विचार

सिनासबाट हराएको 'नेपालोलोजी'को खोजी

विमल आचार्य |
साउन ३१, २०७८ आइतबार १७:३० बजे

केदार वाशिष्ठको पुस्तक ‘नेपाल विद्या : सिद्धान्त र प्रयोग’ हात परेको उहिल्यै हो । यहाँहरूलाई थाहै होला, अहिले मेरो (सायद तपाईंको पनि कि !) पठन गति क्षतिग्रस्त भएको छ । कारण पनि थाह भएकै हुनुपर्छ, स्मार्ट फोन र चौबीसै घन्टा इन्टरनेटको लत छ । अस्ति यही इकागजमा एउटा रिपोर्टिङ आइसक्यो— अब आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन, आठ घण्टा आराम होइन, २० घण्टा स्क्रिन, चार घण्टा सुताइ ! 

४१८ पृष्ठको यो किताब पढिसक्न मलाई झन्नै महिना दिन जति नै लाग्यो । फेरि यो पुस्तक रहेछ, सुस्त सुस्त पढ्नुपर्ने खालको । पढ्नुभन्दा बढी गम्नुपर्ने खालको छ । फुटनोट, परिशिष्ट, सन्दर्भ सामग्रीहरूको चाङ नै यसमा छ । अनसन्धानमूलक पुस्तकको विशेषता र शक्ति नै यही हो कि सन्दर्भ सामग्रीहरू पर्याप्त । ती हेर्दा लेखनका–रिपोर्टिङका फोका उठ्छन् । ती फोकालाई किताबको साइड साइडमा लेखेर आकार दिइन्छ । मन परे वा नपरेका कुरा त्यहीँ भक्कुमार लेखिन्छ । एक पेज पढ्न र एक पेग सक्न उस्तै समय लाग्छ, मलाई ।  


यो किताबले ओगेटेको क्षेत्रफल विशाल छ । विषयसूची मात्र १२ पृष्ठ । हरेक साना-साना च्याप्टरमा पनि विषय प्रवेश छ, अनि सारांश छ । कथ्यको आधिकारिताका लागि तथ्यको ताँती छ । 

किताब पूरै पढिसकेपछि लाग्यो, यस्तो अनुसन्धानमूलक लेखन कमै हुन्छ यहाँ, यो त स्वागतयोग्य कुरा हो । अनि म पुस्तक पढ्दै गर्दाको अनुभूतिसहित टिप्पणीजस्तो केही गन्थन लेख्ने सोचतिर लागेँ । यो समीक्षा (वा परम्परागत समीक्षा) होइन, केवल सामान्य पाठकको सतही भावना मात्र । 

यो पुस्तक यस रूपमा आउनुमा पनि एउटा रोचक कारण रहेछ । लेखक वाशिष्ठले सम्पादनको काम गर्ने पत्रिका ‘गोरखापत्र’ दैनिकमा ‘फलाना/फलानीले पीएचडी’ गरे भनेर समाचार छापिँदो रहेछ । विद्यावारिधिको प्रमाणपत्रको व्यापार भएको गुनासो आएपछि समाचार छाप्न छाडिएको बताएका छन्, वाशिष्ठले । खासमा वाशिष्ठ यही विषयमा पीएचडी गर्न चाहँदा रहेछन् । उनले शोधप्रस्ताव पनि दर्ता गरेछन् । तर, त्यहाँ उनको प्रस्तावमा व्यापक फेरबदल गनुपर्ने प्रतिप्रस्ताव आएछ । उनीहरूको कुरो मान्दा शोध सतही हुने भन्ने लागेछ, वाशिष्ठलाई । अनि उनी भन्छन्, ‘म अब विद्यावारिधितिर फर्कन्न पनि । नामको अगाडि डा. थप्ने र पीएचडी गर्ने-गराउनेको संख्या बढाउने अभिप्रायका अनुसन्धानबाट केही गुदी आउँदैन ।’ 

‘नेपाल विद्या’ अर्थात् ‘नेपालोलोजी’लाई वाशिष्ठले नेपालको इतिहास, नेपालको संस्कृति, नेपालको पुरातत्व, नेपालको भूगोल, नेपालको भाषा, नेपालको राष्ट्रियता आदिसँग जोडिएको अन्तर्विषयक विधाका रूपमा स्थापित गर्न चाहिरहेका छन् ।

विश्वविद्यालयका हर्ताकर्ताहरूको अक्षमता, अयोग्यता र अनैतिकता बिचरा विश्वविद्यालय र विद्यावारिधिमाथि आइलाग्नु यिनका प्रति अन्याय हो । खराबी तल्लो तहको शिक्षामा पनि छ, के अब स्कुल-कलेज नै बहिष्कार गर्नु त ? अनि शोधार्थी आफूभन्दा माथि पुग्ला कि भन्ने डरले कुण्ठित गुरुदेवहरूसँग डराएर हैन, डटेर उहाँहरूलाई विद्याको अर्थ बुझाउनु जरुरी भइसकेको छ ।  

उसो त विद्यावारिधि गर्नु वा नगर्नुुसँग ज्ञानको सोझो सम्बन्ध भने छैन । उपाधि र डिग्री निरपेक्ष रहेर जबसम्म ज्ञानको समीक्षा वा विवचेना हुँदैन, हाउगुजीले हँसाइरहन्छ । ‘डाक्साप’ भनेपछि नेपाली समाजको ठूलो आमवृत्तले ऊ त सर्वज्ञ–विज्ञ नै हो भन्ठान्ने तर डा. उपाधिधारीले आफूले विद्यावारिधि गरेको विषयमा एउटो अखबारी (इअखबारी वा इकागजी) लेखसमेत लेख्न वा दश मिनेट राम्ररी बोल्न पनि नसक्ने अवस्था छ । यो चाहिँ अचम्मै हो खालि !

०००

त्रिविको अनुसन्धान संस्था जसलाई हामी अचेल छोटकरीमा भनौँ वा चलनचल्तीमा ‘सिनास’ भन्छौँ, यसको नाममा पहिला ‘नेपालोलोजी’ भन्ने शब्द रहेछ । यो शब्द अचेल छैन । लेखक वाशिष्ठ भारतमा इन्डोलोजी, चीनमा सिनोलोजी भनेर अध्ययन गरिएजस्तै नेपालोलोजी छुट्टै विधाका रूपमा रहनुपर्ने तर्क गर्छन् । यसका लागि पुस्तकमा उनले दुनियाँभरका तर्क तथ्यसहित अघि सारेका छन् ।

पुस्तक पढिसक्दा लाग्छ, ‘नेपाल विद्या’ अर्थात् ‘नेपालोलोजी’लाई वाशिष्ठले नेपालको इतिहास, नेपालको संस्कृति, नेपालको पुरातत्व, नेपालको भूगोल, नेपालको भाषा, नेपालको राष्ट्रियता आदिसँग जोडिएको अन्तर्विषयक विधाका रूपमा स्थापित गर्न चाहिरहेका छन् । यसका लागि उनले आवधारणात्मक तहमा र प्रयोगका तहमा धेरै प्राज्ञिक पसिना पनि बगाएका छन् ।

नेपाल अध्ययन वा नेपाल परिचयका रूपमा यस्ता पक्ष समेटी यहाँ अध्ययन नभएको होइन तर लेखक अध्ययन (स्टडी) वा शास्त्र÷विज्ञान (साइन्स) ले ‘ओलोजी’को बृहत्तर गरिमा वहन गर्न सक्दैन भन्छन् । जे होस्, विद्वान्हरूबीच शास्त्रार्थ चल्नुपर्ने विषयका लागि उनले अजेन्डा सेट गरेका छन् । नेपालोलोजीवाला सिनास वा प्रज्ञा–प्रतिष्ठान वा विश्वविद्यालयहरूले यसबारे छलफल गर्लान् नै, गरे भने आश्चर्यको कुरा चाहिँ हुनेछ ।      

पुस्तकमा ‘विद्या र ओलोजीको सम्बन्ध र परिभाषा’ (गलत पढ्नुभयो कि ?), ‘विद्याको अन्त्य’, ‘विद्यानष्ट’, ‘देशीय विद्या’ आदि पक्षबारे पनि चर्चा छ । ‘विद्या’ र ‘ओलोजी’ समानार्थी हुन् भन्ने पुस्तकबाट पनि स्पष्ट हुन्छ । पुस्तकमा मूल रूपमा दुई खण्ड छन् । पहिलो सिद्धान्त वा सूत्र खण्डमा नेपाल विद्याको आवश्यकता र औचित्यमाथि प्रकाश पारिएको छ । अनि दोस्रो प्रयोग खण्डमा आफ्ना तर्क वा आफ्नो अवधारणालाई तथ्यपूर्ण दृष्टान्त दिन मूल रूपमा दुई विषय अघि सारिएको छ– लुम्बिनीका राजनीति र भाषिक इतिहास ।

अहिलेसम्म बाहिर नआएका (अथवा मैले नपढेका) थुप्रै कुरा यसमा पढ्न पाइयो । लुम्बिनीलाई बुद्धभूमि पुष्टि गर्ने फुहररको राजीनामा यसमा पढ्न पाइयो । फुहररलाई लगाइएको अभियोगपत्र, उनको बिन्तीपत्र, उनको प्रतिवेदन, उनले बर्माका भिक्षुलाई लेखेको चिठीका आधिकारिक रूप पुस्तकमा छन् । लुम्बिनीको ऐतिहासिक राजनीति र राजनीतिक इतिहासबारे उनले धेरै तर्क–तथ्य अघि सारेका छन् । ब्रिटिस भारत, भारत, अशोक स्तम्भ, चीनलाई रोक्ने राणनीति, फुहररलाई कारबाही र राजीनामा, दलाई लामाको लुम्बिनी भ्रमण यस्ता धेरै शीर्षक छन्, जुन बुझ्नुपर्ने विषय हुन् । नेपाल चिन्न पढ्नुपर्ने, लुम्बिनी बुझ्न त पढ्नैपर्ने पुस्तक हो रहेछ, यो । 

सन् १७१७ मा नै नेपाली भाषा भनी अध्ययन भएको उनले तथ्य दिएका छन् । सन् १७५९ मा रोमबाट देवनागरी लिपिमा नै नेपाली भाषा छपाइ भएको तथ्य छ, यहाँ । नेपालका स्थान–नामको खोजी गरेका छन् । नेपालको जग उधिन्ने काम र नयाँ जग बसाल्नुपर्ने आग्रह दुवै छ, पुस्तकमा । 

पुस्तकमा रमाइलो कुरा के पनि छ भने, ग्रिसेली अध्ययनमा किरात–लिच्छवि, अरबीमा नेपाल, आर्मेनियाली परम्परामा नेपाली, अल्फाबेटम ब्रह्मानिकममा नेपाली, अल्फाबेटम तिबेतानममा नेपाली । यस्ता खोज पुस्तकका महत्वपूर्ण प्राप्ति हुन् । 

विषयवस्तुका दृष्टिले पुस्तक जति गहकिलो छ, त्यसअनुसार चुस्त–छरितो भने हुन सकेको छैन । पुस्तकमा धेरै प्रसंग छन्, ती व्यवस्थित हुन सकेका छैनन् । कतिपय प्रसंग दोहोरिएका छन् । 

यस पुस्तकको पाण्डुलिपिबारे लेखक वाशिष्ठले हालका चल्तापुर्जा केही प्रकाशकसित कुरा गरेको बुझियो । तर हाम्रो समाज धेरैजसो बलेकै आगो ताप्ने नै भएको हुँदा उनीहरूको ध्यान ‘नयाँ मान्छे’मा गएन । पाण्डुलिपि हेरेर, पढेर, गमेर आफैँ आगो बाल्ने जोखिमभन्दा बलेकै आगो ताप्ने सजिलो संस्कृतिले कृतिमा राम्रो गरिरहेको छैन । 

यहाँनेर अनायासै एउटा प्रसंग सम्झना भयो । इतिहासकार महेशराज पन्तका पुस्तक अहिले धेरै प्रकाशक भटाभट छाप्दै छन् । उनी पचास वर्षभन्दा बढी समयदेखि निरन्तर साधनारत छन् । आधा दर्जन पुस्तक, सयौँ शोध लेख निकालिसक्दा पनि उनी बौद्धिक वृत्तमा अपरिचित जस्तै थिए । तर दैनिक अखबारमा लेख्न थालेपछि, अन्तर्वार्ता दिएपछि, पुरस्कार पाएपछि उनको चर्चा चुलिएको छ ।

अहिले प्रकाशकहरूले पनि उनीबाट नयाँ लेखाउने, त्यसमा लगानी गर्नेभन्दा पूर्वप्रकाशित लेख नै भेला पारेर छापिरहेका छन्, छाप्तै छन् । लेख्नलाई उनीसित प्रशस्त विषय छन्, तर उनी प्रकाशकको चाहनामा पुरानैमा अल्झिनुपरेको छ । यो उत्तरआधुनिक पानी समय हो । पानीमा हलुका विषय तैरिन्छ, गह्रौँ र गहन विषय पिँधमा रहन्छ । विज्ञ नेपथ्यमा मौन छ, सर्वज्ञ चाहिँ दिनरात मञ्‍चमा मुखर छ । यस्तो हुन्छ नै, हामी पत्रकार भनिनेहरू र प्रकाशकहरूले व्यक्ति हैन, कृति हेरेर पछि लाग्दा ठीकै हुँदो हो । खै र, म पनि उदाहरण बन्नु छैन, उपदेशक पो बन्दो भएँ त !

वाशिष्ठको पुस्तक पुरानो प्रकाशक विद्यार्थी पुस्तक भण्डार छापेको रहेछ । तर यति गहकिलो पुस्तकका लागि उसले निक्कै नै सस्तो र गह्रौँ कागज प्रयोग गर्दा पुस्तक पढ्न धौधौ नै हुन्छ । लेआउट, कभर, कलर गतिलो छैन । बाइन्डिङमा समस्या छ, मोटो किताबमा मार्जिन कम छोडेकाले होला, बीचतिरका पानाका अक्षर पढ्न कष्टै हुन्छ । तर, ‘बजारिया’ प्रकाशक मात्र छैनन् र बेलाबेला राम्रा कृति पनि पढ्न पाइन्छ ।  

वाशिष्ठ भाषाविद् पनि हुन् । उनी साहित्यपोस्टमा ‘भाषालय’ स्तम्भ लेख्छन् । (अँ, साहित्यपोस्टले यस कृतिलाई पुरस्कृत गरेको समाचार आजै आइरहेको छ । लेखकको पहिलो पुस्तकलाई दिइने पुरस्कार राम्रो किताबले पाएछ ।) यति गहकिलो पुस्तकमा भाषागत पक्ष कताकता बिझाउँछ । दवाउँदै (पृ.१५), फासरी (२०), उपिनवेश (२१), आभिव्यक्त (२६), भाषाभा, सम्यता (३०) काहिँ (३८), सत्पायन (४९), सात्पायन (८८) वृतान्त (६२), विश्र्वाेच्च (७१), दररवार (१२३) जस्ता हिज्जेगत त्रुटि हुनु हुँदैनथ्यो । सन्दर्भ सूचीमा उही ठाउँमा २०५४ र २०४५ जस्ता फरक मिति परेका छन् ।

समग्रमा पुस्तक पढ्नुपर्ने मात्र होइन, गम्नुपर्ने नै खालको छ । यो पुस्तकले प्रयोगका रूपमा धर्म र भाषालाई उठाए पनि यो संकीर्ण राष्ट्रवादी पुस्तक होइन, राष्ट्रियतावादी पुस्तक हो । नेपालसम्बन्धी खोज गर्नेहरूले अब आफ्ना सोचपत्र-शोधपत्रमा ‘केदार वाशिष्ठ’ नलेखी यसरी लेख्‍नेछन्— ‘वाशिष्ठ, केदार, (२०७७), नेपाल विद्या : सिद्धान्त र प्रयोग, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।   


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x