विचार

महिला मुक्तिको अर्को नाम मंगलादेवी

रामचन्द्र घिमिरे |
मंसिर २५, २०७७ बिहीबार १५:३ बजे

आज मंगलादेवी सिंहको जन्मजयन्ती हो । मंगलादेवी सिंहको जन्म १९८२ मंसिर २५ गते काठमाडौंको न्हैकन्तलामा भएको थियो । संघर्षका अविश्रान्त यात्री मंगलादेवी सिंह सशरीर २०५३ भदौ १० बाट हामीबीचमा नभए पनि कर्मले अमर छन् । जीवनका प्रत्येक क्षण संघर्ष र विद्रोहबाट आफूलाई सधैँ जीवन्त रूपमा उभ्याइरहनु मंगलादेवी सिंहको मुख्य विशेषता थियो । 

१९९७ असार महिनामा मंगलादेवी गणेशमान सिंहसँग वैवाहिक सम्बन्धमा बाँधिएकी थिइन् । १९९७ सालकै कात्तिक महिनामा गणेशमान सिंह प्रजापरिषद्को आन्दोलनको क्रममा पक्राउ परे । राणा शासकले उनलाई जन्मकैद दिए । राजकाज मुद्दामा उनलाई फाँसीसम्म हुनसक्ने खतरा थियो । भर्खरै नवदुलहीका रूपमा मंगलादेवी यो घरमा पसेकी थिइन् । यसपछि मंगलादेवी जहानियाँ राणा शासनविरुध्द आन्दोलनमा सक्रिय हुन थालिन् ।


२००४ सालमा महिला संघको स्थापना मंगलादेवी सिंहले गरेकी थिइन् । महिला हक–अधिकारलाई सुरक्षित बनाउन २००४ साउन २४ गते भेडासिंहस्थित चिनियालाल श्रेष्ठको घरमा महिलाहरूको भेला बोलाइन् । यही भेलाले मंगलादेवीलाई महिला संघको सभापति बनायो र ११ सदस्यीय तदर्थ कार्यसमिति पनि बनायो । २००५ सालमा प्रधानमन्त्री पद्म शमशेरले सुधार गरिएको भनिएको शासनविरुध्द आक्रोश व्यक्त गर्दै मंगलादेवीले महिलाहरूको जुलुस लिएर राणाहरूको दरबारमा पुगेकी थिइन् । 

२००७ सालको क्रान्तिमा उनको महत्वपूर्ण भूमिका रहेको थियो । मुख्य कमान्डर गणेशमान सिंह पक्राउ परे । काठमाडौंमा भइरहेको आन्दोलनको भित्री संयोजन उनै मंगलादेवी सिंहले गरेकी थिइन् । नेपालभर भएको सशस्त्र क्रान्तिमा मंगलादेवी सिंह, दिव्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, विजय लक्ष्मी, नोना कोइरालाले महत्वपूर्ण भूमिका खेलेका थिए ।

क्रान्तिपछि पार्टीहरू खुला रूपमा काम गर्न थालेका थिए । २००८ साउन २७ मा काठमाडौंको भूगोलपार्कमा मंगलादेवीले महिला संघको बृहत् भेलाको आयोजना गरेकी थिइन् । त्यस समयमा अग्रणी महिलाहरू सबैको उपस्थिति थियो । २०१७ सालको कूका विरुध्द मंगलादेवी सिंहले आफूलाई सशक्त रूपमा उभ्याइन् । त्यस समयमा लोकतन्त्र अपहरणको विरोध गर्दा मंगलादेवी ५ वर्ष कैद सजाय पाइन् । त्यसपछि पनि चाक्सीबारी निरन्तर सत्ताको कोपभाजनको दृष्टिमा परिरह्यो । बीपी, गणेशमान लगायतका नेताहरूलाई राजा महेन्द्र शाहले ८ वर्षसम्म थुनेर राखे । २०२५ सालमा बीपी गणेशमान रिहा भएपछि पुनः नेपालमा बस्ने स्थिति बनेन । त्यसपछि मंगलादेवी सिंह ८ वर्ष निर्वासनमा रहिन् ।

वीराङ्गना मंगलादेवी कर्मले अमर छन् । उनले गरेको संघर्षलाई सबैले बुझ्न जरुरी छ । 
 

मंगलादेवी सिंहले नेपाली कांग्रेसमा आबध्द भएर कांग्रेसले चलाएका सबै आन्दोलनहरूमा सक्रिय रहिन् । २००७ सालको सशस्त्र क्रान्ति, २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालका जनआन्दोलनहरूमा सधैँ सक्रिय भएर मंगलादेवीले आफूलाई अग्रभागमा राखिन् । नेपालमा पहिलो पटक महिलाको हकहितको उत्थानका लागि १९७४ मा दिव्यादेवी कोइरालाको सक्रियतामा पनि महिलाहरू योगमाया देवी, चन्द्रकान्ता, लक्ष्मीदेवी, तुलजा शर्मा, मेलवादेवी, द्वारिकादेवी चन्द ठकुरानीहरू म्हिला अधिकारका लागि सक्रिय भएका थिए ।

मंगलादेवीले पछि परेका महिलालाई अघि बढाउन आरक्षणको व्यवस्था हुनुपर्छ भनेर निरन्तर पार्टी भित्र पनि संघर्ष गरिरहिन् । सोहीअनुसार अहिले नेपाली कांग्रेसको विधान र मुलुकको संविधानमा समेत यसको व्यवस्था भएको छ । सम्पत्तिमा महिला अधिकारको विषय मंगलादेवीले अर्को अघि बढाएको विषय थियो । त्यसैगरी आमाको नामबाट नागरिकता पाउनु पर्छ भन्ने पनि उहाँको भनाइ थियो । महिलाले कानुन बुझ्नुपर्छ भनेर प्रशिक्षण चलाउँथिन् । मंगलादेवी महिलाको स्वास्थ्य विशेष हेरचाह गर्नुपर्छ भन्दै स्वास्थ्य शिविर चलाउने, प्रौढकक्षा सञ्चालन गर्ने काममा निरन्त अविश्रान्त लागिरहिन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा सधैँ अग्रभागमा रहेर लडेकी मंगलादेवी सिंह २०४६ सालको आन्दोलन सफल भएपछि महिला अधिकारका लागि अझ धेरै काम गर्न सकिन्छ भन्ने दृष्टिकोणमा थिइन् । २०४७ सालमा लोकतान्त्रिक संविधान बनेपछि २०४८ सालमा देशभर चुनाव हुने भयो । मंगलादेवी सिंह काठमाडौंबाट प्रतिनिधिसभाका लागि चुनाव लड्न पार्टीले आग्रह ग-यो । पार्टीको आग्रहलाई उनले स्वीकार गरिन् । आन्दोलनमा सधैँ अग्रभागमा जनताको पक्षमा उभिएकी मंगलादेवी चुनावमा पराजित भइन् । मंगलादेवी सिंहले महिला उत्थान र जनताका लागि गर्न खोज्नुभएको काम उनको पराजयले अवरुध्द भयो ।

मंंगलादेवी सिंहले ‘नारी संघर्षका पाइलाहरू’ नामक पुस्तक लेखिन् । यो पुस्तक आधुनिक महिलाले पढ्नैपर्ने हुन्छ । महिला मुक्तिका लागि मंगलादेवीका पुस्ताले गरेका कठिनतम संघर्षका विषय यस पुस्तकमा समेटिएका छन् । आज विकासको सर्वोच्च तहमा पुगेका कतिपय मुलुकहरूमा केही समय अघिसम्म मतदान गर्ने अधिकार थिएन । ती मुलुकमा भन्दा पहिला मंगलादेवीहरूले गरेको आन्दोलनले गर्दा नेपालमा पुरुष सरह महिलाले मतदान गर्ने अवसर मिल्यो । त्यसैगरी अन्य धेरै राजनीतिक हैसियत प्राप्त गर्ने परिस्थितिको निर्माण हुँदै आएको छ । आजको उपलब्धिको बिउ मंगलादेवी सिंहले रोपेको वृक्षको फल नै हो ।

आमाको नामबाट नागरिकता पाउनुपर्छ भन्ने पनि उनको भनाइ थियो । महिलाले कानुन बुझ्नुपर्छ भनेर प्रशिक्षण चलाउँथिन् । महिलाको स्वास्थ्य विशेष रुपमा हेरचाह गर्नुपर्छ भन्दै स्वास्थ्य शिविर चलाउने, प्रौढ कक्षा सञ्चालन गर्ने काममा निरन्तर अविश्रान्त लागिरहिन् ।

मंगलादेवी सिंह महिला अधिकारमा एकोहोरो जडसूत्रवादी मान्यता विपरीत थिइन् । महिला अधिकार र स्वतन्त्रता पाउनु पर्छ भन्ने आवाज उठाउनुको अर्थ गृहस्थी भाँड्ने अवस्था निम्त्याउनु होइन भन्थिन् । कर्तव्यसँगको अधिकार मात्र फलदायी हुन्छ, कर्तव्यविनाको अधिकार अराजकतावादी हुन्छ भन्थिन् । अधिकारले मानिसलाई शक्तिशाली बनाउँछ तर कर्तव्यले मानिसलाई महान् बनाउँछ उनी भन्थिन् ।

सामाजिक जागरण र राजनीतिक चेतनाको विकासमा मंगलादेवीले महत्वपूर्ण योगदान गरेकी छन् । लोकतान्त्रिक आन्दोलनमा उनको महत्वपूर्ण भूमिका छ । भोट हाल्ने अधिकार र स्कुल जान पाउने अधिकार उनले नै गरेको आन्दोलनको सफलता हो । राजनीतिमा मात्र नभएर समाज परिवतर्वनका लागि पनि मंगलादेवी सिंहको महत्वपूर्ण योगदान रहेको छ ।

मंगलादेवी सिंह जुन लोकतान्त्रिक मूल्य–मान्यताका लागि आजीवन निर्भीकतापूर्वक लडिन्, त्यो आजको राजनीतिमा पनि अपरिहार्य बनेको छ । मंगलादेवीमा जुन निष्ठा, राजनीतिक संस्कार थियो, त्यो अहिलेको कांग्रेसलाई अझ बढी आवश्यक भएको छ । मंगलादेवी सिंहलाई सम्झदा उनले लिएको पथलाई बिर्सनु हुँदैन । समग्रमा मंगलादेवी सिंहलाई सम्झँदा नै उनको जन्मजयन्तीको महत्व रहनेछ । वीराङ्गना मंगलादेवी कर्मले अमर छन् । उनले गरेको संघर्षलाई सबैले बुझ्न जरुरी छ । जय नेपाल !


Author

थप समाचार
x