तानाशाहका तर्फबाट
खलिल जिब्रानको एउटा कथा छ । पागल शीर्षकको । महाकवि देवकोटाको पागल कविताजस्तै । त्यसको मुख्य पात्रले भन्छ, ‘अनुहारमा मखुण्डो हुँदासम्म म सबैको देवता थिएँ । मलाई सबैले पूजा गर्थे । एक दिन अनयास मेरो अनुहारबाट मखुण्डो खस्यो । मेरो अनुहारलाई पहिलोपटक सूर्यका किरणले स्पर्श गरे । त्यसपछि मेरा दुर्दिन सुरु भए । मानिसहरू मलाई राक्षस भनेर लखेट्न लागे । अघिअघि पूजा गर्नेहरूकै आक्रमणबाट जोगिन मैले लुक्नुपर्यो ।’
भर्खरै प्रधानमन्त्री पदबाट निकालिएका केपी ओली र खलिल जिब्रानको कथाको पात्र मलाई उस्तै उस्तै लाग्छ । हिजो उनको भगवान् जसरी पूजा गर्नेहरू नै आज उनको चर्को आलोचनामा छन् । उनको अनुहारबाट उत्रिएको मखुण्डो केको हो भन्ने मैले भेउ पाएको छैन । केपी प्रधानमन्त्री भए । बालकोटबाट बालुवाटार गए । काजु किसमिस खाए ।
झण्डै साढे ३ वर्षको समय अरुलाई खिसिट्युरी गरेर, अपमान गरेर, जनतालाई बेसार पानी खान सिकाएर बिताए । कानुनलाई नुन बनाए । खानामा आफ्नो स्वादअनुसार राखेर खान मिल्ने । नागरिक कोरोनामा पिल्सिँदा बालुवाटारमा सारङ्गी बजाएर त्यसकै धुनमा लठ्ठिएर बसे । चिच्याइरहेका नागरिकलाई कुनै एउटा राजाले जस्तै झ्यालबाट खुट्टा देखाइदिए । त्यसै भएर धेरै पढिनेमध्येको एक अनलाइनले लेख्यो, ओलीको बिर्सनलायक ४० महिना !
अझै थपौँ, ओलीलाई काम गर्न कतैबाट बाधा व्यवधान थिएन । नेकपा हुँदा उनी अल्पमतमा पर्दा उनले त्यो मान्नुपर्ने थियो । उनी बहुमत भएको पार्टी उनको नामको कम्पनी हो । त्यसले गरेको संस्थागत निर्णय पनि ओलीको एकल भनेर बुझिन्छ ।
त्यसमा नीति नियम ओलीले मात्रै मान्नुपर्छ । अरुलाई त्यो नमाने पनि फूलमाला लगाएर पूजा गर्नुपर्छ । उनले उद्घाटन गरिदिएकै कारण माथिल्लो तामाकोसीको जेनेरेटरमा समस्या आयो । धरहरा बनाउनैपर्ने थिएन । बनाए पनि उनले उद्घाटन गरेका कारण त्यो कमजोर छ ।
बाँकी अरु भएका विकास भन्ने जुन ओलीले रटान लगाइरहेका छन् त्यो त ओलीका ठाउँमा एउटा निर्जीव लौरो भएको भए पनि हुन्थ्यो । ओलीले नेपालले थेग्ने नसक्ने-नेपालमा हुनै नसक्ने विकासका गँजडी गफ लगाइदिए । जसले मानिसहरूलाई निराश बनाएर डिप्रेसनतिर लग्यो ।
साँच्चै आजका बहस-तर्क सुन्दा लाग्छ, एक मात्र समस्या ओलीमा थियो । ओली गएपछि हामी धेरैले परिकल्पना गरेको रामराज्य हुन्छ । कुरा त्यही हो ? ओली त गए अब हामीले भनेको जस्तै हुन्छ त ! माथि भनेको जस्तै भएको हो ? खै, अहिलेका सञ्चारमाध्यम र नेताहरूको कुरा सुन्दा शब्द यिनै नभई पनि भावार्थ यही छ ।
केपी प्रधानमन्त्री भएर मात्रै आजको दुर्दशा भएको हो । केपी नभएका भए हामीले भनेको जस्तै हुन्थ्यो । सम्भवतः कोरोनाबाट पनि मानिस मर्ने थिएनन् । यो खेर गएको साढे ३ वर्षको एक मात्र जिम्मेवार केपी हुन् । त्यसैले होला, एक मूलधारको सञ्चारमाध्यमका सम्पादकले लेखे, बालकोटको बार्दलीमा खुम्चिएको अतिवाद !
कुन कुरा पत्याउने हो ? नेताहरूले मञ्चमा उफ्रिएर गरेको भाषण कि ! उनीहरूले चियागफमा व्यक्त गर्ने विचार । १९५० को सम्झौता खारेज गर्ने भनेर चर्को भाषण गर्ने नेताले चियागफमा त्यो त जनताका लागि भन्दिएको मात्रै हो भने भनेर लेखेको आधिकारिक मेल विकिलिक्सले सार्वजनिक गरिदियो । बाहिर जसरी पनि राजा हटाउनुपर्छ भन्नेहरू त्यो त जनताका लागि मात्र कुरा गरेको भनेर दरबारमा विन्ती बिसाउँथे भनेर किताबै लेखियो ।
केपी हिँडेपछि जनताका सुदिन फेरिन्छन् भन्ने अहिलेको भाष्यको शंका गर्न त मिल्छ नै होला ? या नयाँ नेपालको यात्रामा हिँडेका हामीलाई यस्तो कुरा गर्ने मान्छे २०६५ सालतिर जस्तै प्रतिगमनकारी हुने हो ? अझ त्यो बेलामा जस्तै प्रतिगामी अनुहारमा कालो मोसो नै पो दलिने हो कि !
२०६५ तिरकै कुरा, अलिकति सम्झना ! जनयुद्ध गरेर आएको शक्ति । संसदीय राजनीति गर्नेहरू पूरै बदनाम भएको बेला । जनताका लागि आफ्नो ज्यानै दाउमा राख्नेहरूले विकास कसो नगर्लान् ? जनताहरूलाई लाग्यो, दिनुपर्ने मत दिए ।
ठूलो शक्ति बनाइदिए । क्रान्तिकारी कमरेडहरूलाई लाग्यो । प्रतिगमन गर्ने राजसंस्था त गयो । राजसंस्था झल्कने सालिकहरू त छन् । भोलि फ्याट्ट मान्छेहरूले सालिक हेरेरै राजा आऊ देश बचाऊ भन्ने नारा लाइदिए भने ! त्यसपछि देशभर सालिक तोडफोडको महान् अभियान सुरु भयो । तोडफोड अभियानको नेतृत्व गर्नेहरूले नै फेरि सालिक मर्मत वा पुनर्निर्माण गरे । हामीले दुवै काममा ताली ठोक्यौँ ।
सालिक फोड्दा जनताको आक्रोश अनि मर्मत÷पुनःस्थापना हुँदा इतिहासको सम्मान भनेर ! यो छिनमा एकापट्टि, छिनमै अर्कोपट्टि लाग्ने पीपलपाते चरित्र कसको ? हाम्रो समाजको चरित्र हो कि ? नेतृत्वको हो कि ? बौद्धिक वर्गको हो ? अहिलेको बहुचर्चित १६७ पाने फैसलाले पनि भनेको छ, समाजभन्दा राम्रो राजनीति हुँदैन; राजनीतिभन्दा राम्रो शासन व्यवस्था हुँदैन । सँगसँगै त्यसले अर्को कुरा पनि भनेको छ, समस्या विगतमा जारी भएका संविधानमा थिएन् । समस्या नेतृत्वमा थियो ।
पुस ५ देखि जेठ २८ सम्म आइपुग्दा केपी गलत थिए भन्ने प्रमाणित भयो । विश्वकै उत्कृष्ट संविधान लेखेकामा गौरव गर्ने नेताहरू अहिले अदालतबाट कसैलाई प्रधानमन्त्री बनाउन परमादेश माग गर्नुपर्ने अवस्थामा पुगेका छन् । प्रधानमन्त्री चुन्ने काम मेरो हैन, संसद्को हो त्यसैले चुन्नुपर्छ भन्न छाडेको अदालत विशुद्ध कानुनको व्याख्याता भएको छ ।
आफ्नो दलको नेता हटाएर विपक्षीलाई प्रधानमन्त्री बनाउने पात्र अहिले विधिका रक्षक भएका छन् । सबैका हाइहाइ भएका छन् । साँच्चै ती पात्रलाई तिमी नै दलको नेता भएको भए के गथ्र्याै भनेर सोध्न कसैले आवश्यक ठानेका छैनौँ । पार्टीको अध्यक्ष र संसदीय दलका नेताले पार्टीको बैठक राखेर सोधेको प्रस्टीकरण कुनै नेता विशेषको भएको छ ! यस्तो निर्देशन पार्टीको हुन्छ कि व्यक्तिको । कि ओलीलाई फटाहा देखाएपछि अरुले जे गरे पनि हुने हो ! साँच्चै यी लोकतन्त्रका नयाँ नियम मैले नबुझेको नै हुँला । सबैले भनेपछि पनि शंका गर्नु पनि त अपराध नै हो !
ओली तानाशाह भए । बाँकी सबै लोकतान्त्रिक । दलहरूबीचमा एकले अर्कोलाई खराब देखाउन जे पनि भनिदिने चलन छ नेपालमा । त्यसो नभएको भए देउवालाई बुझाएका ४० बुँदा पूरा नभएको भनेर सशस्त्र संघर्षमा होमिएको माओवादी, माओवादी आन्दोलन नियन्त्रण गर्न प्रचण्डको टाउकाको मोल तोक्ने देउवा सँगै बस्न सक्छन् । अहिले त दुई शक्ति मिलेर सरकार के हो अब देखाइदिने अभियान नै सुरु भएको छ । साँच्चै आजको दिन देख्नुपर्ला भनेको भए जनयुद्ध त्यही रूपमा चल्थ्यो होला ?
अहिले ओलीलाई जुन राजनीतिक दलले राक्षस बनाइरहेका छन् । उनीहरूका केही स्वार्थ मिल्नेबित्तिकै उनी फेरि भगवान् भइहाल्नेछन् । दलहरूको राजनीतिक स्वार्थको सञ्चारमाध्यम तथा नागरिक समाज साक्षी किनारा भइदिनु गम्भीर कुरा हो । गम्भीर लाग्नुपर्नेलाई नलागेपछि अरुलाई लागेर के नै हुने हो र ! नत्र ओलीलाई मानसिक उपचारका लागि पाटन लैजानुपर्छ भनेर लिखित निर्णय गर्नेहरूले उनीसँगै बसेर काम गर्दैनथे ।
आफ्नो स्वार्थ मिल्दा त राजनीतिमा सत्ता सबै कुरा हो बाँकी सबै भ्रम हुन भन्ने त भनाइ नै छ । नेताहरूका लागि त्यो सही नै होला । तर सत्ता राजनीतिमा लेनदेन नभएकाहरू पनि जब मैदानमा कसैलाई हराउनैपर्ने मान्यतासाथ ओर्लन्छन् । त्यसपछि सबै कुरा भताभुंग हुन्छ । नेपालमा अहिले भएको त्यही हो । यसो भन्दा अहिले तानाशाहको बचाउ गरेको अर्थ लाग्छ÷लगाइन्छ । तथ्यमा भन्दा भावनामा बग्ने समाज भएपछि हुने यही हो । आखिर राजनीति पनि समाज अनुसार नै हुने हो ।
कथाबाट सुरु लेखको कथाबाटै टुङ्ग्याउनी
एउटा गाउँमा वर्षमा एकपटक पुरुषार्थ देखाउने मेला लाग्ने रहेछ । गाउँको एकजना मेला हेर्न गए । उनलाई मेलामा अरुअरुले गरेको चटक देखेर आफू पनि केही गरौँ भन्ने इच्छा जागेछ । के गर्ने भन्ने धेरै बेर सोचेपछि उनले आफूसँगै लगेको हँसिया निलिदिएछन् । हँसिया निलेपछि उनले पुरस्कार त पाए । पुरस्कार लिएर घर फर्कंदा उनकी आमाले पुरस्कारसहित आएको छोराबाट सबै कुरा सुनेपछि भनिछन्, अहिले तिमी खुसी छौ ।
खुसीमा धेरै कुरा सोचिन्न । परिणाम पनि । हँसिया त निल्यौ बाबु । यो पेटमै पच्ने चिज त हैन । निस्कने बेलामा तिमीले चाल पाउनेछौ । हामी पनि अहिले हँसिया निल्न सकेकामा असाध्यै खुसी छौँ । यो निस्कने बेलामा कसो होला ? २ सय पुरस्कार लिन पचाएको हँसियाले २ लाखै पो खर्च गरिदिने हो कि । नेपालीको पाचन क्षमता गजबकै छ भनिन्छ । पेटमै हँसिया पचि पो हाल्छ कि ! यसै भन्न गारो छ । समय सबैभन्दा बलवान् भन्छन् । त्यसै भएर पर्खनुको विकल्प छैन । बाँकी परिणाम त आगामी दिनमा देखिएला नै ! @apawaad
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया