मूल राष्ट्रिय चरित्र र दलीय प्रतिबद्धताको खडेरी
साथी अर्जुन अपवादको लेख ‘दोष व्यवस्थाको कि व्यवस्थापकको’मा जापान र अमेरिकाको उदाहरणसहित नेतृत्वको व्यवस्थापकीय क्षमतामाथि प्रश्न उठाइएको छ । राजनीतिशास्त्र भन्छ, ‘परिवर्तनका लागि आन्तरिक र बाह्य परिस्थिति दुवै परिपक्व बन्नुपर्छ, तब मात्र परिवर्तन संस्थागत एवम् दिगो हुन सक्छ ।’
कुनै पनि व्यवस्थाको स्थायित्वका लागि राज्यका तीन खम्बा र ती सबैको बीचमा रहेका जनता चारै पक्ष उत्तिकै जिम्मेवार छन् । यसका सहयोगी अंगका रूपमा नागरिक समाज, सञ्चार क्षेत्र र निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ ।
कुन राज्य वा राष्ट्र कस्तो छ, त्यो कति सफल वा कति असफल छ भन्ने कुरा राष्ट्रिय चरित्र, राज्यको मूल कानुन र उत्पादन प्रणालीबीचको सम्बन्धको तादात्म्यमा निर्भर रहन्छ । यसका लागि एउटा राष्ट्रिय चरित्र निर्माण गरिनुपर्छ, सोही राष्ट्रिय चरित्रलाई संस्थागत गर्दै विकास गर्ने कार्यमा संविधानले मार्ग प्रशस्त गर्नुपर्छ र समाजका अवयवहरूले संविधानको मार्गमा राष्ट्रिय चरित्रको माध्यमबाट अघि बढ्नुपर्छ । दलीय व्यवस्थामा राष्ट्रिय चरित्र र दलहरूको नीति, सिद्धान्त तथा दर्शनको जति बढी मेल खान्छ, त्यति नै राष्ट्रिय समुन्नतिले तीव्रता पाउँछ ।
नेपाली राजनीतिमा फेरि एक पटक अग्रगमन, पश्चगमन, प्रगतिवादी, प्रतिगामी वा दक्षिणपन्थीको बहस भइरहेको छ । आफूलाई संविधान र संसद्को रक्षाका लागि संघर्ष गरेको बताउने गठबन्धन संविधान र संसद्लाई लत्याएर अध्यादेशको आडमा राज गर्ने छनक देखाइरहेको छ ।
एकले अर्कोलाई विभिन्न उपमासहित गाली गर्ने क्रम बढिरहेको छ । जब तर्क, तथ्य, विचार र विज्ञानको आधार सकिन्छ, गाली, बाहुबल र दक्षिणपन्थको सहयोगमा दलहरू टिक्ने प्रयास गर्छन् । राजनीतिक स्थिरता नहुँदा केही जनता एक हदसम्म निराश छन् । तर, निराश हुनुभन्दा अघि हामीले समाज र दलहरूको चरित्रको विश्लेषण गर्नुपर्ने हुन्छ, तब मात्र एउटा निक्र्योलमा पुग्न सकिन्छ ।
पुरातनवादी ब्याड, अवसरवादी मलजल
राष्ट्रिय गानहरूमा गाइने गाथा आफ्नै ठाउँमा छ, तर नेपाली समाज मूलतः अवसरवाद, सामन्तवाद र उपभोक्तामुखी पुँजीवादको मिश्रित चरित्रको छ । दास युग र सामन्तवादी युगका अवशेषका रूपमा रहेका धार्मिक अन्धविश्वास, भाग्यवाद, जातिवाद र वर्णव्यवस्थाले कोरेका विभाजनका रेखाहरू मेटिनका लागि ठूलै आर्थिक सामाजिक रूपान्तरण अभियान आवश्यक छ । संविधानले समाजवादउन्मुख राष्ट्र घोषणा गरे पनि समाजको चरित्र भने पुरातनवादी निम्न पुँजीवादी नै छ । असमान शक्ति सम्बन्धको आडमा टिकेको सामाजिक सत्ता र त्यसले मलजल गरेको राष्ट्रिय राजनीतिक सत्ताको दबदबा अहिले पनि कायम छ ।
कमरेडहरू धोती कान्दानी गरेर बिहान बिहानै चण्डी र शप्तसती पाठ गर्छन् । चियाचौतारीमा जातीय विभेदका पक्षमा वकालत हुन्छ । संविधानप्रदत्त आरक्षणको अधिकारका लागि अदालतको सहारा लिनुपर्छ । विपन्न, वृद्ध र एकल महिलालाई दबाउनका लागि बनाइएको बोक्सी अस्त्र अहिले पनि चलेको चल्यै छ । पँधेरामा अहिले पनि जातीय विभेद चल्छ । चक्रवर्ती ब्याज खाने डिठ्ठा बाजेहरूको कर्म अहिले पनि चलिरहेको छ । स्थानीय सरकारका वार्षिक विकास योजनामा कुलो र पैनीभन्दा मन्दिर र सत्तलले प्राथमिकता पाइरहेका छन् । आई हेट पोलिटिक्स भन्दै हुर्किएको पुस्ताले नै युवा राजनीति धानिरहेको छ । हली र आरनैहरू अहिले पनि ज्यूँका त्यूँ छन् । यी त भए हाम्रो समाजभित्रका कुरा ।
छोरीको बिहे गरिदिनका लागि मालपोतको सुब्बा खोज्ने सामाजिक अभियन्ताहरूले भाउ पाइरहेका छन् । सामन्तवादी र समर्पणवादी चिन्तन, निम्न पुँजीवादी वर्गचरित्र र अवसरवादी दैनिकीको बीचमा अक्सर आफूलाई राष्ट्रवादी कहलाउनका लागि राष्ट्रिय झन्डाको ट्याटु खोप्नेहरूले चिया चौतारीमा व्यक्त गरेका सार्वजनिक खपतका तर्कनाहरू नै सामाजिक बहसका विषय बनाइन्छन् । विश्वविद्यालय ज्ञानको दायरामा रहेर सामाजिक राजनीतिक बहस, छलफल, विमर्श गर्न युवा नेतृत्वसमेत तयार छैनन् ।
आफूलाई परिवर्तनको हिमायती र अझै खाट्टी परिवर्तनकारी देखाउनका लागि कम्युनिस्ट पार्टीको सदस्यता लिने चिन्तन बाँकी छ । नेपालका मतदाता राजनीतिक दलले अँगाल्ने विचारधाराको कसीमा चुनावी घोषणापत्रको विश्लेषण गरेर होइन, सामाजिक खपतको नारा हेरेरै भोट खसाल्छन् । व्यक्तिको फोटोमात्र होइन, बुँख्याचा नै बनाएर बजार डुलाउने र आई लभ यू भन्ने व्यक्तिपूजक चिन्तनको आडमा व्यक्तिहरूको दानवीकरण र देवत्वकरण अभियान तीव्र छ । सामाजिक क्षेत्रदेखि कर्मचारीतन्त्र र नागरिक समाजसम्म दोधारे र विरोधाभाषपूर्ण चरित्रको बाहुल्य छ । सुशासन, लोकतन्त्र, सदाचार, पारदर्शिता, जवाफदेहिता लगायतका क्षेत्रमा ज्ञान सृजनामा संलग्न हुने वर्ग नै यस्तै दोधारे चरित्र बोकेको छ ।
भ्रष्टाचारको अभियोग प्रमाणित भएकालाई मत दिने सदाचारीहरू, हत्या अभियोग प्रमाणित भएर फरार रहेकाहरूलाई भोट दिएर जिताउने अधिकारकर्मीहरू, एउटा दलबाट टिकट नपाएपछि रातारात दल परिवर्तन गर्नेहरूलाई जिताउने सिद्धान्तनिष्ठ कार्यकर्ता यसै समाजका उत्पादन हुन् । परिवर्तनलाई सहजै स्वीकार नगर्ने, भाग्यवादी चिन्तन व्याप्त छ । त्यसैले त, राजनीतिमा नयाँ प्रयोग सफल देखिँदैन । वैकल्पिक राजनीतिक धार नेपालमा कहिल्यै सफल हुन नसक्नुको मुख्य कारण यहाँको परिवर्तन हुन नचाहने वा नसक्ने चिन्तन पनि हो । यस्तै पुरातनवादी खेतबारीको फसल हो, आजको राजनीति । नेपालको राजनीतिक चरित्रमा समेत समाजको चरित्र प्रतिविम्वित हुन्छ ।
राष्ट्रिय चरित्रको सवाल
‘के हामीलाई लोकतन्त्र फाप्दैन’ लेखमा पत्रकार गुणराज लुइँटेल लेख्छन्, “नेताहरूबीचको बेमेलले लोकतन्त्र नटिक्ने खतरा देखिँदै छ । लोकतन्त्र प्राप्तिका निम्ति आन्दोलन गर्न एक हुन सक्ने, तर त्यसलाई विधि र पद्धतिबाट अघि बढाउन नसक्ने स्थिति हाम्रो राष्ट्रिय चरित्र बनिसकेको छ । त्यस्तो हुँदैनथ्यो भने सरकारमा पुगिसकेपछि आफ्नो दलका नेतासँगमात्र होइन, विपक्षीसँग समेत हार्दिकतापूर्ण सम्बन्ध बनाएर काम गर्न सकिन्थ्यो ।”
के दलहरूको चरित्रले राष्ट्रिय चरित्रको निर्माण गर्ने हो ? या राष्ट्रिय चरित्रले दलहरूको चरित्र निर्माण गर्ने हो ? राष्ट्रिय चरित्रको निर्माण संविधान राष्ट्रिय नीतिहरूले गर्ने होइन ? डा. बाबुराम भट्टराई ट्विट गर्छन्, “नेपालको इन्द्रधनुषी राष्ट्रिय चरित्र, विशिष्ट भूराजनीति र तीव्र समृद्धिको आकांक्षालाई सम्बोधन गर्न प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक संसद्को विकल्प छैन भन्ने बुझ्न जति ढिलो गर्यौँ, उति हामी आपसी आशंका, गनगन र आरोपप्रत्यारोपमा जीवन खेर फालिरहनेछौँ भन्ने बुझौँ है ।” यहाँनेर डा. भट्टराईले परिभाषित गर्न खोजेको राष्ट्रिय चरित्रले दुई पक्षलाई इंगित गर्दछन् : पहिलो हो, मूल राष्ट्रिय चरित्रको निर्माण नै भएको छैन । दोस्रो हो, राष्ट्रिय स्वरूप नै राष्ट्रिय चरित्र हो ।
दलहरूको दक्षिणपन्थी अवसरवादी यात्रा र दलालीको भाउ खोज्ने सामाजिक संस्कार तथा चिन्तनको बीचमा कस्तो राष्ट्रिय चरित्र निर्माण गर्ने ? यसको थालनी कसले गर्ने ?
राष्ट्रिय चरित्रबारे बहसलाई निरन्तरता दिनुपर्ने र निक्र्योलमा पुग्नुपर्ने केही प्रश्न छन् ः राष्ट्रिय चरित्र र राष्ट्रिय स्वरूप एउटै हो ? जापान, कोरिया, चीन लगायतका देशहरूको राष्ट्रिय चरित्र निर्माण कसरी हुन सक्यो ? राष्ट्रिय चरित्र निर्माण गर्ने ज्ञान भण्डार कुन हो ? राष्ट्रिय चरित्र भनेको इतिहासमात्र हो ? के राष्ट्रिय चरित्र भनेको यहाँका जातजातिहरूको चरित्र हो ? राष्ट्रिय चरित्र मानवशास्त्रीय सामाजिक विषय हो वा राजनीतिक विषय हो ? राष्ट्रिय चरित्रको विनिर्माण र पुनःनिर्माण हुन सक्तैन ? अहिलेको खास राष्ट्रिय चरित्र कस्तो हो ? यस राष्ट्रिय चरित्र कुन धरातलमा बनेको हो र कुन धरातलमा अडेको छ ? कुन उत्पादन प्रणाली र उत्पादन सम्बन्धले वर्तमान राष्ट्रिय चरित्र निर्माण गरेको हो ?
सामान्यतः राष्ट्रिय चरित्र भनेको त्यस देशका नागरिकको दृष्टिकोण, सोचाइ, धारणा, क्षमता र व्यवहारको समष्टिगत रूप हो । ‘उत्तरआधुनिक चिन्तनको ग्रहणमा राष्ट्रिय चरित्र’ लेखमा महेश पौड्याल लेख्छन्, “अभिव्यक्तिहरूमा अनेक प्रकारका विविधता परिलक्षित भइरहँदा ती सबै अराजकता र विविधतालाई नियमत गर्ने केही न केही सूत्र त हुन्छै हुन्छ । जस्तो, विधि, नियम वा संविधान । कहिलेकाहीँ विधि, नियम या संविधान पनि स्थगित हुन्छ, धराशयी हुन्छ, अथवा अक्षम हुन्छ । यस्तो बेलामा, समाजभित्र सुषुप्त अवस्थामा विद्यमान तर अलिखित नैतिक विधिले त्यस स्थितिलाई व्यवस्थापन गर्ने हो । यस्तो अलिखित नैतिक विधि एउटा राष्ट्रको राष्ट्रिय चरित्रको प्रत्याभूति हो ।”
‘चरित्र हराएको राज्य’ शीर्षक लेखमा नरेन्द्रजंग पिटर लेख्छन्, “कुनै पनि समाज वा राष्ट्रको चरित्र एकै दिन वा एकाध वर्षमै फेरिँदैन । सोच्ने तरिका, आदर्शको अर्थ, सपनाका भाषा एकै दिन बनेका पनि हुँदैनन् । हरेक सत्ता चरित्रका आधारमा सिद्धान्त, विचार, आदर्श र सपना निर्मित हुन्छन् । त्यो राजनीतिक, आर्थिक, सांस्कृतिक चरित्र बनेर समाजमा देखिन्छ । त्यसैले राष्ट्रिय चरित्रको मानक सत्तामात्र होइन, सामाजिक चेत पनि हो । सोही चेतअनुसार राष्ट्रिय चरित्र र नायक खोजिन्छ ।”
खास खास समयमा नेपालीका खास खास पहिचान बनेका वा बनाइएका छन् । इतिहासका कालखण्डमा नेपालीहरूलाई बहादुर, लडाकु भनेर चिनियो वा चिनाइयो । यही बहादुरी इतिहास थागा बन्यो । अंग्रेजसँगको लडाइँलाई देशभक्तिको लडाइँ भनेर चित्रित गरियो, त्यसमा सहभागी हुनेहरूमात्र होइन, तिनै ऐतिहासिक घटनाको ब्याजस्वरूप सबै नेपालीको पहिचान राष्ट्रभक्त भन्ने बनाइयो । पृथ्वीनारायण शाहको समयमा नेपाललाई दुई ढुंगाबीचको तरुलको रूपमा चित्रित गरियो, दुई शक्ति राष्ट्रबीचको निरीह देश, निरीह जनताको रूपमा परिभाषित गरियो । वैदिक कालदेखि नैतिकवान्, सदाचारी, पूर्वीय दर्शनका अनुयायीका रूपमा निर्माण गरिएको राष्ट्रिय चरित्र एकादेशको कथा बनिसक्यो । चालीसदेखि सत्तरीको दशकसम्म हेर्ने हो भने आन्दोलन, युद्ध वा प्रतिरोध राष्ट्रिय चरित्र बन्यो ।
‘दलाली ः मुख्य उद्यम, राष्ट्रिय चरित्र’ लेखमा अच्युत वाग्ले रेन्ट सिकिङ वा दलाली–भाग खोज्ने प्रवृत्ति नै नेपालीको अहिलेको राष्ट्रिय चरित्र भएको निष्कर्ष निकाल्छन् । उनी लेख्छन्, “उत्पादन, उद्यम र सार्वजनिक एवम् नागरिक जिम्मेवारीलाई चटक्कै छोडेर चोर बाटोबाट धनी हुने यो अभ्यास नेपाली समाज र राष्ट्रको (कु)संस्कार बन्दै छ, र नेपालको अधोगतिको सबभन्दा निर्णायक कारण पनि ।”
वाग्लेको यो तर्कलाई हेर्ने हो भने आमसामाजिक व्यवहार नै त्यहाँको राष्ट्रिय चरित्र हो । राजनीतिक दर्शनका आँखाले यो दक्षिणपन्थी अवसरवादी चरित्र हो ।
दक्षिणपन्थी राजनीतिक चरित्र
माक्र्स जयन्तीमा माक्र्सको तस्बिरलाई सलाम चढाउने र शिवरात्रिमा शिवलिंगमा गाईको दूध चढाउने नेतृत्व प्रवृत्ति नेपालका राजनीतिक दलहरूमा व्याप्त छ । अग्रगमनमा जान नखोज्नु वा परिवर्तनलाई पछाडि फर्काउन खोज्नु दक्षिणपन्थी चरित्र हो । सामन्तवादी राज्यसत्ताको उपजका रूपमा रहेको राजतन्त्र निर्मूल भएको दशकपछि पनि राजा चाहिन्छ भन्दै बहस गर्ने दलले आफूलाई लोकतान्त्रिक शासन व्यवस्थाको सच्चा पहरेदार ठान्छ, र त्यसैको वकालत गरिरहन्छ ।
यस मार्काका दलको त कुरै छोडौँ । जनताले अलिकति आशा गरेका नयाँ राजनीतिक संस्कार विकास गर्लान् भनेर आशा गरिएका कान्छा दलहरू समेत अन्ततः धार्मिक राज्य र राजाको पक्षमा बहस चलाउन थालिसके ।
यिनै दलका समर्थकलाई आफ्नो दलमा तान्नका लागि अग्रगामी राजनीतिक शिक्षा होइन, सार्वजनिक खपतका लागि पश्चगामी तुरूप फाल्ने काम नेपालमा आफूलाई सबैभन्दा ठूलो वामपन्थी बताउने दलहरूबाट भइरहेको छ । कर्णालीमा नुन नपुग्दा पशुपतिमा सुनको जलहरीका लागि करोडौँ खर्चिने र प्रधानमन्त्रीको सरकारी निवासबाट भगवानका मूर्ती लावालस्करका साथ पठाएर, मन्दिर बनाएर, मूर्तीमा प्राण प्रतिष्ठा गराएको कुरालाई विजयभावमा प्रस्तुत गर्ने पार्टी अध्यक्ष र कम्युनिस्ट प्रधानमन्त्री नेपालमै छन् ।
नेपालमा ठूला दलका रूपमा रहेका नेकपा एमाले, एमाओवादी, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी सबै समाजवादको नारा बोकेका दलहरू हुन् ।
सामान्यतः दक्षिणपन्थी चरित्रलाई गैरप्रगतिवादी चरित्रको रूपमा लिइन्छ । वामपन्थीहरू सामाजिक समता र समानतामा विश्वास गर्छन् । प्रत्येक अघिल्ला उत्पादन प्रणालीलाई जोगाउनका लागि निर्माण गरिएका उपरीसंरचनाहरूमा आमूल परिवर्तन ल्याउने र समाजवादी उत्पादन प्रणालीलाई मजबूतीकरण गर्ने राष्ट्रवादी उपरीसंरचनाको पुनःनिर्माण गर्ने चरित्र वामपन्थीहरूको हुन्छ । हैसियत, शक्ति र सम्पत्तिको आडमा निर्माण हुने सामाजिक सोपानको निर्मूलीकरण वामपन्थीहरूको अर्को विशेषता हो । शिक्षा, कला, साहित्य, कानुन, संगीत, गीत, उखान टुक्का, सामाजिक मूल्य मान्यतामा आमूल परिवर्तन ल्याउँदै समाजवादी उत्पादन प्रणालीलाई बढावा दिने उपरीसंरचना निर्माण गर्नुपर्नेमा इतिहासको गौरवगाथा गाउँदै वर्तमान र भविष्यलाई अनिश्चयमा बदल्ने काम गर्नु पनि दक्षिणपन्थकरण हो, जुन नेपालका राजनीतिक दलमा देखिइरहेको छ ।
राजनीतिमा धर्म मिसाउनु दक्षिणपन्थको अर्को विशेषता हो । उपरीसंरचनाहरूमा धर्मले ओगटेको स्थानलाई विज्ञान र वस्तुनिष्ठ सत्यले विस्थापन गर्नुपर्नेमा प्रत्यक्ष परोक्ष रूपमा धर्मलाई बोकिरहने र धर्मभिरुहरूको मत लिनका लागि चुनावकेन्द्रित नारा बनाउने प्रवृत्ति दक्षिणपन्थीहरूमा देखिन्छ । परम्परादेखि चलिआएका सामाजिक मूल्य, मान्यता, आस्था, परम्परा र विश्वासहरूलाई तोड्न वा निर्मूल पार्न सकिँदैन भन्ने मूल मान्यता दक्षिणपन्थीहरूको हुन्छ । त्यसैले, अवसरवादी सामाजिक चरित्रको समर्थन जुटाइरहनका लागि धर्म, संस्कार, संस्कृति, मूल्य–मान्यता, प्रथा परम्परा, सामाजिक विश्वास आदिको भजन गाइरहने चरित्र दक्षिणपन्थी अवसरवादको हुन्छ । दौरा सुरुवाल र ढाका टोपीमा राष्ट्रियता देख्ने चिन्तन नेपाली दक्षिणपन्थको अर्को विशेषता हो ।
त्यसैले, यिनीहरू चाहे दलभित्र होस् या समाजमा, तहगत व्यवस्थालाई बढावा दिन्छन्, नेतृत्वले अधिकारको केन्द्रीकरणमा जोड दिन्छ । दलभित्र जनवाद र केन्द्रीयताको अभ्यासमा सन्तुलन मिलाइँदैन । असमान शक्ति सम्बन्धको आडमा शक्ति प्राप्त गर्न र प्राप्त भएको शक्तिलाई जोगाइरहन दक्षिणपन्थीहरू लालायित हुन्छन् । सबैलाई समेट्ने नाममा वैज्ञानिकता, वस्तुनिष्ठता र भौतिकवादलाई त्याग्दै जानु यिनीहरूको विशेषता हो ।
सामाजिक चिन्तनका हिसाबले रूपान्तरणवादीभन्दा पनि सुधारवादी मान्यता हाबी हुन्छ । परिवर्तनमा विश्वास गर्ने भए पनि परिवर्तनले ल्याउने नयाँ शक्ति सम्बन्धसँग डराउँछन् र इतिहासगाथा फलाकेर वर्तमानमा गर्व गर्दछन् । सामाजिक मान्यतालाई बढी स्थान दिन्छन्, उत्पादनमुखीभन्दा पनि उपभोगमुखी अर्थतन्त्रलाई अँगाल्छन् ।
आक्कलझुक्कल राष्ट्रवादी चरित्रको कुरा गर्ने, अझै अघि बढेर धार्मिक राष्ट्रवाद वा अन्धराष्ट्रवाद अँगाल्ने र शासन सत्तालाई टिकाइराख्नका लागि धार्मिक नारा बोक्ने चरित्र हुन्छ । समाजवादी चिन्तनको अभाव हुन्छ, र नोकरशाही चिन्तन हाबी हुन्छ । राजनीतिमा समेत विदेशी नोकरशाही चिन्तनलाई स्थान दिन्छन् । घोर अवसरवादी हुनु दक्षिणपन्थीहरूको अर्को ठूलो वर्गचरित्र हो, जुन नेपालका वामपन्थी र गैरवामपन्थी दुवै खाले दलहरूमा देखिन्छ ।
नेपालमा ठूला दलका रूपमा रहेका नेकपा एमाले, एमाओवादी, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी सबै समाजवादको नारा बोकेका दलहरू हुन् । उत्पादन प्रणालीको जगमा समाजवाद स्थापना गर्ने बाटो त्याग्दै निर्वाचनको माध्यमबाट समाजवादको यात्रा तय गर्न सकिन्छ भन्ने मान्यता यी दलको छ । कुनै दलले आफ्ना आधिकारिक दस्तावेजमा नै यस विषयलाई उल्लेख गरिसकेका छन् भने कुनै दलले दस्तावेजमा उल्लेख नगरे पनि प्रशिक्षणहरूमा यसको झलक पाइन्छ, जुन दलहरूको दक्षिणपन्थतर्फको यात्राको उदाहरण हो ।
दलहरूको दक्षिणपन्थी अवसरवादी यात्रा र दलालीको भाउ खोज्ने सामाजिक संस्कार तथा चिन्तनको बीचमा कस्तो राष्ट्रिय चरित्र निर्माण गर्ने ? यसको थालनी कसले गर्ने ? यो बहस शृंखलामा सहभागिता जनाउने पालो यहाँहरूको ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया