विचार

पर्यटन उकास्ने चिन्ता

कोभिडले पर्यटन क्षेत्र टाट पल्टियो, सरकारले विशेष प्याकेज ल्याउनुपर्छ

खोप पाएपछि मात्रै ढुक्कले व्यवसाय सञ्चालन गर्न सकिन्छ

श्रीराम सिग्देल |
असार ३१, २०७८ बिहीबार १७:३८ बजे

काठमाडौँ : कोभिड-१९ को दोस्रो लहर नेपालगञ्जबाट सुरु भयो । नेपालगञ्जमा अवस्था भयावह भएपछि मात्रै काठमाडौँ लकडाउन गर्ने अवस्थामा पुगेको थियो । जतिबेला पश्चिम नेपालको पर्यटन फस्टाउँदै थियो । पहिलो चरणको कोभिडबाट थला परेको पर्यटन उकास्न सबै शक्ति लगाएर हामी लागिरहेका थियौँ । बाँके, बर्दिया र दाङमा पर्यटन गतिविधि भइरहेका पनि थिए ।

तर कोभिडको दोस्रो लहर सुरु भयो । नेपालगञ्जमै अवस्था भयावह भयो । हामीले सोच्नै नसकिने गरी नेपालगञ्ज कोभिडले थलियो । कतिले ज्यान गुमाए । कति संक्रमित भए । अवस्था यस्तो आयो कि हामी बाहिर निस्किदा अब बाँच्न नपाइने भयो जस्तो लाग्थ्यो ।


नेपालगञ्जबाटै कोभिड अरु ठाउँमा पनि फैलियो । फेरि निषेधाज्ञा भयो । बैशाखदेखि असारसम्म पूर्ण रूपमा ठप्प भयो । यसले सबैभन्दा ठूलो मार पर्यटनलाई पारेको छ । पहिलो चरणको कोभिडबाट उकास्ने प्रयास हुँदै गर्दा दोस्रो लहरको कोभिड आयो । अहिले केही रुपमा खुला भएको छ । तर फेरि कहिले निषेधाज्ञा हुने हो ? तेस्रो लहरको कोभिड आउने हो कि भन्ने चिन्ता छ । 

यसकारण पनि कोभिडले गर्दा पर्यटन क्षेत्र मारमा परेको छ । पर्यटन व्यवसायी टाट पल्टिएका छन् । होटल ठप्प छन् । ट्राभल एजेन्सी महिनौँ ताला लगाएर बसेका छन् । गाडी चलेनन् । पर्यटक आए पो पर्यटन व्यवसाय चल्छ । यहाँ त जीउ ज्यानकै चिन्ता छ । कोभिडले सबै क्षेत्र तहसनहस पारेको छ । पर्यटन क्षेत्रलाई झन् धेरै असर पारेको छ ।

अब पर्यटन क्षेत्र उकास्न सजिलो छैन । फेरि पहिलेको जस्तो अवस्था पनि रहेन । तर पनि प्रयास जारी राख्नुपर्छ । हामीले त्यसका लागि फेरि कोसिस गर्दैछौँ । अहिले पनि अन्तराष्ट्रिय सीमानाका ठप्प छन् । सबै जहाज चलेका छैनन । आन्तरिक जहाज खुलेपछि केही आश बढेको छ । विस्तारै सबै सार्वजनिक गाडी चल्दैछन् । यसले अलिकति भए पनि अब पर्यटन व्यवसाय उठाउन सकिन्छ भन्ने आशा दिएको छ ।

तर पर्यटन व्यवसायीको मुख्य समस्या भनेको राजस्व कसरी तिर्ने भन्ने छ । बैंकबाट लिएको ऋणको किस्ता कसरी तिर्ने भन्ने समस्या छ । व्यवसाय ठप्प छ भनेर बैंकले किस्ता लिन छाड्दैन । कोभिड भनेर बैंकले न ब्याजदर घटाउँछ । न त किस्ताको भाका नै सारिदिन्छ । 

त्यसमाथि यसैबेला ‘क्लोजिङ’ भनेर बैंकले अलिकति पनि छुट दिदैँन । व्यवसायीलाई बैंकले दिने आतंक सानो छैन । ऋण नलिईकन व्यवसाय गर्न सकिदैन । यस्तो बेला थप लगानी गरेर व्यवसायीको भविष्य सुनिश्चित छैन । यस्तो बेला सरकारले विशेष प्याकेज ल्याएर राहत दिनुपर्छ । होइन भने पर्यटन व्यवसायीलाई उठ्न निकै समस्या हुन्छ । फेरि पर्यटन व्यवसाय फस्टाएमा फाइदा सरकारलाई नै हुने हो । सरकारले निषेधाज्ञा सुरु गरेको हो । सबै क्षेत्रलाई थोरै भएपनि सरकार छ है भन्ने महसुस गराउन पनि पर्यटन व्यवसायीका लागि विशेष प्याकेज ल्याउनुपर्छ ।

पर्यटन बढ्नु भनेकै चहलपहल बढ्नु हो । यसले अहिलेको अस्तव्यस्तता केही हदसम्म सहज गराउँछ । यसबाट पर्यटन क्षेत्र सामान्य अवस्थामा फर्किएको सन्देश पनि जान्छ । यसका लागि गतिविधि बढाउनुपर्छ । तर त्यसका लागि सरकारले नै विशेष सहयोग गर्नुपर्छ ।

अब यस्तो बेला विभिन्न संघ संस्था पनि जुर्मुराउन आवश्यक छ । पर्यटन बोर्डदेखि अरु संघ संस्था पनि अब सक्रिय हुने बेला भयो । गएको वर्ष पहिलो चरणको कोभिडको बेला नाट्टाले विभिन्न कार्यक्रम गरेकै हो । बाँके, बर्दिया, दाङमा पर्यटन गतिविधि बढाएकै हो । लुकेका पर्यटकीय क्षेत्रलाई  प्रचारप्रसार र नयाँ गन्तव्यका रुपमा विकास गर्न खोजेकै हो । 

अब यस वर्ष पनि त्यसलाई थप जोड दिने प्रयास गर्छौ । यसपटक पोखरा–नेपालगञ्ज जहाज उडाउने तयारी सुरु गरेका छौँ । पोहोर बुद्ध एयरले सिधा जहाज उडाउने तयारी गरेकै बेला कोभिडको दोस्रो लहरले स्थगित भएको थियो । यसपटक त्यो प्रयास फेरि सुरु गर्दैछौ । यसबाहेक अरु गतिविधिका लागि पनि छलफल सुरु गरेका छौँ । पर्यटन क्षेत्र चलायमान बनाउन सबैले सबै क्षेत्रबाट काम गर्न जरुरी छ ।

तर यसका लागि सबै पर्यटन व्यवसायीलाई सरकारले खोप दिनुपर्छ । अहिलेसम्म हेर्दा सबैलाई सरकारले खोप दिने प्राथमिकतामा राखेर खोप अभियान थालेको छ । अब पर्यटन व्यवसायीलाई पनि खोप सुनिश्चित गर्नुपर्छ । त्यसपछि मात्रै पर्यटन व्यवसायी ढुक्क भएर पर्यटन गतिविधि बढाउनतिर लाग्छन् । 

(नाट्टा बाँकेका अध्यक्ष सिग्देलसँग विष्णु विश्वकर्माले गरेको कुराकानीमा आधारित)


 


Author

थप समाचार
x