शिक्षण पेसालाई आर्थिक रूपमा आकर्षक नबनाई शिक्षा सुध्रिन्न
हरेक वर्षझैं यसपालि पनि बजेट आयो । यसले नछोएका धेरै वर्गमध्ये एउटा शिक्षक वर्ग पनि हो । त्यसमा पनि निजी विद्यालयमा पढाउने शिक्षकहरू त देशका नागरिक नै होइनन् कि झैँ गरी हेपिएको र चेपिएको वर्ग हो भन्न हिचकिचाउनु पर्दैन । संख्याको हिसाबले सत्र प्रतिशत अर्थात् करिब छ हजार निजी विद्यालय र यहाँ काम गर्ने करिब दुई लाख शिक्षक तथा कर्मचारीहरूको समस्या सरकारको नजरमा सानो लाग्न सक्छ । तर गुण र योगदानको दृष्टिकोणले सरकारले यो क्षेत्र र वर्गलाई नजरअन्दाज गर्न भने मिल्दैन थियो । जे नहुनुपर्थ्यो, त्यो भइरहेको छ ।
निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारी र उनीहरूमा आश्रित परिवारजनका लागि बजेट ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात्’ भनेजस्तै हुने गर्दछ । यसपालि पनि त्यस्तै भयो । सामान्य अवस्थामा पनि शिक्षण पेसामा न भोक न भकारीको अवस्था हुन्छ भने विगत एक वर्षदेखि जब कोरोना महामारीका कारण जसरी विद्यालयहरू विक्षिप्त अवस्थाबाट चलिरहेका छन्, यसले शिक्षकको जीवनमा कस्तो असर पारेको होला ? यस विषयमा सरोकारवाला कसैको संवेदना र ध्यान जोडिएको पाइन्न । सरकार त धेरै टाढा छ, उनीहरूका लागि ।
विगत एक वर्षमा महामारीको चपेटामा परेर करिब एक हजार निजी विद्यालय बन्द भए । यस्तै अवस्था रहिरहने हो भने अझ धेरै विद्यालय झन्झन् धराशयी बन्दै अवसानको बाटोमा जाने निश्चित छ । यस्तो अवस्थामा अनलाइन स्कूल नचलाउनेहरू त विलय नै हुने भए । चलाउनेरूका पनि आफ्नै समस्या छन् । सबै विद्यार्थी अनलाइनमा जोडिएका छैनन्, जोडिएकाहरू पनि नियमित हुँदैनन् । अभिभावकहरूले शुल्क तिर्दैनन्, घरभाडा, बैंकको किस्ता, शिक्षक कर्मचारीको तलब तिर्न सकिएको छैन आदि आदि । तैपनि अनलाइन शिक्षामा नगईकन सुखै भएन, जानैपर्यो ।
यतिखेर विद्यालय सञ्चालकहरू असुरक्षित महसुस गरिरहेका छन् । सरकारले यस्तो बेलामा राहतको कार्यक्रम ल्याउला, निजी विद्यालयहरूलाई ढाडस देला, नीतिगत र व्यावहारिक हिसाबले सहज वातावरण निर्माण गरिदेला भनेर आशा गरिरहेका बेला त्यस विपरीत प्रतिकूल परिस्थितिको मौका छोपेर निजी विद्यालयहरूको घाँटी निमोठ्न खोजेको सञ्चालकहरूलाई आभास भइरहेको छ ।
अनलाइन पढाइलाई सरकारी पूर्वाग्रही नीतिका कारण वैकल्पिक जस्तो ठानेर यसलाई औपचारिक शिक्षाका रूपमा नलिने मानसिकता बन्यो जसको कारण अभिभावकहरूलाई यो शिक्षाका लागि शुल्क निर्धारण गरेबमोजिम तिर्नुपर्छ भन्ने लागेन । यसले विद्यालय व्यवस्थापकहरूलाई शिक्षकको तलब दिने काममा अप्ठ्यारो बनायो । आफूले खर्च गरौँ कतिन्जेल धान्ने, नगरौँ शिक्षकहरूलाई तलब नदिइकन कसरी विद्यालय सञ्चालन गर्ने भन्ने समस्यामा विद्यालय सञ्चालकहरू परे ।
ठूलाठूला सक्षम विद्यालयहरूले त केही महिना अभिभावकले शुल्क नतिरे पनि शिक्षकलाई तलब खुवाउन सक्ने भए तर अधिकांश विद्यालयहरू जुन बल्लबल्ल चलिरहेका छन्, जसको बचत छैन, पुँजी पनि छैन, ऋण छ, त्यस्ता विद्यालयहरूको व्यथा आफैँमा कहालीलाग्दो छ । अनलाइन शिक्षा सँगसँगै शिक्षकहरूको दुःख बढेको छ । महामारीको सन्त्रास र जीवनको आशाका बीच नयाँ-नयाँ प्रविधि सिक्दै, काममा धेरै मेहनत र परिश्रम थप्दै अनलाइन शिक्षणमा आफूलाई परिपक्व बनाउन लागिपरेका शिक्षकहरूको दैनिकी भने दयनीय छ ।
उनीहरूको काम बढेको छ तर आम्दानी घटेको छ । सरकारी विद्यालयले त रेडियो र टेलिभिजनबाट पढाउँछ । सहरी क्षेत्रका विद्यालयहरूले अनलाइनबाटै पढाउलान् । तुलनात्मक रूपले यतातिर विद्यालयहरू अभिभावकप्रति कमै जवाफदेही देखिन्छन् । अभिभावकहरूले पनि आफ्नो छोराछोरी पढाएबापत शुल्कको टन्टा व्यहोर्नु पर्दैन । यता जेजस्तो भए पनि सरकार अभिभावक भएर उभिन्छ । सरकारी शिक्षकहरू त सरकारी तलब खाने भए । उनीहरूको दैनिकी थोरै रमाइलै छ ।
निजी विद्यालयका शिक्षकहरूको व्यथा भने हृदयविदारक छ । निजी विद्यालयहरू अनलाइन पढाउन थालेपछि आफ्ना शिक्षकहरूलाई अभिभावकहरूबाट जति शुल्क उठाउन सकिन्छ त्यही अनुपातमा, अभिभावकले जहिले शुल्क तिर्छन् त्यही समयमा तलब खुवाउने अवस्थामा पुगे । यस कारणले कतिपय शिक्षकहरूले महिनौँसम्म पनि तलबै नखाई पढाउनुपरेको यथार्थ हामीसामु लुकेको छैन । तलब पाएकाहरूले पनि बढीमा पचास प्रतिशत मात्रै पाए । यो दृश्य र विषय विगतको मात्रै रहेन । यस वर्ष पनि निजी विद्यालयको हविगत उस्तै छ ।
अबका केही महिना वा स्थितिमा सुधार नआएमा यो वर्ष पनि शिक्षकहरू फेरि उस्तै चपेटामा पर्दैछन् । शिक्षकहरूको यो पेसाबाट पलायन हुने सम्भावना बढिरहेको छ । शिक्षकको यो मजबुरी, पीडा र संवेदनामा सम्बन्धित कसैको पनि ध्यान पुगेको देखिँदैन । यो अवस्था समस्त शैक्षिक क्षेत्र र राष्ट्रकै लागि प्रत्युत्पादक छ ।
भनिन्छ, शिक्षा सबैभन्दा ठूलो पूर्वाधार हो, शिक्षण उच्चस्तरीय पेसा हो, शिक्षक महान् व्यक्ति हो । यही क्षेत्र र पेसामा काम गर्नेहरूको हबिगत भने यति दर्दनाक छ । शिक्षक हुनुमा लघुताभास मात्रै होइन हीनता र पीडाबोध पनि छ । बदलिँदो शैक्षिक चुनौती, विधि र माध्यमबाट आफूलाई परिवर्तन गर्दै, खार्दै, निखार्दै अगाडि बढेर विद्यार्थीहरूलाई दीक्षित गर्नुपर्ने अवस्थामा यस्तो मनस्थितिमा शिक्षकहरूले कसरी काम गर्लान् ? घरभाडा तिर्ने र हातमुख जोर्ने समस्यासँग जुधिरहेको मन र मस्तिष्क लिएर कसरी पढाउन सक्छ होला शिक्षकले ?
जस्तो अवस्था भए पनि यी सबै कुरालाई पृथ्वीले झैँ पचाउँदै, दबाउँदै ऊ कक्षाकोठामा जान्छ । विद्यार्थीलाई पढाउँछ अनि सिकाउँछ । शिक्षक आफू निभेको हुन्छ तर विद्यार्थीलाई जलाउन खोज्छ । आफू गिरेको हुन्छ तर विद्यार्थीहरूलाई उचाल्न खोज्छ । आफू रोएको हुन्छ तर विद्यार्थीलाई हँसाउन खोज्छ । आफू दुःखी हुन्छ तर विद्यार्थीलाई खुसी बनाउन खोज्छ । यस्तो महान् कर्म गरिरहँदा पनि उसको बाहिरी आवरणभित्रको यथार्थलाई हेर्ने न अभिभावक छन्, न विद्यालय व्यवस्थापन छ । न नागरिक समाज छ, न सरकार नै छ । विद्यार्थीहरू त अबोध बालकहरू हुन्, उनीहरूबाट के आशा गर्न सकिन्छ र ?
शिक्षकहरूको यो व्यथामा यसको प्रत्यक्ष लाभग्राही हुनुका नाताले विद्यार्थीहरूका बुबा आमा अर्थात् अभिभावकहरू सँगसँगै हुनुपर्ने हो, तर विडम्बना ! अभिभावकहरूको आफ्नै मनोदशा, अवस्था, तर्क, दृष्टिकोण अनि बुझाइ छ जुन शिक्षकमैत्री कम छ । आधापेट खाएको होस् वा खाँदै नखाएको होस्, मानौं शिक्षक मिसिन हो जसले निरन्तर चलिरहनुपर्छ । संसार रोकिए पनि ऊ रोकिनु हुँदैन । आफ्ना छोराछोरीलाई उसले पढाइ रहनुपर्छ । पढाएबापतको शुल्क सके तिर्ने हो नसके नतिर्ने हो । मिले तिर्ने हो, नमिले नतिर्ने हो । पढाइ शुल्क उच्च प्राथमिकतामा पर्दैन ।
यस्तो मानसिकतामा रहेका अभिभावकहरूका कारण शिक्षकहरू पहिलो मारमा परेका छन् । सबै अभिभावकहरू यस्ता हुन्छन् भन्ने होइन तर यस्तो सोच राख्ने अभिभावकहरू थोरै हुँदा पनि विद्यालय सञ्चालनमा नकारात्मक असर पर्छ र त्यसको ठूलो धक्का शिक्षकले सहनुपर्छ ।
शिक्षकको यो मजबुरी, पीडा र संवेदनामा सम्बन्धित कसैको पनि ध्यान पुगेको देखिँदैन । यो अवस्था समस्त शैक्षिक क्षेत्र र राष्ट्रकै लागि प्रत्युत्पादक छ ।
अपवादबाहेक विद्यालय सञ्चालक वा व्यवस्थापकहरूलाई शिक्षकको यो दुःख थाहा छ तर उनीहरू निरीह र किंकर्तव्यविमूढ छन् । आउने स्रोत साँघुरिएपछि वा हराएपछि उनीहरूमा त्यसलाई सहन गर्ने, जिम्मेवारीपूर्वक व्यवस्थापन गर्ने, दूरदर्शितापूर्वक आफ्ना शिक्षकहरूको मनोबल उच्च राख्न कोसिस गर्ने, शिक्षकलाई विद्यालयको खम्बा मानेर त्यो ढल्यो भने विद्यालय ढल्छ भन्ने दृष्टिकोण राख्न र सोहीअनुरूप उसलाई ढल्न नदिने खालका प्रयास गर्ने, इमानदार र पारदर्शी बन्ने, जस्ता व्यवस्थापकीय सोच, कौशल र क्षमता नहुँदा शिक्षकको समस्या अन्तिम प्राथमिकतामा पर्ने गरेको छ । व्यवस्थापनसँग केही महिना आम्दानीमा संकुचन भयो भने पनि शिक्षकहरूमाथि त्यसको असर पर्न दिन्न भन्ने मानसिकता र पूर्वतयारी हुनुपर्दछ ।
शिक्षक भनेका विद्यालयको मुख्य काम गर्ने मानव संसाधन हो । यो पनि घर, जग्गा, गाडी जस्तै संस्थाको पुँजी हो जसलाई मानव पुँजी मान्नुपर्छ । यसमा हुने खर्चलाई केवल आम्दानीसँग मात्र नजोडेर लगानी सम्झनुपर्दछ । यस्तो लगानीको प्रतिफल सिधै नदेखिने खालको तर विशाल हुन्छ । शिक्षकहरूको मनोबल उच्च भयो भने, उनीहरूले सुरक्षित महसुस गरे भने, अझ अप्ठ्यारो परिस्थितिमा शिक्षकहरूको दैनिकीमा विद्यालयले योगदान गर्यो भने त्यसको असर विद्यालयको समग्र उन्नयनमा र सफल भविष्य निर्माणको बाटोमा अति नै सकारात्मक हुन्छ । शिक्षकहरूले विद्यालयलाई आफ्नो घर सम्झिन्छन्, दुःखमा साथै हुन्छन्, मन, वचन र कर्मले विद्यालयको उद्देश्य प्राप्तिका लागि साझेदार बन्छन् । यी कुराहरूको बोध गर्न सके विद्यालय व्यवस्थापन सही अर्थमा शिक्षकमैत्री वातावरण बनाउन सफल हुन्छ । यो विषयलाई व्यावसायिक कर्तव्य र धर्म मानेर त्यस्तै संस्थागत संस्कारको निर्माण गर्न सके निजी विद्यालयहरूले यो क्षेत्रमा अर्को उदाहरणीय कार्य गरेको ठहर्छ ।
यस कार्यमा विद्यालयले अभिभावकहरूको साथ समर्थन र विश्वाससँगसँगै लिन सक्नुपर्दछ । अभिभावकहरूले पनि विद्यालयलाई खुला हृदयले सहयोग गर्नुपर्दछ । यसको प्रत्यक्ष लाभ हेपिएर र दबिएर बसेका शिक्षकहरूले पाउँछन् र यो पेसाकै सम्मानमा बढोत्तरी हुन्छ । तब मात्र शिक्षण कर्मको मर्मलाई हामीले छाम्न सकेको मानिन्छ ।
विद्यालयले शिक्षक कर्मचारीहरूको तलब र सञ्चालन खर्चहरू धान्न सकिने गरी अनलाइन शिक्षाको शुल्क पारदर्शी भएर निर्धारण गर्नुपर्दछ । अभिभावकहरूले आफ्नो छोराछोरी पढाउने शिक्षकहरूलाई दोस्रो भगवान् सम्झिनुपर्छ र विद्यालयलाई दोस्रो मन्दिर मान्नुपर्दछ । छोराछोरीको शिक्षण शुल्क बुझाउनु ठूलो धर्म सम्झनुपर्छ । यो दृष्टिकोण को कुरा हो, सोचको कुरा हो र प्राथमिकताको पनि कुरा हो । आजको आवश्यकता यही हो किनकि बालबालिकाको शिक्षा हरेक व्यक्ति, परिवार र राष्ट्रको सुदूर भविष्य निर्धारण गर्ने एकमात्र महत्वपूर्ण कर्म हो जसमा शिक्षकहरू मुख्य पात्रको भूमिकामा रहेका हुन्छन् । उनीहरूको शिक्षण कर्मभित्रको मर्मलाई नियाल्दै त्यसउपर संवेदनशील भएर जिम्मेवारीपूर्वक अभिभावकहरू र विद्यालय व्यवस्थापन दुवैले हातेमालो गर्नुपर्ने देखिन्छ ।
(लेखक निर्भाणा एकेडेमीका प्रधानाध्यापक हुन् । उनी प्रशिक्षक तथा विद्यार्थी गुणीय चक्रका विशेषज्ञ र अभियन्ता पनि हुन् । उनी कान्तिपुर भ्याली कलेज, ललितपुरमा व्यवस्थापन संकाय सदस्य पनि हुन् ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया