फोटो खिचेर राख
भाइरल संगीतको कुहिरोमा अदृश्य भूपूहरू
‘मुनासरि रुँदै छु बुझ आँसुको यो भाषा’
केही देखिन्न । पूरै अँध्यारो छ । ‘कुखुरी काँ’ सुनिन्छ । फेरि पनि अँध्यारै छ । ‘आफ्नो आकाशमुनिका गुँडहरू छोडेर सागर तर्ने चराहरूको कथा, हिजोका मुनामदनहरूको अविच्छिन्न शृंखला’ दृश्यमा हैन, अक्षरमा आउँछ । अझै अँध्यारै छ । भाले छिनछिनमै बासिरहन्छ । चुरा बजेको छिनछिन आवाज आउँछ ।
- ए हजुर, हजुर बिहान चाँडै उठाइदिनु भन्नु भा हैन र ?
- उज्यालो भयो ?
- उज्यालो भइसक्यो उठ्नुस् ।
उषा उप्रेती सलाई कोरेर टुकी बाल्छिन् । ओछ्यानमा बसेका भूपू पाण्डेको अस्पष्ट आकृति देखाउँछ, टुकीले । अब टुकीले कोठा उज्यालो भयो । तर, उषा र भूपूको अनुहार भने अँध्यारो नै छ ।
भर्खरै बिहे गरेको जोडी नजाने कति दिनसम्मका लागि अब छुट्टिँदै छ । मधुरात्रिपछि एकाएक कालरात्रि आए जसरी बिछोडको धुन बज्छ । धुनले मन एकतमासको बनाइहाल्छ ।
यो रहेछ, अछामको एउटा गाउँ । रोजीरोटीका लागि थातथलो छोड्ने युवाहरूको लस्करमा केवल एक भोट हुन्, भूपू । छेउमै नदी भन्न मिल्ने खोला छङछङ बगेको छ, तर गाउँ अँध्यारोमा छ । प्रकृति सुन्दर छ तर गाउँमा खान पुग्ने पैसा कतै छैन । जिन्दगीको सपना भन्नु नै पेट–पूर्ति छ । प्रेयसीका लागि झुम्का छ । आमैका लागि औषधि छ । जुन गाउँ जहाँ आयोडिन हैन, ढिके नुनमा तरकारी पाक्छ । जुन गाउँ जहाँ हनिमुन मनाउनै नपाई युवाहरू कामको खोजीमा घर छोड्छन् । कवि मीनबहादुर विष्ट उहिल्यै भन्छन्- साला पहाड मे क्या है !
ढोकामा लालीगुराँस फुलेको छ । संघारमा लालीगुराँसको कलश छ । राष्ट्रिय फूल किन चुँडेको भनेर त्यहाँ कोही राष्ट्रवादीले मन दुखाएको छैन । राष्ट्रवादी डाक्टर भीम रावलको गाउँमा लालीगुराँस टिपिएको छ तर उनी मौन छन्, यो आठौँ अनौठो हो यार । महलमा हुनुपर्ने राष्ट्रिय फूल झुुपडीमा ? राष्ट्रको कत्रो अपमान ? हत्तेरिका, म पनि पूरै बहकिएँ । यही ताल हो भने यहीँनेर मैले एमसीसी घुसाइदिने खतरा बढेर गयो । म निस्केँ ।
घर भन्नु पुरानो सानो झुप्रो छ । त्यही झुप्रोमा कुप्री आमै छिन् । यहाँ मैले ‘बूढी’ आमै भनिनँ नि । यी र यस्ता गाउँमा चालीस कटेपछि रमाउने हैन, चालीस कटेपछि उस्तै परे गइजाने चलन छ । चालीस कटेपछि कुप्रिने, चाउरिने, दाउरिने हो गाउँमा, केको रमाउनु र हौ ? सहरबाट गएका चालीस कटेका ‘किशोर–किशोरी’ले गाउँका तीस नकटेकालाई वृद्ध-वृद्धा देखी दाइ–दिदी मात्र हैन, आमा-बुवा भनिरहेको यही पंक्तिकारले देखेको छ ।
आफ्नी नवअर्धंगिनी र आमैलाई छोडेर एउटा युवा घर छोड्दै छ । गाउँ छोड्दै छ । प्रेमको दूरी नाप्तै छ । पेटको सवाल बुझ्दै छ । गरिबीको दुष्चक्र झेल्दै छ । अभावले निम्याएको दबाब स्वीकार्दै छ । ऊ भारी मनले हल्का झोला भिरेर झिसमिसेमै घरबाट निस्किँदै छ । ऊ राजकुमार हैन, घर छोडेर बुद्ध हुने । ऊ त मन मारेर धनयुद्धमा निस्केको सिपाही हो । जिते सहारा, हारे आहारा ।
यहाँनेर म अलि बढी भावुक भएँ कि जस्तो लाग्यो । घर छोड्नु भनेको ‘दुःखदेखि दुःखसम्म’ हो भन्ने लागिरह्यो कि भन्ने पनि देखियो । तर, विनासीप, विनाभाषा, विनाशिक्षा न्यूनतम कमाइका लागि जोखिमको यात्रा गर्नु कसैको रहर हैन, बाध्यता हो । मासिक पाँच अंकमाथिको कमाइमा जानु रेगिस्तान रहर पनि होला, तर मासिक पाँच हजार पनि नजोगिने गरी विदेशिनु खासमा कहर नै हो ।
भूपू बाहिरिइरहेका छन् । यो हर दिनको हरजसो घरको साझा कहानी हो । सोर्सफोर्सविना गरिबलाई गाउँमा कुनै रोजगारी मिल्छ ? पेट पाल्ने गरी सानोतिनो उद्यम गर्न सकिने आर्थिक-राजनीतिक वातावरण छ ? के बेरोजगारी हाम्रा सरकारत्रयको प्राथमिकतामा छ ? के निरपेक्ष गरिबीको रेखामुनि कोही आफैँ परेको हो ? हैन, पारिएको हो ।
भूपू एक हातमा गोल्डस्टार जुत्ता र अर्काे हातमा झोला लिएर घरबाहिर निस्किन्छन् । आमैको टीका र आशीर्वाद थाप्छन् । बाहिर राम्रोसँग उज्यालो भइसकेकै छैन । नायक-नायिकाको अनुहार अनि आमैको अनुहारमा पनि उज्यालोको कुनै गुन्जायस छैन ।
करुण धुनपछि अब महिला स्वर सुनिन्छ । पतिलाई बिदा गर्दैै जे स्वर सुनिन्छ, त्यसका शब्दले म भित्रैदेखि छोइएँ । शब्द यसप्रकार छन्:
जाऊ उमेर बेची सपना किनेर ल्याऊ
यी आँसुका कलशको साइत गरेर जाऊ
म हुँ प्रेमधागो, चंगा भएर जाऊ
हिमताल हुँ म तिम्रै, तिमी गंगा भएर जाऊ
सुनेपछि मलाई लाग्यो- गीत होस् त यस्तो । यसको कलापक्ष मलाई बेजोड नै लाग्यो । मलाई यो गीत किन पनि मन पर्यो होला भने आफू नारायणगोपालतिरै अल्झेर बसिराख्या बेला चामत्कारिक-आलंकारिक शब्द सुन्न पाइयो । अहिले यस्तो घुमाउरो अभिव्यक्ति सुन्न खासै पाइँदैन पनि । उमेर बेच र सपना किन । प्रेमधागो हुँ, चंगा होऊ । हिमताल हुँ, गंगा भएर जाऊ । यस्तो खालको प्रतीकात्मक-विम्बात्मक कथन यसमै ठीक छ । त्यसैले म यिनको बहुअर्थी स्वाद मारेर तपाईंको कला–चेतनामा प्रहार गर्दिनँ । सबैले आफ्आफ्नै तह-तरिकाले यिनको स्वाद लिनुहुनेछ, यसमै छ मज्जा ।
अब यो गन्थन गीतको सप्रसंग व्याख्या जस्तो हुने खतरा भएर गयो । अलंकार चन्द्रोदयको रौँचिरा पनि यहाँ जरुरी छैन । त्यसैले म गीतबारे भन्दा पनि यति राम्रो गीत जन्माउने टिमबारे केही कुुरा गर्छु ।
गीत मन परेपछि, पटकपटक सुनेपछि मैले यो गीतवालालाई खोजेँ । यो गीतका संगीत संयोजक, संगीतकार, गायक, अभिनेता, निर्मातासमेत रहेका भूपू पाण्डेलाई मैले फेसबुकमा खोजेँ । मेसेन्जरमा सम्पर्क गरेँ ।
उनी शास्त्रीय संगीतकै विद्यार्थी रहेछन् । चण्डीप्रसाद काफ्लेका शिष्य पनि । आरआर क्याम्पसबाट स्नातकोत्तर गरेका रहेछन् । दाङका यी युवा अलि भिन्न खालको संगीतका लागि अलि वर्षदेखि लागिरहेका रहेछन् । उनका पहिलाका केही गीत हेरेँ, सुनेँ ।
मलाई यो गीतका शब्द-शब्दले धेरै छोएको हो । यो गीत लेख्ने लेखक रहेछन्, नारायण नेपाल (नारायण गोपाल पढ्नुभयो कि ?) । उनी दाङमा पढाउँदा रहेछन् । उनले यो रचना ६ वर्षअघि आफ्नो फेसबुकमा हालेका रहेछन् ।
त्यहीँ भित्तोमा भूपूले भेटेका रहेछन् यो गीत । अनि भूपू यो रचनालाई गीत बनाउन लागिपरे । धेरै मेहनतपछि उनले संगीत सृजिए । आफूसँगै नारी स्वरमा उनले बिल्कुलै नयाँ स्वर छाने ।
गीत तयार त भयो । तर अहिले सुन्ने गीतको चलन छैन । हेर्ने गीत त चाहियो नै, आखिर युट्युबमा हाल्नु नै छ यदि भने भिडियो त बनाउनैपर्यो । उनले तीन वर्षअघि बनेको गीतलाई एक वर्षपछि मात्र दृश्यमा ल्याए ।
उनी आफैँ नायक भए । उषा उप्रेतीलाई नायिका बनाए । अछाम पुगे । राजस्थान पुगे । राजस्थानको मरुभूमिमा अभिनय गर्दा उनी रूपरंगले मात्र हैन, अभिनयले पनि सौगात मल्ल देखिएका छन् । (यसरी तुलना गर्नु मलाई त ठीक लाग्दैन, क्षमा पाऊँ है) । मरुभूमिमा गोडा बालुवामा भासिएकोदेखि उनले दृश्यका लागि छानेका यावत् मोन्टाज मार्मिक छन् । पानी पिउन नपाएको, उता गाउँमा आफू छङछङ बग्ने खोलामा नुहाउन गएको उनी सम्झिन्छन् । नवदुलहीसित जिस्किँदै खोलामा गोल्डस्टार धुँदै गरेको यादले राजस्थानमा उनलाई पोल्छ । घामले भन्दा बढी यादले पोलिन्छन् ।
भूपूले छक्क पार्ने अर्काे एउटा कुरो सुनाए । कुरा के रहेछ भने यो गीत मेलिना मैनालीले गाएको पहिलो गीत रहेछ । पहिलो हुनु त के अनौठो भयो र ? यसै भन्नुहोला, तपाईंको कुरा ठीकै हो । तर, अनौठो बात के हो भने यो गीत गाउँदा मेलिना सिर्फ १५ वर्षकी मात्र रहिछन् । उसो त अहिले पनि उनी १८ पुगेकी छैनन्, तर ‘छोटो छ जिन्दगी’पछि उनका नयाँ गीतको आयु पनि छोटै छ ।
मैले मेलिनासँग पनि कुुरा गरेँ । उनी आफैँलाई यो गीत आफूले कसरी गाएँ जस्तो लाग्दो रहेछ । आफ्नै गीत सुन्दा उनी आफैँ छक्क पर्छिन् रे । झापाबाट बोलाएर भूपूले चार–पाँच दिन प्राक्टिस गराए । अनि यो गीत रेकर्ड भयो । गीतका शब्द जति स्वादका छन्, संगीत र स्वर पनि ठ्याक्क मिलेको जस्तो लाग्छ ।
अहिले गीतमा दुई भ चाहिँदो रहेछ, कि भाइरल हुनुपर्यो कि भ्युज कमाउनुपर्यो । अनि भिटेनहरू । अनि दुर्गेशहरू । रियालिटी सो–पिसहरू । शब्द, सुर, स्वर, संकेत, ताल, लय यस्ता पक्ष संगीतमा गौण भएछन् । संगीतमा लयभन्दा अभिनय अनिवार्य भइसकेछ । कति गीत सय पल्ट सुन्दा पनि अघाइन्न थियो उहिले, अहिले कति गीत सय सेकेन्ड पनि सुन्न नसक्ने भइसकेछु म । स्रोता–दर्शकका रूपमा संगीतसँगको मेरो संगत त लामै हो तर संगीतमा नयाँभन्दा पुरानै साथी पो बेसी भएछन् ।
यो गीतमा मेलिनाको शब्द उच्चारण शुद्ध छ । उनी गीतमा ‘प्राण’ जसरी उच्चारण गर्छिन्, त्यस्तो शुद्ध उच्चारण अहिलेका धेरै गीतमा सुन्न पाइँदैन । उनले परदेशको श, भाषाको ष, मधुमासको स पनि बेग्लाबेग्लै तरिकाले गाएकी छन् । युट्युबमा यो गीतको भिडियोसँगै शब्द आउँदै जान्छ । ती हर शब्दहरू शुद्ध छन् । हिज्जेको कुरा मैले यहाँनेर किन गरेको भने, शैक्षिक संस्थाहरूले नै युट्युबमा राखेका बाल साहित्यका सामग्रीमा भरमार गल्ती भेटिन्छ । सानो छोरो बालकविता–गीत–कथा हेरिरहेको हुन्छ, म त्यहाँ शुद्ध लेखेको एउटै पाउँदिनँ । यस्तो त छ, हाम्रो सिकाइको जग ।
अनि अर्काे सानो कुरो, यो गीतमा क्रेडिट लाइन जति सबै नेपाली भाषामा रहेछ, यो पनि अहिले त दुर्लभ नै हो क्यार ।
भूपू मायालु उता लागेपछि पत्नी उषा साँझमा अँगेनोमा तरकारी पकाइरहेको दृश्य अनि यहाँनेर बोलिएका शब्द मार्मिक छन् । तरकारीमा ढिके नुन हाल्दै उनी भन्छिन्:
धनको लिएर आशा मनको गर्यौ तमासा
म मुनासरि रुँदै छु बुझ आँसुको यो भाषा
परदेशको हुरीले निभ्ने हो कि प्राण सित्तै
बरु फर्की आऊ रित्तै मधुमास यो नबित्तै
सय लाखको यो जुनी कौडीमा नफ्ँयाक
यी पाँच पंक्तिमा के छैन ? पुँजीवाद छ । प्रेमवाद छ । आधुनिक मुना-मदनको अविच्छिन्न वियोग शृंखला छ । बिहेको भोलिपल्टै बिछोडिनुपरेको व्यथा छ । ‘बरु फर्की आऊ रित्तै मधुमास यो नबित्तै’ यहाँ फ्रायडवाद मात्र होइन, यो दिमाग-फ्राइवाद पनि हो । बिछोडिनुअघि पवन फोटो स्टुडियोमा स्टिल क्यामेराले खिचाएको फोटो हेरेर उनको दिन-रात बित्छ । चर्केको भुइँमा फोटो छ । किनकि जिन्दगी छोटो छ ।
एउटा किताबको समीक्षा हुन्छ । एउटा सिनेमाको समीक्षा हुन्छ । एउटा नाटकको समीक्षा हुन्छ । महामारीमा सिनेमा–नाटक छैनन् । अब आफूलाई मन परेको गीतबारे किन दुई शब्द खर्च नगरुँ भनेर यति गन्थन लेखियो । राम्रो संगीत अरुलाई पनि राम्रै लाग्ला भनेर यति लेखियो । नयाँ र फरक अनि गहिरो काम गर्न चाहने पुस्तालाई प्रेरणा दिऊँ । आफूलाई खराब लागेकाको आलोचनामा मात्र होइन, असल लागेकाको प्रशंसामा पनि केही शब्द खर्च गरौँ भनेर यति लेखियो ।
र, अन्त्यमा
‘मुटु थिचेर राख’ भन्ने पदावली मलाई मन परेन । अछाममा स्याङ्जाली लबज सुनाइन्छ, त्यो पनि अलि मन परेन । तर, समग्रमा ‘मुनामदन’देखि ‘सुन साइँली’सम्मका परदेशी साहित्य-संगीतका भेरियन्टबीच ‘छोटो छ जिन्दगी’को आयु लामो छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया