कांग्रेस सच्चिएला त ?
कोभिड-१९ को महामारी तथा बाढी–पहिरोको विपद्बीच नेपाली कांग्रेसले आफ्नो १४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । नेपालको संविधानको धारा २६९ अनुसार राजनैतिक दलहरूले प्रत्येक पाँच÷पाँच वर्षमा सङ्घीय र प्रदेश तहका पदाधिकारीको निर्वाचन सम्पन्न गर्नुपर्दछ । कांग्रेसले १३ औँ महाधिवेशन सम्पन्न भएको पाँच वर्ष चार महिनापछि १४ औँ महाधिवेशन गर्ने घोषणा गरेको हो । यो कांग्रेसका लागि बाध्यात्मक अवस्था हो ।
कार्यकाल सकिएपछि थप गरिएको समय पनि सकिएकाले यस्तो विपद्बीच टोल, वडा, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशन जबर्जस्त रूपमा गर्न लागिएको हो । कोरोनाको भय र त्रास कायमै छ । अर्कोतर्फ बल्लबल्ल हुन लागेको महाधिवेशनले पनि कांग्रेस जनलाई तताएको छ । नेपाली कांग्रेसका आम कार्यकर्ता, मतदाता, क्रियाशील सदस्य तथा अन्य सरोकारवाला समेतको ध्यान कांग्रेसको महाधिवेशनतिर तानिएको छ ।
नेपालमा लोकतन्त्रको अभ्यास अवरुद्ध भएको अवस्थामा लोकतान्त्रिक भनिएको पार्टीको अधिवेशनप्रति सबैको चासो हुनु स्वाभाविक नै हो । अर्कोतर्फ मुलुक सङ्घीय प्रणालीमा गएको, झण्डै दुई तिहाइ सिट जितेर सत्ता सम्हालेको कम्युनिस्ट पार्टीबीच भएको अन्तर्कलह र विभाजन एवं वर्तमान केपी ओली सरकारले लोकतान्त्रिक परिपाटीमाथि गरेको नाङ्गो हस्तक्षेपविरुद्ध आम नागरिकलाई सुसूचित बनाउने अवसर समेत कांग्रेसले पाएको छ ।
वर्तमान सरकारले सङ्घीयताको भावना र मर्मविपरीत संसद् विघटन गर्ने, अन्य राजनैतिक दलभित्रको चलखेल गर्ने, अक्षमहरूलाई सरकारी जिम्मेवारीमा पुर्याउन जथाभावी नीति, नियम र निर्देशिका संशोधन गर्ने, जथाभावी नियुक्त गर्ने, संवैधानिक आयोगमा विवादास्पद मनोनयन गर्ने, सङ्घीय प्रणालीलाई संस्थागत हुन नदिन सरकारी निकायहरूलाई जिम्मेवारविहीन बनाउने जस्ता कार्य गरेको छ । वर्तमान कम्युनिस्ट पार्टी नेतृत्वको सरकार नैतिक तथा कानुनी हिसाबले अत्यन्त कमजोर बनेको छ । यस्तो बेला कांग्रेसले कोभिड पुनःस्थापना तथा बाढी–पहिरो प्रभावितको उचित प्रबन्धसहित समावेशी लोकतन्त्रको सुदृढीकरण गर्न एवं सङ्घीयताको कार्यान्वयनमा स्पष्ट दृष्टिकोण र पोजिसन सार्वजनिक गर्नुपर्छ ।
कोभिड–१९ तथा विपद् व्यवस्थापनमा प्रभावकारी बन्न नसकेको तथा भ्रष्टाचार बढ्दै गएको बेला आफ्नो वैकल्पिक रोडम्यापसहित कांग्रेस महाधिवेशनले नयाँ राजनैतिक सन्देश दिन सक्नुपर्दछ । यस्तो विकल्प जसले कांग्रेसको लोकतान्त्रिक समाजवादको समयसापेक्ष परिभाषा र अभ्यास गर्न सकोस् । कांग्रेस भुइँतहका मानिसको साथी हो भन्ने कुरा चिन्ने मौका हो । दलित, जनजाति, मधेसी तथा सीमान्तीकृत वर्ग र समुदायको पक्षमा उभिने मौकाको कांग्रेसले उपयोग गर्न सक्नुपर्दछ । नेपाली कांग्रेसले आफूलाई लागेको दोष हटाउन पनि यो अधिवेशन राम्रो अवसर बन्नेछ ।
नेपाली कांग्रेसले विसं २०१५ को आमनिर्वाचनको घोषणा–पत्रमा आफूलाई परिवर्तनको असल पार्टीको रूपमा खडा गरेको थियो । त्यो घोषणा–पत्र तथा बीपीको समाजवादलाई व्यवहारमा उतार्न कांग्रेस असफल भयो । आर्थिक उदारीकरण र विश्वव्यापीकरणसँगै कांग्रेसले पनि विकासको नाममा सबै मूल्य र मान्यता त्याग्यो । त्यसको फलस्वरूप केही भौतिक विकासमा सफलता प्राप्त गरेको देखिए पनि सामाजिक मूल्य, मान्यता, कमजोर वर्ग र समुदायको उन्नति र वातावरणीय विनाश कम गर्न उचित ध्यान दिन सकेन । यसले नेपाली समाजको स्वालम्बन विस्तारै परनिर्भरताउन्मुख रहेको छ ।
भौतिक निर्माण ठूला घर, सहर, बाटो नै विकास हो भन्ने भाष्यलाई परिवर्तन गरेर परम्परागत ज्ञान, सामाजिक दर्शन, मानव प्रकृति सम्बन्ध आदि विषयलाई एजेन्डा बनाएर कांग्रेसले अगाडि बढ्न सक्नुपर्दछ । विकासको नाममा सबै कुरालाई व्यापारीकरण गर्ने र कमजोर वर्ग माथि हुने शोषणको अन्त्य गर्न कांगेसले वैचारिक दृष्टिकोण स्पष्ट पार्नुपर्छ । कांग्रेसको सदस्य ठेकेदारको वा कुनै व्यापारीको पैसाबाट होइन, पार्टीभित्र पुर्याएको लगानीबाट प्राप्त गर्ने पद्धतिको विकास गर्नुपर्दछ । व्यापारी, ठेकेदार र अपराधिक समूहबाट कांग्रेसलाई जोगाउन कांग्रेसको आम सुदृढीकरण र रूपान्तरण आवश्यक छ ।
लोकतान्त्रिक समाजवाद लोक अर्थात् आम नागरिकको हित गर्ने परिपाटी हो । आम नागरिक भन्नेबित्तिकै औसत मानिसभन्दा कमजोर वर्ग र समुदाय पर्दछ । आम नागरिक जसको सार्वजनिक सेवा र स्रोतमा पहुँच छैन । ती वर्ग र समुदायको हक र हितमा काम गर्ने परिपाटीलाई आफ्नो सिद्धान्त मान्ने कांग्रेसले यस विषयमा आफ्नो ठोस नीति तर्जुमा गर्नु पर्दछ । खुल्लाबजार, कर्पोरेट एवं दलाल पुँजीवादको दबाबलाई रणनैतिक ढङ्गबाट परास्त गर्न कांग्रेसले आफ्नो कार्यदिशामा परिमार्जन गर्नुपर्दछ । यो काम सजिलो छैन किन कि कांग्रेस पार्टीभित्र मौलाउँदै आएको दलाल पुँजीवादी सोच र संस्कारले लोकतान्त्रिक समाजवादको गन्तव्यमा कांग्रेसलाई पुर्याउन गाह्रो छ ।
पार्टीको सदस्यता र जिम्मेवारी दिँदा योग्यता र क्षमतालाई कदर नगरी आफ्नो गुटको भए पुग्ने मानसिकता कायमै छ ।
जननायक विश्वेश्वरप्रसाद कोइरालाले यस्तो अवस्थाको परिकल्पना गर्दै भन्नुभएको थियो- पार्टीभित्र कुनै बेला सुकिलामुकिलाको हाबी हुनेछ । त्यस बेला कांग्रेसका कार्यकर्ताले थप सङ्घर्ष गर्नुपर्नेछ । आज त्यो बेला आएको छ । कांग्रेसको दृष्टिकोणलाई मनोमानी व्याख्या गर्ने दलाल पुँजीवादी शैली र कार्य गर्नेहरूबाट कांगे्रसलाई सही मार्गमा ल्याउन आवश्यक छ । लोकतन्त्र, विधिको शासन तथा राष्ट्रियताको जगेर्ना गर्न कांग्रेसको विकल्प हाललाई कुनै पनि पार्टीले दिन सकेका छैनन् । त्यसैले कांगे्रसले आफूले बिगारेको इतिहास सच्याउँदै नयाँ वर्तमान कायम गर्ने थप मौका पाएको छ ।
कांग्रेसको महाधिवेशनको मुख्य जिम्मेवारी नेतृत्व परिवर्तन गर्ने पनि हो । कांग्रेसको संशोधित विधानअनुसार टोल समितिदेखि केन्द्रीय समितिसम्म आठ तहको कार्यकारी समितिको व्यवस्था गरेको छ । धेरै कार्यकर्तालाई पद र जिम्मेवारी दिन त्यो संरचना उपयोगी होला । तर यिनीहरूको भूमिका कति प्रभावकारी होला भन्ने प्रश्न बाँकी नै छ । कांग्रेसलाई बूढापाकाले कब्जा गरेको पार्टीका रूपमा आरोप लगाइन्छ । त्यसैले यो आरोपको जवाफ कांग्रेसले महाधिवेशनबाट युवा पुस्तालाई जिम्मेवारीमा ल्याउने प्रण गर्नुपर्दछ । बूढा नेताहरूले सम्मानपूर्वक नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्दछ ।
कांग्रेसको नव युवालाई पार्टीमा सम्भावनाको ढोका खोलिदिनु पर्दछ । २०/२५ वर्षदेखि एउटै अनुहार विभिन्न मुख्य पदमा घुमिरहँदा युवा पुस्ताले कसरी अवसर पाउने ? किन कांग्रेसमा सक्रिय रहने ? कांग्रेसको नेतृत्व परिवर्तन भएको हेर्न र महसुस गर्न चाहने धेरै छन् । कांग्रेसका २–४ जना नेताहरूसँगै चिया नास्ता गरेको फोटो सार्वजनिक हँुदा रमाउने कांग्रेसको कमी छैन । तर पार्टी र सदस्यता कति समावेशीय छ ? कति नेता र नेतृत्व प्रतिस्पर्धा रुचाउने खालका छन् ? पार्टीको सदस्यता र जिम्मेवारी दिँदा योग्यता र क्षमतालाई कदर नगरी आफ्नो गुटको भए पुग्ने मानसिकता कायमै छ । पदमा पुग्दा अन्धाधुन्द मनोनयन गर्ने, औचित्यविहीन संरचना र नीतिको खोस्टो बाँड्ने प्रचलनले कांग्रेसको नेतृत्वप्रति आशा गर्न निकै गाह्रो छ ।
नेपाली कांग्रेसका आठवटै तहलाई क्रियाशील बनाउन कांग्रेससँग स्पष्ट नीति र कार्यक्रम आवश्यक छ । अन्यथा बिनाकामको संरचना प्रभावकारी बन्दैनन् र त्यहीँबाट वितृष्णा जन्मन्छ । कांगे्रसको महाधिवेशनले सबै तहअन्तर्गतका समितिको लागि अल्पकालीन र दीर्घकालीन कार्यक्रम तय गर्नु पर्दछ । यस्ता नीति र कार्यक्रमलाई प्रकाशन गर्ने र अधिवेशनमार्फत प्रशिक्षित गर्नुपर्दछ । यस्तो नीति र कार्यक्रममा मुख्यतः दुई खालका विषय समेट्न सकिन्छ । प्रथमतः आमनागरिकको जीवनमा उपयोग हुने अर्थात् व्यक्तिको आयआर्जन गर्ने विषय र अर्को पार्टीको संगठनात्मक भूमिका ।
यी दुई खाले विषयअन्तर्गत विभिन्न योजना समावेश गरी पार्टीभित्र नयाँ रक्त सञ्चार गर्नुपर्दछ । यस्तो विषयले कांग्रेसप्रति आम समुदायको आकर्षण बढ्न जान्छ । आबद्ध पार्टी सदस्यहरूले पनि जिम्मेवारी बोध गर्नेछन् । अर्कोतर्फ कांग्रेसभित्र विकास हुन नसकेको पद्धति निर्माणमा पनि साङ्गठनिक सबलीकरणको योजनाले स्पष्ट मार्ग दिनेछ । कांग्रेसको टोल समितिदेखि केन्द्रीय समितिसम्मको संरचनालाई चलायमान गर्न यसको नेतृत्वमा पनि त्यहीअनुसारको इच्छा, क्षमता र दक्षताको आवश्यकता पर्छ । यो इच्छा र क्षमता विकासका लागि नेतृत्व चयनका लागि पनि आम कांग्रेसजनले ध्यान दिने नै छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया