संसदीय प्रजातन्त्रमा यो नौलो प्रयोग सार्थक नभए इतिहास र भूगोल दुर्घटनामा पर्नेछ
शासन शैलीमा प्रजातान्त्रिक संस्कृति र नेतृत्वमा राजनीतिक संस्कार नभएकाले नेपालको प्रजातान्त्रिक पद्धति फेरि संकटमा परेको छ । प्रजातन्त्रको संस्थागत जीवनरेखा संसद्लाई नै मार्ने प्रयास, संसद् स्वयम्ले जन्माएको राष्ट्रपति र प्रधानमन्त्रीबाट पाँच महिनामा दुई पटक भयो ।
राजनीतिक दलहरू प्रजातान्त्रिक संस्कारबाट नचलेपछि, नेताहरू ईष्र्या, अहंकार र आवेशको बन्दी भएपछि जनताद्वारा निर्वाचित संसद् आफैँले बनाएको राष्ट्रपति र प्रधानमन्त्रीबाट नै असुरक्षित हुँदो रहेछ भन्ने पाठ विश्व प्रजातन्त्रको इतिहासलाई नेपालले टिपाएको छ ।
प्रजातन्त्र बचाउन संसद्को स्थायित्व हुनुपर्ने, यसलाई बचाउन सांसदहरूलाई स्वविवेकीय अधिकार हुने र यसो गर्दा दलीय ह्वीप लाग्दैन भन्ने उन्मुक्तिले न्यायिक संरक्षण पाएको छ । अदालतद्वारा पुनःस्थापित संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने आधार अदालतको परमादेशले नै स्थापित गरेको छ ।
यसको उल्लंघन भयो भने के हुन्छ ? संसदीय प्रजातन्त्रमा सर्वथा नौलो यस्तो व्यवस्था र अवस्था प्रजातन्त्रको इतिहासले निधारमा गाँठो पारेर हेरिरहेको छ । साबिकमा नभएको यस्तो मौलिक एवं सुविचारित मूल्य पद्धतिलाई सार्थक तुल्याउने अभिभारा संसद्को अधिवेशनमाथि छ ।
बहुमत सांसदले व्यक्तिगत विवेकको आधारमा एक सांसदलाई विश्वासको मत दिएर प्रधानमन्त्री हुने संसदीय प्रजातन्त्रको इतिहासमा असाधारण अवसर शेरबहादुर देउवालाई प्राप्त भएको छ ।
संसदीय प्रजातन्त्रको इतिहासमा पहिलो पटक बहुमत प्राप्त अथवा अन्य दल वा दलहरूको समर्थन प्राप्त दलको संसदीय दलको नेता हैन, बहुमत प्राप्त गर्न सक्ने विश्वास गरिएका सांसद प्रधानमन्त्री भएका छन् । शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री हुँदाको यो संवैधानिक विधि सर्वोच्च अदालतको परमादेशबाट संविधानबमोजिम प्रयोगमा आएको छ ।
यो प्रयोगको सफलताले मात्रै संसद् पुनःस्थापनाको सैध्दान्तिक सार्थकता पुष्टि गर्नेछ । प्रधानमन्त्रीको चयन र निरन्तरतामा दलको सदस्य संख्या वा नेतृत्वको चाहना अर्थहीन भएको छ ।
बहुमत सांसदहरूले व्यक्तिगत विवेकको आधारमा एउटा सांसदलाई विश्वासको मत दिएर प्रधानमन्त्री हुने संसदीय प्रजातन्त्रको इतिहासमा असाधारण अवसर शेरबहादुर देउवालाई प्राप्त भएको छ । कुनै व्यक्ति, शक्ति वा समूहप्रति ऋणी हुनु नपर्ने, संसदीय गणितको समेत चिन्ता गर्नु नपर्ने यस्तो अपूर्वको अवसरलाई सदुपयोग गरेर देउवाले राष्ट्रिय नेतृत्व दिने प्रयास गर्नुपर्छ । सम्पूर्ण नेपालीको प्रधानमन्त्री बन्ने, नेपालको वर्तमान र भविष्यका लागि समर्पित हुने पहिले नबनेको अनुकूल अवस्था परिबन्दले अहिले बनेको छ । यो पनि खेर गयो भने राजनीतिक स्थायित्व मात्र हैन, नेपालको इतिहास र भूगोल दुर्घटनामा पर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया