विचार

राउटे समुदायमा घुसेका ‘माफिया’लाई के गर्ने ?

दीपेन्द्रकुमार बीसी |
असार १८, २०७८ शुक्रबार ९:३४ बजे

कुनै पनि कुरा जबर्जस्ती परिवर्तन हुँदैन । दैलेखको गुराँस गाउँपालिकामा यतिबेला राउटे समुदायलाई स्वार्थको घेरामा हालेर परिवर्तनको कुरा गरिरहेको सुनिन्छ । यसमा सबैभन्दा चलबलाएका छन्- राउटे समुदायको नाममा राजनीति गर्ने जनप्रतिनिधिका साथै सक्रिय एनजीओ र आइएनजीओ । जो अभियन्ता र जनप्रतिनिधिका नाममा दलालीकरणलाई प्रश्रय दिँदै घुसेका छन् । 

वनको राजा भनेर चिनिने राउटे समुदाय प्रकृतिको रमणीयताबाट टाढा र आफ्नो स्वतन्त्रताबाट बन्धकी भएका छन् । उनीहरू कुरूप मानव संसारमा अपराध र यौन दुर्व्यवहार झेल्न पुगेका छन् । सायद उनीहरूलाई लाग्छ होला, स्थायी रूपमा गाउँ-सहरमा बस्नु भनेको अपराध झेल्नु हो । स्वार्थी हुनु हो । लालची हुनु हो ।  


२०७८ जेठ २३ गते बिहान एउटा घटना मिडियामा आयो । हेडलाइन थियोे, ‘राउटे समुदायका युवतीहरूमाथि यौन दुर्व्यवहार’ । प्रयोग गरिएको भिडियो र फोटो अत्यन्तै अश्लील थियो । जसमा युवतीहरूको अनुहार प्रस्ट देखिएको थियो । घटना सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भयो । एउटा अपराध सार्वजनिक गरेको मिडिया आफैँले अर्को अपराध गरिरहेको थियो । मिडियाले उनीहरूको मानव अधिकार उल्लङ्घन गरेको थियो । जिल्ला अदालत सुर्खेतले २०७८ जेठ २९ गते मिडिया र टिकटकबाट उक्त समाचार तथा भिडियो हटाउन आदेश दिएको थियो । 

घटनामा संलग्‍न तीनजना अपराधीलाई बलात्कारको अभियोगमा मुद्दा चलाइने भएको छ । राउटे समुदायले आफ्नो समुदायको कुनै पनि व्यक्ति अर्को समुदायसँग अनैतिक सम्बन्ध राखेमा उसलाई सजाय दिने कडा नियम छ । उनीहरूको कानुन कमजोर र कमसल छैन । अत्यन्तै कडा र कठोर छ । यौन दुर्व्यवहारको कुरा थाहा पाए माफ मिल्दैन । सिधै भाला, बसुलो, बन्चरो जस्ता घरेलु हातहतियार प्रयोग गर्न सक्छन् । 

अहिलेसम्म राउटे समुदायले यस घटनाबारे जानकारी पाएका छैनन् । हामीले यो घटना उनीहरूलाई जानकारी दिनुहुन्‍न । सकेसम्म मिडिया, सामाजिक सञ्जालमा प्रयोग गरिएको फोटो, भिडियो हटाएर सभ्य मानवको परिचय राख्नुपर्छ । एक त दुर्व्यवहार झेलेका युवतीहरूलाई न्याय दिलाउनुपर्ने छ भने अर्को उनीहरूकै समुदायबाट सुरक्षित गराउनु छ । 

राउटे समुदायका युवतीहरूले यो संकट झेल्न पुग्नुमा सबैभन्दा ठूलो हात चर्चा कमाउन खोज्ने अभियन्ता भनिने माफियाहरूको छ । सहयोगको नाममा सामाजिक सञ्जालमा फोटो अपलोड गर्नेहरूको छ । फिरन्ते समुदायलाई एउटै ठाउँमा बस्न दबाब दिने, राजनीतिक फाइदा हेरेर चुनावी मतको आशा गरेर उनीहरूलाई स्थानीय बासिन्दामा घोषित गर्ने पनि उत्तिकै दोषी छन् । 

गुराँस गाउँपालिका-५ मा बस्दै आएको समुदायलाई गुराँस गाउँपालिका-८ का स्थानीय भनेर घोषणा गरिएको थियो । राउटेको नाममा बजेट छुट्याएर आफूखुसी प्रयोग गर्ने स्थानीय सरकारका जनप्रतिनिधि र नेताहरू पनि उत्तिकै दोषी छन् । जसलाई मिडियामा आउने र चर्चा कमाउने हतारो छ । उनीहरूलाई फलो गर्दै सर्वसाधारण पनि राउटे समुदायमा पुगेर फोटो, भिडियो खेच्ने, टिकटक बनाउने, रक्सी, चुरोट, गुट्का आदि दिने गर्न थालेका छन् । यही संस्कार बढ्दै जाँदा अन्ततः दुर्व्यवहार झेल्न पुगे राउटे युवतीहरू । राउटे युवतीलाई प्रयोग गरी फोटो र टिकटक बनाउनेले लाइक र कमेन्ट पाए होलान् । तर, त्यसको बदला राउटे युवतीहरूले भने यौन दुर्व्यवहार पाए ।

राउटे समुदायलाई हाम्रो स्वार्थी दुनियाँको कुनै मतलब छैन । उनीहरूलाई टिकटक भिडियोबाट भाइरल बन्‍ने र चर्चा कमाउनेसँग कुनै सरोकार छैन । उनीहरूलाई हाम्रो सामाजिक, राजनीतिक, आर्थिक आदि गतिविधिमाथि कुनै मतलब छैन । तर, यहाँ उनीहरूलाई बेचेर डलर कमाउने काम भइरहेको छ । यो सबै दलाल पुँजीवादको दलदलमा परेर हो । प्रकृतिको सुन्दरतामा रमाएर, प्रकृतिलाई नै सर्वश्व ठानेर, दुःख-सुख गर्दै संघर्ष गरिरहेका राउटे समुदायमा दलालहरू सक्रिय भएर लागेका छन् । वनको स्वच्छ कन्दमुल खानेलाई बजारको म्याद नाघेको चाउचाउ खान सिकाउन थालेका छन् । वनको काठबाट सुन्दर कोसी (बाटा), मधुस बनाएर जीवनयापन  गर्नेलाई आज सडकमा रक्सी र सुर्ती माग्दै हिँड्ने बेरोजगार बनाइएको छ । यो कस्तो खालको परिवर्तन हो ? हो, उनीहरूको चेतनामा सुधार गर्नुछ । हो, उनीहरूको आनीबानी स्वस्थ बनाउनु छ । तर, उनीहरूलाई परिवर्तनको नाममा दलालीकरणको चपेटामा पारिएको छ ।

माफियाहरूलाई राउटेहरूको परिवर्तनको जिम्मा दिएर फोटो बेच्ने, टिकटक बनाउने अवसर दिनुभन्दा राज्यले विशेष रूपमा राउटे समुदायलाई बुझ्‍ने तथा निकट रहने व्यक्तिहरू खटाउनुपर्छ । जसका लागि सुदूरपश्चिममा रहेका शिक्षित राउटे युवकयुवतीहरू खटाउनुपर्छ । यसले उनीहरूलाई रोजगारीको अवसर पनि मिल्छ ।

हिजो राउटेसँग फोटो खिचेर लाइक-कमेन्ट पाउने अभियन्ताले नै आज ती समुदायका चेलीमाथि भएको दुर्व्यवहारको फोटो-भिडियो सेयर गरेका छन् । यसको अर्थ के हो भने अभियन्ताहरू राउटेसँग फोटो खिचेर मात्रै अभियन्ता भएका हुन् न कि राउटे समुदायलाई बुझेर । यसले राउटेलाई जंगली सोच्ने तर मानव नसोच्‍ने मनोभावनाको यथार्थ पुष्टि गर्छ । सामाजिक सञ्जालमा न्यायको आवाज उठ्नु राम्रो हो । तर, उनीहरूको संस्कार र नियम नबुझी मानवतालाई वहन नगरी त्यस्तो कार्य गर्नु गलत हो ।

नेपालको सुदूर-पश्चिममा बस्ने राउटे समुदाय कर्णालीका राउटे समुदायभन्दा चेतना स्तर र जीवनयापनको प्रक्रियामा धेरै माथि छन् । कर्णालीको दैलेख, सुर्खेत, सल्यान र जाजरकोटमा बस्दै आएको यो लोपोन्मुख जाति यी जिल्लाका धेरै ठाउँमा वर्षैपिच्छे बारम्बार बसाइँ सरिरहन्छन् । संघीयता कार्यान्वयन भएयता गुराँस गाउँपालिका-८ का स्थानीय बासिन्दाका रूपमा परिचय लगे पनि सुर्खेतको लेकबेँसी नगरपालिका, गुर्भाकोट नगरपालिका आदि ठाउँमा बसाइँ सर्छन् ।

कसैको मृत्यु भएमा, सिकार गर्न गएको राउटे नफर्केमा उनीहरू आफू बस्दै आएको ठाउँ छोडेर अन्तै सर्ने गर्छन् । स्थानीय, प्रदेश सरकारले राउटे समुदायप्रति केवल चर्चाका निम्ति चासो जनाएजस्तो गरे पनि नीतिगत रूपमा कुनै कुरा लागू गरेको छैन । केन्द्रीय सरकारको ध्यान अझै राउटे समुदायसम्म पुग्‍न सकेको छैन । यसबीच स्वदेशी तथा विदेशी माफियाले परिवर्तनको नाममा फोटो बेच्ने र विदेशी मुद्रा कमाउने मौका पाएका छन् । जेठ २२ गते सुर्खेतको गुर्भाकोटमा घटेको उक्त घटनापश्चात् जेठ २३ गतेदेखि नेपाल प्रहरीले गस्ती गरेर राउटे समुदायको सुरक्षा दिने र अरुलाई राउटे बस्तीमा प्रवेश गर्न नदिने निर्णय गरेको छ । सुरक्षालाई मध्यनजर गर्दा यो राम्रो पक्ष हो । यसको निरन्तरता हुनुपर्छ ।

तर, अरु समुदायबाट राउटे समुदायलाई एक्लै राखेर उनीहरूमा परिवर्तन आउन सक्दैन । उनीहरू जुन अवस्थामा छन्, त्यो अवस्थामा नै छोड्ने कि परिवर्तन गर्ने, यो मुख्य बहसको विषय बनेको छ । यदि जीवनशैली परिवर्तन गर्ने भए हाम्रो नजर, दृष्टिकोण र व्यवहार पनि परिवर्तन हुनुपर्छ । हामी शिक्षित मानिने समुदायमा बस्ने मान्छेहरूका क्रियाकलाप क्रुर र अपराधजनक, अशान्तिपूर्ण रहे उनीहरूले के सिको गर्लान् ? हामी शिक्षित समुदायले शिक्षित तथा सभ्य व्यवहार गर्नुपर्छ ।

हाम्रो व्यवहार उनीहरूले उदाहरणका रूपमा अनुसरण गर्ने खालको हुनुपर्छ । उनीहरूलाई हामीबीचमा घुलमिल र निकट बनाउने प्रयत्न गर्नुपर्छ । स्वस्थ, सभ्य तथा इमानदार बानी-व्यवहारको विकासमा निरन्तरता दिनुपर्छ । एकदिन साबुन बाँडेर नुहाउनु भन्‍ने अरु दिन बेवास्ता गर्ने गर्नु हुँदैन । माफियाहरूलाई राउटेहरूको परिवर्तनको जिम्मा दिएर फोटो बेच्‍ने, टिकटक बनाउने अवसर दिनुभन्दा राज्यले विशेष रूपमा राउटे समुदायलाई बुझ्ने तथा निकट रहने व्यक्तिहरू खटाउनुपर्छ । जसका लागि सुदूरपश्चिममा रहेका शिक्षित राउटे युवकयुवतीहरू खटाउनुपर्छ । यसले उनीहरूलाई रोजगारीको अवसर पनि मिल्छ । 

राउटे समुदाय जति बेलासम्म स्वतन्त्र थियो, त्यति बेलासम्म सुरक्षित नै थियो । जब माफियाहरू राउटे बस्तीमा घुसे, उनीहरूको दैनिकी परिवर्तन भयो । यौन हिंसा तथा दुर्व्यवहार झेल्नुपर्ने स्थिति निम्तियो । यो सम्पूर्ण कुराको समीक्षा हुनु जरुरी छ । पहिले राउटेहरू आफूले बनाएका काठका सामग्री लिएर गाउँलेहरूसँग अन्‍नमा साट्न आएको देखिन्थ्यो । अहिले तिनै राउटे वीरेन्द्रनगरका सडकमा बेरोजगार भएर सुर्ती, रक्सी मागेर भौँतारिएको देखिन्छ । 
परिवर्तनको नाममा माफियाहरूले उनीहरूको कला र सीपलाई भुलाइदिएका छन् । यसतर्फ सरकारको गम्भीर ध्यान जानुपर्छ । उनीहरूको सेवा-सुविधाको प्रबन्ध र कलालाई व्यावसायिक तथा आधुनिकीकरणतर्फ उन्मुख गराउनुपर्छ । केन्द्रीय सरकारले प्रत्येक राउटे समुदायको नागरिकलाई तीन हजार र कर्णाली प्रदेश सरकारले दुई हजार भत्ता गरी पाँच हजार दिँदै आएको छ । तर, यसको प्रयोग राउटे समुदायले केमा गरिरहेका छन्, निगरानी हुनुपर्छ ।

राउटे समुदायलाई निःशुल्क स्वस्थ खाना, सुरक्षित बासस्थान, आवश्यक शिक्षा, स्वास्थ्य उपचारको व्यवस्थापन, कला र सीपको विकास आदिमा सरकारको ध्यान जानुपर्छ । संघ-संस्थाहरू जसको उद्देश्य पैसा कमाउनु छ, त्यस्ता संघसंस्थालाई राउटे समुदायमा पस्न निषेध गरिनु आवश्यक छ । निश्चित मापदण्ड तयार पारेर मात्र उक्त समुदायसँग सम्बन्धित संघ-संस्थालाई काम गर्न दिनुपर्छ । माफियाहरूबाट राउटे समुदायलाई सुरक्षित राख्नु आजको जरुरी आवश्यकता हो ।


Author

थप समाचार
x