के दलितमाथि भएको व्यवहारमा माफी मागेर हामी साँच्चिकै वीर बन्न सक्छौं ?
सामाजिक सञ्जाल फेसबुक, ट्विटर, युट्युब र टिकटकसम्म जताततै चर्चा भइरहेको रूपा सुनारमाथिको जातीय विभेदको घटनामा सुनारको पक्षमा बोल्ने र लेख्नेहरू धेरैका लागि अपाच्य भएका छन् । उनीहरूले लेखेका बोलेका शब्दहरूले धेरैलाई पोलेको छ । धेरै जना साथीहरूले मलाई पनि भेटमा अथवा फोनमा सुझाव दिँदै भनेका छन् ‘आफ्नो करिअरमा फोकस गर, जातीय विभेदका घटनालाई धेरै प्राथमिकता नदेऊ है ।’ उनीहरूको सुझाव मलाई पनि मन पर्यो । मलाई माया गरेर दिइएका सुझावलाई किन नकार्ने ? स्वीकार गर्न तयार छु । तर साथीहरू तपाईंहरूले मेरो करिअर सुरक्षित चाहिँ कहाँ देख्नु भएको छ ?
अहिले त ठीकै छ । २०६२/०६३ को जनआन्दोलनको धङधङी छ । जातीय विभेद कमै मात्रामा भइरहेको छ । अझ जनआन्दोलनको ‘पेरिफेरी’मा योभन्दा कम थियो । अर्थात् शून्य प्राय नै भने पनि हुन्छ । तर पछिल्लो समय विभेदका घटना बढ्दै गएका छन् । यसमा तपाईंले आँखा चिम्लिए पनि मलाई मौन बस्ने छुट छैन् । आफैँ पनि पटक-पटक विभेदको सिकार भइरहेको छु । अनि तपाईंको सुझावलाई मैले कसरी कार्यान्वयन गर्नु ?
बरु साथीहरू तपाईंले गर्नै पर्ने एउटा काम छ ‘आफ्ना पुर्खाको गल्तिमा माफी माग्नुस् । र, विभेद गर्नेलाई पनि माफी माग्न सिकाउनुस् ।' विडम्बना तर तपाईंहरूको संस्कारमा माफी माग्ने चलन छैन । माफी माग्न सक्नुहुन्न । दलित समुदायमा एक दुई जनाले सामान्य अध्ययन गरेर आवाज उठाइरहेका छन् । उनीहरूको आवाज बन्द गरे तपाईंको जित हुन्छ । तर ममाथि हुने विभेदको त अन्त्य हुँदैन नी ! हुन्छ र ?
राज्यद्वारा संरक्षित विभेद
मेरो साथीहरूले हटिसक्यो भनेको विभेद सायद समाजमा व्याप्त नभएको भए राज्यसत्ता यसरी दलितविरुद्ध खनिँदैथ्यो । रूपा सुनारमाथि जातीय विभेद हुँदा संविधान र कानुनको धज्जी उडाउँदै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पीडक सरस्वती प्रधानलाई फिर्ता ल्याउन नेपाली झण्डासहितको गाडीमा प्रहरी चौकी पुगे । उनले यो घटनालाई चुनावी मसला बनाउनका लागि मात्रै त्यतिसम्म गरेका होइनन् । किनकि जातीय विभेदको घटना सरकारी मुद्दा हो । जसले मुद्दा लड्नु पथ्र्यो, उही पीडकको संरक्षणमा उत्रिएपछि अदालत पनि सत्ताको छायाँमा पर्नसक्छ ।
राज्यले विभेदलाई संरक्षण गरिरहेको उदाहरण यो मात्र होइन् । यसअघि पश्चिम रुकुममा नवराज विकसहित ६ जनाको सामूहिक नरसंहारबारे जनयुद्ध लडेर सत्तामा पुगेका रामबहादुर थापाले अमेरिकामा पनि विभेद हुन्छ भन्दै सामान्यीकरण गरेका थिए । प्रतिफल अझै ती ६ जनाले न्याय पाएका छैनन् ।
उक्त क्षेत्रका सांसद एवम् पूर्व गृहमन्त्री जनार्दन शर्माले उनको बचाऊ गर्दै ‘११ जनाले भेरी नदीमा हाम फालेको, ५ जना पौडी खेलेर तैरिएको र ३ जनाको शव भेटिएको ३ जना बेपत्ता’ भन्दै संसदमा बोलेका थिए । यी सत्ताका प्रतिनिधी पात्र मात्र हुन् । उनीहरूले गरेको व्यवहार वास्तविक सत्ताको ऐना हो ।
यसले पनि स्पष्ट हुन्छ कि हाम्रो समाजमा जात व्यवस्थाले कसरी जरा गाडेर बसेको छ ? र यसको संरक्षण अरु कसैले हैन सत्ता स्वयंले गरिरहेको छ । साथीहरू अब मै सुध्रिनु पर्ने किन ? सत्ता र तपाईंको सोच सुधार गर्न पर्दैन् ? शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले अपराध गरेका छन् । र यस्तै गल्तिहरू त्यसअघि पनि हुँदै आएका छन् । अझै उनले माफी मागेका छैनन् ।
पश्चिमा संस्कृति
अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोयडलाई श्वेत जातिका प्रहरी अधिकृत डेरेक सावबिनले घुँडाले कुल्चिएर हत्या गरेपछि सिंगो अमेरिकाले माफी माग्यो । अहिले पनि माग्दै छ । फ्लोयडको हत्याको एक वर्ष २०२१ मे २५ मा पूरा भयो । त्यसदिन उनको हत्या गरिएको स्थान मिनेसोटामा धेरै मान्छे भेला भएर घुँडा टेकेर नौ मिनेट मौन बस्दै माफी मागेका थिए । भेलामा मृतक फ्लोयडको परिवारको पनि सहभागिता थियो ।
यसको संरक्षण अरु कसैले हैन सत्ता स्वयंले गरिरहेको छ । साथीहरू अब मै सुध्रिनु पर्ने किन ? सत्ता र तपाईंको सोच सुधार गर्न पर्दैन् ?
माफी अमेरिकी समाजको राष्ट्रिय चरित्रको अभिव्यक्ति हो । उनीहरूले आफ्नो गल्तिमा माफी माग्नुपर्छ भन्ने सन्देश दिइरहेको थिए । १९९४ मा नेपोलियनको समाधिमा पुष्पाञ्जली अर्पण गर्ने कुराबाट उठेको विवादपश्चात् रुवान्डामा नरसंहार मच्चियो । जसमा नौ लाख मानिस मारिए । उक्त नरसंहारमा फ्रान्सको भूमिकालाई लिएर प्रधानमन्त्री एम्मानुएल माइक्राले पनि माफी मागेका थिए ।
जर्मनीका औपनिवेशिक शक्तिहरूले १९०४ देखि १९०८ को बीचमा तत्कालीन दक्षिण-पश्चिम अफ्रिका (हालको नामिबिया)मा त्यहाँका ‘हेरेरा नामा’ जातिका मानिसहरूलाई यातना दिएर करिब ७५ हजारको हत्या गर्नुका साथै धेरै मान्छेहरूलाई शिविरमा पुर्याई दिएका थिए ।
त्यो नरसंहारको सय वर्ष बितिसकेपछि जर्मनीले आफ्नो देशको यो गल्ति स्वीकार गर्दै माफी मागेको छ । साथै पीडितको सन्तानको विकासका लागि यसको क्षतिपूर्तिका लागि एक अर्ब डलर खर्च गर्ने घोषणा गरेको छ । यीमाथिका समाचार हाम्रो बौद्धिक वर्गले राम्ररी पढेका छन् । त्यहाँका धर्मगुरुले समेत धर्मका कारण भोगेका विभेदबारे माफी मागेका धेरै समाचारहरू सञ्चार माध्यममा आइरहेकै हुन्छन् । यसले स्पष्ट के हुन्छ भने पश्चिममा समाजमा माफी माग्ने, पाप स्वीकार गर्ने, माफ गर्ने, स्वतन्त्रतापूर्वक गल्ती स्वीकार गर्ने र गल्ती सुधार गर्ने उत्कृष्ट गुण देखिन्छ । तर संसारको सबैभन्दा सहिष्णु र क्षमाशील भनिएको हाम्रो देश सीमान्तमाथि दमन गर्न लागिपरेको पाइन्छ ।
सबैभन्दा सहिष्णु र क्षमाशील भनिएको देशको सनातनी सवर्ण हिन्दु संस्कतिमा समेत कहीँ कतै माफी माग्ने परम्परा नै देखिँदैन् । यहाँका उपल्लो जातिका भनिएका मानिसहरूले कालान्तरमा भएका दमन र नरसंहारबारे कहिल्यै माफी माग्ने आँट गरेका छैनन् । २१ औँ शताब्दीमा पनि जारी दमन, विभेद, हिंसा र नरसंहारबारे माफी मागेका छैनन् । सोही संस्कृतिका उत्तराधिकारी मेरा साथीहरू अझै लज्जा महसुस गरिरहेका छ्रैनन् । उनीहरूमा कथित साना जातिमाथिको दमनलाई आफ्नो अधिकारको रूपमा प्रयोग गर्न पाउनुपर्ने हुङ्कार छ ।
यदि उनीहरू साँच्चिकै सहिष्णु नै हुन्, विवेकी छन् भने आफ्नो वैदिक संस्कृतिमाथि किन प्रश्न गर्दैनन् ? त्यस संस्कृतिका गलत विषयलाई सुधार गर्ने सुझाव किन दिदैँनन् ? मेरा यी प्रश्नमाथि हमला गर्न संस्कृतिको झण्डा बोकेका व्यक्तिहरू सिद्धान्तका धेरै उदाहरणहरू खोजी-खोजी प्रस्तुत गर्छन् । उनीहरूकै उदाहरणमा पनि माफी माग्ने नै महान् हो भने भाव छचल्किन्छ ।
साथीहरू तपाईंका पुर्खाहरूले छूवाछूत र भेदभाव जस्तो अमानवीय प्रणाली स्थापना गरेका थिए । तर उनीहरूले त्यसलाई कहिल्यै गलत हो भनी बोल्ने हिम्मत गरेनन् । तपाईंलाई पनि सिकाएनन् । तपाईंहरू पनि त्यही बाटोमा लाग्नुभएको छ । जातीय विभेदको कु-संस्कारलाई गलत हो भन्नुको साटो तिनै पुर्खालाई देखाएर आफूलाई पानीमाथिको ओभानो देखाउन तल्लीन हुनुहुन्छ । जसका पूर्वजले अमानवीय जातीय विभेदलाई कानुन नै बनाएर कार्यान्वयन गरेका थिए, त्यो संस्कृतिको जगेर्ना गर्नु के सभ्य समाजको उदाहरण हो ?
जातीय विभेदका धेरै प्रसंगमा त्यो मेरो वृद्ध आमाबुवा, हजुरआमा, हजुरबुवाका कारणले मात्रै घरमा मान्छु भनेर जोगाउँदै जवानीमा स्वाङ पार्ने तर बुढेसकालमा आफ्ना सन्ततीलाई सिकाइ जाने र स्वयंलाई उच्च जातिको व्यक्ति बताउँदै हिड्नुलाई विभेद अन्त्यको प्रयत्न मान्न सकिन्न । ठूलो जात र सानो जातलाई धार्मिक सौन्दर्य मान्ने र वर्णव्यवस्थाको निर्माण गर्नु के महान कार्य थियो/हो ? जातिलाई उप-जातिमा विभाजित गरी माथिल्लो र तल्लो दर्जा दिनु कुनै सभ्य र सुसंस्कृत समाजको परिचय हो ?
माफी माग्नु धेरै धर्म, समाज र संस्कृतिभित्र शब्द मात्र होइन्, जीवनको आचरण पनि हो । यहाँको वैदिक ब्राह्मण धर्म, संस्कृति र धार्मिक ग्रन्थहरूमा कमजोर र पराजित समूहप्रति दया वा क्रुरता देखाऊ भनिएको छ ? के त्यो क्रुरतापछि पनि गल्ति स्वीकार गरियो ? म सामाजिक सञ्जाल हेर्दै थिएँ ।
त्यहाँ व्यापक झगडा हुँदै रहेछ कमेन्टमा एकजना ब्राह्मण समुदायका व्यक्तिले लेखेका रहेछन्-‘वैदिक हिंसा, हिंसा न भवति’ (अर्थात् ‘यज्ञमा पशुको बलि दिनु वेदोक्त हो, यसकारण यसमा कुनै दोष हुँदैन ) को सिद्धान्तअनुसार अन्य प्रजातिलाई पनि क्रुर यातना दिइयो । र, उनीहरूको हत्यालाई वधको रूपमा महिमा मण्डित गरियो । इतिहासका लाखौँ चरित्रहरू आज पनि छन् । जोसँग गरिएको अमानवीय हिंसाको पराकाष्ठा मात्रै होइन हृदयस्पर्शी कहानी छन् । तर जसले यस खालको क्रुरता गरे, उनीहरू महानायक, अवतार र देवताहरू मानिन्थ्यो । आज उनीहरूको पूजा गरिन्छ ।
पराजितहरूका गाथा किन पढ्न पाइँदैन् ? यो प्रमुख प्रश्न हो । रामायणमा शम्बुकको टाउको किन काटिएको थियो र एकलव्यको औँला गुरु दक्षिणामा लिने द्रोणको छलछामबारे कहिलै आदिवासी समाजसँग माफी मागिएला ? के होलिका दहनका लागि कहिल्यै माफी मागियो ? के अहिले पनि हरेक वर्ष रावणको दहनको तमासा आवश्यक छ ? के बुद्ध जन्मिएकै देशबाट धम्मलाई नष्ट गर्ने कार्य गरेको आरोपमा दोषी ठहरिएका वंशज, पुर्खाहरूहरूको कुकर्मबाट लज्जित छन् ? माफी माग्नुको सट्टा उनीहरू अझै दमनकै बाटोमा अगाडि बढिरहेका छन् ।
सुरुवातमा केही जातिगत समूहलाई खानाका लागि गोरु काटेर खाने कानुनी व्यवस्था गरियो । त्यो सयौँ वर्षसम्म चल्यो । अहिले उनीहरू गोरु काटेकै कारण पक्राऊ पर्छन् । उनीहरूलाई सशक्त कारबाही गरिन्छ । तर धर्मको हवाला दिएर मच्चाइने नरसंहार छुट छ । किन यस्तो ? कानुन बनाएर र किताब लेखेर नेपालका उच्च जातिहरूले आफ्ना धर्म ग्रन्थहरू र स्मृतिहरूमा स्त्री वा दलित जातिबारे लेखिएका अपमानजनक किस्सा र विषमतामूलक संहिताबारे हालसम्म किन चासो राखिएन ? आफूलाई सहिष्णु समाज भन्ने सनातनी के वास्तवमा सहिष्णु थिए/छन् ? यदि उनीहरू सहिष्णु थिए भने कसका लागि थिए ? उनीहरू आज पनि सहिष्णु छैनन् । त्यस्तो समुदायलाई कसरी सहिष्णु भन्ने ?
गत हप्ता शिक्षमन्त्री कृष्णगोपाल श्रेष्ठले मानवअधिकार आयोगमा पुगेर माफी मागेको अफवाह बाहिरिएको थियो । मानवअधिकार आयोगले शिक्षामन्त्री श्रेष्ठलाई बोलाएर माफी माग्न लगाएको भ्रामक सूचना छ्यापछ्याप्ती थियो । तर उनले माफी मागेको भोलिपल्ट पीडक सरस्वती प्रधानले आयोगमा मानवअधिकार हननको उजुरी दिनु र आयोगले पीडकलाई बल पुग्ने गरी विज्ञप्ति जारी गर्नुले के स्पष्ट हुन्छ भने उनी आयोगलाई दबाब दिन कार्यालय पुगेका थिए ।
रामायणमा शम्बुकको टाउको किन काटिएको थियो र एकलव्यको औँला गुरु दक्षिणामा लिने द्रोणको छलछामबारे कहिलै आदिवासी समाजसँग माफी मागिएला ?
यसअघि १९८४ मा भारतमा पनि तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले स्वर्ण मन्दिरमा सेना पठाएर गोली चलाएको सन्दर्भमा गल्ति स्वीकार गर्दै शिख समुदायसँग माफी मागेको भ्रम छरिएको थियो । त्यसबेला उनले माफी मागेकी थिइन् भने भारतमा अझै अछूत र हिन्दुबाहेकका धर्ममा आस्था राख्नेहरू किन पीडित छन् ? गान्धी परिवारले स्थापित गरेको धर्मलाई अंगीकार गर्नेहरूले गान्धी परिवारले नै सिकाएको माफी माग्ने परम्परा किन उपयोग गरेका छैनन् ?
हत्या हिंसा इतिहास होइन
जातीय वा धर्मका आधारमा गरिएका नरसंहारलाई धेरैले इतिहास भनेका छन् । वास्तवमा यो ऐतिहासिक भूल हो । यसलाई सुधार गर्नु जरुरी छ । तर यहाँ सुधारको साटो त्यसलाई संस्कार, संस्कृति र इतिहास भनेर मान्न तयार छन् । यदि उपल्लो जाति/समुदायले माफी माग्न सक्ने क्षमता विकास गर्यो भने उनीहरूले धेरै विषयमा माफी माग्नुपर्छ ।
उनीहरूको क्षमायाचना र गल्ति स्विकारोक्तिले नेपाल साँच्चिकै संवेदनशील राष्ट्र बन्न सक्छ । देशलाई शान्तिपूर्ण सभ्य बनाउनका लागि रामायण, महाभारत जस्ता कथा संग्रहका धेरै कथित रीतिरिवाजहरू भुल्न सक्ने आँट चाहिन्छ । त्यो वर्तमान समुदायले गर्नसक्नु पर्छ । विश्वभर त्यसको अभ्यास हुँदै आएको छ । यहाँ माफीलाई वीरहरूको गहना भनिएको छ । तर माफी माग्ने चलन छैन । बरु हिंसालाई धार्मिक रंग दिएर दोहोरो चरित्र देखाइन्छ । कथित उपल्लो जातिले दोहोर्याउँदै आएका गल्तिमाथि पर्दा हाल्न धर्मकै सहारा लिएको पाइन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया