर्ग, वर्ण र भूगोलको नाताले मात्र विश्वको आविष्कार, विपद् र संकटहरूलाई सीमा लगाउन सक्दैन । विश्वका वस्तु तथा उत्पादनहरू साझा बनेको सन्दर्भमा महाव्याधि र महामारी पनि साझा रूपमा हल गर्नुपर्ने गरी देखिएका छन् । देखिनेछन् ।
 
कोभिड-१९ ले मच्चाएको ताण्डको दोस्रो ‘भेरियन्ट’सँग नेपाल लगायतको विश्व पौँठेजोरी खेल्दैछ । भीषण युद्धको रणनभूमिमा नेपाल लडिरेहेको छ । विज्ञहरूले तेस्रो ‘भेरियन्ट’ पनि फैलिने सक्ने चेतनावनी दिँदै सुरक्षा कवचका लागि तयार हुन अनुनय गरिरहेका छन् ।

विपद् र संकटका निशाना तिनै कमजोर र गरिबमाथि पर्छ, जो खाना र बाँच्न संघर्ष गरिहेका हुन्छन् । महामारी र संकटका असरहरूले पनि कमजोर र भुइँ-वर्गलाई प्रभावित बनाउने गर्छ । 

कोभिड-१९ विरुद्ध विकास भएका खोपमाथि धनीहरूको कब्जा रहेको तथ्याङ्क सार्वजनिक भइरहेका छन् । तर विश्वका अल्प तथा कम विकसित देशहरूले सहजै पाउने सक्ने अवस्था छैन । यसर्र्थ, स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने सन्दर्भमा ‘म’हरूको भूमिका, ‘तपाईं’हरूको भूमिका र ‘हामी’को भूमिका उत्तिकै महत्वपूर्ण छ । 

कुनै बेला कुष्ठरोग लागको व्यक्तिलाई गाउँ र समाजबाट निकाला गरेजस्तै कोरोना संक्रमितलाई हेप्ने, एक्ल्याउने र मनोवैज्ञानिक रूपमा त्रसित बनाउने र कमजोर व्यवहार गार्नाले कोरोना महामारीविरुद्धको लडाइँ जित्न असजिलो हुन्छ । सहज हुँदैन पनि । 

संक्रमित व्यक्ति तथा परिवारलाई हरक्षेत्रमा अमानवीय व्यवहारको प्रतीत गराउने हो भने सामाजिक सम्बन्धमा दरार ल्याउने एकतातिर छ भने युद्ध जित्ने जटिलता अर्कातिर छ । आफूलाई नपर्दासम्म यो केही होइन र परेपछि मात्र यो महाव्याधि रहेछ भन्‍ने सामाजिक अल्पज्ञानले कोरोना नियन्त्रण यात्रामा इट्टा थप्दैन । बरु घटाउँछ । हामीले जे देख्‍नुपरेको छ, जे भोग्नुपरेको छ, जे सहनुपरेको छ । त्यो साझा हो । दुःखमा रोधन र प्रयासमा एकता प्रयास हुुनुपर्छ । युद्धसँगको लडाइँ भनेको मनोवैज्ञानिक लडाइँ पनि हो । यो उच्च साहस र हिम्मतका साथ लडेर जित्ने हो । 

स्वास्थ्य मापदण्ड पालना गरी सबै जिम्मेवार बन्दाको परिणम कस्तो हुन्छ भन्‍ने उदाहरण सार्कको भूपरिवेष्ठित र अल्पविकसित मुलुक भुटानले देखाएको छ । उसले  कोरोना भाइरस संक्रमणको व्यवस्थामा गरेको नमूना कार्यले कोरोना व्यवस्थापनमा भुटानी मोडलको रूपमा चर्चा छ । सानो तथा गरिबी देशले समेत कसरी व्यवस्थापन गर्न सफल भयो भन्‍ने सन्दर्भमा भुटानी प्रधानमन्त्री लोत्से छिरिङको सिएनएन अन्तर्वार्तासमेत दिएको छ, स्वास्थ मापदण्डको प्रभावकारी पालना ।

विदेशी पर्यटकहरूलाई भूटान प्रवेशमा रोक । कोरोनाको परीक्षण र अन्य पूर्वाधार निर्माणका लागि प्रधानमन्त्री तथा  राजपरिवार समेत फिल्डमै उपस्थिति । सरकारी संरचनाले काम गरेको वा नगरेको सम्बन्धमा उच्च तहबाट नै बारम्बार स्थलगत निरीक्षण जस्ता कार्यले भुटानले कोरानाको व्यवस्था गर्न सक्यो । र आर्थिक र अन्य स्रोत सीमित भएको भुटानले महामारीविरुद्ध लडिरहेको भारतलाई केही अक्सिजन समेत सहयोग गर्‍यो । यसरी स्वास्थ्य मापदण्डको पालनाले कसरी कोरोना जित्न सकिन्छ भन्‍ने सन्देश विश्वलाई दियो । 

सन् २०२१ जुन २६ मा बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले कोरोनाभाइरस नियन्त्रण गर्न बनाइएका स्वास्थ्य मापदण्ड उल्लंघन गरी एक जना सहयोगीलाई अँगालो हालेर चुम्बन गरेपछि उनको तीव्र आलोचना भएकाले पदबाट राजीनामा दिए । स्वास्थ्य मापदण्डको महत्व र सान्दर्भिकता विषयमा विश्वलाई चेत दिने घटना बन्‍न पुगेको छ । बेलायत जस्तो खोप आविष्कार गर्ने मुलुकमा समेत स्वास्थ्य मापदण्डको पालनाले त्यति महत्व राखेको छ भने नेपाल जस्तो मूलुकमा यसको पालनामा अनिवार्य त हुने नै भयो । 

नेपालमा सचेत, सक्षम र चेतनायुक्त पात्रहरूले समेत स्वास्थ्य मापदण्डको पालना नभएर दोस्रो लहरको सामना गर्न परिरहेको जनस्वास्थ्य विज्ञहरूको तर्क छ । अन्तर्वार्ताका क्रममा एकजना अमेरिकी डाक्टर भनेका छन् । ‘विश्वले विश्वास गर्न नसक्ने जति आइसियु र भेन्टिलेटर अमेरिकासँग छन् । तर स्वास्थ्य मापदण्डको प्रभावकारी पालना नहुँदा अमेरिकाले यति धेरै मानवीय क्षति व्यहोर्नु पर्‍यो ।’

जतिबेला अमेरिकामा कोरोना भाइसको लहर फैलिरहेको थियो, त्यतिबेला तत्कालीन राष्ट्रपति विश्व स्वास्थ्य संगठनलाई गाली गर्दै बसेका थिए । त्यस्तै, स्वास्थ्य सेवाको उपलब्धताको दुष्टिकोणले राम्रो मानिएको इटाली, स्पेन तथा युरोपेली देशहरूले पनि हम्मेहम्मे युद्ध लडे भने हाम्रो जस्तो देशमा अपर्याप्त जनशक्ति, अपर्याप्त स्वास्थ्य सामग्री र स्रोत-साधनको कमी भएको मुलुकले लड्न पक्कै सहज छैन् । भनिन्छ, युद्ध र महामारीमा कैयौँ मानिस त्रास र डरले समेत मुत्यु हुने गर्छन् । उच्च मनोबल, सकारात्मक सोच र हौसलाले पुरै युद्ध जित्न नसकिए पनि युद्धसँग लड्न र भिड्न तयार भने पक्कै राख्छ । 

एक जना भारतीय डाक्टर भन्छन् ‘रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता केवल हामीले खाने खाना, फलफूल, माछामासु र सागपातले माात्र प्राप्त हुँदैन् । सुखद समाचार, सरकात्मक सोच, प्रेरणा, माया र हौसलाबाट पनि प्राप्त हुने गर्छ ।’ हो यतिबेला त्रासै त्रास र दुःखैदुःखका बेलामा एउटा कोरोना संक्रमितले सहजै एक्लै युद्ध जित्न सक्दैन् । त्यसका लागि उसको भारोसाको लागि तारन्तार ऊर्जा भरिरहनु अहिलेको आवश्यकता हो । सबैले प्लामा थेरापीबाट उपचार गर्न नसकौँला । भेन्टिलेटरमा राख्‍न नसकौँला । आइसियूमा राख्‍न नसकौँला । तर हौसला दिन, माया गर्न, ममता बाँड्ने, एक्लो हुन नदिन त पक्कै गर्न सक्छौ । हाम्रो प्रेरणा, हौसला र ममताले संक्रमितले युद्ध जित्न सक्छ । यस्तो घडीमा आशा र ऊर्जा भर्न सक्नु ठूलो दान हुन सक्छ । 

नेपोलियन बनोपार्टका शब्दमा, ‘हार्छु भन्‍नेले सधैँ हार्छ ।’ त्यस्तै मर्छु भन्‍नेले मर्न बेर लाग्दैन । त्यसका लागि आत्मबल बलियो बनाई लड्न खजानाको रूपमा आफूलाई प्रस्तुत पनि कोरोना विरुद्धको लडाइँ लड्न ठूलो सहयोग हो । भौतिक दूरी कायम राख्‍ने, भेटघाट र जमघटलाई थाति राख्‍ने, अनावश्यक रूपमा हिँडडुल नगर्न आ-आफ्नो टोल, छिमेक र समुदायलाई थप सुझाउने । नागरिक पनि बर्दी विनाको प्रहरी हुन् । सबै प्रहरी प्रशासनले मात्र भन्‍नुपर्छ भन्‍ने केही छैन । आफूलाई पनि प्रहरीको भूमिका राख्‍न सकौँ । 

विश्वका केही देशहरू फेरि लकडाउनकै कसरतमा छन् । लकडाउन जारी राखेका छन् । नेपालमा पनि जनस्वास्थ्यविद् र स्वास्थ्य क्षेत्रका विज्ञहरूले नेपालमा अर्को ‘भेरियन्ट’को खतरा बारम्बार औल्याइराखेको सन्दर्भमा स्वास्थ्य मापदण्ड पालना गर्ने कुरा ठट्टा र हल्लका रूपमा अर्को ‘भेरियन्ट’ले निम्याउने संकट र क्षति सहनेसिवाय अरु केही होइन । तसर्थ महामारी मान्छेको काबुमा हुँदैन । तर त्यसका असर र प्रभावहरूलाई न्यूनीकरण गर्दै व्यवस्थापन गर्ने जिम्मा मानिसको नै रहन्छ । यति बेला कोरोना, संकटको तेस्रो लहर र पोष्ट कोभिडको भय र चिन्ताको अवस्था छ । यसको विस्तारलाई बिलम्बन नगरी व्यवस्था गर्ने जिम्मेवारी व्यक्ति तथा समुदायको समते हो ।

यो निराकरण गर्न सकिने विषय नभई यसका प्रभाव र असरहरूलाई न्यूनीकरण गर्दै व्यवस्थापन गर्न सकिने भएकाले सबै जोड यसैमा केन्द्रित हुनुपर्ने भएको छ । त्यसका लागि प्रशासन, स्थानीय सरकार र सचेत वर्ग चनाखको हुन सकेन र परीक्षण लगायतका स्वास्थ्य सामग्रीहरू त्यता केन्द्रित गर्न सकिएन भने अर्को लहरको ‘इपिसेन्टर’ गाउँहरू बन्‍ने खतरा बढेको देखिन्छ । 

आफू सुरक्षित हुने र अरुलाई पनि सुरक्षित हुन सहयोग गर्ने दायित्व वर्तमान समयले सबैको काँधमा थपिदिएको छ । निराशा भरेर होइन आशा जगाएर महामारीविरुद्धको लडाइँमा आफ्नो भूमिका सशक्त रूपमा प्रस्तुत गर्दा सबैको हितमा हुन्छ ।

[email protected]


Author

तुल खड्का

खड्‍का नेपाल सरकारका शाखा अधिकृत हुन् ।


थप समाचार
x