विचार

दोष व्यवस्थाको कि व्यवस्थापकको ?

अर्जुन अपवाद |
साउन ३२, २०७८ सोमबार १९:३३ बजे

यो लेख ९ अगस्ट २०२१ (२०७८ साउन २५) मा प्रकाशन हुने गरी लेख्नुपर्ने थियो । अगस्ट ६ तारिखमा सक्न सकेको भए ! त्यसो हुँदा यो लेखको सान्दर्भिकता अलिक धेरै हुने थियो । आफ्नै कारणले यो जुन दिन प्रकाशन हुनुपर्ने त्यस दिन मात्रै अन्तिम रूप दिएर छापिने अनलाइनलाई मेल गर्न सकियो । के कस्तो भो ? त्यो पाठकहरूले प्रतिक्रिया जनाउनुहुनेछ नै ।

अहिले अगस्ट । अगस्टको ६ र ९ मा मानव इतिहासकै महत्वपूर्ण घटना भएका छन् । आणविक बम विष्फोटन । सारा संसारलाई यो गम्भीर लागे पनि बम बोकेर जाने जहाजका पाइलटलाई भने यो त्यति गम्भीर लागेको थिएन । उनले एक अन्तर्वार्तामा भनेका छन्- जापानका हिरोसिमा र नागासाकीमा बम खसालेकामा मलाई कुनै आत्मग्लानि छैन । यसले खराबभन्दा असल गर्‍यो । युद्ध रोकियो ।
जापानको नागासाकीमा अणुबम खसेको थियो, आजभन्दा ७६ वर्षअगाडि । हिरोसिमा सहरमा भएको पहिलो आणविक बम प्रहारबाट झण्डै १ लाख ५० हजार मानिसहरूको मृत्यु भएको थियो । लिटिल ब्वाई नाम दिइएको उक्त परमाणु बम प्रहारको तीन दिन पछि अगस्ट ९ मा अर्को सहर नागासाकीमा पनि फ्याट ब्वाइ नामक आणविक बमको विष्फोट गराइएको थियो । यसमा करिब ७५ हजार मानिसको ज्यान गएको थियो ।


त्यसले जापानलाई बम खसाल्ने पाइलट पल टिबेट्सकै शब्दमा भन्दा खरानी बनाएको थियो । त्यसरी खरानी भएको देश आज रानी हुन पुगेको छ । उसले त्यसबेला संविधान बनाएको रहेछ । त्यो आजसम्म कायम छ । हामीले ८ वटा संविधान बनायौँ । ७ ओटा लागू नै गरिसक्यौँ । भर्खरैको पनि त्यति गतिलो छैन भन्ने बहस सुरु भएको छ । भर्खरै जापानले ओलम्पिक खेलकुद आयोजना गर्‍यो । विश्वकप फुटबल पनि उसले दक्षिण कोरियासँग मिलेर आयोजना गरिसकेको छ ।

दोस्रो विश्वयुद्धमा जापानको पराजय भएपछि अमेरिकी गठबन्धनको नेतृत्व गरेका जनरल म्याकार्थरले बनाएको संविधान जापानले बाध्य भई स्वीकार्नुपर्‍यो  । सन् १९४६ को ‘म्याकार्थर’ संविधानको अधीनमा आजसम्म बिनासंशोधन नै जापानले लोकतान्त्रिक अभ्यास गरिरहेको छ ।

संविधानविद् काशीराज दाहालले गोरखापत्र दैनिकमा २०७७ असोज ३ मा लेखेको ‘संवैधानिक लोकतन्त्र, अभ्यास र अनुभव’ शीर्षकको लेखमा परेको यो अंशले हामीलाई जापानको संविधानबारे बुझ्न धेरै सघाउँछन् । जित्नेले हार्नेका लागि लेखिदिएको संविधान कस्तो थियो होला ! यस्तो प्रतिगामी संविधान टेकेर विकास गर्न सक्ने जापानी, आफैँले बनाएको संविधान हुँदा पनि विकास गर्न नसक्ने नेपाली ! समस्या संविधानमा छ कि अन्यत्र कतै ?

अमेरिकाको आक्रमणबाट खरानी भएको देश, त्यही देशका सैनिकले बनाइदिएको संविधान मानेर आज अमेरिकालाई नै चुनौती दिने अवस्थामा पुग्यो । हामी अझै संविधानका अक्षरमा अलमलिएर बसेका छौँ ।

नेपालमा कस्तो खालको विकास चाहिएको हो ? के भएमा विकास भएको मानिने हो ? त्यसका सूचकहरू के-के हुन् ? सम्भवतः हुनुपर्ने जति छलफल भएको छैन । यसैकारण कसैलाई धरहरा बनेको, मेलम्चीको पानी काठमाडौँमा आएको, काठमाडौँ तराई द्रुत मार्ग बनेको वा यस्तै यस्तै कुरा निर्माण भएको कुरा नै विकास भएको छ । 

कसैका लागि यो विकास नै हैन । नहुनेहरू भनिरहेका छन् । संरचना बन्दैमा विकास भयो भन्न मिल्दैन । विकास हुन त जनताको प्रतिव्यक्ति आम्दानी बढ्नुपर्‍यो, शीर्ष, स्वास्थ्यमा पहुँच हुनुपर्‍यो यस्तै यस्तै ।

कुरा गर्दै जाँदा आइहाल्छ संविधान । यसले नै हामीलाई विकास गर्न रोक्यो कि ! यो हाम्रो विकास नगर्नका लागि एउटा गज्जबको बहाना हो बुझ्‍न सकिएको छैन । 

नेपाल किन बनेन ? यो विषयमा केही समयअघि अलिक गम्भीर रूपमै बहस भएको थियो । त्यस बहसबाट निस्केका निचोडहरूको अवस्था अहिले के छ ? बहसको सुरुवातकर्ता सँगै पो गयो कि !

 

अमेरिकाको आक्रमणबाट खरानी भएको देश, त्यही देशका सैनिकले बनाइदिएको संविधान मानेर आज अमेरिकालाई नै चुनौती दिने अवस्थामा पुग्यो । हामी अझै संविधानका अक्षरमा अलमलिएर बसेका छौँ ।

फेरि पनि संविधानकै कुरामा फर्किऔँ । वैकल्पिक राजनीति गर्न कस्सिएका रवीन्द्र मिश्रले संविधानबारे प्रश्न उठाएका छन् । उनको दस्तावेजले धेरै कुरा भन्छन् । त्यो दस्तावेजमा आएका सामाजिक सञ्जालका प्रतिक्रिया हेर्दा लाग्छ सुधीर शर्माको ‘प्रयोगशाला’ र ‘द नेपाल नेक्सस’मा लेखिएका सन्दर्भ झुट हुन् । यसमा शर्माले बुँदागत बहस गर्लान् भन्ने लागेको थियो, त्यो भएन ।

शर्माको किताबबारे २०६२/६३ को परिवर्तनका बखतमा एक प्रमुख राजनीतिक पात्रको नजिक रहेर काम गरेका एक अग्रजले चियागफमा भनेका कुरा जस्ताको तस्तै ‘प्रयोगशाला पढिसकेपछि विदेश बसेर पढिरहेकी छोरीले मलाई भनी- बाबा तपाईंहरू यो सब काम आफैँले गरेको भन्नुहुन्थ्यो तर अर्कैले पो गरेको रैछ हगि ? छोरीको जिज्ञासामा मसँग कुनै जवाफ थिएन ।’

४० बुँदे माग राखेर केही मानिसलाई पछि लगाएर देउवा भेट्न गएका र प्रधानमन्त्रीसम्म भएका बाबुराम भट्टराई नेपालको राजनीतिमा वैदेशिक सहयोग (हस्तक्षेप ?) का विषयमा भलिभाँती जानकार पात्र हुन् । उनले एक ट्विटमा मिश्रका सबै बुँदा खारेज गरिदिए । उनको यो खारेज उनैले ५२ सालमा ४० बुँदे माग राख्दा तत्कालीन सरकारले कम आँकेजस्तो मात्रै हुने हो या यसले अरु गम्भीर खालका परिमाण ल्याउने हो त्यो भविष्यकै कुरा हो ।

प्रसंगवश 

जनकपुरमा संविधान बनिसकेपछिको असन्तुष्टि साम्य हुन लागेको थियो । २०७३ जेठको महिनातिर राजनीति सेलाउन लागे पनि वातावरण त गरम नै थियो । हामी मधेस आन्दोलनबारे गफिँदै थियौँ, बाह्रबिघाको नजिकै । मेरो अग्रज जो काठमाडौँको मूलधारको मिडिया हाउसमा पत्रकारिता छाडेर अन्तर्राष्ट्रिय संस्थामा आबद्ध थिए । हामीले मधेस आन्दोलनबारे कुरा गरेथ्यौँ । नाकाबन्दीमा भएको भनिएको छिमेकी सहयोग (?) राम्रो वा नराम्रो भन्नेबारे मैले उनलाई प्रश्न गरेथेँ । उनले मलाई राम्रो या नराम्रो केही भनेनन् बरु एउटा कहानी सुनाए । 

एउटा वृद्धको घरमा घोडा र छोरा थिए । उनको दैनिकी घोडा चढेर जंगल जाने । दाउरा ल्याउने । सहरमा बेच्‍ने थियो । यही कामबाट उनको जीविका चलेको थियो । यसमा छोरोले बाबुलाई सहयोग गर्ने गथ्र्याे । एक दिन जंगल जाँदा घोडा हरायो । वृद्ध चिन्तित भए । उनको काममा यसले ठूलो नोक्सान पार्‍यो । दैनिकी चलिरहेकै थियो । केही दिनमा घोडा फर्किएर आयो अर्को एउटा जंगली घोडासहित । वृद्ध खुसी भए । जंगली घोडालाई तालिम दिन सके बाबु–छोराका लागि एक/एकओटा घोडा हुन्छ । काम सजिलो हुन्छ आम्दानी बढ्छ । 

वृद्ध र उनका छोरा घोडालाई तालिम दिन लागे । यसै क्रममा घोडाबाट लडेर छोरा घाइते भए । थला नै परे । वृद्ध फेरि चिन्तित भए । आफ्नो काममा लागे । केही समयमा देशमा युद्ध भयो । जवानहरू युद्धमा जानुपर्ने भयो । बिरामी भएका कारण वृद्धको छोरा युद्धमा जानुपरेन । वृद्ध फेरि खुसी भए । 

उनले यो कहानी सुनाएर मलाई भनेका थिए । अर्जुन, कुनै पनि घटना आफैँमा राम्रो या नराम्रो भन्ने हुँदैन । त्यो राम्रो वा नराम्रो भन्ने कुरा त्यस घटनापछिको अर्को घटनाले निर्धारण गर्छ । नाकाबन्दी पनि अहिलेलाई यसै गरी बुझ्दा राम्रो होला । त्यस्तै किसिमले रवीन्द्र मिश्रको दस्तावेजलाई पनि अहिले यसैगरी बुझ्दा राम्रो होला । अन्त्यमा, मानव विकास सूचकांकको पहिलो नम्बरमा पर्छ नर्वे । राजतन्त्रसहितको एकात्मक राज्य । त्यहीँ बस्ने एक जनाले सामाजिक सञ्जाल ट्विटरमा @nirazwagle ह्यान्डलबाट अगस्ट २ मा लेखेको कुरा यहाँ सान्दर्भिक लागेर साभार गरेको छु :

‘म नर्वेमा छु । यहाँ राजा पनि मानिराखेका छन् । १ कक्षामै रिलिजन एन्ड क्रिस्चियन पनि पढाउँदा रहेछन् । संसारकै सम्पन्नशालीमध्ये यिनै छन् । अनि आफ्नो देशतिर फर्कन्छु । राजा पनि मास्यौँ, धर्म पनि मास्यौँ, नेता मोटा, देश र जनता संसारकै दरिद्र । देश बनाउन केले छेक्दो रैछ ?’
@apawaad
 


Author

थप समाचार
x