विचार

पुस्तक अंश

रात्रिभोजको खाना विवरण र दलाई लामाको दोस्रो लुम्बिनी भ्रमण

केदार वाशिष्ठ |
मंसिर १५, २०७७ सोमबार ९:५९ बजे

पेप्पे परिवारको सङ्कट
सन् १९४७ मा भारत स्वतन्त्र भयो र बेलायती शासनसत्ता फर्कनु पर्‍यो । तर औपनिवेशिक सरकारबाट उपहार र संरक्षण पाएका मौजावालहरू अझै पनि भारतमा नै रहँदै आएका थिए । त्यस्ता जमिनदार र मौजावालामध्येका एक पेप्पेको परिवार र बर्दपुर मौजा पनि थियो । तर त्यस बेला मौजाका मौजावाल भने फेरिएका थिए ।

‘पेप्पे स्तूप’का कारण बर्दपुरमा मौजा जमाइ रहेका विलियम क्लाक्स्टन पेप्पेको चर्चा चुलिँदै थियो तर उमेर भने ढल्कँदै थियो । सन् १९२० को दशकको अन्त्यतिर मैसुरमा रहेको गृष्मकालीन आवास बेचेर उनीहरू भारतबाट बेलायत फर्किए । त्यसबेला भारतीय भूमिमा बेलायतीकै राज रहेकाले मौजा वा अन्य सम्पत्ति र भविष्यको पनि चिन्ता थिएन ।


विलियम क्लाक्स्टन पेप्पे बेलायत फर्कँदा उनले छोराहरू हम्फ्री पेप्पे र लियोनेल पेप्पेलाई बर्दपुर मौजा तथा त्यसमा रहेको ‘पेप्पे स्तूप’ पनि सुम्पेर गएका थिए । विलियम क्लाक्स्टन पेप्पेको सन् १९३६ मा बेलायतमै मृत्यु भयो । लियोनेल पनि बर्दपुर छाडेर हिँडे, बर्दपुर मौजा र ‘पेप्पे स्तूप’ र त्यसबाट प्राप्त गहना हम्फ्री पेप्पेकै भए ।

‘पेप्पे स्तूप’का सरकारी संरक्षक भिन्सेन्ट ए. स्मिथ पनि १९९० मा अवकाश पाएर फर्केका थिए । आर्कियोलजिकल सर्भे अफ इन्डियामा स्मिथको नाम हटाएर आएका जोन मार्सलले स्मिथलाई पुरातात्त्विक अन्वेषणमा काम दिने कुरै भएन बरु स्मिथका विश्वासी मानिएका पूर्णचन्द्र मुखर्जीलाईसमेत कामबाट अलग गरे । ‘पेप्पे स्तूप’को अवस्था पनि यस्तै रह्यो, त्यसबारे थप अध्ययन अनुसन्धान भएन ।

सन् १९५२ मा भारतमा जमिनदारी प्रथा उन्मूलन भयो । तर पूरै भारतभर एउटै मितिमा र एकै प्रक्रियाबाट जमिनदारी प्रथा उन्मूलन भएको भने थिएन । बर्दपुर मौजा रहेको उत्तर प्रदेशमा सन् १९५० मा नै अधिनियम बनेर जमिनदारी प्रथा उन्मूलन गर्ने व्यवस्था गरिए पनि दुई वर्षसम्म कार्यान्वयन भएको थिएन । दुई वर्षपछि मात्र त्यसको नियमावली बनेर कार्यान्वयन भएको थियो । यति बेलासम्म पेप्पे परिवार र अन्य मौजावालहरूको जीवन सहज नै थियो । त्यसपछि भने हम्फ्री पेप्पे र उनकी श्रीमती एल्फी पेप्पेले निकै सङ्कट पाएका थिए ।

के तपाईंलाई दलाई लामाको दोस्रो लुम्बिनी भ्रमण थाहा थियो ?

कुनै बेला उत्तर तथा पश्चिम प्रान्त र अवध सरकारका अधिकारीहरूको समेत मानक (त्यसैलाई केन्द्र बनाएर नापजाँच हुने गरेको) बनेको उनीहरूको बर्दपुर बङ्गलो अब उनीहरूका लागि तिन कोठामा सीमित भएको थियो, त्यो पनि सरकारलाई भाडा तिर्ने गरी । पूरै बङ्गलो भारत सरकारको अतिथि गृह बनेको र विशिष्ट पाहुना आएर बस्ने गरेको पाइन्छ । ‘पेप्पे स्तूप’ र आसपासको क्षेत्र पनि पेप्पे परिवारबाट भारतीय पुरातात्त्विक सर्वेको स्वामित्वमा आएको पाइन्छ ।

लुम्बिनीको आकर्षण वृध्दि
यता खड्ग शमशेर र फुहररबाट लुम्बिनी पत्ता लागेर अन्तर्राष्ट्रिय रूपमा त्यसको प्रचार व्यापक भएको थियो । बौध्द धर्मावलम्बी देशहरूबाट लुम्बिनीको दर्शन गर्न आउने क्रम निकै बढेको थियो । लुम्बिनी पत्ता लागेर त्यहाँ तीर्थयात्रीको आवागमन बढ्न थाले पनि नेपाल विदेशीका लागि अझै बन्द जस्तै थियो । त्यसैले लुम्बिनी आउनेहरू भारत भएर नै आउने हुँदा त्यो अतिथिगृह निकै व्यस्त हुन थालेको थियो । सरकारी स्वामित्वमा आउनुअघि नै त्यहाँ धेरै मानिस आउने गरेको र त्यसले गर्दा गहना सुरक्षित राख्न आफूहरूलाई असहज भएको हम्फ्री र उनकी पत्नीले बताएका छन् । लुम्बिनी भ्रमण गर्न आउनेले ती गहना हेर्न र कतिपयले त माग्ने नै गरेको गुनासो उनीहरूले गरेको पाइन्छ ।

यस्तैमा १९५६ डिसेम्बर २५ मा बर्दपुर अतिथि गृहमा सुरक्षाकर्मी, सरकारी अधिकारीहरू र सर्वसाधारणको पनि चहलपहल निकै नै बढेको थियो । हम्फ्रेका तिनवटा कोठा पनि खाली गरिएका थिए । लुम्बिनीको दर्शन गर्न आएका दुई विशिष्ट पाहुनालाई आश्रय दिन पूरै बङ्गलो खाली गरेर विशेष सुरक्षा अपनाइएको थियो । दुई पाहुना तिब्बतका धार्मिक नेता चौधौँ दलाई लामा र पन्चेन लामा थिए । 'ती दुई तिब्बती नेता लुम्बिनी (नेपाल) जानुअघि पिप्रहवा स्तूपको सम्मान गर्न बर्दपुर आएका थिए ।'

यो दलाई लामा तिब्बतबाट भारतमा निर्वासनमा जानुअघिको भ्रमण थियो । २५ सय औं बुध्दजयन्ती मनाउने क्रममा सन् १९५६ नोभेम्बरदेखि सन् १९५७ मार्चसम्म दलाई लामाले भारत भ्रमण गरेका थिए । दलाई लामा आफैले उक्त भ्रमण धार्मिक रहेको बताएका छन् ।

सन् १९५९ मार्च ३० मा उनी भारतमा निर्वासनमा गएका थिए । त्यसबेला पनि दलाई लामा बर्दपुर बङ्गलोमा बसेको र लुम्बिनी पनि गएको एल्फी पेप्पेले लेखेको पाइन्छ । हम्फ्री र एल्फीको टिपोट भन्दै चाल्र्स एलेनले दिएको विवरणमा दलाई लामा दोस्रो पटक लुम्बिनी गएर आराधना गरेको बुझिन्छ । एउटा विवरणमा तिथि मितिको कुरा गरिए पनि लुम्बिनी भ्रमणको स्पष्ट मिति दिइएको छैन-'उनीहरूबिचको भेटलाई सम्झँदै एल्फी पेप्पे उल्लेख गर्छिन् ‘मौजाको इतिहास, हामीले युरोपमा घुमेका देशहरू, र हामी बेलायत फर्कने सम्भावित यात्रा जस्ता थुप्रै प्रश्न सोध्दै उन (दलाई लामा)ले पश्चिमी हरेक कुरामा ज्यादै राखेको बुझिन्थ्यो । मैले उनलाई मेरो छोरो नेइलले खिचेको बुध्दको जन्मलाई चित्रण गर्ने प्राचीन मूर्तिको ठूलो पारिएको फोटो उपहार दिने प्रस्ताव गरेँ, जसलाई सोही दिउँसो उनले मन्दिर (लुम्बिनीमा मायादेवीको) देखेका थिए, र उनले पछाडि पट्टि मिति र- अझै सामान्य ठट्टा गर्दै - समय पनि सहित हामी दुवैको नाम लेखेर दिन प्रोत्साहित गरे .... उनका बारेमा आध्यात्मिकता थियो, अझ आत्मीयपन सहितको, जसले मलाई ज्यादै प्रभावित गर्‍यो ।'

विलियम क्लाक्स्टन पेप्पेका नाति नेइल पेप्पेको वेबसाइटमा राखिएको १९६० जनवरी ७ को रात्रिभोजको खानाको विवरणमा उल्लेख गरिएको मिति अनुसार दलाई लामाले त्यसबेला लुम्बिनीको भ्रमण गरेको पुष्टि गर्दछ । त्यस विवरणमा नर्थ इस्टर्न रेल्वे क्याटरिङ सर्भिसेजले उपलब्ध गराएको डिनरको मिनु भनेर लेखिएको छ । अर्को पानामा दलाई लामाको शीर्षस्थानमा र त्यस रात्रिभोजमा उपस्थित सबैको हस्ताक्षर रहेको छ । मिनुमा लेखिएको छ - 'लुम्बिनी बगैँचा (बुध्दको जन्मस्थान) हेर्नका लागि परमपावन (हिज होलिनेस) दलाई लामाबाट भएको दुई दिने भ्रमणको क्रममा (सन्) ७ - १ - (१९)६० मा साँझ ८ बजे बर्दपुर हाउस । युपीमा दिइने रात्रिभोज (को) मिनु ।' (परिशिष्ट ५)

नेपालबाट तिब्बतमा नजर
यता ‘राणाकालमा तत्कालीन महाशक्ति बेलायतले नेपालबाट तिब्बतमा नजर लगाउँथ्यो’ भन्ने कुराको जानकारी लुम्बिनी र कपिलवस्तु पत्ता लाग्दाकै समयको एउटा इतिहासको सामग्रीले बताउँछ । त्यस सामग्री अनुसार बेलायतले नेपालको उच्च राजनीतिक तहमा नै कुराकानी गर्ने गर्थ्यो । रुसले तिब्बतमा प्रभाव बढाउला भन्ने चिन्ता बेलायतलाई हुने गरेको थियो । त्यसको चियो गर्न नेपालको सहयोग बेलायत चाहन्थ्यो । ल्हासामा रहेका नेपाली प्रतिनिधिले त्यहाँको विवरण सधैँ नेपालमा लेखी पठाउने र ब्रिटिस रेजिडेन्टले त्यो बुझेर बेलायत सरकारसमक्ष पठाउने गर्थे । त्यसै क्रममा दलाई लामा र त्यहाँको राजनीतिबारे पनि कुराकानी हुने गरेको थियो ।

लुम्बिनी बगैँचा (बुध्दको जन्मस्थान) हेर्नका लागि परमपावन (हिज होलिनेस) दलाई लामाबाट भएको दुई दिने भ्रमणका क्रममा (सन्) ७-१-(१९)६० मा साँझ ८ बजे बर्दपुर हाउस । 

१९५६ जेठ ६ गते असिस्टेन्ट रेजिडेन्ट डाक्टर आर्मनिस्टङले श्री ३ महाराज वीर शमशेरलाई भेटेर तिब्बतमा युरोपेलीको चासो, दलाई लामा, गुम्बाहरूमा रहेका लामा र राजनीतिक अवस्थाबारे जानकारी लिएका थिए । वीर शमशेरले विवरण दिँदा गुम्बामा रहेका लामाको सङ्ख्या बढाएर जानकारी दिएको ज्ञानमणि नेपालले लेखेका छन् ।

यो लुम्बिनी र कपिलवस्तुको उत्खनन र विवाद रहेको समयकै कुरा हो । तर दलाई लामाको भ्रमण भने त्यसको निकै वर्षपछि भएको थियो । दलाई लामाले लुम्बिनीको दुई पटक भ्रमण गरे पनि बुध्दको जन्मस्थलबारे भने तथ्यलाई उपेक्षा गर्दै उनले आफू तटस्थ जस्तो देखाउन खोजेका छन् र त्यसबारे विवाद नगर्न आग्रह गर्ने गरेको पाइन्छ । सन् २०१२ जुनमा साताव्यापी बेलायत भ्रमणको क्रममा उनले ‘गौतम बुध्द नेपाल वा भारत जहाँ जन्मिए पनि त्यसलाई ठूलो नमान्न आग्रह गरेका हुन् ।’ दलाई लामाको भनाइ बुध्दको जन्मस्थल नेपालमा रहेको भन्ने तथ्यलाई उपेक्षा गर्ने खालको थियो । बेलायतमा रहेका नेपाली समुदायले त्यसबाट तिक्तता महसुस गरेका थिए ।

दलाई लामाले भनेका थिए- 'बुध्दमार्गको उद्गम थलो भारत हो र कसैकसैले बुध्द नेपालमा जन्मिएका हुन् भन्छन्, कसैले भारतमा । बुध्द जहाँ जन्मिए पनि त्यो विषयलाई बुध्दमार्गीहरूले ठूलो कुरा बनाउनु हुँदैन ।' भारतमा निर्वासनमा रहेका तिब्बती धार्मिक नेता दलाई लामालाई लिएर भारत र चीनबीच सम्बन्ध बेलाबेलामा चिसिने गरेको छ । नेपालले एक चीन नीति अङ्गीकार गरेको छ । यस अवस्थामा दलाई लामाका गतिविधि नेपालमा वैध मानिँदैन । त्यसैगरी लुम्बिनी क्षेत्रमा दलाई लामा गएको मन पर्छ तर उनीबाहेक लुम्बिनीमा चिनियाँ पर्यटकसमेत आएको भारतलाई मन पर्दैन ।

भारतीय सञ्चार माध्यममा प्रायः एउटा भनाइ उद्धृत हुने गरेको पाइन्छ । नेपाल भ्रमणमा रहेका एक जना वरिष्ठ चिनियाँ अधिकारीले ‘नेपालमा बुध्दको जन्मस्थान लुम्बिनी रहेकाले हामी नेपालको भ्रमण गर्दछौँ’ भनेको कुरालाई प्रायः महत्त्वसाथ लेख्ने गरिएको पाइन्छ । तर चिनियाँ अधिकारीले मात्र होइन लुम्बिनीको ऐतिहासिकता, पुरातात्त्विक प्रामाणिकता, धार्मिक महत्ता र त्यसको राजनीतिक महत्त्वलाई समेत आध्यात्मिक नेता दलाई लामा समेतले प्रमाणित गरिदिएका छन् । उनी पिप्रहवालाई कपिलवस्तु मानेर पिप्रहवा गएको नभई लुम्बिनीकै उद्देश्यमूलक भ्रमणमा थिए ।

दलाई लामाले लुम्बिनी भ्रमण गर्न पाउने कि नपाउने भन्ने एक जना अमेरिकी प्राध्यापकको प्रश्नमा नेपालका तत्कालीन संस्कृति मन्त्री डा. मीनेन्द्र रिजालले के भने ?

त्यसको पुष्टि एउटा सानो टिपोटका रूपमा रहेको खानाको मिनुले नै गरिदिएको छ । जसमा 'लुम्बिनी बगैँचा (बुध्दको जन्मस्थान) हेर्नका लागि परमपावन (हिज होलिनेस) दलाई लामाबाट भएको दुई दिने भ्रमण' भनेर स्पष्ट उल्लेख पाइन्छ । त्यो रात्रिभोज पेप्पे परिवारको बर्दपुर बङ्गलोमा भएकोमा पिप्रहवा स्तूप वा पिप्रहवा उत्खननका गहना हेर्नका लागि भ्रमण भएको भन्ने उल्लेख छैन । पिप्रहवाका हर्ताकर्ताको बर्दपुर हाउस केवल दलाई लामाको बास बस्ने थलो मात्र थियो भन्ने यसबाट पुष्टि हुन्छ ।

राजनीतिक दाउपेच
दलाई लामालाई लिएर भारत, चीन र पश्चिमा जगत्को राजनीतिक दाउपेच निकै हुने गरेको छ । त्यसको पनि चेपुवामा नेपाल पर्ने गरेको पाइन्छ । यही कारणले विदेशीहरूले दलाई लामालाई लिएर नेपालमा सरकारी स्तरमा समेत प्रश्न गर्ने गरेका छन् । दलाई लामाले लुम्बिनी भ्रमण गर्न पाउने कि नपाउने भन्ने एक जना अमेरिकी प्राध्यापकको प्रश्नमा नेपालका तत्कालीन संस्कृति मन्त्री डा. मीनेन्द्र रिजालले सन् २०१२ मार्च ७ मा एउटा अन्तर्वार्तामा भनेका थिए- 'म यहाँ राजनीतिक वक्तव्य दिँदै छैन तर चीनको नेतृत्वले दलाई लामासँग समस्या समाधान गर्ने उपाय पत्ता लगाउनेमा छु, जुन चिनियाँ जनताका लागि मान्य हुनेछ । जुन बौध्दमार्ग, आध्यात्मिकता, शान्ति र सबैभन्दामाथि मानव अधिकारका बारेमा ख्याल गर्ने अन्तरराष्ट्रिय समुदायका लागि सम्मानयोग्य हुनेछ ।'

मन्त्री रिजालको यस ‘प्रेस्क्रिप्सन’ले नेपाल पनि यस मामिलामा अलग रहेको छैन भन्ने स्पष्ट गरेको छ । लुम्बिनीबारेको दलाई लामाको विवादास्पद अभिव्यक्ति त्यो नै अन्तिम रहेन । सन् २०१७ अक्टोबरमा १६ मा भारतको मिरुटमा एक जना विद्यार्थीले सोधेको प्रश्नमा लुम्बिनी नेपालमा नपर्ने आशयको जवाफ दिएकोमा नेपालमा त्यसको विरोध भएपछि उनी लुम्बिनी नेपालमा नै पर्ने वक्तव्य जारी गर्न बाध्य भएको पाइन्छ । सन् २०१७ नोभेम्बर २५ मा दलाई लामाको भारतको धर्मशालास्थित कार्यालयले विज्ञप्ति जारी गरेर बुध्दको जन्मस्थल लुम्बिनी नेपालमा नै पर्ने स्पष्ट जनाएको थियो ।

दलाई लामाबारे अघिल्लो वा पछिल्लो समयका वादविवाद जे जस्ता भए पनि दलाई लामाको दोस्रो भ्रमणको केही समयमा सन् १९५९ मा नै हम्फ्री पेप्पेले पनि बेलायतका लागि झिटीगुन्टा कसेका थिए । स्मिथको भागबन्डा अनुरूप बाबु विलियम क्लाक्स्टन पेप्पेले पाएका पिप्रहवा स्तूपका गहनाका प्रतिलिपिले औपचारिक रूपमा बेलायतको यात्रा तय गरेका थिए । जसलाई अवैध किसिमले लगिएको भन्ने गरिएको छ । तिनै गहनाको अहिले लिलामी गर्न खोजिएको छ । तर प्राचीन वस्तुका व्यापारीले तिनको वास्तविकतामा प्रश्न उठाएपछि सक्कली प्रमाणित गर्न निकै नै ठूलो कसरत भइरहेको छ । (भोलि मंगलबार सार्वजनिक हुने पुस्तक ‘नेपाल विद्या’बाट । यसलाई विद्यार्थी पुस्तक भण्डारले प्रकाशन गरेको हो ।) 


Author

थप समाचार
x