विचार

दसैँ स्मरण :

स्कूलको पाइन्ट टालेर लगाएको नयाँ लुगा र दसैँ

मिलन लामा |
असोज २२, २०८१ मंगलबार ९:२३ बजे

बाल्यकालमा विद्यालय विदा नहुँदासम्म खासै दसैँ आएको अनुभूति हुने थिएन । दसैँको एक हप्ता अगाडि हाम्रो कक्षामा मेरो सेरोफेरोको पढाई चलिरहेको थियो । स्कुलको सहयोगी (पाले) दाइले एउटा पत्र ल्याई सरलाई दिनुभयो । सरले सूचनालाई अगाडिको टेबलमा राखेर कक्षाको अन्तिममा सुनाउने भन्नुहुन्छ तर हाम्रो भने कक्षाको पढाईभन्दा सहयोगी दाईले ल्याएको सूचनामा सबैको ध्यान जान्छ ।

वल्लोपल्लो कक्षाको हल्लाले हामीले थाहा पाइसकेको थियौँ । त्यो सूचना दसैँ विदाको हो । विद्यार्थीहरूको पढाईमा पटक्कै ध्यान गएन सबैको कानेखुसी, खासखुस सुनेपछि ठट्टा पारामा सरले दसैँ लागेको तिमिहरूलाई भन्नुभयो । सबै विद्यार्थीहरूले एकै स्वरमा भने- हो सर ! सर बाध्य भएर आजको कक्षालाई स्थगित गरि सूचना वाचन गर्न तयार भए ।


जब कक्षा कक्षामा सूचना आउँथ्यो केही समय होहल्ला हुन्थ्यो सबै विद्यार्थीहरू मानौं कुनै ठूलो चिठ्ठा हात पारेको जसरी मन फुरुङ देखिन्थे । सबै जना खुसी देखिन्थे, कक्षलाई शान्त पार्न सरले लठ्ठी देखाउँदै ठूलो स्वरमा फर्मान जारी गर्नुपर्ने हुन्थ्यो अनि मात्र कक्षा शान्त हुन्थ्यो ।

दसैँ विदाको सूचना वाचन भएपछि सरले हामी सबैको ध्यान केन्द्रित गर्दै दसैँ विदामा होमवर्कहरू सकाउनु, दिनको एक घण्टा अनिवार्य पढ्नु, पिङ खेल्दा होसियार पूर्वक खेल्नु, भिरपाखामा घाँस काट्न नजानु भन्दै फकाउँदै ५ पन्ना ह्यानराईटिङसहित दसैँ कस्तो भयो कसरी मनायौ ? लेखेर ल्याउनु भन्दै होमवर्क दिनुभयो र सरले ल तिमिहरू सबैलाई वडादसैँको शुभकामना भन्नुभयो र हामीले पनि ठूलो स्वरमा भन्यौ- सेम टु यू सर ! अनि मेरो सेरोफेरोको कक्षा सकिन्छ । 

स्कुलबाट दसैँ विदा पाउँदाको खुसी नसकिँदै होमवर्कको भारीले ज्यानलाई थिचिसकेको थियो । अंग्रेजी र नेपाली विषयको १५ पन्ना ह्यानराइटिङ केही शब्दार्थ कन्ठ गर्नुपर्ने, गणितको ऐकिक नियमदेखि सरल विजगणित हुँदै ज्यामिट्रीसम्मको सोलुसन गर्नुपर्ने यति धेरै होमवर्कले दसैँलाई भारी र मनलाई नमज्जा बनाएको थियो । 

स्कुल विदा भएसँगै केही दिन नजिकैको खरबारीतिर घाँस काट्न पाइँदैन थियो । घर नजिकको खरबारीमा फूलपातीदेखि मात्र घाँस काट्न पाइन्थ्यो त्यो दसैँको लागि छुट्टाएर बचाएर राखेको घाँस हुन्थ्यो । केही दिन नजिकैको जंगलतिरै घाँस काट्न जानुपर्ने हुन्थ्यो । छोराछोरीको विदा भएपछि घरको काममा सघाउ हुन्छ भन्ने परिवारको आशा हुन्थ्यो । रातो माटो, सेतो कमेरो माटो बोक्ने, स्याउला घाँस काट्ने, पिङ खेल्ने, साथिहरूसँग रबर बाजीमा गुच्चा खेल्ने, होमवर्क गर्ने घर करेसा सफा गर्न सघाउने जस्ता कामले बाल्यकालमा निकै रमाइलो हुन्थ्यो ।

