विचार

प्रविधिले हामीलाई अगाडि लैजाँदै छ कि पछाडि ?

गोपीनाथ मैनाली |
असार २५, २०७८ शुक्रबार १३:४९ बजे

नोबेल विजेता इल्या प्रिगोजिनले भनेका थिए, ‘हामी भविष्यको अनुमान गर्न सक्दैनौँ, तर त्यसको तयारी गर्न सक्छौँ ।’ पल भेलसीका अनुसार, ‘भविष्य निर्माणका क्रममा छ, निरन्तर निर्माणका क्रममा ।’

हाम्रा कार्य विगतका सम्झना, वर्तमानको विश्लेषण र भविष्यको अनुमानमा आधारित छन् । भविष्यको यसकारण जानकारी हुँदैन कि त्यो विगतजस्तो हुँदैन, न पहिला लेखिएको थियो वा देखिएको नै हुन्छ । यो अध्ययन र प्रतिवेदनले सिफारिस गरेजस्तो पनि हुँदैन । त्यो अनिश्चित र अनुमानयोग्य सिर्जना हुन्छ । तर अनुमान गर्न नसकिए पनि यो वर्तमानको हातमा हुन्छ । यो स्वतन्त्र छ, यसकारण कि हामी यसको निर्माण गर्नसक्छौं, यो हाम्रै कर्म र सिर्जनाको परिणाम हो । 


हालका पुस्ताले अघिल्लो शताब्दीमा कल्पना नै नगरिएको उपलब्धिको उपभोग गरिरहेको छ । तेस्रो औद्योगिक क्रान्ति याने कि अघिल्लो शताब्दीको उत्तराद्र्धबाट विकास भएको सूचना तथा सञ्चार प्रविधिले परिवर्तनका विभिन्‍न आयामलाई अकल्पनीय रूपमा सहज पारेको छ । यसले सामाजिक रूपान्तरणलाई सघाएको छ, उत्पादन सङ्गठन बदलेको छ । व्यापार प्रक्रिया र बजार स्थलहरू बदलेको छ । सामाजिक सम्बन्ध र सहकार्यको स्वरूप फेरेको छ । ज्ञान आर्जन, सहभागिता र अवसरका अवरोधहरू भत्काएको छ । विश्वव्यापीकृत समाज, विश्वव्यापीकृत संस्कृति र विश्वव्यापीकृत नै अर्थतन्त्र निर्माण गरेको छ । 

दोस्रो, औद्योगिक क्रान्तिले उत्पादन सङ्गठनलाई जसरी यन्त्रीकरण गरेको थियो, सोभन्दा कैयन् गुणा तीव्र गतिमा तेस्रो औद्याोगिक क्रान्तिले विचार, वित्त, बजार र सम्बन्धको प्रविधि अकल्पनीय रूपमा विकास एवं विस्तार गरेको छ । तेस्रो औद्योगिक क्रान्तिबाट उद्यमी, उपभोक्ता, सरकार, अन्वेषक, शिक्षक शिक्षार्थी, सर्वसाधारण सबै नै लाभान्वित छन् । तर परिवर्तन यही स्वरूप र प्रवृत्तिमा होला भन्‍ने अनुमान अघिल्लो शताब्दीमा कसैले गरेको थिएन, गरेको भए पनि त्यो स्वैरकल्पना मानिन्थ्यो । जसरी जर्ज अर्वेल र भगवान प्रकाशका अनुमानलाई ‘स्वैरकल्पना’ मानियो । 

नयाँ शताब्दी सुरु हुनै लाग्दा फ्रेडरिको मायोर र जेरोम विण्डेले ‘अघिल्तिरको विश्व’ मा यस शताब्दीका चार चुनौती उल्लेख गरेका थिए । पहिलो चुनौती शान्ति स्थापना गर्नु थियो । किनकि शीतयुद्धमा जलिरहेको विश्वका लागि शान्ति र स्थिरता विकासका आधार थिए । 

दोस्रो चुनौती भिन्‍न प्रकारको गरिबीको उपस्थितिलाई मानिएको थियो । तेस्रो औद्योगिक क्रान्तिले गरिबीको धेरै स्वरूप सिर्जना गर्ने सम्भावना थियो, जस्तो कि डिजिटल डिभाइड, सूचना विभेद, खास वर्गमा अवसरको सीमान्तीकरण आदि, जसले गरिबीविरुद्धको विस्तृत रणनीति माग गर्ने कुरा स्पष्ट थियो ।

तेस्रो चुनौती प्राकृतिक स्रोत साधनको विवेकसम्मत प्रयोग कसरी गर्ने भन्‍नेमा थियो । किनकि उत्पादन सङ्गठन, व्यापार र बजारीकरणको प्रविधि परिवर्तनले प्रतिस्पर्धाको होडबाजी ल्याउने सम्भावना थियो । चौथो चुनौती ‘ड्रङ्केनबोट सिन्ड्रोम’ वा सही गन्तव्य पहिचान कसरी गर्ने भन्‍ने थियो । राष्ट्रहरू समुद्रमा रुमलिएको डुङ्गाजस्तै कता जाने, के गर्ने भन्‍ने समस्यामा पर्न सक्छन् भन्‍ने थियो । विशेषगरी अल्पविकसित मुलुकहरू यो ‘सिन्ड्रोम’बाट आक्रान्त हुने अनुमान गरिएको थियो । पानीको बढ्दो तनाव, उर्जा सङ्कट, बढ्दो खाद्य असुरक्षा, तापमान वृद्धि, प्रदूषण, असमानता विस्तार जस्ता विषयवस्तुले उल्लिखित चुनौतीको अनुमान गरिएको थियो । नभन्दै यी चुनौतीले अहिले समग्र मानव सुरक्षालाई नै हाँक दिइरहेको छ । 

भन्‍न सकिन्छ तेस्रो औद्योगिक क्रान्तिले अवसर र चुनौतीहरू साथै ल्याएको थियो । त्यसैले जोखिम न्यूनीकरण गरी अवसरको अधिकतम दोहन गर्ने क्षमता विकास हाम्रो दायित्व हो । कुनै पनि परिवर्तनमा समकालीन पुस्ता यसप्रति जागरुक हुनैपर्छ । परिवर्तन वा भविष्यप्रतिको तयारी भनेको यही हो ।

यस शताब्दीमा आएका अवसरको अग्रपङ्क्तिका भागिदार युवा हुन् । युवा पुस्ता अकल्पनीय अवसरको उपयोग गरिरहेको छ । शिक्षा आर्जन, अवसर दोहन र सहभागिताका ढोका सबैका लागि खुले पनि विशेषतः युवा उमेर र आदतका कारण शताब्दीका फाइदाबाट बेस्सरी लाभान्वित छ । सिर्जनामा रमाएको छ, मनोरञ्जनमा रमाएको छ । सिकाइसाथ मनोरञ्जनमा अभ्यस्त भएको छ । कर्ममा अभ्यस्त हुने प्रवृत्तिमा छ । 

सूचना तथा सञ्चार प्रविधि शिक्षा र सीप आर्जनमा उपयोग गर्ने धरै ठूलो अवसर छ । ज्ञान आर्जन स्वतन्त्रता र उन्मुक्तताको खोजी हो, सीपले जीवन सामर्थ्य दिने हो । सिकाइ-पढाइले व्यक्तिका लागि ज्ञानको ढोका खोलिदिन्छ, ज्ञानले अरुलाई प्रभाव पार्ने अतिरिक्त शक्ति दिन्छ, अवसर उपयोगको सामर्थ्य दिन्छ । शिक्षा सबै प्रकारको वञ्चिती र विपन्‍नताविरुद्धको रणनीति हो । शिक्षा सहज हुनु भनेको यसर्थ सबै प्रकारको वञ्चिती र दासत्व मुक्तिको बाटो सहज हुनु हो, विपन्‍नताबाट सामर्थ्य र शक्तिमा पुग्‍नु हो । त्यसैले युवा पुस्ता भाग्यमानी छ । पढ्ने-पढाउने, सिक्ने-सिकाउने प्रविधि बदलिएको युवापुस्ता झनै सुखी छ । अब उसले किताबको भरिया पनि बन्‍नु परेको छैन । सूचना, विचार र जानकारीको डिजिटाइजेसनले ज्ञानको निरन्तर, प्रसार र नवीकरण गर्न सघाएको छ ।

प्रविधिमा आएको अकल्पनीय फड्कोका कारण पुस्तान्तरणमा झनै ठूलो खाडल आउँदै छ ।

त्यसैले एक्काइसौँ शताब्दी किताबको अन्त्य हो, किताबविना नै ज्ञान पस्किने डिजिटल लाइब्रेरीहरूको युग हो । स्टोरविना नै वस्तु कारोबार गर्ने युग हो । बैंकका काउन्टरविना नै वित्तीय कारोबार गर्ने वित्तीय शिक्षा र समावेशीकरण गर्ने युग हो । यसले शैक्षिक, आर्थिक र प्राविधिक ‘लिपफ्रगिङ’ गर्‍यो । आफ्ना सन्ततिले लिएको अवसरको स्वादबाट अघिल्लो पुस्ता निकै खुसी छ, लोभिएको पनि होला आफूले यस्तो अवसर नपाएकामा र भन्दै होला ‘पुनर्जन्म हुने भए चौथो औद्योगिक क्रान्तिको आश्वादन गर्न फेरि यही पृथ्वीमा जन्म होस् ।’ 

विकसित प्रविधिले भाषाको स्वरूप र शैली पनि बदल्दै छ । भाषा यसअघि राजनीतिक कार्यसीमाको माध्यम थियो । छापा माध्यम र रेडियो फ्रिक्वेन्सी नै अन्तर्राष्ट्रिय प्रभुत्व विस्तारका माध्यम थिए । हेनरी किसिन्जर र आन्द्राइ ग्रोमीको आआफ्नो मुलुकको प्रभाव विस्तारको माध्यम यसैलाई बनाउँदै थिए । तेस्रो औद्योगिक क्रान्तिले भाषा र अभिव्यक्तिलाई अकल्पनीय रूपमा सहज पारेको छ । अब कूटनीति रेडियो फ्रिक्वेन्सीको सीमाबाट कता होे कता विस्तारित छ । नागरिकहरू पनि ग्लोबल सिटिजनसिपमा अधिकार र अवसर उपयोग गर्दैछन् ।

मातृभाषा, सामुदायिक भाषा र राष्ट्रिय भाषाजस्ता भाषाको पदसोपान बदलेको छ । भाषिक बहुलवाद विकास भएको छ भनिए पनि धेरै भाषा जोखिममा छन् । कम्प्युटर, अंग्रेजी र केही ठूला मानिएका भाषा सीमाहीन शिक्षाका माध्यम बनेका छन् । जोखिमका भाषाहरू परिमार्जन वा सम्मिलनका क्रममा छन् । भाषा, संस्कृति र रहनसहनमाथि पनि डार्बिनवाद लागू भएको छ, ‘सामर्थ्यवान् नै बाँच्न सक्छ’ (सर्भाइभल अफ फिटेस्ट) । सामर्थ्य विस्तार यतिखेरको चुनौती हो । दिन प्रतिदिन ‘डिस्ट्रप्टिभ आइडिया’ वा उथलपुथल ल्याउने विचारको सिर्जना भएको छ, विचारले प्रायोगभूमि पाउने प्रविधि पनि विकास भएको छ । विश्वव्यापीकृत भाषा त्यसका भरिया बनेका छन् विश्वका कुना कुनामा ती विचार र प्रविधि पुर्‍याउने । 

ग्य्राबिएल गार्सिया मार्केजले भनेझैँ ‘आउँदा दिनले हामीबाट धेरै मागेको छ ।’ परिवर्तनले दिनेमात्र गर्दैन । यो माग पूरा गर्नु अहिलेको चुनौती हो । युगीन दायित्व पूरा गर्न प्रत्येक पुस्ताको कर्तव्य हो । यसका लागि व्यक्ति सामर्थ्यवान्‌ हुनैपर्छ । संस्थाहरू सामर्थ्यवान् हुनैपर्छ । हाम्रै घर आँगनमा चौथो औद्योगिक क्रान्तिका लागि वातावरण बनिरहेको छ । यो तेस्रो क्रान्तिभन्दा निकै चुनौतीप्रद हुनेछ ।

कृत्रिम बौद्धिकता, रोबोटिक्स, आइओटी, स्वचालित मेसिन, नानो प्रविधि, जैविक प्रविधि, ऊर्जा सञ्चय, क्वान्टम कम्प्युटिङजस्ता प्रविधिले चौथो पुस्ताको क्रान्तिलाई आमन्त्रण गर्दैछ । चौथो क्रान्तिले भौतिक, डिजिटल र जैविक प्रविधिको फ्‍युजन गर्दैछ । अर्थशास्त्री एरिक ब्रिन्जोल्फसन र एन्ड्रू म्याक आफी चौथो क्रान्तिले असमानता ह्वात्तै बढाउने र श्रम बजार विस्थापन हुनेबाट चिन्तित छन् । यन्त्र युल्याको आविष्कारले यन्त्र मानव पनि ठूला पुरस्कार जिती आफैँलाई आविष्कार गर्ने मानिसलाई उछिनी सक्यो । नोबेल विजेताहरू एकएक गरी सबै सम्मान र पुरस्कार यन्त्र मानवले पाउने सम्भावनामा आन्दोलित नै भए । युभल नोह हरारी त प्रविधिसँग निरन्तर हेलिन नसक्ने मानव पुस्ता नै गतावधिक बन्‍ने खतरा देखिरहेका छन् । त्यो समय धेरै नजिक छ । 

जेहोस् परिर्वतनलाई स्वीकार्नुको विकल्प पनि छैन । परिवर्तनलाई सम्बोधन गर्ने रणनीति भविष्यको तयारी हो । जोहन भोन न्यूमान, स्टीभ जब्स, जुकरबर्गभन्दा निकै डिस्रप्टीभ आइडिया लिएर इलोन मस्कहरू क्रान्ति गर्दैछन् । जसले समाज व्यवस्थाका सबै पक्षमा एकसाथ उथलपुथल ल्याउनेछ ।

अबको पुस्ताले ज्ञान र शिक्षा आर्जनलाई स्वतन्त्रताको खोजीका रूपमा मात्र हेरेर पुग्दैन, अरूले विकास गरेको ज्ञान र प्रविधिलाई उपभोग गरेर मात्र पुग्दैन । भिन्‍न रूपमा प्रयोगमाथिको जागरण पनि ल्याउनुपर्छ । प्रत्येक व्यक्तिको दिमाग आविष्कारको स्रोत हो, कार्यस्थल प्रयोगशाला हो । 

परिवर्तन र प्रविधिको उपभोक्ता बनेर मात्र युगीन दायित्व पूरा हुँदैन । झनै दुरुपयोगको अपराधले समाजलाई धिक्कार्न सक्नेछ । न्यूमानले भनेझैँ पुस्ताले सोचोस्- के नयाँ प्रविधि बचाइराख्‍न सकिन्छ ? के यसलाई समाजकै पक्षमा उपयोग गर्ने क्षमता विकस गरिरहन सकिन्छ ? यसका लागि फेरि पनि भुल्न हुँदैन, प्रत्येक पुस्ताले आफूले पाएभन्दा राम्रो प्रणाली आउने पुस्तालाई हस्तान्तरण गरेर जानुपर्छ । यो नै विकासको नियम र भविष्यको निर्माण हो ।

([email protected])


Author

थप समाचार
x