विचार

बुवाको सम्मानमा दुई शब्द

वेद जोशी |
भदौ २२, २०७८ मंगलबार ७:३३ बजे

मित्र जय रिमालको मर्मस्पर्शी रचना ‘आमा-बुवा मेरा भगवान्’ सुन्दै गर्दा हरेक सन्तानहरूलाई झैँ मलाई पनि आफ्नो जीवनमा रहेको आमा-बुवाको महत्व अनि उहाँहरूप्रतिको सम्मान अझै ताजा भएर आयो । यसो नियाल्ने हो भने हामीले सुन्‍ने रचनाहरू हुन् वा पढ्ने आलेखहरू, त्यसमा प्रायः आमाको ममता र स्नेही काखको बयान र प्रसंगको तुलनामा बुवाका लागि खर्चिएका भावना एवं शब्दहरू केही हदसम्म कम नै रहेको भान हुन्छ ।

त्यसो त सन्तानका लागि आमा-बुवाको महत्व र उहाँहरूप्रतिको सम्मान, घटबढ हुने कुरा त होइन तैपनि हाम्रो पितृसत्ता हाबी भएको समाजमा घरको मुली र संरक्षकका रूपमा बुवा र आमा भने बुवामै आश्रित भई सन्तानलाई ९ महिना कोखमा राखी जन्माउनुका साथै हुर्काउने अतुलनीय जिम्मेवारीमा अडिग रहने भएकाले होला, आमाहरूको सम्मानमा रचना गरिने तथा कोरिने शब्दहरूले बढी स्थान पाएको देखिन्छ, जुन स्वाभाविक पनि हो ।


जे होस्, आमा-बुवा एक रथका दुई पांग्राका रूपमा रही समान जोडबलको मद्दतले सन्तानलाई सुखको गन्तव्यसम्म पुर्याउन सदैव अनवरत प्रयासमा रहन्छन् र सन्तानको नजरमा पनि उहाँहरूप्रतिको सम्मान, श्रद्धा अनि महत्व निकै नै उच्च रहेको हुन्छ । ‘आमा धर्ती हुन् भने बुवा आकाश’ सायद यत्तिकै भनिएको होइन होला, त्यसैले त हाम्रो परम्परा र संस्कारले समेत उहाँहरूको महत्वलाई आत्मसात् गर्दै ‘मातातीर्थ औँसी’ र ‘पिता-सम्मान दिवस’ अर्थात् आमा/बुवाको मुख हेर्ने दिन भनेर तोकिदिएको पाइन्छ ।

आज बुवाको मुख हेर्ने दिन, हरेक सन्तानलाई झैँ मेरो मनमा रहेको बुवाप्रतिको सम्मानभावले आज उहाँकै निम्ति केही भावनारूपी शब्दहरू कोर्ने जमर्को गर्दैछु । हुन त बुवालाई सम्मान गर्न वर्षको एक दिन नै पर्खनुपर्ने त होइन तथापि आजको दिनको पनि खास महत्व भएकाले मेरा केही शब्दहरू उहाँकै नाममा समर्पित गरेर यो दिनलाई थप महत्वपूर्ण बनाउन चाहे । मेरा लागि मेरो बुवा एक आदर्श पुरुष र प्रेरणाको स्रोत हुनुहुन्छ जसको उपस्थितिले मात्रै पनि मभित्र जोस, जाँगर र आँटको बाढी नै ल्याइदिन्छ ।

जीवनको हरेक परिस्थितिमा एक सच्चा सल्लाहकारका रूपमा रही एकदमै सहज वातावरण निर्माण गरिदिने मेरो बुवासँग जोडिएको मेरो बाल्यकाल भने केही पृथक् र रोचक छ । त्यो बालापनको स्मृतिमा एक डरलाग्दो पात्रका रूपमा चित्रित मेरो बुवा, हामी सम्पूर्ण दिदी-भाइहरूका लागि उहाँको उपस्थितिले एउटा छुट्टै अप्ठ्यारोपन सिर्जना गरिदिन्थ्यो ।

बालापनका अन्जान गल्तीहरूमा पाइने बुवाका गाली र पिटाइहरूमा सधैँ आमाको स्नेही मल्हम पाउने भएर होला हामी आफ्ना कुरा समेत आमामार्फत बुवासम्म पुर्याउँथ्यौँ । ‘गर भनेको गर्नुपर्ने र नगर भनेको नगर्नुपर्ने’ बुवाको नियमलाई बालापनले उल्लंघन गर्दै कहिलेकाहीँ खोलामा नुहाउन जाँदा भाई झण्डै डुबेको घटना होस् वा बुवाले नयाँ किनिदिनुभएको घडीमा पानि पस्दा खोलामा नुहाएको पोल खुल्ने डरले आगोमा सेक्न खोज्दा घडी पूरै काम नलाग्ने भएको घटना होस्, सो क्रममा पाइएको बुवाको खप्कीहरू आज मीठा समृति बनेर रहेका छन ।

काम विशेषले बुवा सदरमुकाम जाँदा सो दिन उतै बस्ने भन्‍ने खबरले हामी दिदी-भाइहरूमा खुसीको तरङ्ग नै ल्याइदिन्थ्यो भने उहाँको उपस्थिति हुनेबित्तिकै हाम्रा निस्फिक्रीका आवाजको ध्वनि एकाएक कम हुन्थ्यो, उपद्रोहरूमा लगाम लाग्थ्यो, एक किसिमको नियमको परिधिभित्र कैद गरिदिन्थ्यो ।

त्यसैले होला बुवाको उपस्थिति प्रतिकूल र अनुपस्थिति चाहिँ अनुकूल जस्तै लाग्थ्यो । अहिले यसो सोच्दा बुवा हाम्रो सामु कठोर रूपमा प्रस्तुत हुनु, स-साना गल्तीमा गाली गर्नु, यो/त्यो भनेर कैयौँ कुरामा लगाम लगाउनुजस्ता कुराले नजानिँदो तरिकाले हामीलाई सत्मार्गमा हिँडेर असल व्यक्ति बन्‍नेतर्फ प्रेरित गर्नका लागि पो रहेछ भन्‍ने आत्मबोधले बुवाप्रति थप सम्मानले शिर निहुरिन्छ ।

सायद बुवाको कठोरता र आमाको नरमपना मिश्रित व्यवहारले नै परिवारलाई अनुशासन र स्नेहको घेराभित्र बाँधेर राख्न सफल भएको हुनुपर्छ । त्यो समयमा आम परिवारमा बुवा र सन्तानहरूको बीच हाम्रो जस्तै भोगाइ धेरैको थियो होला, किनकि हाम्रो समाजिक मान्यताले नै बुवाहरूलाई कठोर रूपमा परिभाषित गर्दै उभ्याइदिएको छ । के बुवाहरू साँच्चै नै कठोर हुन्छन् त ? के उहाँहरू संवेदनशील नै नहुने हो र ? त्यस्तो पक्कै पनि होइन ।

वास्तवमा बुवाको मन पनि स्नेहले भरिपूर्ण र विशाल हुन्छ त्यसैले त आफ्नो सन्तानको सुख र सुनौलो भविष्य सुनिश्चित गर्न हेतु आफूलाई नै दाउमा राखेर दिनरात निरन्तर खटिइरहेका हुन्छन् । बाहिर नदेखिएको हुनसक्छ तर मनभित्र अथाह माया बोकेर सन्तानलाई स्नेहको छहारी प्रदान गरिरहेका हुन्छन् । त्यसो त लोग्ने मानिस शारीरिक र मानसिक रूपमै कठोर हुनुपर्ने, जीवनमा आइपर्ने दुःख र समस्यामा पीडाबोध गर्दै रुनसमेत नहुने जस्ता समाजमा स्थापित मान्यताहरूले पनि बुवाहरूलाई कठोरजस्तै देखिने बनाएको होला, हैन भने बुवाहरू ओखर जस्तै हुन बाहिरबाट कडाभित्रबाट एकदमै नरम ।

मलाई सम्झना छ, एकपटक दिदी बिरामी भएर साह्रै हुँदा घरमा आमाहरूको रुवाबासी चलेको अवस्थामा बुवाको मन पनि भित्र-भित्रै त खुब रोयो तर आमाजस्तै खुलेर रुन उहाँलाई समाजको स्थापित मान्यताले दिएन । बाहिरबाट नदेखिए पनि बुवाका आँखा खुब रसाएका थिए जहाँबाट उहाँको मन पीडाले रोएको स्पष्ट हुन्थ्यो ।

त्यसो त बुवा मेरो परिवारकै एक आड अनि भरोसा भएकाले उहाँ कमजोर देखिँदा हामीसबैको आशाको त्यान्द्रो चुँडिन पनि सक्ने भएर होला, बुवाले आफ्नो पीडा लुकाएर दुःखको पहाडलाई सहजै अवतरण गराउन सफल हुनुभयो । सायद मेरो बुवाले जस्तो यहाँ हरेक बुवाहरूले पनि गर्ने गर्छन् होला त्यसैले त बुवाहरू पीडा लुकाउँदै केही नभनेर पनि धेरै थोक व्यक्त गरिरहेका हुन्छन्, अनि आफ्नो परिवारलाई हर प्रकारको परिस्थिति सामना गर्न बलियो ढाडस दिइरहेका हुन्छन् ।

हजुरले ताते गर्दै समाएको मेरो हात हजुरको बुढेसकालको सहारा बनिरहोस् अनि हाम्रो सुन्दर भविष्यका लागि अनवरत खटिएर खियाउनुभएको घुँडामा सन्तान सुखको मल्हमले सदैव आराम दिलाउन पाइरहूँ ।

हामी सन्तानहरूलाई सुन्दर भविष्य पहिल्याउन सहज होस् भनेर बुवाले दैनिक ३० किमिको आफनो पेसागत दुरी साइकलले तय गर्नुहुन्थ्यो । आरामलाई लत्याउँदै उहाँ सन्तानकै खुसीका लागी खिइरहनुभयो । एउटा बाबुले आफ्नो सन्तानका लागि कतिसम्म गर्न सक्दछ भन्‍ने कुराको महसुस अहिले आफैँ बाबु बनेपछि झन् बढी हुँदै गएको छ । मलाई अझै पनि याद छ, बुवा काममा हुँदा खाजामा कुनै दिन केही मीठो मसिनो पाकेको भेट्दा आफ्नो भाग बचाएर हाम्रा लागि घर लिएर आउनुहुन्थ्यो र हामीले बाँडिचुँडी खाइसकेपछि मात्रै उहाँ अघाउनुहुन्थ्यो ।

त्यो बेला बाल मस्तिष्कले बुझ्न नसकेको बुवाको स्नेह, त्याग र समर्पणलाई आज स्मरण गर्दा मन भावविह्वल भएर मात्रै आउँदैन, उहाँप्रतिको आफ्नो कर्तव्यबोधको आयतन झन् फराकिलो भएको महसुस हुन्छ । हाम्रो समाजमा धैरैले बुवाको सामीप्य महसुससम्म गर्न नपाएको र पाएकाले पनि हाल गुमाइसकेको पीडादायी कथाहरू सुन्दा मन त कुँडिन्छ नै तर आफू बुवाको अथाह स्नेहको वर्षाबाट सिञ्चित भइरहन पाएकामा निकै भाग्यमानी महसुस हुन्छ ।

जन्मदिने बुवाको आशीर्वादका साथै आफ्नो मुटुको टुक्रा चुँडेर मेरो जीवनसंगिनीका रूपमा मलाई समर्पण गरी मायाको संसार रचिदिने कर्मको बुवाको समेत उत्तिकै स्नेह र शुभाषिस रहेको पाउँदा पितृवात्सल्यले जीवन भरिपूर्ण रहेको आभाससमेत भइरहन्छ ।

फेरि यही समाजका कैँयौ सन्तानहरूले आफ्नो आमाबुवालाई आफ्नै घरमा स्थान नदिएर वृद्धाश्रममा थन्क्याएको देख्दा अत्याधिक पीडाबोध हुन्छ र संसार देखाउने नयनरूपी बुवा-आमालाई कसरी आफ्नै आँखाबाट ओझेलमा राख्न सकेको होला भनेर मन अमिलो हुन्छ । आफूसँगै हुँदा बेवास्ता गर्ने सन्तानहरू अभिभावकको देहान्तपछि भने अनेक बिलौना गर्दै यति र उति थोक दान गर्नलाई तँछाड मछाड गरेको देख्दा आश्चर्य लाग्छ ।

बुवा-आमाको स्वार्थ भनेकै आफ्नो सन्तानको खुसी हेर्नुमै हुन्छ तैपनि हामी आफ्नै खुसीको कामना गर्दै बस्ने अविभावकलाई आफ्नो खुसीमा सामेलसम्म गर्न सक्दैनौँ । कस्तो बिडम्बना । जेहोस् आजको दिनले ती सबै कुसन्तानहरूलाई सुबुद्धि प्रदान गरोस् यही कामना गरौँ ।

बुवा तपाईंकै प्रेमिल छत्रछाँयामा फुल्दै र फैलिँदै जहाँसम्म पुगे पनि मेरो मूलजड हजुर नै हो भन्‍ने कुराको राम्रो हेक्का छ मलाई । हामीलाई सधैँ सत्मार्गमा रही असल व्यक्ति बन्‍न प्रेरित गरिरहनुभयो । हामीलाई खुसी राख्ने चाहमा दुःखका काँडा पन्छाउँदै खुसीका गुच्छाहरू समेटेर सधैँ हाम्रो पोल्टामा हालिदिने हजुर, हाम्रो खुसीका लागि आफ्ना कैँयन् खुसीहरूको तिलाञ्जलि दिँदै हाम्रा रहर पूरा गर्ने सिलसिलामा आफ्ना रहरहरू नै मारेर हाम्रा लागि मरिमेट्नु भयो । 

आफू भिजेर हामीलाई ओत दिने हजुरको आँखा कहिल्यै भिज्‍न नदिन सकूँ, हजुरले दिएको सुख र खुसीको सामु हजुरलाई  पनि सधैँ खुसी दिन सकूँ, हजुरका अनुहारमा दुःखका वक्ररेखा होइन सन्तोषको चमक ल्याउन सकौँ, यस्तै यस्तै चाहनाको कामना गरिरहेको छु । जीवनमा यस्तो कर्म गर्न सकूँ ताकि गर्वले हजुरको छाती चौडा होस् न कि लज्जाबोधले शिर निहुरियोस् ।

हजुरले ताते गर्दै समाएको मेरो हात हजुरको बुढेसकालको सहारा बनिरहोस् अनि हाम्रो सुन्दर भविष्यका लागि अनवरत खटिएर खियाउनुभएको घुँडामा सन्तान सुखको मल्हमले सदैव आराम दिलाउन पाइरहूँ ।

सिर्फ यो शिरमाथि सधैँ हजुरको आशीर्वादरूपी हात भइरहोस् । भगवान् छन् वा छैनन् थाहा छैन, तर मेरा लागी साक्षात् भगवान् नै हजुर हो, जसको आराधना मेरो जीवनको नित्यकर्म बनेर रहेको छ बुवा । चरण स्पर्शसहित पिता सम्मान दिवसको हजुरलाई धेरै-धेरै शुभकामना ! साथै सन्तानलाई संसार चिनाउने तमाम बुवाहरूमा समेत सम्मानभाव अनि शुभकामना ।


Author

थप समाचार
x