विचार

जरुर उठ्छ-उठ्नुपर्छ माओवादी आन्दोलन

मिलन लामा |
फागुन २५, २०८१ आइतबार १२:४१ बजे

हजारौं जनताको ठूलो संघर्ष त्याग, बलिदानसहितको महान दश वर्षे जनयुद्धले राजतन्त्र, एकात्मक राज्य व्यवस्था र समाजका सबै प्रकारका क्षेत्रिय, वार्गीय, लिङ्गीय, जातिय विभेद अन्त्य गर्दै जनयुद्धको जगमा नयाँ संविधान जारी गरि देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।

माओवादी यतिबेला शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिमा आइपुगेको छ । नयाँ संविधानमार्फत राज्यको प्रणाली पूर्ण रुपमा केही निहीत व्यक्तिको पहुँचबाट जनताको हातमा आएको छ । आम जनता सामाजिक दृष्ट्रिकोणले समान छन् भन्ने मुल्य मान्यता संविधान स्थापित भएको छ । बलिदानपूर्ण युद्ध र क्रान्तिबाट जन्मिएको पार्टी माओवादी यतिबेला जनताको मन जित्दै आन्दोलनलाई थप उचाईमा उठाउन सक्रिय छ ।


आज नयाँ संविधानको कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गरी सामाजिक, भौगोलिक र आर्थिक रुपमा उत्पीडनमा परेका समुदायको उत्थान, शान्ति प्रकृयाका बाँकी कार्यभार पुरा गर्दै आर्थिक विकास, सुशासन र सामाजिक न्यायसहितको समाज निर्माण गर्नु माओवादी आन्दोलनको दायित्व हो । विस २०६४ को संविधान सभाको निर्वाचन यता विभिन्न काल खण्डमा भएको निर्वाचनमार्फत माओवादी आन्दोलन र पार्टीलाई जनतले निवार्चनमार्फत अनुमोदित गरिसकेको छ । जसले १० वर्षे जनयुद्ध एक ऐतिहासिक आवश्यकता थियो भन्ने प्रामाणित गरेको छ ।

यद्यपी माओवादी पार्टी आन्तरिक जीवनमा विभिन्न आरोह अवरोह पार गर्दै टुटफुट विभाजन झेल्दै, पुन: एकता र रुपान्तरणको दिशामा आइपुगेको छ । उत्पीडित समुदायको प्रतिनिधि राज्यको शासकीय भूमिका र राज्यको नीतिगत तहमा प्रतिनिधित्व सुनिश्चित गराउनु माओवादी आन्दोलको कारणले हो भन्ने आम समुदायले बुझ्दै आएको छ । माओवादी आन्दोलन मुख्यतः उत्पीडित समुदायको राजनीतिक, सामाजिक, आर्थिक परिवर्तनको अभियान हो । राष्ट्रको विकास र सामाजिक न्यायसहितको समाज विकासको लागि माओवादी निरन्तर संघर्षरत छ । 

पार्टीको आन्तरिक जीवनलाई सदृढीकरण गर्दै टुटफुटबाट विभाजित माओवादी घटकहरूलाई वैचारिक र राजनैतिक रुपमा पुन: एकता गर्दै माओवादी आन्दोलनलाई थप सशक्त बनाउन आवश्यक छ ।  २१औं शाताब्दीको युग विज्ञान र प्रविधिको युग हो । पार्टी आन्दोलनलाई वर्तमान राष्ट्रिय अन्तराष्ट्रिय परस्थितिको अन्तरविरोधलाई वैज्ञानिक ढंगले विश्लेषण गर्दै समाज विकासमा पार्टीको स्पष्ट दृष्ट्रिकोण विकास गरेर विज्ञान र प्रविधिसँग जोड्दै नयाँ पुस्ताहरूलाई पार्टीमा आकर्षित गर्नु आजको अवश्यकता हो । 

गणतन्त्र, समानुपातिक समावेशी सिद्धान्त, धर्म निरपेक्षता र संघीयता माओवादी आन्दोलनको मुख्य उपलब्धीहरू हुन्, यी उपलब्धिको रक्षा गर्दै आम उत्पीडित समुदायको सामाजिक तथा आर्थिक रुपमा उत्थान गर्नु माओवादी आन्दोलनको कार्यभार हो । नेपाली समाजमा जातीय, वर्गीय क्षेत्रीय र सांस्कृतिक विभेदहरू अझै प्रकट भइरहेका छन् । उत्पीडित समुदायको हक र अधिकार अझै पुर्णरूपमा सुनिश्चित हुन कसेको छैन । राज्यको मूल प्रवाहमा सदियौंदेखि उत्पीडनमा परेका समुदायको प्रतिनिधित्व अत्यन्तै न्यून रहेको छ । यी समुदायको राजनीतिक, आर्थिक र सामाजिक रुपमा समग्र विकासको लागि पनि माओवादी आन्दोलन उठ्न जरुर छ र भइसक्यो ।   

पार्टी आन्तरिक जीवन टुटफुट र विभाजनले कमजोर हुँदै जाँदा निर्वाचनमा अन्य पार्टीहरूसँग गठबन्धन गर्दा माओवादीलाई घाटा भयो । आन्दोलन र पार्टी कमजोर अवस्थामा पुगेको जस्तो देखिएकता पनि अन्य प्रतिस्पर्धी पार्टीहरूमा भ्रष्टाचार बेतिथि र अराजकताको कारणले आजित भएका जनता देशमा फेरि माओवादी आन्दोलन आवश्यक भएको महसुस हुँदै गएको छ । यो कुरा पछिल्लो उप निर्वाचनको जनमतले प्रमाणित गरेको छ । माओवादी आन्दोलनले सामाजिक न्याय, आर्थिक समानता र शोषण मुक्त समाज निर्माण गर्न र उत्पीडित समुदायको वृहत्तर विकासको लागि अझै पनि संघर्ष गर्नपर्ने देखिन्छ यसैका लागि फेरि माओवादी आन्दोलन उठ्न जरुरी छ ।

वर्तमान सरकार नागरिक उत्तरदायित्वबाट पन्छिदै भ्रष्टाचार र प्रशासनिक विकृतिमा रुमलिएको छ । यस्तो अवस्थामा प्रमुख प्रतिपक्षको सशक्त भूमिका निर्वाहा गर्दै सरकारलाई खबरदारी गरि आम नागरिकलाई सुशोसित गनुपर्नेछ ।

मुलत: माओवादी आन्दोलनलाई सशक्त बनाउन पार्टी आन्तरिक जीवनलाई मजबुद बनाउँदै सामाजिक, आर्थिक, सांस्कृतिक राजनैतिक जागरण अभियानहरू गाउँ वस्तीसम्म पुर्‍याउनुपर्छ । भ्रष्टाचारीहरूविरुद्ध र सुशासन सामाजिक न्याय, आर्थिक विकास र सम्वृद्धिको पक्षमा ठोस रुपमा अभियानहरू कार्यक्रमहरू सञ्चालन गरि आम नागरिकहरूको मन जित्नेगरी अभियानहरू सञ्चालन गर्ने जसले फेरि माओवादी आन्दोलनप्रति नागरिकहरू आशावादी हुँदै माओवादी आन्दोलनमा गोलबन्ध हुनेछ ।

लामाको यसअघिका लेख


Author

मिलन लामा

लामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)का केन्द्रीय सदस्य हुन् ।


थप समाचार
x