विचार

इतिहाससँगै निखारिँदै सम्पन्‍न दक्षिण कोरिया

डा. सुधीरकुमार झा |
भदौ १४, २०७८ सोमबार २०:३६ बजे

कोरियाली प्रायोद्वीपको प्रसंग आउने बित्तिकै धेरैको कान ठाडो हुन्छ । अनि, भनिहाल्छन् कि केही दशक अघिसम्म दक्षिण कोरिया हामी जस्तै थियो । तर आज ? नेतृत्व राम्रो र शक्ति मुलुकको साथ पाएमा मुलुकलाई प्रगति गर्न समय लाग्दैन रहेछ । उदाहरण बनेको छ, दक्षिण कोरिया । दुई कोरिया (उत्तर र दक्षिण)मा बाँडिएपछि दक्षिण कोरियाले गरेको प्रगति साँच्चै प्रशंसनीय छ । ऊ आर्थिक ‘हब’ मात्र होइन कि विश्‍व राजनीतिको एक खेलाडीको रूपमा चिनिन थालेको छ । 

उसले सन् १९९१ मा मात्र संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको हो । तर डेढ दशकमै त्यो संगठनमा नेतृत्व लिन सफल भयो । नेपाल भन्दा बढी अर्थात् १ सय ९५ भन्दा मुलुकहरूसँग दौत्य सम्बन्ध गाँसेको दक्षिण कोरियाले राष्ट्रसंघको महासचिव पद नै दुई कार्यकाल पायो । दक्षिण कोरियाका विदेश मन्त्री रहिसकेका वान कि मून सन् २००७ देखि २०१६ सम्म राष्ट्रसंघको उच्च पदमा रहे । यद्यपि नेपाल अझै अध्यक्ष समेत हुन सकेको छैन । 


दक्षिण कोरियाले राष्ट्र संघ, विश्व ब्यापार संगठन, पूर्वी एसियाली समिट, जी-२०, एपेक लगायत विभिन्न संघ संगठनहरूसँग नजिक रहेर काम गरिरहेको छ । अमेरिकाले अघि बढाएको ‘क्‍वाड’ (अमेरिका, भारत, जपान र अस्ट्रेलिया) मा औपचारिक रूपमा नरहे पनि दक्षिण कोरिया सहायक भूमिकामा छ । इन्डो प्यासिफिकमा दक्षिण कोरियाको चासो रहनु स्वभाविक पनि हो । सुरक्षासँग जोडिएको विषयमा दक्षिण कोरिया सधैँ यो क्षेत्रमा देखा पर्न आवश्यक छ । उत्तर कोरियाको कारण सधैँ समस्यामा रहेको दक्षिण कोरिया अमेरिकी फौजसहित आफ्नो प्रायोद्वीप सुरक्षित राख्‍ने मुलुकमा पर्छ । 

कोरियाली इतिहास र सम्बन्ध

दक्षिण कोरिया यो स्थितिमा आइपुग्नुमा उसको इतिहास र अन्तर्राष्ट्रिय सम्बन्ध खोतल्नुपर्ने हुन्छ । दुवै कोरिया सन् १३९२ देखि १९१० सम्म ‘जोसियन डाइनेष्टी’अन्तर्गत थियो । सन् १८५० बाट जापानको ‘इम्पेरियल साम्राज्य’को यो भूभागतिर आँखा लाग्यो र आफ्नो प्रभावकारिता देखाउन थाल्यो । जापानले सन् १९१० देखि १९४५ सम्म यसलाई उपनिवेश बनाएर राज गर्‍यो । यसभन्दा ४० वर्ष अगाडि सोभियत रसियाको निकोलस द सेकेण्डको पनि यस महाद्वीपतिर आँखा नपारेको होइन ।

निकोलस वार्म पोर्टको रूपमा पोर्ट अथरलाई उपर्युक्त ठानी राखेका थिए । यहाँबाट मस्को र सेन्ट पिटर्सबर्गसम्म रेलवे लाइन बिछ्याउन चाहन्थे, जुन कि आर्मीलाई ओहोर-दोहोर गर्न सजिलो होस् । यसले जापान तर्सियो र सोभियतमाथि आक्रमण गरेर पोर्ट अथरलाई आफ्नो अधिनमा पार्‍यो । निकोलसले पर्याप्त तयारी नभएको कारणले हारे । हुन त, निकोलसले वैकल्पिक लामो बाटो युरोप, इन्डियन ओसियन, अफ्रिका हुँदै अर्को बाटो नखोजेको हैन । तर ब्रिटिस जहाजलाई जापानिज भनेर आक्रमण गरेको कारणले त्यो बाटो पनि रोकियो ।

कोरिया यतिबेला नेपालीको आकर्षक गन्तव्य बनेको छ, तर त्यही कोरियाले कसरी आफूलाई यो अवस्थामा ल्यायो भन्‍नेमा हाम्रा नेतृत्व वर्गले अझै सोच्‍न वा सिक्न सकेका छैनन् ।

दोस्रो विश्व युद्धको समय थियो । जापान घमण्डी त थियो नै सँगै उन्नति पनि उत्कर्षमै । हिरोसिमामा ६ अगष्ट अनि नागासाकीको विध्वंसले जापानले आत्मसमर्पण गरे । रसियाले युद्ध नजिते पनि राम्रो समय पायो । जापानको प्रभाव कोरियामा जमाउनबाट रोके । संयुक्त राज्य अमेरिका जर्मनीतिर ब्यस्त थियो । तर रसिया र चीनले कोरियामा कम्युनिज्म फैलाउन गरेको कोशिसलाई नियन्त्रणमा ल्याउन आफ्नो सैनिक पठाए । उसको त्यहाँ उद्देश्य पुँजीवादी व्यवस्था कायम गर्नुथियो । आफ्ना दुई अफिसर्स डिन रस्क र चाल्र्स बोनस्टिललाई पठाएर सियोललाई पुँजीवादी भागतिर पार्नु थियो । यसरी दुई कोरियाको स्थापना भयो । त्यसपछि चलेको ३ वर्षको  युद्धपछि सन् १९५३ को सन्धिअनुसार असैन्यीकरण क्षेत्र घोषित गरियो, जसको चौडाई ४ कि.मी र र लम्बाई २ सय ४० कि.मी छ ।

के हो दक्षिण कोरिया ? 

दुई कोरियालाई तुलनात्मक रूपले हेर्नुको साटो दक्षिण कोरियाको विषयमा मात्रै यो आलेख केन्द्रित छ । दक्षिण कोरियाको वरिपरि येलो सी, सी अफ जापान, इष्ट चाइना सी र उत्तर कोरिया छन् । यहाँका बासिन्दा प्रायः शहरी क्षेत्रमा नै केन्द्रित छन् । तीन सय सांसद भएको एकात्मक बहुदलीय गणतन्त्रात्मक संसदीय व्यवस्था भएको देश हो, यो । हाम्रो देश जस्तै दक्षिण कोरियामा पनि राष्ट्रपति र प्रधानमन्त्री दुवैको शासन ब्यवस्थाको प्रावधान छ । यहाँको औसत आयु लगभग ८२ वर्ष देखिएको र साक्षरता विश्वकै सबैभन्दा बढीमध्ये पाइन्छ जुन कि लगभग ९८ प्रतिशत छ ।

आयशक्ति पनि पश्चिमी मुलुकहरू भन्दा कम छैन । अचम्मको कुरा के छ भने यहाँ हरेक पुरुष नागरिकले १८ देखि ३५ वर्षको अवधिमा कम्तीमा २ वर्ष अनिवार्य सैनिक सेवा गरेको हुनुपर्छ । अर्को बालबालिकाहरू जन्मेकै समयमा एक वर्ष उमेर भएको मानिन्छ । त्यस्तै यसलाई ‘सुसाइड नेसन्स’ पनि भनिन्छ । पुँजीवादी व्यवस्थामा देखिने पारस्परिक प्रतिस्पर्धाको कारणले गर्दा १० वर्षदेखि ३० वर्षको समूहमा सबैभन्दा बढी आत्महत्या गर्ने देश यो हो ।

यहाँ कोरियनहरू नै सबैतिर पाइन्छन् । तर जापानिज, अमेरिकन गोरा, हान चाइनिजको पनि नगण्य मात्रामा उपस्थिति छ । केही विदेशीहरू ब्यापार, कूटनीतिक क्षेत्रमा पाइन्छन् भने धेरै चीन र पूर्वी एसियाबाट आएका कामदारहरू छन् । प्रायः कोरियन भाषा नै प्रचलित छ, जसको जापानिज र चाइनिज भाषासँग पनि सम्बन्ध छ । कोरियन भाषामा बहुसंख्यक अंग्रेजी शब्दहरूको पनि प्रयोग गरिएको पाइन्छ ।

 

हरेक पुरुष नागरिकले १८ देखि ३५ वर्षको अवधिमा कम्तीमा २ वर्ष अनिवार्य सैनिक सेवा गरेको हुनुपर्छ । अर्को बालबालिकाहरू जन्मेकै समयमा एक वर्ष उमेर भएको मानिन्छ । त्यस्तै यसलाई ‘सुसाइड नेसन्स’ पनि भनिन्छ । पुँजीवादी व्यवस्थामा देखिने पारस्परिक प्रतिस्पर्धाको कारणले गर्दा १० वर्षदेखि ३० वर्षको समूहमा सबैभन्दा बढी आत्महत्या गर्ने देश यो हो ।

यो शायद, अमेरिकनहरूको सन् १९५० देखिको उपस्थितिले होला । सामानिज्म, बुद्धिज्म, डाओइज्म र कन्फुसियनिज्म इन्यादि पौराणिक कालदेखि चरणबद्ध रूपमा चलिआएका धर्म हुन् । यी सबैले यस देशको कला र संस्कृतिमा मद्दत पुर्‍याएका छन् । १८ औँ शताब्दीतिर आएको इसाईहरूले यहाँको आधुनिकीकरणमा धेरै नै योगदान पुर्‍याएको देखिन्छ । 

दुई कोरियाको तिक्तता 

दक्षिण कोरिया र उत्तर कोरियाको सम्बन्ध बढी वैमनस्यतातिर नै केन्द्रित देखिन्छ । सन् १९८४ मा दक्षिण कोरियामा टाइफुन आउँदा उत्तर कोरियाले खाद्यान्न सामाग्रीले मद्दत पुर्‍याए । त्यसपछि दुई देशको बीचमा कलाकार इत्यादिको नजिकपना बढाइयो । किम डा. जुङ्गको सन् १९९७ को वर्षमा ‘सनसाइन पोलिसी’ ल्याएर ऐतिहासिक कदम चालेको जस्तो देखिन्छ । यसका लागि किमले सन् २००० मा नोबेल शान्ति पुरस्कार समेत पाए । यो पोलिसीले दुई कोरियाका आर्थिक, सामाजिक, मनोवैज्ञानिक इत्यादि क्षेत्रमा सान्निध्यता ल्याए । छुट्टिएको परिवारलाई समेत कम समयको लागि भेट्न दिइयो ।

सन् २००२ को दक्षिण कोरियाका ४ माछा मार्नेहरूकोे मृत्यु, सन् २००४ मा उत्तर कोरियाको आणविक कुरा र क्षेप्यास्त्र परीक्षण आदिलाई लिएर यस महाद्वीपमा सुरक्षाको वातावरण धमिलिएको छ । आफ्नो स्याटेलाइटको योजनाको विषयमा उत्तरले दक्षिण कोरिया र अमेरिका समेतलाई धम्काए । तर पनि हरेक समय दक्षिण कोरियाले मध्यस्थताको मार्ग अपनाए ।

उत्तर कोरियाको टोर्पेडोले गर्दा २०१० मा दक्षिण कोरियाको ४६ नाबिकले समुद्रमा ज्यान गुमाएको इत्यादिले गर्दा पहिलाको सबै सन्धिहरू खारेज जस्तो भयो । नोभेम्बर २०१० मा ‘सनसाइन पोलिसी’को औपचारिक रूपमा अन्त भए जस्तो भयो । एक सर्वेक्षण अनुसार, ३ प्रतिशत दक्षिण कोरियनले मात्र उत्तर कोरियाको प्रभावलाई सकारात्मक तरिकाले लिन्छन्, जसमा विशेष गरेर युवा वर्ग आउँछ । अर्को एक सर्वेक्षण अनुसार, ५८ प्रतिशत दक्षिण कोरियालीले अर्को युद्ध नहोस् भनेर चाहन्छन् ।

अमेरिकाको साथ पाएपछि जापानबाट मुक्त

दोस्रो विश्व युद्धपछि अमेरिकाले दक्षिण कोरियालाई जापानको उपनिवेशबाट मुक्त गराउन आफ्नो सैनिक कारबाही गरे र सफल पनि भए । त्यतिबेला रुस-उत्तर कोरियामा ब्यस्त थिए । कोरियन युद्धको समयमा अमेरिकन सेना दक्षिण कोरियामा प्रवेश गरे । दक्षिण कोरियामा चीन र रुसको आधिपत्यलाई कम गरे । सन् १९५३ को सन्धिपछि दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले एक आपसमा सैन्य सम्झौता गरे । त्यसअन्तर्गत भियतनाम युद्धमा दक्षिण कोरियाले अमेरिकालाई सैन्य मद्दत समेत गरे । 

सन् २००९ मा भएको जी-२० लण्डन सुमितमा बाराक ओबामाले दक्षिण कोरियालाई आफ्नो नजिकको सहकर्ता समेत भने । पछि दक्षिण कोरियाको मुन जाए इनले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटे । सन् १९८० को विद्रोहलाई दबाउन संयुक्त राज्य अमेरिकाको कदमलाई ग्वाङ्गजु बासिन्दा र अरु दक्षिण कोरियन नागरिकहरूले अमेरिकालाई दोष लगाउँदै आएका छन् । राष्ट्रपति ली म्युङ्गले लस एन्जेलस टाइम्सको जुन २०१० मा लेखेको चिठीमा अमेरिकाको ३७,००० सैनिकहरूले दक्षिण कोरियालाई स्वतन्त्र गराउँदा ज्यान दिएकामा धेरै धेरै धन्यवाद लेखेका थिए । दुई देशले भविष्यमा पनि ‘स्ट्राटेजिक अलायन्स’ को रूपमा साथ रहने प्रतिबद्धता जनाएका छन् ।

चीन र दक्षिण कोरिया

दक्षिण कोरिया र चीनको दौत्य सम्बन्ध औपचारिक रूपमा २४ अगष्ट १९९२ मा मात्र शुरुवात भएको हो । यसले ‘बेल्ट एण्ड रोड’लाई अगाडि बढाइसकेको छ । दुई देशबीच नागरिकहरूको नजिकपनालाई सधैँ प्रोत्साहन गरिएको छ । दुई देशका पत्रकार, बौद्धिक व्यक्ति, छुट्टिएका परिवारहरू १९९० दशकपछाडि सौहाद्र्रपूर्वक आवत-जावत गर्न पाउँछन् । यसै क्रममा उत्तर पूर्वी जिलिन प्रदेशको लगभग २० लाख दक्षिण कोरियनहरूले दक्षिण कोरियामा अन्र्तक्रिया गरिसकेका छन् । चीनले उत्तर-दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाकाबीचमा एक आपसमा मध्यस्थता  गर्दै आएको छ । 

चीन र दक्षिण कोरियाबीच व्यापार क्रमिक रूपमा बढ्दै गएको छ । तर, चीनले दक्षिण कोरियामा उत्तरपूर्वी आयोजनाको धेरै प्रचार गरेपछि यसको विरोध दक्षिण कोरियामा सीधैँ देखियो । प्रत्यक्ष रूपमा यी दुवै देशमा राम्रो सम्बन्ध देखिए पनि अप्रत्यक्ष रूपमा एक किसिमको आपसी असमझदारी अझै देखिन्छ ।

 

कोरियाली राष्ट्रपति पटक-पटक नेपाल आएका र बुझेका व्यक्ति हुन् । तर नेपालले त्यसलाई ‘क्यास’ गर्न समेत सकेको छैन । त्यस्तो पाटो बुझेको व्यक्तिले कोरियामा राजदूत हुने अवसर पनि पाएका छैनन् । र, यहाँ नेतृत्वमा रहने पनि कोरियासँग के सहकार्य गर्नपर्छ भन्ने विषय बुझेका छैनन् । 

दक्षिण कोरिया र जापानसँगको सम्बन्ध दुवै राजनीतिक द्वन्द्व र व्यापारिक सम्झौतामा जोडिएको पाइन्छ । द्वन्द्वहरूमा इष्ट-सी को नाम, यासुकुमी स्राइन, डोक्डो टापु इत्यादि छन् । दक्षिण कोरियाको पहिलो राष्ट्रपति सिङ्गमान रीले सन् १९५२ को जनवरी १८ मा डोक्डो टापु दक्षिण कोरियाको हो भनी सार्वजनिक रूपमा ब्यक्त गर्दै यसलाई छुट्याउन आफ्नो नाममा रेखाको नाम राखे । त्यही समयमा लगभग ३ हजार माछा मार्ने मजदुरहरूलाई आफ्नो नियन्त्रणमा राखे । यसले दुई देश बीच दुरी बढ्यो । 

१९६५ को जुन २२ को दिन जापान र दक्षिण कोरियाबीच भएको सन्धिले दक्षिण कोरियालाई जापानले कोरियन महाद्वीपकै आधिकारिक मुलुक भनी घोषणा गरे । सन् २००२ को ‘फिफा वल्र्ड कप’ले दक्षिण कोरिया र जापानको संयुक्त प्रायोजनमा दुई देशबीच सान्निध्यता ल्यायो भने सन् २००५ लाई जापान-दक्षिण कोरिया मैत्री सम्बन्ध वर्ष भनी घोषणा गरियो । तर ‘टाकेसीमा डे’ को घोषणाका कारणले दक्षिण कोरियामा जापानविरुद्धमा फेरि सामूहिक प्रदर्शन भयो । समग्रमा भन्ने हो भने सन् १९६५ देखि बिग्रेको मित्रता २०१८ मा मात्र राम्रो दिशा लियो ।

चीनपछि रुसँगको सम्बन्ध 

साउथ कोरियाले रुससँग १९९० को सेप्टेम्बर ३० मा आफ्नो दौत्य सम्बन्ध कायम गरे । सन् १९९० को दशकमा रोको ‘नोर्डोपोलिटिक’ र मिखाइल गोर्वाच्योभको ‘नयाँ सोचाई’ले दुई देशको इतिहासलाई परिवर्तन गरिदियो । गोर्वाच्योभको जुलाई १९८६ र अगष्ट १९८८ को दुई अभिव्यक्तिले गर्दा दक्षिण कोरिया लगायत एशिया प्यासिफिकको सम्पूर्ण देशहरूबीच सम्बन्ध बढाउन सकारात्मक काम गर्‍यो । 

वैदेशिक नीतिलाई बढावा दिन उच्च ओहदाको ब्यक्तिहरू विभिन्न समयमा रुस पुगे भने किम यङ्ग साम मोस स्वयं सन् १९८८ मा गए । जसमा क्रेमलिनले तीन लाख सोभियत साउथ कोरियन्सलाई साउथ कोरिया फिर्ता पठाउने घोषणा गर्‍यो । दुई देशका प्रमुखहरू एक आपसमा सम्बन्ध कायम राख्न एक अर्काका मुलुकमा भ्रमण जारी राखे जस्तो कि पुटिन र रो को भ्रमण । दुई देशले साउथ कोरियाको पहिलो एस्ट्रोनेट पठाउने कार्य समेत गरे । 

अन्त्यमा

१९९० को दशक यता विभिन्न मुलुकसँग व्यापारिक सम्झौता गरेको देखिन्छ । तत्कालीन अन्य शक्तिसँग पनि सम्पर्क बढाउँदै गएको हो, कोरियाले । बेलायत र अन्य युरोपेली मुलुकसँग सम्पर्क विस्तार गर्दै खार्दै गएको मुलुकको कोरिया । कोरियामा यतिबेला नेपालीको आकर्षक गन्तब्य बनेको छ, तर त्यही कोरियाले कसरी आफूलाई यो अवस्थामा ल्यायो भन्नेमा हाम्रा नेतृत्व वर्गले अझै सोच्न वा सिक्न सकेका छैनन् ।

कोरियाली राष्ट्रपति पटक-पटक नेपाल आएका र बुझेका व्यक्ति हुन् । तर नेपालले त्यसलाई ‘क्यास’ गर्न समेत सकेको छैन । त्यस्तो पाटो बुझेको व्यक्तिले कोरियामा राजदूत हुने अवसर पनि पाएका छैनन् । र, यहाँ नेतृत्वमा रहने पनि कोरियासँग के सहकार्य गर्नपर्छ भन्ने विषय बुझेका छैनन् । 
 


Author

डा. सुधीरकुमार झा

काठमाडौँ  विश्‍वविद्यालयबाट लिडरसिपमा विद्यावारिधी गरेका झा चेल्सी इन्टरनेसनलका प्रिन्सिपल तथा कूटनीतिक जानकार हुन्


थप समाचार
x