नितान्त व्यक्तिगत
अब त्यो बालहठ त्याग्नुस्, ओली बा !
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहन प्रसाद ओलीको एउटा निकै चर्चित अन्तर्वार्तामा ओलीको बाल्यकालीन स्वभावबारे उनी भन्छन्, ‘बेलुका अँध्यारो मुख लगाएर आयो । के भइयो, फेल भइएछ कि के हो पास भइएन ? भनें मैंले । अनि उसले भन्यो- मलाईचाहिं फेल पारे, उनीहरूका मान्छेचाहिं पास पारे भन्यो ।’
यसले ओलीको गल्ती कमजोरी लुकाउन अरुलाई दोष दिने, आफ्नो स्वार्थ सिद्ध गर्न अरुको अर्घेल्याइँ देखाउने, उनको ढिठ र आफूलाई सच्याउनै नचाहाने, आफ्नो कार्यसम्पादनको समीक्षा नगर्ने र आफूलाई केन्द्रमा राख्ने स्वभावको प्रतिनिधित्व गर्छ । उनको बाल्यकालदेखिको स्वभाव अहिलेसम्म पनि कायमै छ ।
केपी शर्मा ओलीबारे दृष्टिकोण बनाउनेहरू कि त उनलाई औधी मनपराउनेहरू छन् कि उनलाई घृणा गर्ने । ओलीका कमजोरी बताएर, सन्तुलित दृष्टिकोण बनाउन सघाउने र विषयवस्तुको राम्रो समीक्षा गर्न सघाउने मानिसहरू उनको वरिपरी छैनन् । जो उनका नजिक छन्, सबैले उनको प्रशंशा गर्नुपर्छ । किनकी उनी भक्तिगान मनपराउँछन् । आलोचनात्मक सुझाव राख्नेलाई समेत विरोधी देख्ने हुनाले कतिपय बुद्धिजीवि, नागरिक समाज भनेर चिनाउनेहरूले ओलीको प्रधानमन्त्रीकालमा ओली पक्ष कि विपक्ष भनेर कित्ताकाट गर्नैपर्ने अवस्था उनले पैदा गरे । गुण र दोषका आधारमा प्रशंशा र आलोचना गर्नै पाएनन् ।
कतिपयले नेपाली राजनीतिमा ओलीको भूमिका भारतको जस्तो छ पनि भन्छन् । दुनियाँमा कोही भारतका शान्त समर्थक हुनै सक्दैन, कि मित्र हुन्छ कि शत्रु । भारतका समर्थकहरू भारत विरोधीका पनि स्वतः विरोधी भनेर प्रचार गरिन्छन् ।
पार्टीभित्र पनि ओलीले यस्तै ध्रुवीकरण गराए । मध्यमार्गी मान्छेहरूको अस्तित्व भएन, सबैले कित्ताकाट गर्नैपर्ने परिस्थिति उनले सिर्जना गरे । ओलीले कुनै बृहद् कम्युनिष्ट एकता वा सैद्धान्तिक, वैचारिक हिसाबले माओवादी केन्द्रसँग पार्टी एकता गरेका थिएनन् । नेपालको राजनीतिमा सैद्धान्ति, वैचारिक मत राख्ने र बौद्धिक नेताहरूको तुलनामा ‘मनि, मसल एण्ड मोबिलाइजेसन’ (पैसा, बल र जनपरिचालन) लाई ध्यान दिने नेताहरूको सत्ता अलि बढी बलियो भएको देखिन्छ । त्यस्तै देखावटी गर्ने, भ्रम सिर्जना गर्ने र आफूलाई केन्द्रमा राखेर श्रेष्ठतर देखाउने नेतामा ओली पनि पर्छन् ।
एमाले अध्यक्ष ओली समकालीन नेताभन्दा आफूलाई निकै अब्बल देखाउन चाहान्छन् । सत्तामा हुँदा उनलाई क्षेत्रीय नेताहरूमध्येमै अब्बल भन्ने भोक चढेको पनि उनीसँग निकट रहेर काम गर्नेहरू बताउँछन् । उनको त्यो उर्जा देश विकासमा लगानी भएको भए, उनी साँच्चिकै उचाइका नेता हुन्थे । किनकी उनका समकालीन नेताहरू परीक्षण भैसकेका र कुनै आकर्षण बाँकी नरहेकाहरू छन् । त्यसैले ओली बर्खास्त हुँदा उनीबाट दिक्क भएकाहरू उनी बाहिरिदाँ केही खुसी त भए, तर उनका उत्तराधिकारीसँग पनि उत्तिकै खिन्न थिए ।
शक्तिले ओलीलाई ‘असीमित शक्तिले त्यत्तिकै भ्रष्ट बनाउँछ’ (एब्सुलुट पावर करप्टस् एब्सुलुट्ली) भनेजस्तो बनायो । जसका कारण ओली पनि औसत नेताभन्दा कमजोर भएर सत्ताबाट बाहिरिए । स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेस र माओवादीको साझेदारीका कारण एमालेले भनेजस्तो परिणाम ल्याउन सकेको थिएन । संघीय संरचनामा गएपछि आम निर्वाचन र प्रदेशसभा निर्वाचन बाँकी नै थिए ।
माओवादीलाई आफूतिर तान्न सके प्रदेशदेखि केन्द्रसम्म सबै आफ्ना सरकार निर्माण गर्न सकिन्छ भनेरै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालतिर साझेदारीको हात अघि बढाएका थिए । दाहालले पनि ओलीको स्वास्थ्यअवस्था आदि सबै पक्षलाई विचार गरेर नै पार्टी एकता गरी विशाल कम्युनिष्ट पार्टीको नेतृत्व हात पार्ने सपना देखेका थिए भन्नेमा कुनै सन्देह छैन ।
निर्वाचनमा दुई तिहाइ नजिक बहुमत ल्याएका दुई पार्टीले चुनावपछि एकता गरेर सुदृढ र एकीकृत पार्टी निर्माण गरेका थिए । केन्द्रमा अनि सातमध्ये ६ प्रदेशमा कम्युनिष्ट पार्टीको सरकार थियो । ६ मध्ये दुईओटा माओवादीले पाएपनि चार प्रदेशमा केपी शर्मा ओली निकट नेताहरू नै मुख्यमन्त्री बनेका थिए । अहिले मुश्किलले दुईओटा प्रदेशमा एमालेको सरकार जोगाउने कसरतमा छन्, ओली ।
पाँच वर्षका लागि विशाल जनमत लिएर आएका तत्कालीन प्रधानमन्त्री ओलीले यसको सम्पूर्ण दोष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालमाथि थोपरेका छन् । राजनीतिक असफलताको भासमा परेपछि उनी अनेकौं तर्क, वितर्क र कुतर्क गरिरहेका छन् । जे जति घटनाक्रम विकास भए, त्यसमा उनले आफू थोरै पनि जिम्मेवारी र आत्मालोचना गर्न तयार छैनन् ।
आफू अनुकुल निर्णय नहुँदा सर्वोच्च अदालतलाई पनि आलोचना गर्न नछोड्नेले पार्टीभित्रका आफ्ना विरोधीलाई के गर्दा हुन् सहजै अनुमान गर्न सकिन्छ । सरकारबाट बर्खास्त भएदेखि वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेपछि ओलीको निशानामा अहिले सर्वोच्च अदालत, सभामुख अग्निप्रसाद सापकोटा र सरकार परेका छन् । सरकारको नेतृत्वमा शेरबहादुर देउवा रहेपनि त्यसको मूल खेलाडी उनी दाहाललाई नै ठान्छन् ।
राम्रो वाकपटुता र ‘सेल्सम्यानसीप’ भएका नेता ओलीले आफ्नो सरकारका उपलब्धिमा एउटा मोबाइल एप्लीकेसन र अवधारणामात्र तयार भएका विकासका योजनालाई कार्यान्वयन भैसक्यो जसरी प्रचार गर्छन् । उनी १५ महिनापछि पुनः बहुमतका साथ सिंहदरबारमा छिर्ने र त्यतिबेला आफूलाई कसैले हटाउन नसक्ने पनि भन्न पछि पर्दैनन् । राजनीति गर्ने हरेकले त्यस्तै आकांक्षा राख्छन् । यतिबेला मुलुकको प्रमुख दलको नेताले त्यो भन्नुलाई अतिशयोक्ति मान्नुपर्ने कारण छैन । आगामी निर्वाचनमा नेकपा एमाले कुन हैसियतमा हुन्छ भन्ने अहिल्यैं आकलन गर्न सक्ने अवस्था छैन ।
राजनीतिमा ओलीका अनेकौं रणनीति छन्- विरोधीलाई घेर्ने (साइबर सेनादेखि निरुत्साहीत गर्ने प्रचारसामग्रीसम्मले), आक्रमण गर्ने र धुलिसात् पार्ने रणनीति अपनाउँछन् । आफ्नो स्वार्थपूर्तिका लागि हदै लचक हुनसक्ने र स्वार्थपूर्ति हुनासाथ प्रतिसोध लिनसक्ने, जतिसुकै कठोर र जुनसुकै हदसम्म जानसक्ने नेताका रूपमा उनलाई लिइन्छ । कूटनीतिमा उनी न्यूटनको चालसम्बन्धी तेश्रो नियममा विश्वास गर्छन्, २०७२ को नाकाबन्दीपछि उनले भारतसँग अडान लिएर राष्ट्रवादी नेताको छवि बनाए । पहिले जति बलियोसँग उभिएका थिए, सत्ता बचाउन त्यत्ति नै लत्रिएर दक्षिणतिर घुस्रिए भन्ने आरोप उनीमाथि छ ।
हिजो ओलीले जुन अडान लिए, जे नारा अघि सारे ; ती सबै सार्वजनिक खपतका लागि मात्र थिए भन्ने प्रमाणित भैसकेका छन् । यसबीचमा उनले आफूलाई विकासवादी नेताका रूपमा प्रस्तुत गर्ने र जनताको नेता बनेर स्थापित हुने प्रयास पनि गरे, त्यसले पनि काम गरेन । पहिले उनी परीक्षण भएका थिएनन्, अहिले उनी सबै हिसाबले उदाङ्गो भैसकेका छन् । तैपनि उनले रेल र पानीजहाज सञ्चालन गर्ने र लिम्पियाधुरासम्मको नेपालको जमिन फिर्ता ल्याउने प्रतिवद्धता जनाइरहेका छन् । यसलाई सकारात्मक नै मानौं ।
एमाले र माओवादी केन्द्र मिलेर विशाल कम्युनिष्ट पार्टी बन्यो । प्रदेश र केन्द्रमा कम्युनिष्ट पार्टीकै सरकार थियो । आज पार्टी तीन टुक्रा भएको छ, प्रदेशमा बचेका दुईओटा सरकार पनि धरमरमा छन् । हिजोको विशाल कम्युनिष्ट पार्टीका सिर्जनाकार हुँदा त्यसको सम्पूर्ण जस लिने ओलीले नै नेतृत्वको रूपमा पार्टी र सरकार विघटनको सम्पूर्ण जिम्मेवारी उनैले लिनुपर्छ, चाहे लाख तर्क–वितर्कले उनी जित्न खोजून । देशले उनीबाट जिम्मेवार जवाफको अपेक्षा गरिरहेको छ ।
अब त्यो बालहठ त्याग्नुस्, ओली बा !
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया