विचार

विचार

निजी विद्यालय नै नभएको फिनल्यान्ड कसरी शैक्षिक सूचकमा सर्वोच्‍च स्थानमा छ ?

जगन्‍नाथ काफ्ले |
मंसिर २२, २०७७ ८:३८ बजे

चेतना, बुध्दि, ज्ञान, सीप र क्षमता प्राप्ति तथा अभिवृध्दि गर्ने औजार हो भने सिकाइ तिनै चेतना, बुध्दि, ज्ञान, सीप र क्षमता प्राप्ति र अभिवृध्दि गर्ने प्रक्रिया हो । शिक्षा मात्र एउटा यस्तो तत्व हो जसले कुनै पनि प्राणीको प्रकृति प्रदत्त स्वभाव पनि परिवर्तन गर्न सम्भव बनाउँछ । यसले सोचाइको दायरा फराकिलो बनाउँछ, व्यवसायी बनाउँछ, कुशल जीवन जिउने कला सिकाउँछ, सामाजिक बनाउँछ, वास्तविक मान्छे बनाउँछ ।

नेपालमा हामीलाई औपचारिक शिक्षा सामान्यतया पूर्वस्कुल वा किन्डरगार्टन, प्राथमिक विद्यालय, माध्यमिक विद्यालय, कलेज, विश्वविद्यालयमा धेरै अंक भएको प्रमाणपत्र जम्मा गर्नुलाई मात्र शिक्षा भन्‍ने बुझाइयो तर, वास्तविक शिक्षा केवल औपचारिक शिक्षालयमा र शिक्षालयका गुरुहरूबाट पढे-पढाएर मात्र प्राप्त हुन्छ भन्‍ने हुँदैन । आमाको गर्भमा आएबाट सुरु भई चेतना रहुन्जेल चलिरहने जीवनोपयोगी तत्वको प्राप्ति र प्रक्रिया हो भन्‍ने तथ्य बुझाइएन । अथवा भनौँ यो ब्रह्माण्डमा यत्ति धेरै ज्ञान छ कि जसले गर्दा एउटा विद्यार्थीको लागि शिक्षाको कुनै सीमा नै हुँदैन ।

प्रारम्भ काललाई हेरौँ अक्षर निरक्षरहरूले बनाएका हुन् भने शब्द नहुनेले भाषा बनाएका हुन् । प्रमाणपत्रधारी मात्र शिक्षित हुन्छन् भन्‍ने सत्य होइन । हो, वास्तवमा शिक्षा असीमित हुन्छ । यो असीमित शिक्षा कि त पढेर कि परेर प्राप्त गर्न सकिन्छ, परेर जानेको शिक्षा नै दिगो र बढी प्रभावकारी हुन्छ । शिक्षा अक्सर शिक्षकहरूको मार्गनिर्देशन बमोजिम विद्यार्थीहरू शिक्षित हुन्छन् तर वास्तविक विद्यार्थी अथवा सिकारुहरू गुरुहरूका मार्गदर्शन अलावा हरेक पाइलापाइलाका अनुभवका आधारमा आफैँले आफैँलाई पनि जीवन शिक्षाको ज्योतिले प्रदीप्त गर्न सफल हुन्छन् भन्‍ने तथ्य न त हामीले बुझ्यौँ न हाम्रा कुनै विद्यार्थीहरूलाई नै बुझायौँ ।

शिक्षा क्षेत्रका वरिष्ठ अनुसन्धानकर्ता बेन जोन्सनले बृहत् अनुसन्धान गरेर पत्ता लगाए कि ‘असल शिक्षक त्यो हो, जसले पढाउँदैन ।’ हो, असल शिक्षकले पढाउँदैन- घोकाउँदैन- सीमित ज्ञान दिँदैन । उसले विद्यार्थीलाई अधिकभन्दा अधिक प्रभावकारी र व्यावहारिक शिक्षा ग्रहण गर्ने भोक जगाउँछ, वातावरण मिलाउँछ, उचित निर्देशन दिन्छ, समान अवसर दिन्छ ।

विगत एक दशकबाटको विशिष्ट शिक्षा प्रणाली भएका मुलुकहरूको सूचकांकमा विश्वको पहिलो नम्बरमा रहन सफल मुलुक फिनल्यान्डमा रहेको शिक्षा प्रणालीमा भएका विशेषताहरू के कस्ता छन् र त्यस्तो असल शिक्षा प्रणालीबाट हामीले के सिक्न सक्छौँ ? भन्‍ने तथ्यलाई निम्न बमोजिम केलाऔँ ।

परीक्षाको मापदण्डरहित (नो स्ट्यान्डराइज्ड टेस्ट) सीमित पाठ्यक्रमका बनिबनाउ, प्रश्न अनि परीक्षामा पास हुन र धेरै अंक ल्याउन पढ्ने घोक्ने चलन फिनल्यान्डमा छैन । हरेक दिनको विभिन्न क्रियाकलाप, अभ्यास र प्रस्तुतिहरू मार्फत विद्यार्थीका समग्र प्रगतिको ट्यांक गरिन्छ । उच्च माध्यमिकको अन्त्यमा अन्तर्राष्ट्रिय स्तरको स्वेच्छिक मेट्रिकुलेसन परीक्षा हुन्छ नत्र कुनै परीक्षाको पनि निश्चित मापदण्ड तोकिएको छैन ।

उत्तरदायित्व होइन, दायित्व 
यहाँको मान्यता नै हो, रेस्पोन्सिबिलिटी, नो एकाउन्टिबिलिटी । फिनल्यान्डमा शिक्षकले उत्तरदायित्व होइन, दायित्व वहन गर्नुपर्छ । कुनै पनि शिक्षक हुन कम्तीमा स्नातकोत्तर हुनु अनिवार्य छ भने बाल मनोविज्ञान बुझ्न सक्ने र सिकाइ तरिका राम्रो बुझेको हुनुपर्छ । विद्यार्थी कहिल्यै फेल हुँदैन, फेल त शिक्षक हुन्छ । हो, विद्यार्थी त सिकारु हो, ऊ कहिल्यै फेल हुँदैन यदि विद्यार्थीमा कुनै कमी-कमजोरी भयो भने शिक्षक फेल हुन्छ । त्यसैले शिक्षक कोहीसँग उत्तरदायी हुनुपर्दैन केवल आफ्नो विद्यार्थीलाई संसारकै विशिष्ट बनाउने दायित्व वहन गर्नुपर्छ  ।

प्रतिस्पर्धा होइन, सहयोग 
कोओपरेसन, नो कम्पिटिसन । फिनल्यान्डको सिकाइ पध्दतिले पहिचान गरेको तथ्य ‘वास्तविक विजेतासँग कसैको पनि प्रतिस्पर्धा हुँदैन ।’ जसरी संसारमा पृथक् पृथक् असीमित जान्नु सिक्नुपर्ने विषयवस्तु र विधाहरू हुन्छन्, त्यसैगरी मानिसको विशेषता र क्षमता पनि पृथक्पृथक् असीमित नै हुन्छन् । त्यसैले विद्यार्थीलाई कहिल्यै एउटा दुइटा वा सीमित विषयवस्तुमा प्रतिस्पर्धा गराउनु हुँदैन । फिनल्यान्डमा विद्यार्थीलाई कसरी खुसी, स्वास्थ्य, सामञ्जस्य र सिर्जनात्मक बनाउन सकिन्छ जस्ले उसको मौलिक क्षमता उजागर होस् भन्‍ने ध्येय रहेको हुन्छ ।

सिकाइको वातावरण 
फिनल्यान्डको स्कुलमा के-कति पढाइयो भन्दा पनि के-कसरी पढाइयो भन्‍ने कुरालाई मुख्य ध्यान दिइन्छ । बच्चालाई कमभन्दा कम तनाव, बीचबीचमा प्रशस्त ब्रेक, बढीभन्दा बढी रिल्याक्स वातावरण, कसरी हुन्छ सहज वातावरण सिर्जना गरिन्छ ।

एक दशकदेखि विशिष्ट शिक्षा प्रणाली भएका मुलुकहरूको सूचकांकमा विश्वको पहिलो नम्बरमा रहन सफल मुलुक फिनल्यान्डबाट के सिक्न सक्छौँ ?

किताब कापीको पानामा घोके, घोकाइएको भन्दा आफैँले खुद अभ्यास गरेको शिक्षा दिगो र प्रभावकारी हुन्छ भन्‍ने हेतुले सैध्दान्तिकभन्दा पनि बढी व्यावहारिक सिकाइको वातावरण सिर्जना गरिन्छ । प्रमाणपत्रले होइन, बच्चाको क्षमता उसको शारीरिक तथा मानसिक चुस्तताले निर्धारण गर्छ हो, त्यो वातावरण सिर्जना गरिन्छ ।

ढिलो स्कुल सुरु 
 फिनल्यान्डको शिक्षा पध्दतिले भन्छ ‘बच्चालाई बच्चा नै हुन देऊ’ । प्रशस्त खेलेको र ऊ आफैँमा कौतुहलता जागेको बच्चा जिम्मेवार, तेजिलो र सिर्जनात्मक हुन्छ । त्यसैले फिनल्यान्डमा बच्चालाई ७ वर्ष पछि मात्र स्कुल भर्ना गरेर औपचारिक शिक्षा दिइन्छ । शिशु कक्षामा केवल खेलाइन्छ, बच्चाले खेल्दाखेल्दै अंक (अक्षर चिन्न, आफैँले खान, जुत्ताकपडा लगाउन फुकाल्न, आफ्नो सामानको जतन गर्न, एक्लै तथा साथीभाइसँग सामूहिक काम गर्न, दैनिक जनजीवनमा आइपर्ने काम, कठिनाइ, समस्या समाधान गर्न अभ्यस्त भइसकेको हुन्छ । हाम्रा पूर्वजहरूले व्रतबन्धपश्चात् मात्र औपचारिक शिक्षा दिइने प्रचलन सायद अहिलेभन्दा वैज्ञानिक पो थियो कि ?

व्यावसायिक विकल्प 
यो संसारमा शिक्षा लिनुदिनु पर्ने करोडौँ विधाहरू हुन्छन् भन्‍ने तथ्य फिनल्यान्डले राम्रोसँग बुझेको छ । हरेक बच्चा तथा व्यक्तिहरूसँग पृथक्पृथक् विशेषता र क्षमता हुन्छ भन्‍ने कुरामा पनि फिनल्यान्ड सचेत छ अनि हरेक विधा एवं विषयवस्तुहरूलाई व्यावसायिकताको जरुरी हुन्छ भन्‍ने कुरा फिनल्यान्डको शिक्षा पध्दतिलाई राम्रो हेक्का छ । त्यसैले हरेक बच्चाभित्र लुकेको पृथक् पृथक् विशेषता र क्षमतालाई उजागर गरेर करोडौँ विधाहरूमा व्यावसायिकता सिर्जना गराउन फिनल्यान्डको शिक्षा पध्दति सफल छ  ।

मौलिक पध्दति 
फिनल्यान्डले बच्चैबाट आफ्नो भाषा, संस्कृति, संस्कार, विशेषता, रीतिरिवाज, मौलिकताप्रति अभ्यस्त बनाएको हुन्छ । आफ्नो कर्तव्य पूरा नगरी अधिकारको प्रयोग गर्न कुनै पनि हालतमा पाइँदैन भन्‍ने कुरा सिकाइन्छ भने आफ्ना सम्पूर्ण काम आफैँले गर्नुपर्छ भन्‍ने कुरामा पनि अभ्यस्त गराइन्छ । आफूले अरूलाई सहयोग गरेपछि मात्र अरूबाट सहयोग पाइन्छ भन्‍ने कुरा पनि प्रस्ट बुझाइको हुन्छ ।
पढाइ ढिलो सुरु हुन्छ 
फिनल्यान्डमा पढाइ ढिलो उमेरमा मात्र होइन, हरेक दिनको कक्षा पनि ढिलो सुरु हुन्छ । विद्यार्थीले प्रशस्त सुत्न पाउनुपर्छ भन्‍ने मान्यताले सधैँ दैनिक कक्षा ढिलो सुरु हुन्छ । पढाइको बीचबीचमा प्रशस्त ब्रेक हुन्छ । हरेक कक्षा पछि छोटो १० मिनेटको र खाना खाने समय लामो ब्रेक हुन्छ, जसले विद्यार्थीलाई सदैव ऊर्जावान् बनाउन सकिन्छ भन्‍ने कुरा प्रमाणित भएको छ ।

एउटै शिक्षक 
फिनल्यान्डमा एउटै शिक्षकबाट लामो समयसम्म अध्यापन गराइन्छ । एउटै शिक्षकले एउटा समूहका विद्यार्थीलाई सम्भव भएसम्म लामो समयसम्म अथवा तल्लोबाट माथिल्लो कक्षासम्म निरन्तर अध्यापन गराई बच्चाहरूको बालमनोविज्ञान, वास्तविक समस्या तथा कमजोरी, क्षमता, प्रगति र विशेषताको पहिचान गरेर वास्तविक प्रतिभा उजागर गरिन्छ ।  थोरै विद्यार्थी बढी हेरचाह, मातृत्वमयी वातावरण तथा समाधानमुखी क्रियाकलाप फिनल्यान्डको शिक्षाको विशेषता हा । सायद, नेपालको परम्परागत गुरुकुल शिक्षा प्रणाली यसैको प्रतिरूप पो थियो कि ?

गृहकार्य कम, बाह्य क्रियाकलाप बढी 
फिनल्यान्डमा विद्यार्थीलाई गृहकार्य अत्यन्तै कम दिइन्छ भने बाह्य क्रियाकलापमा बढीभन्दा बढी सक्रिय बनाइन्छ । जुन विषयवस्तुको ज्ञान विद्यार्थीलाई दिनुपर्ने हो, सोही ठाउँमा लगेर प्राक्टिकल अभ्यास गराइन्छ । फिल्ड भिजिट असाध्यै गराइन्छ । सप्ताहन्तमा सायदै गृहकार्य दिइन्छ भने लामो छुट्टीको बेलामा गृहकार्य बिल्कुलै दिइँदैन । छुट्टीको समयमा विद्यार्थी जतिसक्दो तनावमुक्त हुनुपर्छ भन्‍ने फिन्निस शिक्षा प्रणालीको बुझाइ छ ।

बालमैत्री पुस्तकालय 
फिनल्यान्डमा हरेक ठाउँमा पुस्तकालयको प्रबन्ध गरिएको हुन्छ भने हरेक पुस्तकालय बालमैत्री हुन्छ । त्यहाँ विद्यार्थीलाई बच्चैबाट आफैँ पुस्तकालय धाउने, खेल्ने र पढ्ने संस्कार बसाइएको हुन्छ  । पुस्तकालयमा प्रशस्त बालोपयोगी सामग्रीको निःशुल्क प्रबन्ध गरिएको हुन्छ । पुस्तकालय क्रियाकलाप फिनल्यान्डको विशेषता हो भने लाइब्रेरी कार्ड बनाउन तथा उपयोगी सामग्री प्रयोग गर्दा शुल्क लाग्दैन ।

आधारभूत प्राथमिकता निर्धारण 
फिनल्यान्डले ठूलो अनुसन्धानपश्चात् १९८० को दशकबाट सामाजिक असमानता निर्मूल गर्न केही आधारभूत आवश्यकताका प्राथमिकता पहिचान गरेर सबैलाई स्कुलमै समान तथा निःशुल्क खाना, स्वास्थ्य, मनोवैज्ञानिक परामर्श, पढ्ने, खेल्नेजस्ता सबै क्रियाकलापहरूमा एकरूपता कायम गरेको छ । को धनी, को गरिब कसैले महसुस गर्न सक्दैन । सबैलाई एउटै र समान अवसर प्राप्त हुन्छ । 

निजी विद्यालय छैनन् 
फिनल्यान्डमा निजी लगानीका विद्यालय छैनन् । नेपालको झैँ सरकारी विद्यालय कमजोर बेकामे र निजी विद्यालय राम्रो हुन्छन् भन्‍ने भ्रम हो, गलत धारणा हो भन्‍ने कुरा फिनल्यान्डको शिक्षा प्रणालीले प्रमाणित गरिसकेको छ । 
यसरी हामीले पनि असल शिक्षा पध्दति भएका मुलुकका सफल अभ्यासबाट पाठ सिकेर हाम्रो शिक्षा नीति परिवर्तन गर्न सक्छौँ र राष्ट्रमा असल नागरिक जन्माउन सक्छौँ, सामाजिक व्यक्ति जन्माउन सक्छौँ, भविष्यको कर्णधार जन्माउन सक्छौँ, कुशल शिक्षक जन्माउन सक्छौँ, जिम्मेवार राष्ट्रसेवक जन्माउन सक्छौँ, राष्ट्रिय जनशक्ति जन्माउन सक्छौँ र राष्ट्रको समृध्दिको संवाहक नागरिक जन्माउन सक्छौँ ।



Author

थप समाचार