Ekagaj Logo
२० कात्तिक २०८१, मंगलबार
(Tuesday, 05 November, 2024)

विचार

आत्महत्या न्यूनीकरणको मार्ग

नेत्र सुवेदी ‘प्रयास’ |
कात्तिक २०, २०८१ मंगलबार १५:२५ बजे

जीवनउपर आफैँले रोक लगाउनु वा आफूले आफैँलाई मार्नु नै आत्महत्या हो । आत्महत्या गर्नु भनेको मानव विकास, पुस्ताको निरन्तरता र सामान्य जीवन प्रक्रियाको पनि विपरीत कार्य हो । पश्चिम अष्ट्रेलिया, स्विजरल्यान्ड र अमेरिकाका केही राज्यमा स्वेच्छिक मृत्युको सुविधा भए तापनि हाम्रो देशमा आत्महत्यालाई गैरकानुनी कार्य मानिएको छ । आत्महत्याका लागि प्रयोग भएका नदीमा हेलिने, पुलबाट हामफाल्ने, झुन्डिएर मर्ने, विष सेवन गरेर प्राण त्याग गर्ने जस्ता हर्कतहरुले समाजलाई असीमित पीडा दिएको हुन्छ । जब आफन्तजन वा चिनेका व्यक्ति नै आत्महत्या गर्दछन् तब यी घटनाहरू हुन नदिन के गर्न सकिन्छ भन्ने बहस पनि चल्ने गर्दछ । 

समाजशास्त्रका अगुवा व्यक्तित्व फ्रेन्च विद्वान इमाइल दुर्खिमले आफ्नो खोजमूलक पुस्तक सुसाइडः ए स्टडी इन सोसियोलजी (१८९७) मा आत्महत्याको खास कारण मनोवैज्ञानिकभन्दा पनि सामाजिक हुने र व्यक्ति रहेको समाजसँगको अन्तरक्रियामा निर्भर गर्ने बताएका छन् । उक्त पुस्तकमा उनले अहंकारी परोपकारी, असामाजिक र भाग्यवादी गरेर चार किसिमका आत्महत्याको सम्बन्धमा चर्चा गरिएको छ । उनले १९औँ शताब्दीको अन्त्यतिर गरेको विश्लेषणमा सामाजिक एकता कमजोर रहेको भनेका थिए । अहिलेको नेपाली समाजलाई नियाल्दा पारिवारिक विखण्डन र सामाजिक विचलन दुवै बढेको छ भने आत्महत्याको दर पनि बढेर गएको छ । 


 विश्वभर वार्षिक करिब आठ लाख मानिस आत्महत्या गर्दछन् । संयुक्त राज्य अमेरिकामा वार्षिक ४५ हजार र नेपालमा वार्षिक सात हजार व्यक्तिले जीवनलाई विश्राम दिनका लागि आत्महत्यालाई रोज्ने गरेको पाइएको छ । अभिलेखमा नआएका कतिपय मामिलाले यो आँकडालाई अझ बढाउने देखिन्छ । जीवनको कुनै न कुनै समय विन्दुमा आत्महत्याको सोच आउनेहरू त करोडौँको सङ्ख्यामा होलान् । यसरी हेर्दा आत्महत्या एक साझा सामाजिक समस्याका रुपमा रहेको छ । अमेरिकामा माध्यमिक विद्यालयका विद्यार्थीहरूबीच भएको एक अध्ययनको निष्कर्षअनुसार ६ जना विद्यार्थीमा एक जनाले आत्महत्याको सोच राख्दछ भने ११ जनामा एक जनाले भने साँच्चै नै आत्महत्या गर्ने गरेको देखाइएको छ । 

 आत्महत्याको कारण

आत्महत्याका घटनाहरुको सामाजिक पक्षलाई सर्सर्ति केलाउँदा सानोतिनो असफलतापश्चात् आमाबाबुसँग सामना गर्न नसक्नु, प्रेम सम्बन्ध टुट्नु, उमेर नपुग्दै विवाह गर्नु, प्रेम विवाह गरे पनि बिस्तारै सम्बन्धमा दरार आउनु, अभिभावकबीचको सम्बन्धमा विग्रह आई पारिवारिक वातावरणमा तिक्तता बढ्नु, नवविवाहित जोडीमध्ये कुनै वा दुवै विदेशमा गई भेटघाट लामो समयसम्म नहुनु र सम्बन्ध बिग्रनु, मादकपदार्थ सेवन गरी हिंसाजन्य क्रियाकलाप गर्दा जीवनउपर भरोसा हराउनु, आफ्नै सन्तानबाट हेलामा पर्नुजस्ता कारण देखा पर्दछन् ।

सामाजिक सञ्जालको स्वच्छन्द प्रयोग पनि सम्बन्धहरु बिगार्ने र अपेक्षा बढाउने कारण भएको छ । तथापि यी कुनै पनि कारण हुँदा मृत्यु नै रोज्नुपर्ने हुँदैन । जुनसुकै अवस्थामा पनि यो अमूल्य जीवन जिउनु नै उत्तम हो । बढ्दो अपेक्षाबीच अधैर्यता बढेको र स्वयंलाई सन्तुलनमा राख्ने ऊर्जा हराउनेजस्ता कारण भने मुख्य रुपमा जिम्मेवार देखिन्छन् । 

 दुर्लभ छ जीवन 
हाम्रो जीवन भनेको महासागर जस्तै हो । सागर भनेपछि यसमा फरक-फरक अवस्था पटकपटक आइरहन्छन् । तथापि, सागर हुनुको पहिचान कायम हुन्छ । कहिले शक्तिशाली आँधी आउँछ टोर्नेडो चल्दछ, कहिले सामान्य तरङ्गहरु तरङ्गित भइरहेका हुन्छन् भने कहिले सागर पनि शान्त रहन्छ । हुन त जीवनमा देखापर्ने जुनसुकै समस्याको समाधान हुन्छ । जीवनबाटै बाहिर जान खोज्नु कदापि समाधान होइन । यो त भागेजस्तो हो । आत्महत्या एक दुःखद घटना त हुँदै हो तर यो यसबाहेक अपराध पनि हो । मनन गर्नुपर्ने विषय के छभने मानवीय जीवन प्राप्ति नै आफैँमा एउटा दुर्लभ घटना हो । 

सिद्धार्थ गौतमले सानो उमेरमै बिमारी, बुढो र मृत्यु भएको मानिस देख्दा पीडा भएको र कारण सोधेको प्रसङ्ग छ । उनले मानव जीवनका सम्बन्धमा भनेका छन् कि मानव जीवन भनेको पीडाहरुको भरिएको छ । पीडा र दुःखहरुको कारण हुन्छ र समाधानको उपाय पनि हुन्छ । समाधानतर्फ नलागेर मरेर अर्को जन्म लिन्छु भनेर आत्महत्या गरिहाल्यो भने पनि अर्को जन्म पनि पीडारहित त हुँदैन भन्ने मनन गर्नुपर्दछ । दुःख चिन्ताको सोचाइ नै नआउने त को होला र ? त्यस्तो सोचाइ आउँदा आफूमा देखिएका संवेगहरु लुकाउनु ठीक होइन । ती संवेगलाई आफूले अनुभूत गर्ने र लुकाउनुको सट्टा आफ्नो मिल्ने र विश्वासको साथी वा आफन्त वा परिवारजनलाई सुनाउनु उपयुक्त हो । उक्त व्यक्तिले भन्ला कि मलाई पनि यस्तो भएको थियो आत्तिनु पर्दैन ।

घुम्न जाउ वा योगध्यान गर वा अध्ययन गर वा यो फिल्म हेर वा खेल हेर्न जाउ वा यस्तै । आत्महत्याको सोचबाट टाढा बस्ने अर्को उपाय भनेको स्वयंलाई प्रेम गर्नु पनि हो । आफूलाई बलियो बनाउनका लागि अन्तरआत्माले के मागेको छ के कुरामा रुचि छ, जायज माग पूरा गर्ने र राम्रा उपलब्धि भएका बखत आफूलाई पुरस्कृत गर्ने अर्थात् स्वयंलाई बधाई ज्ञापन गर्ने पनि गर्नु पर्दछ । म भगवानको असल आत्मा हुँ र मैले मलाई नै प्रेम गर्छु जस्ता भाव जागृत गर्नु पनि असल जीवनका लागि उपयोगी हुन्छ । 

सद्गुरुले भन्नुभए झैँ हामी हाम्रो शरीरको असली सिर्जनाकार होइनौँ । आफूले सिर्जना नगरेको हुँदा अन्त्य गर्ने अधिकार हामीलाई छैन । हामीले त दीर्घकालसम्म प्राप्त गर्नेगरी जीवनको लक्ष्य निर्धारण गर्न सक्नुपर्दछ । एकपटक विचार गरौँ न आत्महत्या गर्नेले आफूलाई सम्हाल्न नसकेर प्राण त्याग्दछ तर के थाहा ऊ संयमित भएर बाँचेको भए जीवनमा नयाँ मोड पनि आउन सक्थ्यो । समयसँगै राम्रा कुराले पर्खेको हुन सक्छ धैर्यता राख्न सक्नुपर्दछ । जीवन रह्यो मात्रै भने पनि खुसीपूर्वक जिउने र प्रगति गर्दै जाने परिवेश देखापर्न सक्छ ।

मानव मस्तिष्कमा ‘सेरोटोनिन’ नामक तत्वको कमी भयो भने तनाव बढी हुन्छ भनिन्छ । यस्तो तत्व जागृत गर्नका लागि योगध्यान साधना सहयोगी हुने देखिन्छ । यस्तो खालको ध्यानको उपादेयता थाहा भयो भने व्यक्तिले नियमित रुपमा ध्यान गर्ने सम्भावना हुन्छ । ध्यानका बखत दिमाग सजग र शरीरलाई सहज भयो भने मात्र यसको प्रभाव राम्रो पर्दछ । योगका बेला पनि मन भागिहाल्यो भने त्यसलाई समातेर पुनः योगमा लगाउनुपर्ने हुन्छ । भावनाहरु मनमा आउँदा त्यसलाई हेर्ने तर प्रतिक्रिया नजनाउने गर्नुपर्दछ । फलस्वरुप तनावमा कमी आउने, आपसी सम्बन्धहरुमा सुधार हुने र जीवन जिउन सरल हुन्छ । क्षमा माग्ने र क्षमा दिने कलाको विकासले पनि मानिसको मनको भारी हलुका हुन जान्छ । रिस, घमण्ड, इष्यारुपी संवेगको भारी बोकेर हिँड्दा त्यस्तो व्यक्तिले गर्ने व्यवहार पनि खराब हुन्छ र पछि पछुताउनुपर्ने हुन्छ । 

    मनको स्वस्थता आवश्यक
चेतनशील प्राणी भएको हुँदा मानवमा संवेग उत्पन्न हुनु स्वाभाविक नै हो । मानिस मेसिन वा रोबोट हैन । चिन्तनशील प्राणी भएको हुँदा थरीथरिका संवेगहरु आइरहन्छन् तर कुन संवेगलाई कतिबेला प्रयोग गर्ने र कसरी गर्ने भनी छनोट गर्ने भने सम्बन्धित व्यक्तिले नै हो । मनमा उठ्ने विचारले व्यक्तिमा भावनाहरू तरङ्गित हुन्छन् । भावनाको किसिमअनुसार शरीरमा पनि छटपटी वा ऐँठन जस्ता असर देखा पर्दछन् भने व्यवहारमा पनि नकारात्मक असर देखापर्दछ ।

तर एउटा विषय के पेचिलो छभने एउटै घटनामा परेका दुई फरक व्यक्तिलाई फरक खालका भावना आउन सक्छ । कुनैमा प्रतिशोधको भावना त अर्कोमा सहयोगको भावना । मनोविश्लेषक डा करुणा कुँवरका अनुसार आत्महत्या गर्ने सोचाइ राखेका ९९ प्रतिशत व्यक्तिले आत्महत्या गर्ने अभिव्यक्ति दिन्छन् । व्यक्तिमा केही गर्न सक्छु भन्ने आशा जब कमजोर हुँदै जान्छ, तब उसले जीवन जिउनुको अर्थ देख्दैन । त्यति नै बेला उसले परिवारको सदस्य वा साथीसमक्ष खुलेर कुरा गर्नुपर्दछ र सुन्नेले सो कुरालाई गम्भीरतापूर्वक लिएर किन आत्तिएको म तिम्रो साथमा छु नि सबै ठीक भएर जान्छ भनेर उसलाई एक्लै हुने अवसर नदिएमा समस्या हटेर जान्छ । आत्महत्याको विचार पनि अरू विचार जस्तै अनित्य वा अस्थायी हुन्छ । यदि कुरा अरूलाई भन्दैन तर उसको आनीबानी हेर्दा चिन्तित छ, काममा जान पनि जाँगर गर्दैन, खाना खानसमेत मान्दैन, उसको रुचीका विषयहरूमा समेत रमाउँदैन भने मनोविद्समक्ष लगेर नियमित परामर्श लिने अवस्थाको सिर्जना गर्न सकिन्छ । 

शरीर मात्र हैन, मन पनि बिमारी हुन सक्छ भन्ने जागरण बढ्दै गएको छ । मानसिक रोग लाग्दा लाञ्छना लगाउने कि उसलाई उपचारको उचित प्रबन्ध गर्ने हामी परिवार, समाज र साथीभाइको बुझाइमा निर्भर गर्दछ । परिवारभित्रकै अभिभावक र अन्य सदस्य पनि संवेदनशील हुन जरुरी छ । परिवारले स्वीकार गरेन भने समुदायले समेत अस्वीकार गर्ने सम्भावना बढेर जान्छ । सुरक्षित यौन व्यवहारका विषयमा समेत खुला छलफल र संवाद हुन जरुरी छ । शारीरिक सुख भावनात्मक सुखभन्दा फरक अर्थ राख्दछ । अब्राहम मास्लोले आधारभूत आवश्यकता शरीरको आवश्यकतासँग सम्बन्धित रहेको र ती आवश्यकता पूरा भएपश्चात् क्रमशः मन र आत्मासँग सम्बन्धित आवश्यकता जागृत हुने बताएका छन् ।

यद्यपि, आफ्नो शरीर र मनमा उत्पन्न भएको संवेगउपर नियन्त्रण गर्नसक्ने, जिम्मेवारी लिनसक्ने हुनुपर्नेमा अरूमा निर्भर वा अरूलाई दोष थुपार्ने प्रवृत्ति हुँदा समस्या उत्पन्न भएको हुन्छ । असफल हुँदा के कस्तो सुधार आवश्यक छ भन्नेतर्फ त्यही असफल प्रयत्नबाट पाठ सिकेर आशावादी हुँदै अगाडि बढ्न सकिन्छ । मानवीय जीवनका भौतिक, बौद्धिक, भावनात्मक र आध्यात्मिक आयाममध्ये पछिल्ला दुई आयामहरूलाई समेत महत्व दिन सकेमा जीवन सन्तुलित बन्दछ । नियमित साधनाबाट कतिबेला मौन रहने, के कसरी अभिव्यक्ति दिने र सार्वजनिक रुपमा अभिव्यक्ति दिँदा विषयमा ख्याल गर्ने भन्ने समेत सिक्न सकिन्छ । 

    संस्कार र साधना
 व्यक्तिमा कहीँ जान वा कसैसँग बोल्न डराउने सानो कुरामा प्रतिक्रिया जनाउने बानी छभने बुझ्नुपर्दछ कि उक्त व्यक्तिसँग ऊर्जा कम छ । शक्ति बढाउनका लागि नयाँ ढङ्गले जिउन र साधना गर्न आवश्यक छ । प्रवचन वा सङ्गीतमार्फत ऊर्जायुक्त भावनाको तरङ्ग प्रवाह गर्दा पनि सत्सङ्गमा रहनेहरुमा ऊर्जा वृद्धि हुन्छ । त्यस्तै, प्रकृतिसँग रमाउने क्रियाकलापमा सरिक हुनु उपयुक्त हुन्छ । करेसाबारीमा काम गर्ने, खेतीपाती, पशुपालन, फलफूल खेती लगायतका विकल्पहरु पनि हामीसँग छन् । फुर्सदको समयमा कौसीखेती गरेरै पनि सहरका बासिन्दाले ताजा चीजबीज जुटाएका मात्र हुन्नन् कि आफूलाई समेत चुस्त राख्ने प्रयास गरेका हुन्छन् ।

वास्तवमा अल्छी गर्नु भनेको सुख पाउनु कदापि हैन र मेहनत गर्नु दुःख पनि होइन । संस्कृतमा भनिएको छ– आलस्यं हि मनुष्याणां शरीरस्थो महान् रिपुः । नास्त्युधमसमो बन्धुः कृत्वा यं नावसीरति । यसको अर्थ हुन्छ ‘आलस्य नै मनुष्यको महान् शत्रु हो । उद्यम बराबरको अरू मित्र छैन । मेहनत गरेर कसैले दुःख पाउँदैन ।’ त्यस्तै छिटोभन्दा छिटो धन कमाउने सबैलाई खुसी राख्ने र जुनसुकै माध्यमबाट भए पनि धनसम्पत्ति कमाउने इच्छा राख्नु उपयुक्त होइन । लोभ र मोहले राम्रो गर्न खोज्दा अप्ठेरोमा पार्न सक्छ । 

 अर्को एउटा श्लोक छ : लोभात् क्रोधः प्रभवति लोभात् कामः प्रजायते । लोभान् मोहश्च नाशश्च लोभः  पापस्य कारणम् । यसको अर्थ हुन्छ कि ‘लोभबाट क्रोध उत्पन्न हुन्छ लोभबाट पञ्चन्द्रीय सिर्जित विषय वासना जाग्दछ र मोहले नाश हुन थाल्दछ र लोभ नै पापको कारण बन्दछ ।’ त्यसैले पनि नागरिक तहसम्म नै असल जीवन प्रणाली र साधनाको सामूहिक वातावरण सिर्जना गर्नका लागि सबैको सहयोग र सहकार्य आवश्यक पर्ने देखिन्छ । भवतु सब्ब मङ्गलम् ।

(लेखक बाग्लुङका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ)
 


Author

थप समाचार
x