मरीचमानले टिकाएका, माओवादीले लखेटेका सल्यानका राेका सर
क्याम्पसका संस्थापक अध्यापकहरू दायाँबाट रामशंकर बर्मा, बादलकुमार श्रेष्ठ, हरि सिंह, बलबहादुर रोका र अनन्तराम आत्रेय ।
२३ वर्षपछि देश फर्केर नागरिकता बनाउन सिडिओको कक्षमा छिरेका उनी कसरी २४ वर्षकै उमेरमा अध्यापक भए ? मरीचमानसिंह श्रेष्ठको पहलमा सल्यानमा खुलेको क्याम्पस र जनवादीको निशानामा परेर १२ वर्षकै अल्पायुमै बन्द भएको स्कुलको कथा :
सल्यान जिल्लाको तत्कालीन निगालचुला गाविसको सातभगाले गाउँ । गाउँमा तिनताक मजदुरी गर्न भारतको कालापहाड, सिम्ला जाने चलन थियो । दुर्भाग्यवश, त्यो चलन अझै पनि पातलै रूपमा भए पनि निरन्तर नै छ ।
तिनैमध्येका एक थिए, पञ्चराम रोका । ‘हिन्दुस्तान’ जाने-आउने क्रम बढ्दै जाँदा सिम्लामा आफ्नो गाउँबाट मजदुर आपूर्ति गर्ने काम गर्न थाले । बुवा-आमासँगै जेठा छोरा बलबहादुर रोका पनि एक वर्षकै उमेरमा २०१४ सालमा सिम्ला पुगे ।
म्याट्रिकुलेसनसम्मको अध्ययन सिम्लामै गरे । अंग्रेजी साहित्यमा स्नातकोत्तरसम्मको अध्ययन पन्जाब युनिर्भर्सिटी, चण्डिगढबाट गरे ।
एक वर्षको हुँदा सिम्ला हानिएका उनी एक्कै पटक २०३७ सालमा जिल्ला फर्किए । नागरिकता बनाउन नपरेका भए सायद कुन्नि !
निगाल्चुलाबाट बिहानै हिँडे, उनी सदरमुकातिर । वडाध्यक्षसमेत रहेका आफ्ना ठूलोबुवासँगै उनी सदरमुकाम खलंगा हिँडे ।
२०३७ माघ २३ । मिति कण्ठस्थ छ, उनलाई । जिन्दगीमा सोचे न सम्झेको टर्निङ पोइन्ट ल्याइदिने मिति बिर्सने कुरा पनि त भएन !
उनी पुगे, नागरिकता फाँटमा । सबै काम सकियो । अब बाँकी रह्यो, सीडीओ साहेबको साक्षात्कार र हस्ताक्षर ।
‘स्मार्ट’ ठिटो अनि अलिअलि हिन्दी लवज । सीडीओ साहेबले सोधपुछ गरे— को हौ ? के गर्छौ ? कहाँ छौ ? आदि इत्यादि ।
यी सीडीओ थिए, केशवराज राजभण्डारी । जो पछि प्रमुख निर्वाचन आयुक्त पनि भए ।
संयोगले जिल्ला शिक्षा समितिका प्रमुख तथा राजनीतिज्ञ रेशम शाक्य पनि त्यहीँ थिए । बलबहादुरले आफ्नो कहानी सबै बेलिबिस्तार लगाए । सल्यानकै निगाल्चुलामा रहे-बसेका भए ‘जिल्लाका राजा’सित बोल्दा मुख बन्द हुँदो हो, संकोच र डरले । तर, उनी त थिए, बडो स्मार्ट । हिन्दुस्तानमा बसेको । अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेको । छुट्टीमा घर आएको । नागरिकता बनाएर फेरि हिन्दुस्तान फर्किने ... । उनले आफ्नो कहानी बताए ।
सल्यानमा पहिलोपल्ट क्याम्पस खुलेको वर्ष दिन पनि भएको थिएन । जिल्ला शिक्षा समितिका प्रमुख रेशम शाक्य र सीडीओ राजभण्डारीले तुरुन्तै प्रस्ताव गरे– बाबु, क्याम्पस पढाउनुपर्यो ।
तिनताक सीडीओ नै क्याम्पस सञ्चालक समितिको अध्यक्ष हुने चलन थियो ।
बलबहादुर एकछिन केही बोल्न सकेनन् । उनी सम्झन्छन्, ‘खासमा मसँग त्यो बेला क्याम्पसमै पढाइहाल्ने ‘कन्फिडेन्स’ थिएन ।’
केशवराज राजभण्डारी शिक्षाप्रेमी प्राज्ञिक व्यक्ति थिए । रेशम शाक्यतर्फ हेर्दै उनले भने, ‘आई थिंक ही क्यान टिच ।’
जसोतसो घिसिपिटी गर्दै स्कुलले तीन ब्याच एसएलसी दिन भ्यायो । अनि २०५७ सालको शैक्षिक सत्रसँगसँगै निजी विद्यालय बन्द गर्ने माओवादीको उर्दीसँगै १२ वर्षे अल्पायुमै स्कुलको ईहलीला समाप्त भयो ।
सोचे न सम्झेको प्रस्ताव आएपछि २४ वर्षका उनी छक्क परे । दोधारमा रहेका बलबहादुरलाई ठूलोबुवाले अवसर नछोड्न भनेपछि उनले तुरुन्तै ‘हुन्छ नि त’ भने ।
त्यो बेला राष्ट्रिय पञ्चायतको जिल्ला सभापति थिए, अजमत पुरी । क्याम्पस प्रमुख चैँ ईश्वरलाल सिंह । दुवै जना क्याम्पस सञ्चालन तथा व्यवस्थापन समितिमा थिए । सबैको छलफलपछि नागरिकता बनाउन आएका बलबहादुरले ‘टिचिङ असिस्टेन्ट’ पदको नियुक्तिपत्र बुझे ।
तलब पाउने भए, मासिक सात सय पचास रुप्पे । सँगै आएका ठूलोबुवा ‘खुस खबर’ लिएर एक्लै निगालचुला घर फर्किए । उनी डेराको बन्दोबस्त गर्नतिर लागे । त्यो साँझ सदरमुकाममै बसे ।
ईश्वरलाल सिंह क्याम्पस खुल्ने भएपछि काठमाडौँबाट ल्याइएका रहेछन् । २०३७ जेठ १९ मा शिक्षामन्त्री भएका मरीचमान सिंह श्रेष्ठले ईश्वरजस्ता धेरैलाई सल्यान पठाए । रामलोचन सिंहलाई नेपालगन्जबाट काजमा पठाएका । पछि प्रधानमन्त्रीसमेत भएका उनै श्रेष्ठकै पहलमा क्याम्पस स्थापना भएको हो ।
बीपी मन्त्रिमण्डलमा २०१६ सालमा मन्त्रीसमेत भएका नेबबहादुर मल्लको पहलमा २००८ सालमा मा खुलेको सल्यानकै पहिलो स्कुल त्रिभुवन जन मावि लुहापिङको उत्तरतर्फको एउटा भवनमा क्याम्पसको पढाइ सुरु भयो ।
(स्मरण रहोस्, यो स्कुलमा मरीचमान सिंह श्रेष्ठ) अंग्रेजी शिक्षक तथा २०१९ देखि २०२९ सम्म प्रधानाध्यापकसमेत भएका थिए ।
जिल्लामै पहिलो चोटि क्याम्पस खुलेपछि सल्यानमा चहलपहल पनि सुरु भयो । प्रवीणता प्रमाणपत्र तहको पहिलो ब्याचमा करिब २० जना विद्यार्थी भर्ना भए । तीमध्ये केहीको नाम अझै याद छ, रोका सरलाई । दाङको तुलसीपुरमा भेटिएका उनी ३० वर्षअघिको स्मरण ताजाझैँ सुनाउँछन् । भन्छन्— पदमा श्रेष्ठ, केशव सिंह, अनिरुद्र थापा... ।
नियमित क्याम्पस आउने थोरै हुन्थे । त्रिभुवन विश्वविद्यालयले व्यवस्था गरेको पाठ्यक्रमअनुसारका पुस्तक पाउन मुस्किल थियो । प्राध्यापकहरू आफैँले पुस्तक जोहो गरेर त्यहीअनुसार विद्यार्थीलाई नोट बाँडेर पढाइन्थ्यो ।
रोका सरको खलंगामा डेराको बसाइ । बिहानभरि क्याम्पस । आन्तरिक स्रोतबाटै कर्मचारी-प्राध्यापकको पारिश्रमिकको जोहो । क्याम्पसमा नियमित तलब पाउन पनि मुस्किल हुन थाल्यो । यति प्रतिभाशाली व्यक्ति कन्दराको क्याम्पसमा नअड्ला कि भनेर सिनियर प्राध्यापक अनन्तराम आत्रेय, बादलकुमार श्रेष्ठ, ईश्वरलालहरूले मरीचमानको निर्देशनमा रोका सरलाई क्याम्पस प्रमुखको मीठो पासो थापे । २४ वर्षसम्म भारतको चमकधमक देखि-भोगिसकेका रोका सरलाई सल्यान घरीघरी निस्याइलो लाग्नु स्वाभाविकै थियो । उनी भन्छन्, ‘म बिस्तारै सल्यानमा रमाउँदै गएँ । जे गरेँ, जति गर्न सकेँ-सकिनँ, मलाई थकथकी छैन ।’
क्याम्पसको आम्दानी न्यून थियो । आर्थिक कठिनाइले च्याप्दै गएपछि २०३८ सालमा उनले क्याम्पससँग साँध जोडिएको त्रिभुवन जन माध्यमिक विद्यालयमा अंग्रेजी अध्यापन गर्न गए । मावि तहको तलब स्केल थियो, मासिक ७ सय रुपैयाँ ।
‘स्मार्ट’ ठिटो अनि अलिअलि हिन्दी लवज । सीडीओ साहेबले सोधपुछ गरे— को हौ ? के गर्छौ ? कहाँ छौ ?
त्यो समयमा उक्त विद्यालयमा हेडमास्टर थिए, लीलाराज भँडेल । उनी पनि अंग्रेजीकै अध्यापक । त्यो समयमा मावि स्तरको शिक्षक सरकारी सेवातर्फ काजमा जान सक्ने प्रावधानअनुसार लीला सर जिल्ला शिक्षा अधिकारीको भूमिकामा तनहुँ रमाना भए ।
क्याम्पस प्रमुख भइसकेको व्यक्ति माध्यमिक विद्यालयमा, त्यो पनि अरू नै हेडमास्टरको अधीनस्थ भएर मास्टरी गर्न संकोच भयो कि सर ? भन्छन्, ‘म त्यहाँ विशुध्द मास्टरी गर्न नभई स्वायत्त रूपमा आगन्तुक अध्यापक (भिजिटिङ टिचर) का रूपमा गएको थिएँ । म कसैको नियन्त्रणमा थिइनँ, केवल आफ्नै ।’ त्यो समयमा जिल्ला शिक्षा अधिकारी थिए, प्युठानका चुमानसिंह । जो पछि शिक्षा मन्त्रालयको सहसचिवबाट रिटायर्ड भए ।
क्याम्पस आर्थिक रूपमा संकटमा परेपछि बालकृष्ण पन्थी सीडीओ हुँदा एउटा जुक्ति ल्याइयो । स्रोत संकलनको उपाय के भने— प्रतिएकाइ मालपोत करमा ‘क्याम्पस सञ्चालन तथा व्यवस्थापन शुल्क’ भनेर १ रुपैयाँ लिने । यो व्यवस्था करिबन दुई वर्षसम्म रह्यो ।
स्कुलमा अंग्रेजी ‘रामराम’ भएका कारण धेरैलाई रोका सरको कलेज क्लास भूत बर्बराए जस्तै लाग्थ्यो । रोका सर कक्षामा अंग्रेजी मात्रै बोल्छन्, किस्सा यस्तो थियो । अरू त अरू आफ्नो नामसमेत अंग्रेजीमा मात्र बोल्छन्, कोही हँसाउँथ्यो ।
ठाँटका साथ अंग्रेजी पढाएर कलेजमा रमाइरहेका रोका सरको जिन्दगीमा अर्को टर्निङ पोइन्ट आयो । बिहान क्याम्पस पढाउने, दिउँसभरि के गर्ने त ? यस्तो भएपछि उनी लागे, थप बेफुर्सद खोज्नतिर ।
जिल्लामा निम्न वर्गबाट निम्न मध्यम वर्गमा स्तरोन्नति हुनेहरूको संख्या बढ्न थालेसँगै केही सल्यानीहरूले आफ्ना लख्यालखी (छोराछोरी) हरूलाई बोर्डिङ (अंग्रेजी माध्यममा पढाइ हुने निजी स्कुललाई बोर्डिङ भन्ने चलन) स्कुल पढाउन दाङ-नेपालगन्जतिर पठाउन थाले । यो देखेपछि सल्यानमै भर्खरै हुर्कंदै गरेको एउटा निजी विद्यालयको स्वामित्व आफूले लिए अनि नाउँ दिए, ‘हिमदृश्य अंग्रेजी विद्यालय ।’ दार्जिलिङका टिचर भनेर चिनिने भुटानी शरणार्थीहरूले स्कुल-स्कुल सुरु गरेका थिए, रोका सरले यसैलाई अँगाले ।
यो २०४७ सालको कुरो हो । प्रजातन्त्रको पुनर्बहाली सँगसँगै ‘आर्थिक उदारीकरणको स्थानीय उत्पादन’ भन्न रुचाउँछन् उनी आफ्नो स्कुललाई । स्कुल सञ्चालन गर्न उनले गतिलो साथ पाए, जीवनसंगिनी भावना रोकाबाट ।
शिक्षा र स्वास्थ्यमा कमरेडहरूबाटै यत्रो अपार प्यापार भइरहँदा पनि नेपाल ‘समाजवादउन्मुख’ भनि नै रहनुपर्ने दिनमा छौँ अहिले हामी । निजी स्कुल अहिले जसरी नाफाका केन्द्र भएका छन्, त्यसरी त्यस समयमा सल्यानमा निजी स्कुल नाफामुखीभन्दा सेवामुखी नै बढ्ता नै थिए ।
भन्दा अलि आदर्शवादी कुरो होला तर त्यो समयमा त्यो स्कुलको प्रतिफलमा आर्थिक ‘नाफा’को स्थान अत्यन्तै गौण थियो । सुदूर पहाडको जिल्लामा एउटा निजी स्कुल सफलतापूर्वक सञ्चालन गर्नु नै ठूलो कुरा थियो । विद्यार्थीसँग ‘फिस’का लागि ताकेता गर्न पनि संकोच लाग्थ्यो, उनलाई ।
जसोतसो घिसिपिटी गर्दै स्कुलले तीन ब्याच एसएलसी दिन भ्यायो । अनि २०५७ सालको शैक्षिक सत्रसँगसँगै निजी विद्यालय बन्द गर्ने माओवादीको उर्दीसँगै १२ वर्षे अल्पायुमै स्कुलको ईहलीला समाप्त भयो ।
अहिले परिस्थिति यस्तो आयो, त्यतिबेला चन्दाको धन्दा चलाउने ‘जनवादी क्रान्तिकारी’हरू नै अहिले शिक्षाको व्यापार गरेरै धनवादी भएका छन् । र, रोका सर दाङमा पनि स्कुल चलाउन नसकेको उदास मुडमा ।
त्यति बेला कति कमाउनुभो त निजी स्कुलबाट ? केही भन्न नपाउँदै भावना म्यामले अघि सर्दै भनिन्— सबै लेखाजोखा गर्दा खुद घाटा मात्रै डेढ लाख रुपैयाँ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया