म एमालेमा लागे हुन्थ्यो भन्ने उहाँको इच्छा रहेछ
सुप्रसिद्ध शिक्षाविद्, साहित्यकार र राजनीतिज्ञ आनन्ददेव भट्टसँग मेरो पहिलो भेट र परिचय २०१० सालको माघ महिनामा राजधानी उपत्यकामा भएको नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनमा भएको हो ।
त्यस बेला म पर्सा जिल्लाको प्रतिनिधि भएर वीरगन्जबाट आएको थिएँ । सभामा आनन्ददेवले आँटिलो भएर प्रस्टसँग आफ्ना आलोचना र सुझाउहरू अघि सार्नुभएको देख्ता म प्रभावित भएँ ।
अनि सभा स्थगित गरिएको बेलामा उहाँनिर गएर उहाँको गुणको प्रशंसा गर्दै चिनजान गरेँ । त्यस बेला नेकपा प्रतिबन्धित न थियो । त्यसैले त्यो महाधिवेशन गुप्त रूपबाट गरिएको थियो ।
ने.क.पा.को केन्द्रीय समितिको निर्णयअनुसार म पार्टीको मुखपत्रको सम्पादन र प्रेसको व्यवस्थापनको कामको निम्ति २०१२ को माघमा वीरगन्जबाट काठमाडौँमा आएँ ।
अनि त आनन्ददेवसँगको सम्बन्ध क्रमशः बढ्दै जान पायो र हामी निकै घनिष्ठ हुन पुग्यौँ । २०१६ मा पार्टीको काठमाडौँ जिल्ला–समितिले साहित्य क्षेत्रमा विचार बुझ्न आनन्ददेव, कृष्णचन्द्रसिंह, भूपी शेरचन, रमेश विकल र मसमेत केही साथीहरूलाई भेला गरेर राय बटुलेको थियो ।
त्यसको एक महिनापछि प्रगतिशील लेखक सङ्घ (प्रलेस)को पुनर्गठन प्रारम्भ गरियो । अस्थायी कार्यसमितिमा आनन्ददेव, केदारनाथ न्यौपाने, तारानाथ शर्मा (सचिव), पूर्णमान तपोल र म थियौँ ।
त्यस बेला सदस्यहरूको संख्या १२ मात्र थियो । ०१६ कै फागुनमा प्रलेसले आनन्ददेवको प्रवचनको आयोजना गरेको थियो । उहाँले पूर्व पहाडतिरको आफ्नो साहित्यिक भ्रमणका अनुभवहरू सुनाउनुभयो । ‘लेखक, कवि, साथीहरुले वर्षको दुई महिना भ्रमण गर्ने गर्नुपर्छ’ भन्नुभयो ।
त्यही वर्ष चैतमा सोभियत संघबाट नेपाली साहित्यबारे खोज गर्न कोरोलेभ र मोरोजोभ नाउँका दुई जना यहाँ आउनुभएको थियो । आनन्ददेव, तारानाथ, धर्मराज थापा र म राजदूतावासमा गएर उहाँहरूसँग कुरा गयौँ । केही पुस्तक र नेपाली पुस्तकहरूको सूची पनि दियौँ ।
२०४९ सालको असारमा आनन्ददेवले मसँग फोन–सम्पर्क गरेर बैतडीमा साढे तीन महिना बिताई आफू आएको कुरा बताउनुभयो । उता प्रलेस र बुद्धिजीवी परिषद्सम्बन्धी पनि काम गर्ने उहाँको विचार रहेछ ।
केही महिनापछि फेरि उता जाने कुरा बताउनु भयो । त्यसै दिन उहाँसँग प्रलेसमा भेटसमेत हुन पायो । त्यहाँ खगेन्द्र सङ्ग्रौला, मुरारी अर्याल र शक्ति लम्साल पनि हुनुहुन्थ्यो । ०४९ कै भदौमा आनन्दले प्रलेसको कार्यालयमा फोन गरेर कर्णाली अञ्चलको प्रत्येक जिल्लाका लेखकहरूसँग सम्पर्क राख्ने प्रयत्न गरियोस् भन्ने सल्लाह दिनुभयो ।
२०५० को पुसमा आनन्ददेवले मसँग निकै लामो कुरा गर्नुभयो । नेकपा (एमाले) मा लागे हुन्थ्यो भन्ने उहाँको इच्छा रहेछ । मैले हरेक देशमा पार्टीमा नलागेका स्वतन्त्र व्यक्तिको समेत आवश्यकता रहन्छ त्यसैले नेपालमा पनि त्यस्ता व्यक्तिहरू हामीले तयार पार्नुपर्छ भन्ने आफ्नो विचार उहाँलाई बताएँ । आफू कुनै राजनीतिक दलपट्टि नलागी स्वतन्त्र वाम व्यक्तिका रूपमा भूमिका पूरा गर्न चाहन्छु भनेँ । अनि उहाँले मलाई प्रलेसमा गत कार्यकालको भन्दा पनि बढी सक्रिय भई आधिकारिक रूपबाट काम गर्नुपर्यो भनी उत्साहित पार्न खोज्नुभयो । उहाँले बैतडीलाई नै आफ्नो कार्यक्षेत्र बनाउन चाहनु भएकामा समर्थन गरेँ ।
(यो लेख श्यामप्रसाद शर्माले २०६४ असोज ११ मा लेखेका हुन् । श्यामप्रसाद नाममा छापिएको यो लेख शेषराज सिवाकोटीको सम्पादनमा प्रकाशित ‘आनन्ददेव भट्ट : अक्षरको अभिवादन’मा प्रकाशित छ ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया