विचार

कूटनीतिमा सन्देश बुझ्‍न सके सहकार्य टाढा हुँदैन

डा. भेषबहादुर थापा |
मंसिर १४, २०७७ आइतबार १९:१४ बजे

विश्‍व परिदृश्यमा नेपालको महत्व चानचुने छैन । महत्व अहिलदेखि होइन, भारत स्वतन्त्र हुनु अघिदेखिकै हो । हामी बाहिरी विश्वमा सक्रियता देखाउन थालेपछि नेपालको कूटनीतिक सम्बन्धमा नयाँ र फरकपन देखिए पनि आधार पुरानै हो । कूटनीति सिधारेखामा हुँदैन । यसको कुनै स्थापित सूत्र पनि छैन । तर, यसको निश्‍चित मूल्य र मान्यता हुन्छ । त्यसमा हामी सचेत रहनुपर्छ । 

खासगरी छिमेक र शक्ति राष्ट्रसँगको सम्बन्धमा नेपाल जस्तो भू-राजनीति भएको मुलुक बढी चनाखो हुनुपर्छ । विश्वको शक्ति सन्तुलनमा तल-माथि भइरहँदा होस् या महामारीको अवस्था आउँदा, हामी सचेत भएर नै अघि बढ्नुपर्छ । सत्तापक्ष र प्रतिपक्ष दुवैले यस्ता विषयमा चनाखो हुनुपर्छ र बाह्य सम्बन्धका विषयमा समान धारणा बनाउनुपर्छ । 


उदाउँदो दुई शक्तिबीच छौँ हामी । त्यो सत्य छ, उनीहरू विश्व रंगमञ्‍चमा निकै उचाइ लिँदैछन् । ती छिमेकसँग हामीले प्रतिस्पर्धा होइन, सहकार्य गरेर अघि बढ्नुपर्छ । हामी जस्तो कम साधन-स्रोत रहेको मुलुकले त्यस्ता मुलुकसँग अन्तर्राष्ट्रिय मामिला र कानुनको आधारमा सहकार्य गर्ने हो । तर, हामीले भुल्न नहुने भनेको विश्‍वमा भारत र चीनबाहेक पनि मुलुक छन् र उनीहरूको प्रभाव हामीसम्म आइपुगेको हुन्छ । त्यसमा सरकार गम्भीर बन्‍नैपर्छ । 

हाम्रो विदेश नीति पनि स्पष्ट नै छ तर कार्यान्वयन पक्ष कमजोर छ । संविधानको मार्गदर्शन, राष्ट्रिय हित, संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता, पञ्‍चशीलका सिध्दान्त हाम्रा विदेश नीतिका मुख्य मार्गदर्शक हुन् । त्यो आधारमा सम्बन्धलाई अघि बढाउन सक्दा सरकार चुक्दैन । हालसम्मका भ्रमणलाई पनि त्यही आधारमा अडेर हेर्नु आवश्यक छ । यतिबेला भारतबाट नेपालमा भएका भ्रमणलाई नियाल्दा हामी विगतमा तय भएकै शैलीमा आधारित भएर अघि बढ्न भान पर्छ । तर भएका भेटघाटले कता कति आशंका पैदा गरेका छन् । मैले भित्री अध्ययन त गरेको छैन, तर बाहिर नियाल्दा यो भ्रमणले नेपाल-भारत सम्बन्धमा देखापरेको चिसोपना घटाएको छ । तर, समस्या समाधान भएको छैन । 

एउटा ढोका खुला भएको छ । त्यससँगै चीनबाट पनि उच्चस्तरको भ्रमण भएको छ । भारतीय विदेश सचिव हर्षवध्र्दन श्रृंगला फर्केको एक दिनपछि चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे काठमाडौँ ओर्लेर भेटवार्ता गर्नुले वर्तमान सरकारलाई कूटनीतिमा ढाडस मिलेको छ । तर उनको भ्रमणको रुट रोचक छ । काठमाडौँबाट ढाका अनि इस्लामावाद । यो आफैँमा निकै महत्वपूर्ण हो । 

यस्ता भ्रमण अधिकतम गराउन सक्नुपर्छ । खुला हुनुपर्छ । तर, त्यो भ्रमणलाई आफ्नो आन्तरिक राजनीतिको भित्री पाटोमा जोड्नु हुँदैन । यसले व्यक्तिलाई क्षणिक फाइदा होला, तर दल र राष्ट्रलाई भने खासै फाइदा गर्दैन । हामीले बाह्य विश्‍वसँग सम्बन्ध स्थापित गर्दा सार्वभौम समानता, पारस्परिक लाभ र सम्मानको आधार तय गरेकाले त्यही आधारमा हामी अघि बढ्न आवश्यक छ । 

विश्‍वको शक्ति सन्तुलनमा तल-माथि भइरहँदा होस् या महामारीको अवस्था आउँदा, हामी सचेत भएर नै अघि बढ्नुपर्छ ।

मुलुकको हितलाई केन्द्रमा राखेर बाह्य सम्बन्ध सुदृढ गर्नेमा हामी उन्मुख हुनुपर्छ । समाजवाद, लोकतन्त्र र मानव अधिकारप्रति सचेत रहेर सरकार अघि बढेमा धेरै विषयमा हामी अब्बल ठहरिनेछौँ । नेपाल जस्तो मुलुक विश्‍वको कुनै पनि गुट वा उपगुटमा सामेल हुनुहुँदैन । 

बाह्य हस्तक्षेप आफ्ना मामलामा निर्णय गर्ने हरेक राष्ट्रको स्वतन्त्र सार्वभौम अधिकारको सम्मान गर्दै सरकार अघि बढ्नुपर्छ । भिन्‍नभिन्‍न विचार, संस्कृति र प्रणालीबीच सहअस्तित्व र बहुलतामा विश्व अगाडि बढेकाले नेपाल त्यसबाट दायाँ-बायाँ गरेमा समस्या निम्तिने हुनाले सचेत भएर सबै मुलुकलाई आफ्नो विश्‍वासमा राख्‍न सक्नुपर्छ । 
भारतसँगको सहकार्य र समझदारीसँगै चीनसँग भएको यस प्रकारको सहकार्य र भ्रमणले विश्वको नजर हामीकहाँ पर्छ । हामी विश्वको नजरमा नपरेको मुलुक भने होइन । तर, हामीले त्यसलाई कति ‘क्यास’ गर्‍यौँ यो विषय महत्वपूर्ण हो । 

कुनै पनि भ्रमणको सन्देश हुन्छ । हालको भ्रमणको पनि पक्कै सन्देश छ । यसलाई हामीले बुझ्‍न सक्नुपर्छ । कूटनीतिमा सन्देश बुझ्‍न सके सहकार्य टाढा हुँदैन । भारतसँग सीमा विवादको टुंगो लगाउनेमा सरकार उन्मुख हुनेमात्र होइन, प्रबुध्द व्यक्ति समूहले तयार पारेको प्रतिवेदन बुझ्‍ने विषयमा सहमत गराउन आवश्यक छ । तयार भएको साझा प्रतिवेदन किन भारतले बुझेको छैन र हामीले किन त्यसमा उनीहरूलाई सहमति गराउन सकेका छैनौ त्यस्ता विषयमा केन्द्रित हुनुपर्छ ।
 
चीनसँग पनि ‘हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्‍जाल’मार्फत नयाँ विकास साझेदारी निर्माणको प्रसंग उठाएको भए पनि त्यो सहकार्य अघि बढेको देखिँदैन । त्यो सहकार्य कहाँ गएर कसरी रोकिएको हो, त्यो विन्दुको पहिचान आवश्यक छ । 

भारतबाट भएका लगातार तीन भ्रमणले एउटा ढोका खोलेको छ । त्यो ढोकाको प्रयोगमा हामी सचेत हुनुपर्छ भने चीनले नियालेको सुरक्षा कूटनीतिलाई कम आँकलन गर्न पनि हुँदैन । कुनै पनि समस्याको कूटनीतिक समाधानका लागि अथक प्रयास पहिलो पंक्तिमा कूटनीतिक तहबाट हुनुपर्छ न कि सुरक्षा वा रक्षा निकायबाट । 

आफ्नो सबै भूभाग समेटेर नक्सा तयार गर्ने बेलामा जसरी राजनीतिक दलबीच अभूतपूर्व सहमति देखिएको थियो त्यसरी नै अबका दिनमा अघि बढ्नुपर्छ । नेपालको राष्ट्रिय हित रक्षाका लागि महत्वपूर्ण आधार समेत त्यसलाई मानिएको छ । नेपालको महत्व नै छैन भन्‍नेहरू पनि छन् । तर, त्यस्ता धारणाबाट बाहिर निस्केर कूटनीतिक मामिलामा हामी आफैँ चनाखो बन्‍नुपर्छ । 
(पारिवारिक भेटघाटका लागि मुलुकबाहिर रहेका पूर्वपरराष्ट्रमन्त्री डा. थापासँग चन्द्रशेखर अधिकारीले टेलिफोनमा गरेको कुराकानीमा आधारित
 


Author

डा. भेषबहादुर थापा

डा. थापा पूर्वपरराष्ट्रमन्त्री हुन् ।


थप समाचार
x