घर लिपपोत गर्न रातो माटो बोकेर ल्याउन गाउँभरिका मान्छेहरूको लाइन हुन्थ्यो । माटोखानीमा माटो निकाल्दै गर्दा माथिबाट ओडार खस्ने जोखिम हुन्थ्यो । दसैँको बेलामा कतै कतै माटो लिन गएको बेलामा पुरिएर ज्यान गएको दुःखद समचारहरू आइरहन्थ्यो । रातो माटोको भारी बोक्दै लगभग एक घण्टाको उकालो र तेर्सो बाटो हिँडेपछि घर आइपुग्थ्यो । बीच बाटोको बिसौनीमा आराम गर्ने समयमा केही गाउँका दिदि बहिनीहरू माटो बोक्ने नाम्लो फुकालेर सानो पिंङ राख्ने र खेल्ने, कोही भने बाघचाल खेल्न तिरी बाख्रा र बाघ भन्दै बाघचाल खेल्थे । बाघचालमा जो हार्छ उसलाई जित्नेले चिलाउनेको डल्लो ढुंगामा घोटेर निधारमा राख्दिने नियम हुन्थ्यो । केही खेलाडि एउटा गोटी चाल्न पाँच मिनेट लागाएर धेरै सोचिरहने चाल्न खोज्ने तर चाल्दै नचाल्ने अल्छि खेलाडी हुन्थे र हेर्नेहरूलाई समेत भगाउँथ्यो । माटोको भारी घरमा पुगेर बिसौनासाथ आमालाई नाम्लोले थिचेको टाउको र पसिनाले निथ्रुक्क भिजेको रातो माटोले राताम्मे भएको गन्जी आमालाई देखाउन पुगिहाल्थें । 

फूलपाती आउन ४/५ दिन अगाडि पारी गाँउको सिलाई बाजे ढाडमा हाते कल बोक्दै पसिना काट्दै र आट्टे बाजे घरेलु हातहतियार धार लगाउने मेसिन बोक्दै घरदैलो गर्नुहुन्थ्यो । गाउँभरिको घरेलु हात हतियार आट्टे बाजेले धार लागाउनु हुन्थ्यो, ताकी दसैँमा मासु काट्न दसैँ सकियलगतै धान भित्र्याउनुपर्ने भएकाले अन्य हतियारहरूसमेत धार लगाउने चलन थियो । सिलाई बाजेले गाउँभरिको केटाकेटीहरूको कट्टु, सुरुवाल टालटुल गर्ने च्यातिएको लुगाफाटाहरू सिलाउने गर्नुहुन्थ्यो र पारिश्रमिक लिएर जानुहुन्थ्यो भने कुनै कुनै घरको वर्ष भरिको सबै काम सिलाई कटाई हातहतियार बनाउने आट्टे बाजे र सिलाई बाजेले गर्नुहुन्थ्यो । यस वापत सबै चाडबाडको भाग दिने, निश्चित अन्नपात दिने चलन थियो । त्यो समयमा मैले त्यति बुझेको थिइनँ, पछि आएर त्यो एउटा परम्परा संस्कार जस्तो रहेछ तर अहिले भने यो चलन हट्दै गएको छ ।

मलाई आज पनि याद छ मेरो तीन कक्षाको स्कुलको पाइन्ट्को पछिल्लो भागमा प्वाल परेको थियो, त्यो पाइन्ट बाबाले सिलाई बाजेलाई टालिदिनु पर्‍यो भन्दै टालिसकेपछि पाइन्टलाई घुडासम्म काटेर कट्टु बनाउँदै यसपालिको दसैँको लुगा तिम्रो यही होभन्दा मन कति खिन्न र नरमाइलो भएको थियो । मनमनै यो कट्टु खेतमा काम गर्न जाँदा लगाउने भन्ने सोच आइरहेको थियो । घरमा दसैँमा लुगा किन्न जाने सर सल्लाह भयो बहिनी र मलाई स्कुलको नयाँ ड्रेस सिलाउने वर्षमा एकचोटी नयाँ लुगा किन्ने त्यही पनि स्कुलको ड्रेस मन अलि नरमाइलो भयो । जसरी पनि नयाँ लुगा चाहिन्छ भनेर जिद्दी गर्ने कुरा पनि आएन फेरि बाबाले तिहारमा देउसी भैलो खेल्न जाँदा र गौराति जात्रामा नयाँ लुगा लगाउनुपर्छ भन्दै नयाँ लुगा किन्ने भाका राख्दिनुभयो । तर बेलुका बजारबाट फर्किने बेलामा बहिनीलाई नयाँ जामा र मलाई कट्टु र टिसर्ट एकै कलरको ल्याइदिनुभएछ नयाँ लुगा दिँदै बुबाले होमवर्क सकाउनु भन्नुभयो ।

त्यो रात नयाँ लुगा सिरानीमा राख्दै बास्ना लिँदै होमवर्क गरे र कतिखेर यो नयाँ लुगा लगाएर एकचोटी गाउँ घुम्ने होला भन्ने कुरा मनमा आइरहन्थ्यो । नयाँ लुगाको बास्ना मलाई आज पनि मनपर्छ, सायद बाल्यकालदेखिको बानीले हुनसक्छ । यसरी नै घाँस दाउरा, रातोमाटो बोक्दै होमवर्क गर्दै दसैँको दिन आइसक्छ । फूलपातीको अघिल्लो दिनसम्म होमवर्क नगर्दा कुटिहाल्ने भएकाले सकाइहाल्थ्यौं र बाँकी एक दुई वटा विषयको केही होमवर्कहरू बाँकी रहन्थ्यो । जति होमवर्क सकिँदै गयो त्यति तन मन हलुका हुँदै जान्थ्यो । 

घरको भित्ताहरू नयाँ माटोले रंगिने थियो । मेरो सुत्ने ठाउँको भित्तामा टांसिएको पुरानो पत्रिकाहरू चेन्ज हुने थियो । झ्याल ढोका र कौसीका काठको खम्बाहरू रातो गेरुले रंगिने थियो । घरलाई उपलब्ध सामाग्रीहरूको सजिसजावट थियो । धेरै जसोको घरमा क्यासेटहरू ठूलो ठूलो साउण्डमा काठे लोकदोहोरी र तामाङ सेलोहरू गुन्जिन्थ्यो । प्रायजसो गाउँघरको नियमित मौसमी फलफूल खानपान र स्वादहरूमा सिमित रहेको मेरो जिब्रोले दसैँमा नयाँ स्वादहरूको समेत अनुभुति गर्न पाउँथ्यो । गाउँबाट शहर गएकाहरू धेरै जसो गाउँ फर्किन्थे । शहरमा बस्नेहरूले गाउँको कुरा सुन्न र बाल्यकालको बितेका दिनहरूको स्मरण गर्ने गाउँका मानिसहरूले शहरबाट फर्किएकाहरूको कुरा सुन्ने सुनाउने चौतारी जस्तो हुन्थ्यो गाउँ । अहिलेको भन्दा गाउँघरको रौनक नै छुट्टै हुन्थ्यो र त मलाई दसैँप्रति सानैदेखि भित्र मनमा रमाइलो पर्व हो भन्ने लाग्छ ।


  
साँझको खाना खाइसकेपछि गाउँको खुल्ला चौउरमा सबै जना जम्मा हुन्थ्यौँ र दोहोरी चल्थ्यो । आलोपालो नाच्ने नियम हुन्थ्यो र रमाइलो नाचगानसहित हरेक साँझ साँगितिक हुन्थ्यो । नियमित मासुको परिकारसहितको खाना, दुध दही, मही फलफूल गाउँको लोकल भोजन नयाँ लुगा लगाएर पिङ खेलिन्थ्यो । यस्ता रमाइलो क्षणले गर्दा आज पनि त्यो दसैँको झल्को आइरहन्छ ।

टीका लगाउँदा र मामाघर जादाँको छुट्टै अनुभुती छ । टीका लगाउँदा बास्नादार रु १० को नयाँ नोटहरू कहिले खर्च गर्न मन नलाग्ने सधैं आफैंसँग रहिरहोस्‌ जस्तो लाग्ने । आफूसँग सुरक्षित नहुने डरले नयाँ नोट आफूसँगभन्दा आमासँग सुरक्षित रहने र मलाई चाहिएको बेलामा दिनुहुन्छ भनेर आमालाई राख्न दिइन्थ्यो । सायद जिन्दगीमा सबैभन्दा सुरक्षित स्थान नै आमाको काख हो । आमाप्रति छोराछोरीहरूले जती गुण गरेपनि पुग्दैन । आमाको स्थान अरु कुनै पात्रले लिन पनि सक्दैन यस्तो जिवन्त स्नेह माया साथ समर्थन कोही कसैबाट प्राप्त हुन्छ भने त्यो आमाबाट नै हो ।

सारा आफन्तहरू भेटघाट र आवतजावत हुने एक अर्काको सुख दुःख साटासाट हुने रमाइलो गर्ने मिठो मसिनो खाने, आफूभन्दा ठूलाको हातबाट टीका ग्रहण गर्दै आशिर्वाद लिने दसैँको संस्कारको रुपमा विकास हुदैँ आएको छ । यसरी नै बाल्यकालको दसैँ बित्दथ्यो । 

तर हिजो बाल्यकालको जस्तो दसैँ अहिले छैन । न हामीमा छ न अहिलेका बालबालिकामा । अहिले प्रविधिको युग छ । प्रविधिसँगै बालबालिकाहरू रमाउन थालेका छन् । प्रविधिमा रमाउँदा अहिलेका बालबालिकाले चाडपर्व, संस्कार, संस्कृति, रितिरिवाज, परम्पराहरूको भुल्दै गएका छन् । प्रविधिसँग अहिलेका बालबालिकालाई घुलमिल हुन त दिनुपर्छ तर आफ्नो संस्कार र संस्कृति भुल्ने गरी होइन्, यो सबै अभिभावकले सोच्‍नुपर्छ र सोच्‍नैपर्ने बिषय पनि हो ।

लामाको यसअघिको लेख


Author

मिलन लामा

लामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)का केन्द्रीय सदस्य हुन् ।


थप समाचार
x