विचार

संसदीय संवाददाता डायरी-३

यता सिंहदरबारबाहिर छत्तीसे कुरेको कुर्‍यै, उता प्रतिनिधि सभा विघटन

हरिबहादुर थापा |
असार २२, २०७८ मंगलबार ७:१९ बजे

यो पंक्तिकार संसदीय बिटमा लामै समय संलग्‍न भयो । रिपोर्टिङका क्रममा देखे(सुने-भोगेका विषयलाई डायरीमा टिपोट गर्ने आदतअनुसार ती डायरीका पाना पल्टाउँदै जाँदा केही यस्ता विषय फेला परे, जुन समाचारको फ्रेमभन्दा फरक थिए । यहाँ यस शृंखलामा संसद्सँग जोडिएका केही रोचक प्रसंग, केही नेपथ्यका घटना प्रस्तुत गरिनेछ ।  

२०५१ असार २६ । मतदानकै दिन सदनमा सत्तापक्षीय सांसद बस्ने कुर्सी भरिभराउ थिएनन् । त्यसरी सत्ता पक्षको कुर्सी खाली हुनुले संकेत गथ्र्यो, राजनीतिक दुर्घटना  निश्चितप्रायः छ । तर पनि मतदान हुँदाका क्षणसम्म कुर्सी भरिन्छन् कि भन्‍ने कौतूहल थियो । तर, त्यसो भएन । दुर्भाग्यवश सत्तारूढ कुर्सी खाली हुँदाहुँदै संसद् मतदानमा गयो । 


त्यो दिन प्रतिनिधि सभाको कार्यसूची थियो, ‘सरकारको नीति तथा कार्यक्रमका लागि मौसुफका जुनाफमा धन्यवाद चढाउन पेस गरिएको धन्यवादको प्रस्ताव स्वीकृत’ गर्ने । त्यसमा सांसदले उठाएका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिएपछि मतदानको प्रक्रिया सुरु हुन्थ्यो । राजाले संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेपछि ‘धन्यवाद प्रस्ताव’ पारित गर्ने संसदीय परम्परा थियो ।

कांग्रेसभित्र ‘अन्तर्घात प्रकरण’सँगै विद्रोही-छत्तीसे जन्मिइसकेका थिए । तिनीहरू ‘मरता क्या नहीं करता’को स्थितिमा थिए । अनि ‘दम्भ-तुजुक’ले भरिएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई जसरी पनि ‘झुकाउने’ योजनामा पनि । यहाँसम्म कि छत्तीसे समूहले कोइरालालाई ‘सामाजिक बहिष्कार’को घोषणासमेत गरेका थिए ।

सदनभित्रका धेरैलाई लागेको थियो, सत्तापक्षीय कुर्सी खाली हुँदाहुँदै ‘धन्यवाद प्रस्ताव’ निर्णयार्थ प्रस्तुत हुनेछैन । अनि ‘धन्यवाद प्रस्ताव’का समर्थक तारानाथ रानाभाट नै संसद्‌मा अनुपस्थित थिए । उता सभामुखको कुर्सीमा आसीन उपसभामुख महन्थ ठाकुर पनि कोइरालाका ‘खास मानिस’ । त्यति हुँदाहुँदै पनि दुर्भाग्यवश धन्यवाद प्रस्ताव मतदानमा गयो । सत्तारूढ कुर्सी खाली हुँदा स्वाभाविक परिणाम आयो, पक्षमा ७४ र विपक्षमा ८६ मत । 

अनि धेरैलाई लागेको थियो कि प्रस्ताव फेल भएसँगै कोइरालाले ‘नैतिकता’का आधारमा ‘राजीनामा’ दिनेछन् । तर, कोइराला र राजीनामाको ‘भेट’ भएन, उल्टो ३ वर्ष ३ महिना पुगेको प्रतिनिधि सभाको ‘घाँटी’ रेटियो ।  तर यसरी प्रतिनिधि सभा विघटन हुन्छ भन्‍ने कसैले कल्पना पनि गरेका थिएनन् । सरकारको पराजयसँगै पहिलो चोटि प्रतिनिधि सभा भंग हुने दुर्घटना निम्तिएको थियो । त्यसपछि प्रतिनिधि सभा भंगको ‘नियमित आकस्मिकता’को परिबन्दपूर्ण यात्रामा हामी निरन्तर छौँ, बहुमतको सरकार होस् कि अल्पमतको ।

०००
त्यो दिन छत्तीसे समूह चाहिँ ‘गिरिजाबाबुले बोलाउँछन् या बोलाउन पठाउँछन्’ भन्‍ने आशमा थिए । त्यही कारण उनीहरू सिंहदरबारकै पूर्वी गेट नजिकैको एक ठाउँमा भेला भएका थिए । त्यो ठाउँ थियो, विद्रोही नेता चिरञ्जीवी वाग्लेको डेरा । 

खासमा विद्रोही सांसदहरू एकै ठाउँमा बस्‍ने र प्रतिनिधि सभामा नीति तथा कार्यक्रम पारित हुने स्थिति नभएपछि कोइरालाका मानिस खोज्दै आउँछन् या गिरिजाबाबुकै केही प्रतिबद्धता आउँछ भन्‍ने झिनो आशमा थिए ।

संसद्‌मा जाने कि नजाने भन्‍नेमा छत्तीसे सांसदहरूबीच बहस चलिरहेकै थियो । गणेशमान सिंहको ‘लाइन’ थियो, गिरिजाबाबुसँग लिखित सम्झौता नभईकन संसद्‌मा जानुहुन्‍न । गणेशमानपुत्र प्रकाशमान सिंह त्यो अडानबाट पछि हट्न नहुने सन्देश दिन त्यहीँ गएका थिए । किसुनजीको भनाइ चाहिँ ‘मतदानमा जानुपर्छ’ भन्‍ने थियो, तर दबाब या निर्देशन चाहिँ थिएन ।

त्यहीबीचमा गृहमन्त्री शेरबहादुर देउवा र स्थानीय विकास मन्त्री रामचन्द्र पौडेल ‘सम्झाउन’ पुगे । तिनलाई सोधियो, ‘तपाईंहरू गिरिजाबाबुले पठाएर आउनुभएको हो कि आफैँ आउनुभएको हो ?’ 

छत्तीसे समूहकै कुबेर शर्माहरू चाहिँ लिखित सम्झौता नभईकन कुनै पनि हालतमा जानुहुन्‍न भन्‍नेमा थिए । तर पूर्णबहादुर खड्का-बलबहादुर केसीको जिद्दी चाहिँ गिरिजाबाबुको फोन आयो भने सम्झौता गर्ने सर्तमा जानुपर्छ भन्‍ने थियो । संसद्‌मा अप्ठ्यारो परेपछि गणेशमानजीकहाँ कोइराला पुग्छन् भन्‍ने पनि ठानिएको थियो ।

त्यहीबीचमा गृहमन्त्री शेरबहादुर देउवा र स्थानीय विकास मन्त्री रामचन्द्र पौडेल ‘सम्झाउन’ पुगे । तिनलाई सोधियो, ‘तपाईंहरू गिरिजाबाबुले पठाएर आउनुभएको हो कि आफैँ आउनुभएको हो ?’ 

कांग्रेस नेता पूर्णबहादुर खड्काले पंक्तिकारसँग पछि भनेका थिए, ‘तर दुवैले गिरिजाबाबुले ‘पठाएको’ भन्‍न सक्नुभएन । तर, संसद्‌मा जानुपर्छ भन्‍ने जोड मात्रै थियो । तिनले गिरिजाबाबुले ‘पठाएको’ भनेको भए पनि जाने मनस्थितिमा थियौँ । देउवा-पौडेल फर्केपछि पनि गिरिजाबाबु या उहाँका मानिसको फोन आउँछ भन्‍ने आशामै थियौँ ।’

अर्थात् त्यो दिन कोइरालाको फोन मात्र आएको भए पनि फरक राजनीतिक दृश्य देखापर्ने थियोे । सम्भवतः तत्काल प्रतिनिधि सभा विघटनतिर नजान पनि सक्थ्यो ।

०००
त्यो घटना हुनु केही दिनअघि नै सभामुख दमननाथ ढुंगाना बिरामी परेका थिए । ढुंगाना ढाड र गर्धन समस्याले ओछ्यान परेका थिए । अघिल्लो दिन कांग्रेसका नेताहरू ढुंगानालाई भेट्न उनकै निवास गएका थिए । जहाँ प्रधानमन्त्री कोइराला पनि पुगेका थिए ।

अझ कोइराला त ‘बुके’सहित ढुंगानालाई हेर्न पुगेका थिए । कोइरालाले सोधे, ‘स्वास्थ्य कस्तो छ ?’ ढुंगानाले सुधार हुँदै गएको जवाफ दिए ।

कोइरालासँग ढुंगानाले सोधे, ‘मेरो स्वास्थ्य स्थिति होइन कि भोलिको तयारी चाहिँ कस्तो छ ? आवश्यक पर्‍यो भने जसरी पनि आउँछु । त्यस्तो केही पर्‍यो भने म आउन सक्छु । अनि तपाईंहरूको ‘कुरा’ मिल्यो त ?’

त्यसमा कोइरालाको जवाफ थियो, ‘त्यस्तो कुनै समस्या छैन । किसुनजी र गणेशमान सिंहसँग कुराकानी पनि भइसक्यो । पूर्णबहादुर खड्काजी पनि यहीँ हुनुुहुन्छ । त्यस्तो केही छैन र आराम गर्नुहोस् । हाम्रै उपसभामुख महन्थ ठाकुरजी हुँदै हुनुहुन्छ ।’

तैपनि ढुंगानाले भने, ‘त्यस्तो केही छ भने म कसैको सहयोग लिँदै भए पनि आउन सक्छु ।’

कोइरालाको फेरि जवाफ फर्काए, ‘पर्दैन, पर्दैन । महन्थजी हुँदै हुनुहुन्छ, आराम गर्नुस् ।’

उता त्यो दिन ढुंगानाको अनुपस्थितिलाई लिएर अनेकन् खेल, शंका र टीकाटिप्पणी संसद् परिसरमा चलेकै थियो । कोइराला सरकार पतन भएमा प्रधानमन्त्रीका बलिया उम्मेदवार उनै ढुंगाना ठानिएका थिए । पञ्चायतकालमा पनि राष्ट्रिय पञ्चायत अध्यक्ष स्वतः प्रधानमन्त्रीका दाबेदार बनेका उदाहरण थिए । लोकेन्द्रबहादुर चन्ददेखि मरीचमानसिंह श्रेष्ठसहित भारी उदाहरण त्यही ग्यालरी बैठकले बोकेकै थियो । त्यही थलोका ढुंगानाले पनि प्रधानमन्त्रीको सपना देख्नु अनौठो थिएन । त्यहीकारण कतै ढुंगाना पनि ‘नीति तथा कार्यक्रम’ पारित हुन नदिने खेलमा सामेल त थिएनन् ? षड्यन्त्रको शंका चौतर्फी व्याप्त थियो ।

त्यसो त, कोइरालाले २०४८ पुस १५ मा सिंह-भट्टराईका बफादार मन्त्रीहरूलाई हटाउँदै पार्टीभित्र झगडाको बिउ रोपिसकेका थिए । २०५० माघदेखि झगडा गहिरिँदै गएको थियो, यद्यपि २०५० हिउँदे अधिवेशनमा सरकार गिरेन । वर्षे अधिवेशनमा उत्पन्‍न हुन सक्ने सम्भावित दुर्घटना उत्पन्‍न हुन नदिन राष्ट्रिय सभा अध्यक्ष बेनीबहादुर कार्कीको निवासमा शीर्ष नेताहरूबीच लगभग मिल्ने खाका कोरिएको थियो । मन्त्रिमण्डल फेरबदल गर्ने, गिरिजाबाबुले ‘डिनर’ आयोजना गरी ‘सौहार्द वातावरण’ सिर्जना गर्ने सहमति बनेको थियो ।

तर, कोइराला बालुवाटार फर्केसँगै न मन्त्रिण्डल फेरबदल प्रसंग आयो, न ‘डिनर’ नै । सरकारको नीति तथा कार्यक्रम अगावै गर्ने भनिएका सहमति ‘तिरस्कार’ भए, जसले विद्रोही कांग्रेस सांसदहरूमा शंका र आक्रोश झन् बढायो । 
०००
ढुंगानाको अनुपस्थितिमा त्यो दिन सभामुखको कुर्सीमा उपसभामुख महन्थ ठाकुर आसीन भए । उनले कोइरालाकै ‘मनसाय’अनुरूप संसद् सञ्चालन गर्नेछन् भन्‍ने पनि लागेको थियो ।

खासमा सभामुखको धर्म के हुन्छ भने जुनसुकै पार्टीको सरकार भए पनि कुनै निर्णाायक प्रस्ताव राख्दा सत्तापक्ष बहुमतमा छ कि छैन भनेर हेर्ने । संसदीय अभ्यासमा महत्वपूर्ण निर्णय लिँदाका बखत सत्तापक्षतिर कुर्सी खाली छ भने कुनै न कुनै बहानामा सभामुखले बैठक लम्ब्याउने नीति लिएका हुन्छन् । उता सत्तापक्षतिर कुर्सी खाली देख्नासाथ सरकारलाई संकटमा पार्न विपक्षीले विधेयकमा समेत ‘मतदान’को माग गर्छन् ।

त्यहीकारण सभामुखले कसैलाई बोल्न दिएर हुन्छ वा अप्ठ्यारो स्थिति देखाउँदै केही समयका निम्ति संसद् बैठक स्थगित गर्न सक्छन् । तर, सत्तारूढ कुर्सीतिर त्यति ठूलो संख्या सांसद अनुपस्थित हुँदाहुँदै ठाकुरले संसद्लाई मतदानमा होमिदिए । अझ ठाकुर कोइरालाप्रति बफादार पनि । ठाकुरले त्यस दिन ‘हाउस’ स्थगनको नीति लिएको भए पनि स्थिति फरक हुन सक्थ्यो । 

त्यो दिन प्रतिनिधि सभाका सचिव सूर्यकिरण गुरुङ सदनमा तारन्तार भित्र-बाहिर गरिरहेका थिए । खासमा उनी सभामुख ढुंगानालाई फोन सम्पर्क गर्न लबीमा गएका रहेछन् । ढुंगानालाई गुरुङले सूचित गराइरहेका थिए, ‘सदनको अवस्था गम्भीर छ, सदन चलाइराख्नु सम्भव छैन ।’ तर, ढुंगानाबाट चाहिँ सदन चालु राख्नू भन्‍ने आदेश पाउँथे ।

०००
त्यो दिन साढे ११ बजेतिर प्रधानमन्त्री कोइराला संसद् परिसरमा उत्रिएका थिए, त्यही गाडीमा सल्लाहकार हरि शर्मा पनि थिए । त्यसपछि कोइराला प्रतिनिधि सभाको हलसँगै जोडिएको प्रधानमन्त्रीको संसदीय च्याम्बरमा प्रवेश गरे । जहाँ कांग्रेसका नेता÷सांसदको आउजाउ चलिरहेकै थियो । तिनले सूचना ल्याइरहेका हुन्थे, ‘गिरिजाबाबु, किसुनजी र बेनीबहादुर कार्की (राष्ट्रिय सभा अध्यक्ष) सँग कुराकानी गर्दै हुनुहुन्छ, ठीकै हुँदै छ ।’ 

प्रतिनिधि सभा बैठक सुरु भएको घन्टी बज्यो, कांग्रेस सांसद नआएको कोइरालाले देखिरहेकै थिए । सदनभित्र प्रवेश गर्नुअघि पनि कार्कीसँग कुराकानी भएको थियो । तिनीहरू आउँछन् भन्‍ने विश्वाससाथ कोइराला सदन प्रवेश गरेका थिए । कार्कीको निवासमै किसनुजीसँग एक किसिमको सहमति भएपछि त्यसरी बहिष्कार गर्छन् भन्‍ने कोइरालालाई लागेकै थिएन । पार्टी सभापति किसुनजीलाई नै फोन गरेपछि अरु सांसदलाई फोन गर्नेतिर कोइराला लागेनन् । त्योबाहेक नेता त्रयबीच सहमति भएको र विपक्षीले माग्दैमा राजीनामा नदिने धारणा पनि आइरहेकै थियो ।

विद्रोही नेता तारानाथ रानाभाट सुनाउँथे, ‘हामीले सरकार र संसद् विघटन होस् भन्‍ने चाहेकै होइन ।

संसद्‌मा त्यो दृश्य प्रस्तुत नहुँदासम्म कोइरालाले कसैसँग ‘प्रतिनिधि सभा विघटन र मध्यावधि’ उच्चारण गरेकै थिएनन् । खासमा त्यसरी कांग्रेसकै सांसद अनुपस्थित हुन्छन् भन्‍ने चाहिँ कोइरालालाई लागेको थिएन । त्यहीँनेर कोइरालालाई ‘विश्वासघात’ भएको महसुस भयो । 

जब नीति तथा कार्यक्रम फेल भयो, तब कोइराला ‘आप्mनै च्याम्बर’ प्रवेश गरे । त्यहीँबाट राजासँग ‘दर्शनभेट’का निम्ति दरबारमा सम्पर्क गरे । कोइराला बालुवाटार पुग्दा दरबारबाट ६ बजे ‘दर्शनभेट’को समय मिलिसकेको थियो । लगत्तै बालुवाटारमै संसदीय दलकै बैठक बोलाइयो, त्यहाँ किसुनजीलाई पनि बोलाइयो ।

सिंहदरबारबाट कोइरालाकै गाडीमा हरि शर्मा पनि सिंहदरबारबाट बाहिरिएका थिए । शर्माले यो पंक्तिकारसँग भनेका थिए, ‘बाटमा जाँदा-जाँदै दरबारमा बुझाउने पत्र तयार गर्न महेश आचार्य र जयप्रकाश आनन्दलाई लगाउनुपर्छ भन्‍नुभयो । तर, के विषय भन्‍ने चाहिँ खोलिएको थिएन । बालुवाटार पुगेपछि मात्रै राजीनामा र प्रतिनिधि सभा विघटनको कुरा आयो । पहिला राजीनामा गर्ने र दोस्रो प्रतिनिधि सभा विघटन गर्ने गरी पत्र लेख्नू भनियो ।’

बालुवाटारकै संसदीय बैठकमा कोइरालाले घोषणा गरे , ‘सरकारको नीति तथा कार्यक्रम फेल भएको हुँदा राजीनामा र प्रतिनिधि सभा विघटन गर्छु ।’ कोइरालाबाट एक्कासि विघटनको ‘कुरा’ सुनेपछि उपस्थित सबैले मलिन अनुहार लगाए । त्यहीँ कोइरालाले भने, ‘संसद्‌मा सरकारले बहुमत गुमाएको होइन कि नीति र सरकारको कार्यक्रम असफल भएको हुँदा नयाँ जनादेशका निम्ति जान पाउनुपर्छ ।’

सभापति कृष्णप्रसाद भट्टराईकै उपस्थितिमा संसदीय दलको बैठक बसाउँदै राजीनामा-विघटनको पक्षमा निर्णय गराउँदै कोइराला दरबार गए । अर्थात्, कोइरालाले ‘भूमिगत शैली’मा होइन कि दलको बहुमत सांसदको निर्णयसहित दरबार गएका थिए, २६ असार २०५१, ५ः४० बजे ।

त्यही साँझ दरबारले सूचना जारी गर्‍यो, ‘कोइरालाको राजीनामा स्वीकृत भएको र प्रतिनिधि सभा विघटनका हकमा संवैधानिक पदाधिकारी तथा राजनीतिक नेताहरूसँग परामर्श लिइबक्सने प्रक्रिया चालु छ ।’

०००
हुन पनि मुलुकमा संसदीय व्यवस्था बामे सर्दै थियो । त्यो शक्तिशाली हुँदै गयो भने आफूलाई अप्ठेरो पर्छ भन्‍ने डरमा थियो, दरबार पनि । अनि संसद्‌मा पनि दरबार-पञ्चायती दमनमा परेका कांग्रेस-कम्युनिस्ट हाबी । दरबारलाई लागेको थियो, ‘संसद्ले टेर्दैन ।’

अर्को त, कोइरालालाई पनि लागेको थियो कि आफू ‘अति लोकप्रिय’ भएको हुँदा कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको आदेश मानेर कति बस्ने ?’ अनि कोइरालालाई उचालिएको थियो, ‘मध्यावधि चुनाव भएको खण्डमा दुई तिहाइ आउँछ ।’ अर्थात् दुई तिहाइसँगै शक्तिशाली प्रधानमन्त्री बन्‍न सकिने भूत सवार भएकै थियो ।

त्यस दिन सभामुख ढुंगाना कुर्सीमै भएको भए मतदान रोकिन सक्थ्यो । अर्को दिनका निम्ति मतदान सार्ना साथ वार्ता प्रक्रिया सुरु हुन सक्थ्यो ।

विद्रोही नेता तारानाथ रानाभाट सुनाउँथे, ‘हामीले सरकार र संसद् विघटन होस् भन्‍ने चाहेकै होइन । त्यो बद्‌नियत त थिँदै थिएन । खालि गिरिजाप्रसाद कोइरालाको दम्भ-तजुकु सकियोस्, लत्रिँदै कृष्णप्रसाद र गणेशमान सिंहसामु आफूलाई ‘सानो’ देखून् भन्‍ने मात्रै थियो । सरकारको नीति तथा कार्यक्रम फेल गराउने त योजना बुनिएकै थिएन । त्यो दिन खालि गिरिजाप्रसादलाई झुकाउने मात्र लक्ष्य थियो ।’

हरिबहादुर थापाको संसदीय संवाददाता डायरी : 
 


Author

हरिबहादुर थापा

संसद्, शासन र राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x